गजेन्द्रनारायण सिंह अस्पतालका ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा

8 August, 2020 12:53 | जल/वातावरण/स्वास्थ्य | comments | 24600 Views

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि शुक्रबारदेखि अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले सात जना स्वास्थ्यकर्मी आइसोलेशनमा र चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण गजेन्द्रनारायण सिंह अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, बहिरङ र अन्तरङ र प्रसूति सेवाका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएकाले अस्पतालको सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको उहाँले बताउनुभयो । सात दिनमा सात जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा अहिले अस्पतालमा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा झाको भनाइ छ ।

  

मेडिकल सुपरिटेन्डेन झाका अनुसार एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण प्रसूतिमा पनि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालमा बाँकी रहेका पाँच जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरी नौ जनाको भरमा अस्पताल सञ्चालन गर्न कठिनाइ भएकाले अहिले तत्काल सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

यता सप्तरीमा दैनिक सङ्क्रमित फेला पर्दै गएपछि स्थानीय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । साउन २० गतेदेखि स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञाको कारण बजार सुनसान देखिएको छ ।

सप्तरीमा शुक्रबार एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ५५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनुभयो । आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् ।

आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताउनुभयो । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।

सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच/छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा उपचाररत राजविराज नगरपालिका–६ का ५५ वर्षीया एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको थियो । जसमा चार जना अहेबमा आज सङ्क्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका दुई चिकित्सकसहित १४ जना होम क्वारेन्टिनमा छन् ।

त्यसअघि पिसिआर परीक्षण नगरी एक महिनाअघि मलेशियाबाट आएर घर बसेका रूपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरुषको गत मङ्गलबार मृत्यु भएपछि बुधबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारमा संलग्न आकस्मिक कक्षमा कार्यरत शङ्कास्पद स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको छ । धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएका उनलाई धरान लैजानुअघि गनासिं अस्पतालमा दुईपटक भर्ना गरिएको एक अहेबले जानकारी दिनुभयो । सो क्रममा उपचारमा संलग्न भएका सात जना स्वास्थ्यकर्मी पनि होम क्वारेन्टिन भएको अस्पतालले जनाएको छ ।

सात जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टिन गर्नु परेपछि अस्पतालका अन्य सेवासमेत प्रभावित भएको छ । राजविराजमै रहेको छिन्नमस्ता अस्पताल (निजी) को ‘अपरेशन थेटर’मा कार्यरत सिरहा नगरपालिका–१७ का ३३ वर्षीय शल्यक्रिया सहायकमासमेत आज कोरोना सङ्क्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । दुई दिनअघिबाटै नयाँ भर्ना लिन बन्द गरेको छिन्नमस्ता अस्पतालमा हाल अस्पतालका एक कैदीसहित शल्यक्रिया र प्लाष्टर गरेका तीन बिरामी उपचाररत छन् । सो अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टिन गरिएकाले अस्पताल पूर्णरूपमा बन्द गरिएको प्रशासन प्रमुख राजेश झाले जानकारी दिनुभयो ।

केही चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी दुवै अस्पतालमा कार्यरत छन् । दुवै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पताल बन्द हुँदा उपचार सेवाबाट जिल्लावासी वञ्चित हुनुपरेको छ ।

गनासिं अस्पताल प्रशासनका अनुसार नयाँ बिरामी भर्ना लिन नसकिए पनि भर्ना भएका बिरामीको भने उपचार यथावत रहने छ । “निसङ्क्रमण गरेर आकस्मिक कक्ष सुरक्षित बनाएपछि सेवा सञ्चालन हुनेछ”, अस्पतालका दीपेन्द्र सिंहले भन्नुभयो, “अस्पतालबाट अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सावधानी अपनाएको र निसङ्क्रमण नगरुञ्जेल सेवा बन्द गर्नुपरेको हो ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More