कोरोनाविरुद्धको हतियार आविष्कारको काम धमाधम : माग धान्नै गाह्रो

27 April, 2020 19:57 | सूचना/प्रविधि | comments | 52200 Views

– रमेश लम्साल÷नारायण ढुङ्गाना

“व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)का लागि अरुले पनि हातेमालो गर्नुपर्ने भयो, राष्ट्रिय आविष्कार केन्द्रलाई निकै धौधौ पर्यो, नेपाल सरकार, निजी अस्पतालका मालिक अथवा ठूलै दाता अगाडि सर्नुपर्ने भयो, नत्र भने स्वास्थ्यकर्मीलाई ठूलो अन्याय हुन्छ”, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

  

अस्पतालमा कार्यरत जनशक्ति सुरक्षा सामग्रीबिना नै उपचारमा खटिनुपर्ने अवस्था देखिएको भन्दै उहाँले उक्त भनाइ सार्वजनिक गर्नुभएको हो । पुनले स्वास्थ्यकर्मी अग्रमोर्चामा लड्ने सिपाही भएकाले उनीहरुलाई सुरक्षित बनाउनुपर्ने बताउनुभएको छ । सरकारी वेवास्ताका शिकार भएको राष्ट्रिय आविस्कार केन्द्र यतिबेला कोरोनाबिरुद्ध लड्ने हतियार बनाउन व्यस्त छ ।

उहाँले अहिले ठूलो आवश्यकता भनेको सबैखाले अस्पताल र स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई पिपिई र अन्य सुरक्षाको सामान चाहिएको छ । अधिकांश सरकारी अस्पताल र निजी अस्पतालले आफ्ना स्वास्थ्यकर्मीले आवश्यकमात्रामा पिपिई नपाएको अवस्था छ । बजारमा सहजरुपमा पिपिई पाउनसमेत गाह्रो छ । पाइहाले पनि त्यसको गुणस्तर छ कि छैन भनेर विपद्मा तथ्य पत्ता लगाइदिने फुर्सद पनि कसलाई होला र । सोही कारण राष्ट्रिय आविष्कार केन्द्रमा पिपिईको माग गर्दै अत्यधिकमात्रामा स्वास्थ्यकर्मीको भिड लागेको छ ।

विभिन्न अस्पतालका एक दर्जन बढी एम्बुलेन्स त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको राष्ट्रिय आविष्कार र केन्द्र पुग्छन् । लाइनमा बस्छन्, नाम ठेगाना टिपाउँछन् । आविष्कार र केन्द्रका स्वयंसेवकका कुरा सुन्छन् र पिपिईलगायतका सामग्री पनि निःशुल्क लिएर फर्कन्छन् ।

विपद्को समयमा बजारमा पैसा हालेर समान खरिद गर्छुभन्दासमेत नपाइरहेका अवस्थामा केन्द्रले निःशुल्करुपमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रविधिको प्रयोग गरिएको छ । केन्द्रका प्रमुखसमेत रहनुभएका महावीर पुन टेलिफोनमा कुन अस्पताल र कुन संस्थाका कर्मचारीलाई के कतिमात्रामा अत्यावश्यक सामग्री चाहिन्छ, त्यसको जानकारी लिनुहुन्छ । लकडाउनपछि पुन पोखरामा हुनुहुन्छ । आविष्कार र केन्द्रको काम भने चलिरहेको छ । पुनले पोखराबाट आविष्कार र केन्द्रका स्वयंसेवकसँग प्रत्यक्ष श्रव्यदृश्य माध्यमबाट जोडिनुहुन्छ । आवश्यक निर्देशन दिनुहुन्छ ।

हरेक व्यक्तिसँग कुरा गर्दै टिपेको मागअनुसार कोरोनाविरुद्धका हतियार (स्वास्थ्य सुरक्षा सामग्री) उहाँले उपलब्ध गराउनुभएको छ । कोरोनाको सङ्क्रमण बढेदेखि नै आविष्कार केन्द्रलाई भ्याइनभ्याइ छ । इञ्जिनीयर विभिन्न सामग्री आविष्कार रमा लागेका छन् । अहिलेसम्म पिपिई, कोरोना बुथ, एरोसल बुथ, अस्पतालको भेन्टिलेटर बनाउने काम जारी छ । पाँच हजार बढी स्वास्थ्यकर्मीलाई आविष्कार केन्द्रले पिपिई उपलब्ध गराइसकेको छ । यस्तै ३०० बढी एम्बुलेन्स चालकले पनि पिपिई पाइसके । व्यक्तिगतरुपमा आएका ३०० स्वास्थ्यकर्मीले पनि पिपिई लगिसकेको पुनले रासससँगको कुराकानीमा बताउनुभयो ।

हामीले पिपिई निःशुल्क दिन्छौँ भनेर आह्वान ग¥यौँ । तर अत्यावश्यक हुनेलाई त ठिकै छ , लैजानु राम्रो हो । तर जो पनि माग्न आएका छन्, अस्पतालमा कति आवश्यक चाहिने हो त्यो अस्पतालले व्यवस्थापन गर्नुपर्नेमा आफूखुशी पिपिई माग्न आउँदा भने पु¥याउन नसकिएको पुनले यथार्थ सुनाउनुभयो ।

“काठमाडौँ एक हिसाबले सुरक्षित नै छ । लकडाउनले त्यस्तो वातावरण बनाएको छ । डराउनुपर्र्ने अवस्था नै छैन, तर, हामी सबैले डराउनेलाई नडराउ पनि भन्न नसकिने रहेछ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक त्रास छ, म सबैको सम्पर्कमा छु, उहाँहरु हरेक स्वास्थ्यकर्मी पिपिई माग्नुहुन्छ, सबैलाई चाहिने होइन, उपचारमा प्रत्यक्ष सहभागी हुनेहरुलाई चाहिने हो, त्यो बुझाउन सकिएन, अस्पतालले खरिद गरेर दिँदैन तर हामीलाई पु¥याउन कठिनाइ भएको छ ।”

आविष्कार केन्द्रले हालसम्म स्वास्थ्य सामग्री बनाउनकै लागि रु ६० लाखभन्दा बढी खर्च गरिसकेको छ । यस्तै विभिन्न सात लाख अस्पतालको भेन्टिलेटर बनाउनका लागि खर्च भएको छ । “माग आएपछि नाई भन्न सकिँदैन । तर धान्न गाह्रो भइरहेको छ”, पुनले बताउनुभयो । एउटै अस्पतालमा ५० देखि १०० वटासम्म पिपिईको माग भयो, अस्पताल खर्च गर्दैन, अत्यावश्यकलाई पो हामीले दिने हो, सबैलाई निःशुल्क कसरी दिन सकिन्छ ? उहाँले प्रतिप्रश्न गर्नुभयो । डा पुनले भन्नुभयो, “लडाई लड्न पठाउने, अनि सिपाहीलाई हतियार नदिने, कसरी लडाई जितिन्छ, अहिले नेपालका अस्पतालले यही गरिरहेका छन्, युद्ध लड्न त हातहतियारले सुसज्जित हुनुपर्छ नी ।”

अहिले आविष्कार केन्द्रले एन ९५ मास्कको विकल्पको मास्क तयार पार्दै छ । त्यसको अनुसन्धान सफल भएको डा पुनले बताउनुभयो । किटाणुरहित रोबोट बनाउने काम पनि जारी छ । उहाँका अनुसार उक्त मास्कको विकल्पमा हेपा फिल्टर र एन ९९ मास्क बनाउँदै छ । ल्याब परीक्षणको नतिजा राम्रो आएको छ । हेपा फिल्टरले एन ९५ को जत्तिकै र एन ९९ ले त्योभन्दा राम्रो अति साना सूक्ष्म कण रोक्नसक्ने प्रतिवेदन आएको उहाँले बताउनुभयो । तिलगङ्गा आँखा अस्पतालमा विज्ञ प्रदीप कार्की र नवीन अधिकारीले अनुसन्धान गर्नुभएको थियो ।

यस्तै आविष्कार केन्द्रले अर्काे एउटा अनुसन्धान पनि गर्दैछ । युभिसी (अल्ट्रा भाइलेट सि) किरणको प्रयोग गरेर भाइरस र व्याक्टेरिया मर्छकी मर्दैन भन्ने अनुसन्धान जारी रहेको पुनले बताउनुभएको छ । यसमा टेकु अस्पताल, त्रिभुवन विश्वविद्यालय र त्रिवि शिक्षण अस्पतालसँग मिलेर केन्द्रले काम गरिरहेको छ । यसको उपयोग भने कोरोना उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गरेका मास्क, पञ्जा, भाइजरलाई किटाणुरहित बनाएर पुनःप्रयोग गर्न मिल्ने बनाउने हो ।

दुई चरणको परीक्षण सफल भएको र तेस्रो चरणको परीक्षण वीर अस्पतालको ल्याबमा हुन लागेको डा पुनको भनाइ छ । यो विश्वमा प्रयोग भइरहेको विधि भए पनि नेपालमा बन्दाबन्दीको अवस्थामा बजारमा पाएको युभिसी ट्युबले साँच्चिकै काम गर्छ कि गर्दैन भनेर परीक्षण गरिएको डा पुनले बताउनुभयो । केन्द्रले आकस्मिक भेन्टिलेटरसमेत आविष्कार गर्दै छ । विभन्नि अस्पतालमा बिग्रेका ३५ भेन्टिलेटर मर्मत गरिसकेको छ भने अझै ५० वटा बनाउँदै गरेको केन्द्रले जनाएको छ ।

आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीलाई खाना र औषधि पु¥याउने रोबोट पनि बनाएको छ । अध्येता सुरज कार्कीको मेहनतमा तयार भएको सो रोबोट सामान्य तवरले हेर्दा रोबोट जस्तो लाग्दैन, तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्दा बिरामीको सेवा गर्ने नर्स सुरक्षित हुन्छन् । सो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्तालाई ११ दिन जति लागेको पुनको भनाइ छ । त्यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले उपलब्ध गराएको हो । अन्य पार्ट पूर्जाको मोटामोटी खर्च रु ७५ हजार जति भएको छ ।

केन्द्रले आविष्कार गरेको रोबोट आइतबार नै नेपाली सेनाको वीरेन्द्र अस्पतालमा पठाइएको छ । रोबोटको माग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको पुनले जानकारी दिनुभयो । अन्य अस्पतालमा समेत त्यस्ता रोबोट उपलब्ध गराउने तयारी गरिएको छ ।

त्यस्तै केन्द्रका अनुसन्धानकर्ताले एन ९५ मास्कको विकल्पका रुपमा एचइपिए फिल्टर र एन ९९ फिल्टर प्रयोग गरेर बनाएको मास्कको प्रयोगशाला परीक्षणको नतिजासमेत राम्रो भएको र थप उत्पादन गर्ने तयारीमा केन्द्र रहेको केन्द्रका अर्का अनुसन्धानककर्ता शङ्कर ढकालको भनाइ छ ।

सो मास्क एन ९५ जत्तिकै राम्रोसँग र एन ९९ फिल्टरले असाध्यै राम्रोसँग काम गर्ने केन्द्रको विश्वास छ । अति साना र सूक्ष्म कण जस्तै शून्य दशमलव तीन माइक्रोनसम्मका कण पनि फिल्टर गर्न गर्नसक्ने अनुसन्धानको नजिता आएको तिलगङ्गा आँखा अस्पताल प्रयोगशालाका जानकार प्रदीप कार्की र नवीन अधिकारीले जानकारी दिनुभएको हो ।

एचइपिए फिल्टर प्रयोग गरेर बनाइएको मास्क बनाएर केही नभएका अवस्थामा प्रयोग गर्न मिल्ने देखिएको पुनको भनाइ छ । विदेशबाट आउने एन ९५ मास्क जत्तिकै राम्रो गुणस्तरको मास्क यस्तै फिल्टर प्रयोग गरेर नेपालमा नै बनाउन सकिने तथ्य पत्ता लागेको छ । राष्ट्रिय आविष्कार केन्द्रमा इञ्जिनीयरले नयाँ इमरजेन्सी भेन्टिलेटर बनाएका छन् । भेन्टिलेटर को एउटा डिजाइन एमआइटी अमेरिकाले गरेको हो । अर्कोको डिजाइन बेलायतमा बस्ने जिवी रञ्जितकारले गर्नुभएको हो ।
–––

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More