कोरोना संक्रमण र जलवायु परिवर्तन : दशक अघि नै वैज्ञानिकहरुले दिएका थिए चेतावनी

29 March, 2020 22:01 | बिचार | comments | 80700 Views

पृथ्वीको जलवायुमा आएको परिवर्तनका कारण विश्वबाट लोप भैसकेका रोगहरु पुनः बल्झिन थाले भने नयाँ नयाँ रोगहरुले महामारी नै फैलाइरहेको छ र अहिले विश्व नै त्रस्त भएको कोरोना भाइरस (कोभिड–१९) पनि जलवायु परिवर्तनकै उपज हो ।

दशक अघि नै वैज्ञानिकहरुले “२०२० सम्म औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा ४० प्रतिशत कमी ल्याए मात्र जलवायु परिवर्तनलाई रोक्न सकिन्छ नत्र विनाश निम्तिने निश्चित छ” भनेका थिए ।

  

चीनबाट फैलिएको कोरोना भाइरसमाथि चीनले लगभग पूर्णत: नियन्त्रण पाउन सफल भयो । यसको प्रमुख कारण उसले वातावरण संरक्षणमा पाएको सफलता पनि मानिएको छ । एक अध्ययन अनुसार चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कुल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गर्यो । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिलेको छ ।

चीनमा देखापरेको यो भाइरस एसियाका अन्य मुलुक, युरोप, अमेरिकासम्म प्रसार हुँदा यसको प्रकृति र शक्ति पनि बदलिएको छ । चीनको भाइरस र अमेरिका–युरोपको भाइरस फरक भएको विज्ञहरुले बताइरहँदा यसमा वातावरणकै हात रहेको र जलवायु परिवर्तन नै यसको एक मात्र कारण रहेको भन्ने अनुमान गर्न गाह्रो नहोला ।

जब प्राकृतिक वातावरण दूषित, प्रदूषित बन्दै जान्छ तब रोगव्याधी बढ्दै जान्छ, निर्मूल भएका रोग पुनः देखापर्छ भने नयाँ नयाँ रोग देखापर्नु स्वाभाविक हो । किनभने जलवायु परिवर्तनका कारण मौसम अनुसार हुनुपर्ने केही पनि हुँदैन । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु नै यसका बलियो आधार हुन् । एउटा घटनालाई लिने हो भने हामी कति जोखिममा छौं भन्ने थप प्रमाण मिल्नेछ । अघिल्लो दिन २४ डिग्री तापक्रम रहेको जापानको राजधानी टोकियोमा भोलिपल्ट विहान हिमपात भयो । यो प्राकृतिक रुपमा भएको हैन, वायुमण्डलमा भएको विकारको परिणाम हो ।

आज कोरोना भाइरसको महामारी, यसअघि स्वाइन फ्लूको महामारी, सार्सको महामारी, इबोलाको महामारी, अनि निर्मल भैसकेको प्लेग, औलो, हैजा जस्ता रोगहरु पुनः फैलनुको कारण वातावरणीय विनाश नै हो र यो विकास भौतिक विकासले निमिट्यान्न पार्न सकिन्न भन्ने दृष्टान्त आज युरोप र अमेरिकाको हालतले देखाइदिएको छ । जलवायु परिवर्तनका कारण मानिस कमजोर र जिवाणुहरु शक्तिशाली हुँदै गएका कारण दशकौं पहिले निर्मुल भएका रोगहरू पुनः बल्झन थालेका हुन् । पशुबाट मानिसमा सर्ने रोगहरू अब मानिसबाट मानिसमै सर्न थालेका छन् ।

सन् ९० को दशमा निर्मुल भएको र त्यतिबेला पशुबाट मात्र मानिसमा सर्ने ‘स्वाइन फ्लू’ अघिल्लो दशकमा अमेरिकामा पुनः बल्झिँदा मानिसबाट मानिसमा सर्ने भयो । यो जलवायु परिवर्तनकै प्रभाव हो । अमेरिका जस्तो मुलुकले राष्ट्रिय महामारीको घोषणा गर्नुपर्यो । यसकारण जलवायु परिवर्तनले गरिब र विकासशील तथा विकासोन्मुख मुलुकहरूमा मात्र होइन धनी र औद्योगिक राष्ट्रहरूमा पनि उत्तिकै परिरहेको छ ।

प्रकृतिलाई आफ्नो अनुकूलतामा छाडिएन भने र वायुमण्डल, जलमण्डल तथा स्थलमण्डललाई प्रदूषित पारियो भने यस्तै दुर्दशाहरू निम्तिने कुरा विधिसम्मत सत्य हो । अहिले भैरहेको त्यही हो । जलवायु परिवर्तनको प्रभावले गर्दा लुप्त भैसकेका किटाणुहरू पुनः उत्पन्न भैरहेका छन् । रोगबाट लड्न सबभन्दा पहिला मानिस प्राकृतिक रुपमा सक्षम हुनुपर्छ, त्यसपछि मात्र खोप तथा औषधिले काम गर्छ ।

स्वच्छ पृथ्वी सुरक्षित सृष्टि अभियान

कोरोना भाइरसको संक्रमणले विश्वका अग्रणी मुलुकहरुलाई पक्कै पनि ठूलो पाठ सिकाएको हुनुपर्छ । जलवायु परिवर्तको तीब्रत्तर गतिलाई रोक्न उनीहरुले नै अग्रसरता लिनुपर्छ । महामारी फैलिएपछि उनीहरुको धनले पनि रोक्न नसकेको तथ्य अब ठूलो पाठका रुपमा लिइनुपर्दछ । उनीहरुले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गर्न र आगामी पुस्तालाई स्वस्थ र स्वच्छ धर्ती उपहार दिनका लागि धनी देशहरूले पृथ्वी बचाउ अभियानको नेतृत्व लिनुपर्छ । किनभने जसरी जलवायु परिवर्तनका लागि उनीहरूको भूमिका महत्वपूर्ण र अग्रणी रह्यो त्यसलाई रोक्न पनि उनीहरूको भूमिका सर्वाधिक महत्पूर्ण हुनुपर्छ ।

डेढ दशक अघि नै वैज्ञानिकहरुले “२०२० सम्म औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा ४० प्रतिशत कमी ल्याए मात्र जलवायु परिवर्तनलाई रोक्न सकिन्छ नत्र विनाश निम्तिने निश्चित छ” भनेका थिए । कोरोना यसैको उपज हैन भन्ने आधार छैन । हुन त बचाउका लागि यो प्रकृति सिर्जित भाइरस नभएर मानव निर्मित हो भन्ने आरोप लगाउने गरिन्छ तर मानव सिर्जित भए जसले सिर्जना गरेको हो उसले यसको निर्मूलनको उपाय पनि पक्कै सोचेको थियो होला !

रोगव्याधी मात्र हैन जलवायु परिवर्तनले पार्ने प्रभावहरूको नयाँ नयाँ विनाशका विवरणहरू सार्वजनिक हुँदै यसमा सुधार ल्याउन आव्हान दशकौं अघिदेखि भैरहेको हो । एक अध्ययन अनुसार वातावरणमा भैरहेको परिवर्तनले यो शताब्दीकै सर्वाधिक त्रासदीपूर्ण भोकमरी फैलाउन सक्छ । औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा मात्र कमी ल्याउने हो भने जलवायु परिवर्तनबाट उत्पन्न हुने भयावह स्थितिलाई व्यापक कम गर्न सकिन्छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका गरिब जनता झन् गरिब बन्दै गैरहेका छन् । यी देशहरूमा वर्षातको मौसम बदलिइरहेको छ । जसले गर्दा कृषि कार्य निकै कठिन बन्दै गैरहेको छ । समुद्रको सतह बढिरहेको छ भने मरुभूमिले पनि आफ्नो स्वरुप बदल्दै गरेको छ । जलवायु परिवर्तनले गर्दा यथास्थानमा रहेका प्राकृतिक स्रोतहरू नै लोप हुने हुन् कि भन्ने त्रास बढिरहेको छ ।

अहिले जसरी मौसम परिवर्तन भैरहेको छ यसले पानी, खाद्यान्न, औषधोपचार लगायत मानव जीवनलाई अरु कष्टपूर्ण बनाउनेछ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूमा खानेपानीकै अभाव हुने र अरबी राष्ट्रहरूमा तेलको हाहाकार हुन बेर लाग्दैन । पृथ्वीको जीवन चक्रलाई सन्तुलन कायम राख्न सवै पक्षलाई यथास्थान, यथागति छाडिनुपर्छ ।

विश्व औद्योगिककरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन विग्रन थालेको हो । एक शताब्दीयता पृथ्वी क्रमशः तात्न थालेको हो । यसको प्रमुख कारण भनेको आम विनाशकारी र रासायनिक हातहतियारको बढ्दो उत्पादन र प्रयोग तथा औद्योगिकरकणको नाममा वातावरणीय सन्तुलनलाई ख्याल नगर्नु नै हो ।

माटोको उर्वराशक्ति कमजोर बन्दैछ । जैविक खेती प्रणाली अपनाउनुको साटो थोरै समयमा धेरै उत्पादन गर्ने लोभमा अनावश्यक रासायनिक पदार्थको प्रयोगले खाद्य वस्तुहरू विशाक्त मात्र बनिरहेका छन् । यसले तत्कालको भोक मेट्ने काम गरे पनि शरीरलाई चाहिने आवश्यक तत्व दिनुको साटो रोगव्याधी मात्र निम्त्याइरहेको छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको छ । कोरोनाको संक्रमण पनि त्यस्ता व्यक्तिलाई बढी भैरहेको छ जसमा रोग प्रतिरोधात्मक क्षमता कम छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More