गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

28 February, 2019 18:19 |गण्डकी प्रदेश , प्रदेश | comments | 28650 Views

    ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

    अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो ।

    adsads

    सरकारले स्व अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय बुधबार नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ ।

    नेकपा प्रदेश कार्यालयको आयोजनामा बिहिबार बिहान शान्तिवनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले फागुन १९ गते आइतबार गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले बताउनुभयो ।

    यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ ।

    उहाँद्वारा बिहिबा जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ ।

    अधिकारीको निधनबाट हामीलाई अपूरणीय क्षति भएको छ र गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उहाँद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उहाँले भन्नुभएको छ, “मन्त्री अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नुका साथै जनप्रतिनिधि, संसद्को विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिकामा समेत आफूलाई अब्बल सावित गर्दै आउनुभएको थियो ।”

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!