खुसीको मापन- हरिया फाँटमा हलो जोत्ने जति खुसी शहरमा बस्ने छैनन्

3 July, 2019 20:39 | बिचार | comments | 38100 Views

– यादब देवकोटा

“भन्छन् मानिस सुख सुख त्यो कहाँ छ आफू मेटाई अरुलाई दिनु जहाँ छ”– यो कविताले धेरै अर्थ बोक्छ र मानिसको खुसीको आधार पनि तयार गर्छ तर के अहिले सुखको खोजीमा मानिसले ती काम गरेका छ जसले उसको मनलाई खुसी दिन्छ ? अवश्य पनि अहिले सुख र खुसीको परिभाषा बदलिएको छ भौतिक वस्तु र त्यसैको विलासितामा दुनियादारी अघि बढेको छ । त्यसैले आजभोलि भन्न थालिएको छ- प्रशस्त रुपैयाँ पैसा भए मानिस खुसी हुन्छ ।

adsads

के भौतिक सुविधा र धन नै मानिसको सुखको आधार हो ? अवश्य हैन । मानिस सुखी हुनका लागि प्रकृतिदेखि भौतिक वस्तु वा पदार्थसम्मको सन्तुलित अवस्था चाहिन्छ । शिक्षा, स्वास्थ्य, उचित खानपान, सुरक्षित बास अनि सामाजिक शान्ति सुरक्षा मानिस सुखी र खुसी हुने आधार हुन् ।

सरकारले नेपालीहरुको सुखको मापन गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि विभिन्न कोषबाट विश्लेषण हुन थालेको छ । मानिसको सुखीपनका आधारहरु के के हुन् र यसको प्राप्तिमा राज्यको कति भूमिका रहन्छ व्यक्ति स्वयंले यसमा कस्तो भूमिका निर्वाह गर्नसक्छ भन्ने प्रश्न पनि उठेको छ ।

अहिले नेपालीको जीवनस्तर प्रतिवर्ष सुध्रदै गएको प्रतिवेदन सार्वजनिक हुन्छ । यसका लागि मुलुकभित्रको अवस्थाले कुनै योगदान दिएको छैन । जीवनस्तर सुधार हुनुको एउटै कारण जनतासंग पैसा हुनुलाई आधार मानिएको छ । वास्तवमा भौतिक सुविधा बढे पनि यसले मानिसको जीवनलाई झन दुःखी बनाएको छ । विदेशमा श्रम गरेर पठाइएको पैसाले घर परिवारको भौतिक आवश्यकता त पूरा भएको होला केही हदसम्म के त्यतिले मात्र मानिस सुखी र खुसी छ त ? अहिलेको प्रश्न हो यो ।

मानिसको सुखको आधार अहिलेको जस्तो भौतिक विसासिता हैन भन्ने प्रमाणित हुँदैगएको छ । विश्वका सुखी, सम्पन्न र शक्तिशाली देशका र मानिस अध्यात्मतिर केन्द्रित छ, प्राकृतिक जीवनयापनमा उनीहरु अग्रसर भैरहेका छन् । कोठाभित्रको एसीभन्दा रुखको छहारीको शितलता खोज्न थालेका छन । त्यसैले सुखका आधार खोतल्दा मानिसको धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजलाई प्रमुख आधार बनाउन सके वास्तविक तथ्यांक सार्वजनिक हुनेछ ।

हिजो भौतिक सुविधा कम थियो तर मानिसहरु सुखी र सुखी थिए । राजनीतिक रुपमा प्रतिबन्ध थियो तर उनीहरुलाई आफ्नै गाउँघरका मेलापात, जात्रा, पर्व, चाडहरु नै प्यारो थियो । धर्म, संस्कृति र परम्परा धान्दै वातावरण संरक्षणमा उनीहरु तल्लिन हुन्थे । उनीहरुको जीवनशैली ऋषिमुनिको जस्तै थियो । घरघरमा विहानै पृथ्वीदेखि, रुखबिरुवा, पानी, आकाश, ग्रहमण्डल सबैको शान्तिका लागि प्रार्थना गर्थे, चरु होम्थे, तुलसी र पिपललाई पानी चढाउथे । मन शान्त पारेर आफ्नो कर्म गर्थे । अझै पनि गाउँघरमा यो परम्परा कायम छ । यसले मानिसलाई आत्मिक खुसी दिन्छ ।

आजभोलि जीवनशैली बदलिएको छ । विहान उठ्नासाथ मोबाइलमा झुम्मियो, युटुब र फेसबुकमा रमायो, दिमागमा अनेक कुरा खेलायो, अर्काको आलोचना र खिसिटिउरीमा रमायो, आफ्नोपन भुल्दै गयो । भौतिक सुविधाले दिएको खुसीले मानिसलाई बाहिरबाट हेर्दा सुखी तर भित्रभित्रै खोक्रो बनाइरहेको छ । सरकारले खोजेको सुखी नेपाली कस्तो हो ? मानिस भौतिक रुपमा सम्पन्न देखिए पनि ऊ शान्त छैन आजभोलि ।

मानिसको सुख के मा छ ? कसरी मानिस सुखी हुन्छ ? सरकारले कस्तो मापदण्ड तयार गरेर सुखी नेपालीको तथ्यांक तयार गर्ने योजना बनाएको छ ? ग्रामीण जीवनशैली त्यागेर पश्चिमा नक्कली जीवनशैली अपनाउने प्रयास नै सुख हो वा सुखको परिभाषा अरु विस्तृत छ ? यो कुराको निक्र्योल नगरी सुखी नेपालीको यथार्थ तथ्यांक आउँदैन ।

नेपालीको जीवनस्तर सुध्रेको, नेपालीको आय बढेको तथ्यांक हरेक वर्ष सार्वजनिक हुँदा डोल्पाको दुर्गम गाउँबासीले एक मानो नुनका लागि संघर्ष गर्नुपरेको व्यथा अनि जीवनजल नपाएर जाजरकोटका दर्जनौं नागरिकले मृत्युवरण गर्नुपरेको कारुणिक प्रसंगले सुखको आधार कसरी खोज्ला ?

व्यक्ति वा समाज सुखी हुन उसमा मनोवैज्ञानिक तागत हुनुपर्छ अर्थात् मनोवैज्ञानिक स्वास्थ्य पहिलो आधार हो भने दोस्रोमा पर्दछ स्वस्थ जीवन । त्यसै गरी सर्वसुलभ र गरिखानसक्ने शिक्षा, सांस्कृतिक विविधताको एकता तथा समान क्षमता, सामाजिक जीवन, पर्यवरणीय विविधता तथा संरक्षण प्रमुख आधार हुन् भने यी सबैका लागि चहिने मुख्य पक्ष सुशासन हो ।

मुलुकमा सुशासन कायम भयो भने जनता सुखी हुने धेरै आधारहरु तयार हुन्छन् । पर्यवरण संरक्षण र सामाजिक–धार्मिक सहिष्णुता र एकता कायम गर्न राज्यले बल प्रदान गर्ने हो भने नेपाली जनताको सुखको आधार बन्छ । आज एक धर्मले अर्को धर्म र एक जातले अर्को जातलाई होच्याउँदै आलोचना गर्ने गरिन्छ । यो राजनीतिक दुराकांक्षा र सुशासनको अभावले हो । अर्को महत्वपूर्ण कुरा के हो भने पर्यावरणीय विनाशले मानिसमा स्वाभाविक रुपमा बेचैनि र अशान्ति पैदा गराउँछ । हिंसा भड्काउँछ र मानिसलाई पशुसमान बनाउँछ । आजभोलि बढ्दो बलात्कार, हत्या तथा लुटपाटमा यसैको प्रमुख हात छ ।

वैज्ञानिकहरुले धेरै अघि नै सार्वजनिक गरेको तथ्य के हो भने वातावरण विनाशले मानिसलाई हिंस्रक बनाउँदै लगेको छ । त्यसैले त पूर्वीय जीवनशैलीमा वातावरणलाई उच्च प्राथमिकता दिएर पूजाआजा गर्ने धार्मिक बिधि नै बसालियो । वनजंगल, नदी, पहाडलाई ईश्वरको प्रतीक मानेर पूजा गरियो । त्यसैले वातावरण सन्तुलिन थियो, मानिस शान्त थिए, सुखी थिए ।

आजभोलि न जंगल छ, न नदी नदीजस्तो छ । मानव सभ्यताको जननी मानिएका नदी अहिले मृत्योन्मुख छन् । बाग्मती सभ्यता कालकवलित भैसकेको छ । बाग्मती, विष्णुमती लगायतका नदीहरू सजीव नदी थिए तर अहिले मृतप्रायः छन् । हप्ताको एकदिन नदी सफाई महाअभियान चलिरहेको छ । यसले केही सकारात्मकता पैदा गरे पनि फोहर मिल्काउने बानी हटेको छैन । ढलमती बनेका नदीनाला र मरुभूमिकरण हुँदै गएको हराभरा धर्ती तथा प्रदूषित भएर गएको वायुमण्डलका कारण मानवीय जीवनशैलीको तनावग्रस्त र असन्तुलित हुँदैगएको छ ।

त्यसैले यसको मारमा परेका छौं हामी नेपाली । प्राकृतिक जीवनशैलीमा अभ्यस्त हामी नेपालीलाई पश्चिमाकरणको भूतले यसरी गाँजेको छ कि यसलाई प्रकृतिले समेत सहन गर्न सकेको छैन । सुख, सुविधा र विकासका नाममा कतै हामी ‘विनाशकाले विपरीत बुद्धि’ को शास्त्रीय कथनतिर त गैरहेका छैनौं ? अहिलेको अवस्था यस्तै छ ।

देशमा आयातित राजनीति र शिक्षा नीति अफाप सिद्ध भैसकेको छ । संस्कृतिमा एउटा श्लोक छ– “शिक्षा विकासे सकल विकार“ तर आज शिक्षाले विनास थपिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रतिष्ठित प्राध्यापकहरुलाई एउटा चोटिलो प्रहार गर्नुभएको थियो एक सन्दर्भमा “भारी बोकेर खाने, गिटी कुटेर खाने विश्वविद्यालय पुग्यो भने त्यो काम त गर्दैन तर उ बेरोजगार हुन्छ किन ?” प्रश्न यही आएर टुंगिन्छ र उत्तर पनि यसैभित्र छ ।

हामी अन्धानुकरणमा रमाएकै कारण यी सब भैरहेको छ । आफ्नो परिचयबोधका सवै चिन्ह मेटिनाले परचक्रीकै खटनपटन र दयामायामा भावी पुस्ता कृतदास बन्ने छ, त्यो पुस्ता खुसी हुनसक्ने छैन, आफ्नै सन्ततीलाई अहिलेका नीति निर्माता उत्तराधिकारमा के हस्तान्तरण गर्दैछन् ? यो प्रश्नको सहज उत्तर छैन । हो सरकारले खोजेको सुखी नेपालीको तथ्यांकभित्र यी प्रश्नहरु समावेश गरेर सोही अनुसारको योजना बनाउने हो भने देशको मौलिकताको संरक्षणका साथै नेपाली जनता संसारमै सबभन्दा बढी सुखी हुनेछन् । यसका लागि आयातित विचार र संस्कृति हैन आफ्नै विचार, आफ्नै व्यवहार र आफ्नै संस्कृति चाहिन्छ ।

शीर्षकमा भनियो “हरिया फाँटमा हलो जोत्ने जति खुसी शहरमा बस्ने छैनन्” । धेरैलाई वाहियात लाग्नसक्छ, कहाँ शहरको रमझम कहाँ गाउँको हलो-कोदालो । मानिसको खुसी प्रकृतिको निकटतासंग छ भनेर बुझ्ने हो भने ग्रामीण जीवन जो परम्परागत रुपमा एकता, सहिष्णुता र भाइचाराका माध्यमबाट हरेक समस्या र संकटमा एकले अर्कोलाई सहयोग गर्दै चलिरहेको छ त्यो नै सबैभन्दा ठूलो सुख र खुसी हो । धर्म, संस्कृति, परम्परा धान्दै स्वच्छ हावा पानी अनि आफ्नै खेतबारीमा उब्जेको अन्न खाएर स्वस्थ जीवन बिताउनु नै खुसी हो । यसका लागि चाहिन्छ पर्यावरणीय शुद्धता- जुन शहरमा छैन । शहरको कोलाहल, प्रदूषण (वायु, ध्वनि, जल) अनि यान्त्रिकृत जीवनले मानिसलाई दिने सुख कति होला ? विचार गरौं त ? यदि गाउँ दुःखै दुःखको खानी हुन्थ्यो भने भौतिक सुविधाले मस्त पश्चिमाहरु किन हाम्रा गाउँमा बासबस्न पुग्थे डलर खर्चेर ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!