क्रिकेटमा ऐतिहासिक सफलता : नेपालले विश्वकप छनोट खेल्ने

5 May, 2013 11:34 | खेल | comments | 26700 Views

बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले सुरुवाती दुई खेल गुमाए पनि त्यसपछि लगातार तीन खेल जितेर राम्रो रनरेटका आधारमा दोस्रो स्थान प्राप्त गर्दै नेपाल डिभिजन टूमा प्रवेश गरेको छ ।शनिबार राति सम्पन्न खेलमा इटालीलाई भारी अन्तरले हराएर बर्मुडाले अमेरिकालाई हराएको आधारमा मात्र डिभिजन टुमा उक्लने सम्भावना रहेको नेपालका लागि सोचेजस्तै नतिजा निस्कियो । नेपाललाई भाग्य र खेल दुबैले साथ दियो ।

 

नेपाली क्रिकेटको इतिहासमा यो नै सर्वाधिक ठूलो सफलता हो । नेपाली खेलाडीहरुले इटालीविरुद्ध आवश्यक अन्तरको जीत र अमेरिका बर्मुडासंग नेपाललाई आवश्यक पर्ने अन्तरको अधारमा पराजित भएपछि नाटकीय रुपमा नेपाल डिभिजन टुमा प्रवेश गर्न सफल भएको हो ।

  

 

सेन्ट डेभिड्समा नेपालले इटालीलाई ८ विकेटले हराएको हो । टालीले प्रस्तुत गरेको १ सय २८ रनको सामान्य चुनौती १४ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेपछि नेट रनरेटको आधारमा अमेरिकालाई उछिन्दै नेपाल डिभिजन टूमा प्रवेश गर्यो । अमेरिकालाई बर्मुडाले ५ विकेटले हराएपछि नेपालको भाग्य चम्किएको हो ।

 

खेलमा पहिले ब्याटिङ गरेको इटालीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २७ रन जोड्यो । इटालीलाई सस्तैमा समेटने क्रममा संजम रेग्मी र राहुल विश्वकर्माले ३, ३ विकेट लिए भने शक्ति गौचनले २ विकेट लिए ।

 

नेपालको इनिङमा सुवास खकुरेल ४७ र प्रदिप एरीले अविजित ४२ रन बनाए । यसैगरी, कप्तान पारस खड्काले २२ रन बनाउँदा ज्ञानेन्द्र मल्लले अविजीत १० रन जोडे ।

 

प्रतियोगिताको फाइनलमा आइतबार नेपाल र युगाण्डा आमने सामने हुँदैछन् । अंक तालिकामा ५ खेलबाट ८ अंक जोडेको युगाण्डा शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको समान ५ खेलबाट ६ अंक छ । ह्यामिल्टनमा हुने फाइनल नेपाली समय अनुसार साँझ सवा सात बजे शुरु हुनेछ ।

 

६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा इटाली र ओमान रेलिगेशनमा परेर डिभिजन फोरमा घटुवा भएका छन् । यसै गरी, अमेरिका र बर्मुडा डिभिजन थ्री मै कायम छन् । डिभिजन टूमा प्रवेश गरेका शीर्ष दुई टोली युगाण्डा र नेपाल आगामी बर्ष २०१४ मा न्यूजिल्याण्डमा हुने आईसीसी विश्वकप छनोटमा सहभागि हुनेछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More