क्वारेन्टाइन सङ्क्रमण फैलाउने थलो नबनोस्

6 June, 2020 17:54 | बिचार | comments | 26850 Views

– तुलसीराम अधिकारी

मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् र कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुलाई राख्न सकिने क्षमताका भन्दै सञ्चारमाध्यमबाट क्वारेन्टाइनबारे विवरण प्रस्तुत भइआएकै पनि छन् ।

कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ्क्रमणबाट जोगिन सङ्घीय सरकारले देशैभर लकडाउन र सबै तहका सरकारहरुलाई क्वारेन्टाइन निर्माण गर्न र सङ्क्रमणसँगको एक्सपोजरबाट आएकाहरुलाई निश्चित समय क्वारेन्टाइनमा बसाल्न आदेश जारी गरेको छ । चीनको वुहानबाट ल्याइएका विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखेयता कोरोना फैलिएको देशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको हो ।

  

अन्तर्राष्ट्रिय उडानहरु बन्द भैसकेपछि भारत बाहेक अन्य देशहरुबाट मानिसहरु नेपालमा आउन सक्ने अवस्था रहेन । भारतमा कोरोना फैलिने क्रम तीव्र भएसँगै त्यहाँ रहेका नेपालीहरु ठूलो सङ्ख्यामा पैदलै आफ्नो देश नेपाल फर्किने क्रम चलिरहेको छ । ती फर्कंदै गरेका नेपालीहरुलाई प्रदेश तथा स्थानीय तहहरुले सञ्चालन गरेका क्वारेन्टाइनहरुमा राखिँदै आइएको छ । तर, अहिले सञ्चालन वा गणनामा रहेका अधिकाँश क्वारेन्टाइनहरु न्यूनतम मापदण्ड पनि पूरा गर्ने खालका छैनन् ।

नेपाललाई आउँदा दिन ठूलो सङ्ख्यामा ठूलै क्षमताका क्वारेन्टाइनहरुको आवश्यकता छ । अहिले गणनामा रहेका न्यूनतम मापदण्ड पुगेका सीमित क्वारेन्टाइनमा केही हजार मानिसलाई मात्र राख्न सकिन्छ । दश हजार मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने अहिले मापदण्ड पूरा भएका भनिएका ती क्वारेन्टाइनहरुले धान्न सक्दैनन् । सङ्क्रमण लम्बिदै जाँदा भारतमा रहेका मात्र हैन खाडी र विकसित मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनै पर्ने हुन्छ र नेपाल सरकारले ल्याउँछ नै । त्यसकारण सरकारले हाल सञ्चालनमा रहेका वा गणना गरिएका क्वारेन्टाइन स्थलहरुको शूक्ष्म समिक्षा गरी क्वारेन्टाइन व्यवस्थापन, त्यसका भौतिक पूर्वाधार, सञ्चालन प्रकृया, क्वारेन्टाइनमा सङक्रमण स्क्रीनिङका लागि अपनाउनुपर्ने परीक्षण विधि, जटिलता व्यवस्थापन, आर्थिक स्रोेत, फिर्ती प्रवन्ध, सुरक्षा लगायतका विषयहरु समेटिएको क्वारेन्टाइन निर्देशिका वा क्वारेन्टाइन नीति नै बनाउन आवश्यक छ ।

क्वारेन्टाइन व्यवस्थापन र परीक्षण कार्यमा केन्द्रले बनाएको निर्देशिका अनुसार अपरेशनल र मोबिलाइजेशनको कार्य बाहेक अन्य कार्य गर्न सक्ने क्षमता स्थानीय र प्रदेश सरकारहरुमा विकास भैसकेको छैन । क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक स्रोत सङ्घीय सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । सङ्क्रमितको उपचार गर्ने क्षमता देशभित्र कुन कुन स्वास्थ्य संस्था वा विज्ञसँग कस्तो खालको छ भन्ने विवरणका आधारमा सङ्घीय सरकारले विज्ञहरुको समन्वय र औषधि, उपकरण तथा अन्य सामग्रीको जोहो सङ्घीय सरकारले गरिदिनुपर्छ । अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि आधार लिइएको “सङ्क्रामक ऐन २०२०” हो जुन ऐनले सङ्घीय सरकार बाहेक अरु सरकारहरुलाई चिन्दैन । यो महाब्याधि नियन्त्रण/व्यवस्थापन गर्ने कार्य प्रदेश वा स्थानीय सरकारहरुको थाप्लोमा लगाई घिच्याउन खोज्नु अन्यायपूर्ण हुन्छ र यसले समस्या समाधान हुँदैन ।

विश्वमै निकै पुरानो शब्द र व्यवहार हो क्वारेन्टाइन । नेपालको कृषि तथा भेटनरी क्षेत्रमा यो बढी प्रयोगमा रहेको छ । खास गरेर भूगोलको एक क्षेत्रबाट अर्को क्षेत्रमा प्राणि जातिको आवतजावत तथा ओसारपसार गर्दा सीमा क्षेत्र वा तोकिएको स्थानमा अपनाइने यो एउटा प्रकृया हो जसबाट प्राणिको स्वस्थता मापन गरिन्छ । यसअन्तर्गत कुनै सङ्क्रामक रोगसँग एक्सपोजर भएको प्राणिले नयाँ समुदायमा अरु स्वस्थ प्राणीमा सार्न वा आघात पुर्‍याउन नपाओस् भन्ने मनसायले आगन्तुकको स्वस्थता सुनिश्चित गरिन्छ र त्यसपछि मात्र गन्तब्य लैजान स्वीकृति दिइन्छ । भिन्न भिन्न रोगमा भिन्न भिन्न मापदण्ड अपनाइन्छ । यहाँ चर्चा गर्न लागिएको क्वारेन्टाइन सङ्क्रामक रोग कोभिड १९ बारेको हो र यसमा मानिसको मात्र क्वारेन्टाइन गरिन्छ । कोभिड १९ को क्वारेन्टाइन हुन आधारभूत मापदण्ड पुगेको हुनुपर्दछ जसको चर्चा यहाँ गरिएको छ ।

क) खान, बस्न, शौच गर्न, नुहाउन राम्रो प्रबन्ध भएको स्थान :

कोरोना सङ्क्रमण प्रभावित मूलुक÷प्रदेश÷स्थानीय तहबाट आएका मानिसहरुलाई उनीहरु भित्रन चाहेको देश/प्रदेश/स्थानीय तहले आफ्नो ठाउँमा कोरोना सङ्क्रमण नफैलियोस् भनी आगमनकर्तालाई गन्तब्यमा पुग्नु अगावै स्क्रीनिङका लागि रोकेर राख्ने प्रयोजनका लागि बनाइएको ठाउँ क्वारेन्टाइन हो । सङ्क्रमण छैन भन्ने पुष्टि भैसकेपछि मात्र सो स्थानबाट उनीहरुलाई गन्तब्य स्थल जान दिइन्छ । यहाँ आगमनकर्ताको रोगसँग सम्बन्धित आवश्यक स्क्रीनिङ हुन्छ, नमूना सङ्कलन हुन्छ, परीक्षण हुन्छ, रोगको सङ्क्रमण हुने समयसम्म पर्खेर फलो अप गरिन्छ र अन्त्यमा सङ्क्रमण नभएको पुष्टि पछि मात्र आगमनकर्ता लाई बाहिरिन दिइन्छ । यो प्रकृया पूरा गर्न केही दिनदेखि केही हप्तासम्म लाग्न सक्छ ।

त्यसकारण क्वारेन्टाइनमा बसालिने मानिसलाई खाने, बस्ने, शौच गर्ने, स्नान गर्ने जस्ता आधारभूत आवश्यकताको सहज पूर्ति हुने व्यवस्था मिलाइएको हुनुपर्दछ । मानिसलाई लामखुट्टे, किरा, फट्याङग्रा, सर्प, बिच्छी जस्ता जस्ता विषालु किटजन्य लगायत जङ्गली जनावरहरुबाट बच्न सकिने सुरक्षित वातावरण पनि यहाँ हुनुपर्दछ । यो ठाउँमा स्वास्थ्यलाई हानि नपुर्‍याउने सुरक्षित पिउने पानी उपलब्ध हुनुपर्दछ ।

क्वारेन्टाइनमा सफा, सुग्घर, ताजा, सन्तुलित खानाको व्यवस्थाका साथसाथै दिसापिसाब गर्ने, नुहाइधुवाइ गर्ने, व्यक्तिगत सरसफाइ गर्ने उपयुक्त व्यवस्था हुनुपर्दछ । त्यसकारण अहिले प्रदेश, स्थानीय तह वा विभिन्न निकायले तय गरेका विद्यालयहरु, पार्टी प्यालेसहरु, सभा सम्मेलन गर्ने हल/स्थानहरुको आवश्यक पुनःसंरचना नगर्दासम्म क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने खालका हुँदैनन् । त्यसैले त्यस्ता स्थानहरुलाई क्वारेन्टाइन भनी गणना गर्न थालियो वा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न थालियो भने ठूलो दुर्घटना हुनसक्छ । महामारी रोक्न गरिएको प्रयास महामारी बढाउन सहायक भइदिन सक्छ ।

ख) स्वास्थ्य परीक्षण, आइसोलेशन र सुरक्षा “

क्वारेन्टाइनमा रहेका मानिसहरुलाई निर्वाध रुपमा हिँड्डुल गर्न बन्देज गरिने भएकाले स्वास्थ्यमा आइपर्न सक्ने अन्य समस्याको निराकरण तथा कोरोना सङ्क्रमणकै स्क्रीनिङका लागि पनि २४ सै घण्टा खबर गर्नासाथ उपलब्ध हुन सक्ने वा सोही स्थानमै रहने गरी दक्ष स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको हुनुपर्दछ । यसैगरी, क्वारेन्टाइन मिनि–आइसोलेसन पनि हो, क्वारेन्टाइन स्थलबाटै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सक्ने भएकाले तोकिएको सामाजिक/भौतिक दूरी कायम गर्न लगाइनुपर्दछ । क्वारेन्टाइनमा राख्दा एउटै कम्पनी वा कार्यालयबाट काम गरी आएका, एउटै किचन मेस प्रयोग गरिराखेका वा एउटै समुदायको उस्तै एक्सपोजरबाट आएका बाहेक अन्य व्यक्तिहरुलाइ एउटै कोठामा बस्ने सुत्ने व्यवस्था मिलाउनु हुँदैन ।

त्यसो गरिए सङ्क्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा रोग सर्न सक्छ । व्यक्तिको स्वस्थ भै बाँच्न पाउने अधिकारको हनन हुन जान्छ । व्यक्तिको स्वस्थ भै बाँच्न पाउने अधिकारको हनन कसैले (सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज आदि) पनि गर्न पाउँदैन । क्वारेन्टाइनमा आउने/ल्याइने सबै मानिसहरु सङ्क्रमित हुन् भनी सोच्नु गलत हो भने सबै स्वस्थ हुन् भनी सोच्नु पनि गलत हो । त्यहीे छुट्ट्याउने ठाउँ क्वारेन्टाइन हो । सङ्क्रमण पुष्टि भैसकेकाहरुलाई क्वारेन्टाइनले अस्पताल पठाउँछ भने सङ्क्रमण नभएको पुष्टि भएमा सम्बन्धित व्यक्तिको गन्तव्य स्थलमा ।

क्वारेन्टाइनमा आउनेहरुको सङ्क्रमण भए÷नभएको पुष्टि नभइसकेको हुनाले स्वास्थ्यकर्मीको प्रारम्भिक स्क्रीनिङ अनुसार वर्गीकरण गरी सोही अनुसारको आवश्यक व्यवस्थापन गरिनु पर्दछ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ जेठ ७ गते जारी गरेको “क्वारेन्टाइनमा गर्नुपर्ने स्वास्थ्यसम्बन्धी व्यवस्था” लाई अनुसरण गर्नुपर्दछ । यसैगरी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुबाटै रोगसँग सम्बन्धित असावधानीहरुका साथै हिंसात्मक, गैरकानूनी, उट्पट्याङ÷उच्छङ्खृल गतिविधि हुनसक्छन् । क्वारेन्टाइन बाहिरबाट पनि क्वारेन्टाइनलाई प्रभावित पार्ने त्यस्ता गतिविधि हुनसक्छन् । त्यस्ता गतिविधि नियन्त्रण गरी सुरक्षा प्रदान गर्न सरकारी सुरक्षा निकाय खटाइनुपर्दछ ।

ग) एम्बुलेन्स र यातायातको व्यवस्था :

क्वारेन्टाइन व्यवस्थापनले क्वारेन्टाइनमा बसेका मानिसहरु बिरामी पर्दा अस्पताल लान ल्याउन तथा कोरोना सङ्क्रमण पुष्टि भए अस्पताल पु¥याउन एम्बुलेन्स र अस्पतालसँग राम्रो समन्वय गरेको हुनुपर्दछ । कोरोना नभएको पुष्टि भएपश्चात् बाहिरिन दिने मानिसहरुका लागि यातायातको (लकडाउनका कारण) सहजीकरण गरिदिनु पर्दछ ।

क्वारेन्टाइन के हो भन्ने प्रष्ट भैसके पछि त्यसका आधारभूत कुराहरु उपलब्ध हुनसक्ने स्थानको छनोट सहज हुन्छ । नेपालको सन्दर्भमा कम समय र कम खर्चमा आधारभूत मापदण्डसहितको क्वारेन्टाइनका लागि कुन कुन स्थान उपयुक्त हुनसक्छ भन्नेबारे छोटो छलफल गरौं ।

१) विद्यालय, पार्टी प्यालेस, सभा सम्मेलन गर्ने घरहरु :

अहिले कतिपय स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गणनामा राखेका विद्यालय, पार्टी प्यालेस, सभा सम्मेलन वा बैठक गर्ने घरहरुलाई अलिकति मात्रै पुनःसंरचना गर्ने हो भने क्वारेन्टाइन स्थल बनाउन सकिन्छ । विद्यालयमा कोठा पर्याप्त रहेकै हुन्छन् । ठूला कोठा छन् भने खण्डीकरण गरी दुई वा तीनमा विभाजन गर्न पनि सकिन्छ । पिउने पानीको राम्रो स्रोत छ भने किचन क्यान्टिन हुन पनि सक्छ । नभएमा कुनै कोठालाई भान्छाकोठा बनाउन सकिन्छ । शयन कक्ष बनाउने कक्षा कोठामा खाट, लत्ताकपडा, जाली÷झुल लगायत राखी पुनःसंरचना गर्न सकिन्छ । यसैगरी पार्टी प्यालेस वा सभा सम्मेलन र बैठक गर्ने घरहरुको प्रकृति उस्तै खालको हुन्छ । भान्छाकोठा, खानेपानी, शौचालयको राम्रो प्रबन्ध यी ठाउँहरुमा गरिएकै हुन्छ ।

यस्ता ठाउँहरुमा ठूला हलहरु हुने भएकाले साना उपयुक्त हुने खालका कोठाहरु खण्डीकरण गरी बनाउनु पर्ने हुन्छ । सामान्य सुधार पनि नगरी चलिहाल्छ नि भन्ने ढङ्गले यसअघि सञ्चालनमा ल्याइएका केही क्वारेन्टाइनले भयावह रुप लिन थालिसकेका छन् । क्वारेन्टाइनमा आएका मानिसहरुको राम्रो स्क्रीनिङ र वर्गीकरण नै नगरी मानिसहरुलाई भद्रगोल तालले एकै ठाउँमा राख्दा सङ्क्रमण नभएकाहरु सङ्क्रमण हुनसक्ने जोखिम रहन्छ । स्वास्थ्यकर्मीले स्क्रीनिङ पछि वर्गीकरण गर्दा पनि छुट्टाछुट्टै बस्ने कोठाहरु नहुँदा, आवश्यक दूरी कायम गर्न/गराउन नसकिँदा समस्या देखापरेका छन् ।

खानपानको राम्रो प्रबन्ध नहुँदा, लामखुट्टे, भुसुना, सर्प, बिच्छी जस्ता किरा फट्याङ्ग्राको टोकाइबाट बच्ने प्रबन्ध नमिलाइँदा र अन्य सुरक्षा व्यवस्था पनि नगरिँदा कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टाइनहरु उल्टै रोग सार्ने केन्द्र बन्न सक्छन् । अनाहकमा मानिसहरुको ज्यान जान सक्छ । स्वास्थ्यकर्मी, अस्पताल, एम्बुलेन्स जस्ता आधारभूत कुराहरुको समन्वय बिना नै सञ्चालन गर्दा सामान्य उपचार पनि नपाई क्वारेन्टाइनमै मानिसले मृत्युवरण गर्न परेका घटनाहरु बाहिर आइसकेका छन् । क्वारेन्टाइनलाई न्यूनतम मापदण्डभित्र सञ्चालन गर्न नसक्ने हो भने बरु सम्बन्धित मानिसलाई रोगसम्बन्धी आवश्यक सल्लाह तथा उसले अपनाउनु पर्ने व्यवहारका बारेमा बताई घरैमा पठाउनु उपयुक्त हुनसक्छ । यो उपायले अव्यवस्थित क्वारेन्टाइनबाट हुनसक्ने भयावह क्षति भन्दा कमै मात्र क्षति हुन्छ ।

२) होटल र लजहरु :

हाल नेपालमा क्वारेन्टाइन बनाउनका लागि सबभन्दा उपयुक्त स्थान भनेका होटलहरु नै हुन् जसको भौतिक पूर्वाधारमा तत्काल कति पनि खर्च गर्नु पर्दैन । यहाँ पूर्वाधारमा व्यवसायीहरुले खर्च गरिसकेका छन् । लकडाउनका कारण साना ठूला सबै होटलहरु बन्द नै छन् । अझ नेपालका ठूला होटलहरु विश्वव्यापी यात्रा बन्देज, आर्थिक सङ्कुचन लगायतका कारण करीव ६ महिना व्यावसायिक रुपमा सञ्चालनमा आउन सक्ने स्थितिमा छैन । यस्तो अवस्थामा क्वारेन्टाइन सञ्चालनका लागि सबभन्दा उपयुक्त स्थान होटलहरु नै हुन सक्छन् । यहाँ मानिसको पहिलो आवश्यक्ता खाने, बस्ने, सुत्ने र नुवाइधुवाइ गर्ने राम्रो प्रबन्ध गरिएको हुन्छ । त्यसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समूह जोड्ने हो भने मापदण्ड अनुसारका क्वारेन्टाइनहरु सञ्चालन गर्न कुनै गार्‍हो छैन । सरकारले दश भन्दा बढी शय्या भएका होटलहरुको पहिचान गर्ने र होटल व्यवसायीहरुसँग छलफल÷सहमति गरी होटलको वर्गीकरण अनुसार सञ्चालन लागतका आधारमा न्यूनतम मूल्य भुक्तान गर्ने गरी आवश्यक्ता अनुसार क्वारेन्टाइन बनाउन सक्दछ । दश शय्याभन्दा कम भएमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तैनाथीका कारण लागत बढ्ने हुन्छ । नेपाल सरकारका लागि क्वारेन्टाइन स्थलहरुकोे विकल्पमा सबभन्दा राम्रो विकल्प यही हुनसक्ला । यो विकल्प अपनाउँदा तत्काल भौतिक पूर्वाधारमा लगाउनुपर्ने ठूलो धनराशि बचत हुने, आधारभूत जनशक्ति त्यहीँ उपलब्ध हुने र सहमतिका आधारमा सञ्चालन गर्न सकिने फाइदाहरु छन् ।

३) नयाँ क्वारेन्टाइन निर्माण :

नेपाल सरकारको मापदण्डअनुसार आवश्यक र उपयुक्त स्थलमा नयाँ क्वारेन्टाइन निर्माण गर्न सकिन्छ तर यस्तो नयाँ क्वारेन्टाइन बनाउन दक्ष निर्माण जनशक्ति, उपयुक्त ठाउँ र भौतिक संरचना आवश्यक हुने भएकाले ठूलो लगानी आवश्यक हुन्छ । निर्माणमा लाग्ने समय र दीर्घकालीन प्रयोगको लक्ष्यबारे पनि यो विकल्प अनाउँदा सोच्नुपर्ने हुन्छ । अरु विकल्पहरु नमिल्ने केही स्थानमा बाहेक नेपालको सन्दर्भमा यो विकल्प अव्यावहारिक छ ।

क्वारेन्टाइन सञ्चालनका लागि आवश्यक स्रोत के हो ? कुन शीर्षकबाट कसरी खर्च गर्ने भन्ने कुरा सङ्घीय सरकारले प्रष्ट पार्नु पर्छ । क्वारेन्टाइनका लागि सञ्चालन व्यवस्थापन निर्देशिका, क्वारेन्टाइनको न्यूनतम मापदण्ड र स्रोतको पहिचान सङ्घीय सरकारले गरिसकेपछि यसको व्यवस्थापन÷परिचालन प्रदेश र स्थानीय तहहरुले गर्नु नै व्यावहारिक हुन्छ । नियमन/अनुगमनको कार्य भने प्रदेश वा स्थानीय तहहरुले नियमित रुपमा र सङ्घीय सरकारले आवश्यकता अनुसार गर्नु प्रभावकारी हुन्छ । हरेक तहका सरकारले क्वारेन्टाइनका प्राविधिक, आर्थिक, प्रशासनिक लगायतका सबै गतिविधि हेर्न सक्ने गरी अनुगमन टोलीको संयोजन गर्नु उपयुक्त हुन्छ ।

(लेखक पूर्व जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More