कोइला बदलिएर चम्किलो हिरा भयो– हाम्रा नेता कालोको कालै !

24 July, 2020 20:54 | बिचार | comments | 34650 Views

हामी सबैलाई थाहा छ विश्वमै महंगो मानिने धातु हिरा कालो कोइला परिवर्तित भएर बन्दछ र त्यो हिरा अनेक रुपमा प्रयोग गरिन्छ । परिवर्तन वस्तु वा पदार्थको समेत हुन्छ र त्यो परिवर्तनको प्रभाव सकारात्मक नै हुन्छ, तर मानवको स्वभाव आजभोलि मानवीय सम्वेदनशील भावनामा अरु परिवर्तन हुनुपर्नेमा ठीक विपरीत क्रुर, हिंस्रक, अनैतिक, भ्रष्ट, अपराधी हुँदै गएको छ ।

मानवीय संवेदनशीलताका साथै इन्द्रियजन्य राग, द्वेष, काम, क्रोध, भय, हिंसा, घृणा आदि दुर्गुण पनि रूपान्तर भएर अक्रोध, अहिंसा, श्रद्धा, भक्ति, निर्भयतामा परिवर्तित हुने गर्दछन् तर त्यस्ता मानिस आजभोलि भेट्टाउनै मुस्किल छ । आजभोलि जिम्मेवारी लिएकाहरु नै अत्यन्त गैरजिम्मेवार भर आफ्नै मात्र स्वार्थपूर्तिमा लागिरहेका छन् । भोकोलाई खान दिन पनि कमिशन, रोगीको उपचारमा कमिशन, बच्चाको दूध र औषधिमा कमिशन, वृद्धवृद्धाको भत्तामा भ्रष्टाचार । मानिस कर्मले परिवर्तित भएर सत्पुरुष बन्नुपर्नेमा भ्रष्ट हुँदै त्यही भ्रष्टाचारले खडा गरिएको समृद्धिको हुँकारमा समाजलाई आफ्नो बसमा पारेको घमण्ड गरिरहेको छ । आफ्नो प्रभाव बढेको दम्भ प्रदर्शन गरेर अरु अनैतिक बन्दैछ ।

नेपाली राजनीतिमा यस्तै कथन ठ्याक्कै मिलेको छ । जनताले पटकपटक अब त सच्चिएलान्, अब त राम्रो काम गर्लान् भनेर मौका दिए पनि उनीहरुको प्रवृत्ति यस्तै, विगतमा जस्तो त्यस्तै । उनीहरुको परिवर्तन आफ्नो लाग मात्र भयो, देश र समाजको हितमा भएन । कालो निर्जीव कोइला हिरा बन्न समय त्यति नलाग्ला जति हाम्रा नेताहरु अशल राजनेता हुनमा समय लाग्ने भयो ।

  

पूर्वीय समाजशास्त्रको एउटा सिद्धान्त छ, मुसा, कीरा, फट्याङ्ग्रा, बाँदर, भालु इत्यादि पशुहरुले केवल आफ्नो आफ्नो भाग मात्र खान्छन् अरूको भाग उनीहरूले अपहरण गरेर लैजान सक्दैनन् । तर, अहिलेका मानिस यी पशुभन्दा निकृष्ट भएर अरुको भाग खोस्न उद्यत छन् । यसै भएर उनीहरु पूर्वीय दर्शन, सिद्धान्त र समाज विकासको अवधारणा अनि मानवअधिकार, प्रजातन्त्र तथा लोकहितको स्थापित शास्त्रीय मान्यतालाई लत्याएर आयातित संस्कृति लाद्न उद्यत छन् ।

धर्म, संस्कृति, परम्परा र शास्त्रीय मूल्य अनि मान्यताहरु स्थापित अकाट्य सत्य भए पनि कथित आधुनिकताको सुगा रटाईमा त्यस्ता व्यक्तिहरु विषवमन गर्दछन् । साम्यवाद वा समाजवादको बखान गरेर नथाक्नेहरु वैदिक साम्यवादको स्थापित मान्यतालाई लत्याउँछन् । “भरिन्छ जतिले पेट त्यतिमा हो उसको हक धेरै ओहट्ने चोर हो सजाँय गर्नु पर्दछ” भन्ने मान्यताको ठीक विपरीत समाजवादको नारा घन्काएर आफैं सोहोर्ने, आफैं हसुर्नेहरु कहिल्यै परिवर्तिन नहुने भए । आफैं मात्र सोहोर्नुपर्ने भएकैले होला उनीहरु शास्त्रीय मान्यताबिरुद्ध पश्चिमा मान्यता लाद्न खोज्छन् । मृत्युपछि कसैले केही लिएर जाँदैन भन्ने एक मात्र सत्य बिर्सन्छन् । तैपनि लोकतन्त्रको दुहाई दिन कोही पछि पर्दैनन् ।

‘लोक’ शब्दले धेरै र व्यापक अर्थ र स्थान ओगटेको हुन्छ । यसको प्रयोग शास्त्रहरुमै गरिएको छ । लोकतन्त्र शासन पद्धतिको एउटा परिचयबोधक राजनीतिक शब्द हो र लोकसम्मतिको पनि जीवनशैलीमा निर्णायक महत्व रहेको पाइन्छ ।

लोकप्रिय शब्द होस् वा लोकभावना अनि लोकत्रयले स्वर्ग, मत्र्य, पाताल तीनै लोकलाई बुझाउँछ । लोकनृत्य र लोकगीतले जीवनशैलीलाई साधनाको लेपले लपेटेको छ । लोकपति भनेर सृष्टिकर्ता ब्रह्मालाई परिचय दिइन्छ । लोकपाल र दिक्पाल शब्द पनि शास्त्रीय रुपमा कुनैबखत प्रचलित भएका शब्द हुन् । राजालाई बुझाउन पनि नरलोकका अधिपति भनिएको छ । संसारभर जसको कीर्ति फैलियो त्यो लोकप्रिय हुन गयो । लोकयात्राको शाब्दिक अर्थ नै लौकिक व्यवहार हो । लोकवार्ताले विचारका साथै परम्परा पनि बोध गराउँछ । लोकसंग्रह, लोकसभा, लोकसेवा सवै विधिशास्त्रका प्रचतिल शब्द हुन् । कुनै विद्रोह वा अशान्ति नभएको क्षणलाई लोकशान्तिका रुपमा लिइन्छ । प्रकृति कुपित नभएको कालखण्ड पनि लोक शान्तिकै पर्याय मानिन्छ । लोकेश्वर भनेर बुद्धको गुणगान गरिएको छ । लोकोपकारलाई ठूलो पुण्य हो भनिएको छ । जनसाधारण सवै लोकमै अटाउँछन् । स्वर्ग, मत्र्य, पाताल, इहलोक र परलोकका साथै पृथ्वीतलका सात लोक र पृथ्वीभन्दा माथि सात लोक गरी चौध भुवन अर्थात् अनेक प्रकारका लोकको कल्पना शास्त्रमा भएको छ । लोकचक्षुले सूर्य भन्ने बुझिन्छ । लोकायतले नास्तिक मतको व्याख्या गर्छ ।

लोकतन्त्र अहिले शासनसत्ता संचालनमा मात्र सीमित गरिएको छ । पूर्वीय दर्शनशास्त्रले लोकतन्त्रका बारेमा जति चिन्तन गरेको छ, त्यस्को एकांश पनि अहिलेका लोकतन्त्रवादका व्याख्याताहरूमा ज्ञान छैन । गीतामा श्लोकैपिच्छे लोकबारे चर्चा छ । भागवतमा त्यस्तै चर्चा छ । उपनिषद्मा पनि लोककै चर्चा चलेको छ । तन्त्र भन्नु नै विधि हो । लोककाबारे पूर्वले विकसित गरेका यस्ता विधि अहिले गौण भएका छन् । किनभने लोकतन्त्रका ठेकेदारहरु ‘लोक’को अर्थ बुझ्न चाहँदैनन् । अनिन आफूलाई लोकको एउटा प्रतिनिधिका रुपमा लोकहितकारी काम गर्नुको साटो आफ्नै मात्र दुनो सोझ्याउन उद्यत छन् । कालो कोइला परिवर्तित भएर हिसा बन्न जति समय लाग्ने भो त्योभन्दा कति कति समय हाम्रा लोकतन्त्रका समाजवादी–साम्यवादी नेताहरुलाई राजनेता बन्न लाग्ने भो !

हाम्रो विडम्बना यही हो । यही विडम्बनाको थुप्रोबाट हामी नेपालीले आफ्ना दुर्दिनहरु भोग्दै जानुपरेको छ । आज यो, भोलि त्यो, निरन्तर जाली–फटाहाहरुको निरन्तरता, शास्त्रसम्मत रुपमा मानिआएको कोइला समेत हिरा बन्छ भन्ने मान्यताका खिल्ली उडाउनेहरुको परिवर्तन कहिले ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More