गुठीलाई राजनीतिक वा आर्थिक चस्माले मात्र हेर्नु मुर्खता

20 June, 2019 12:20 | बिचार | comments | 42150 Views

– डिकेन्द्र ढकाल –

सरकारले राष्टिूयसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि गुठीमा अभ्यस्तहरुको आन्दोलन रोकिएको छैन । उनीहरु विधेयक फिर्ता हैन खारेज नै हुनुपर्छ भन्ने मागमा अडिग छन् र बुधबार माइतिघर मण्डलामा विशाल प्रदर्शन भयो ।

adsads

सरकारले गुठीलाई कसरी बुझ्यो, विधेयकमा कस्तो प्रावधान राखियो ? संचार माध्यममा आएका विषय वस्तुकै आधारमा धारणा बने र आलोचना तथा बचाउको चर्को बाढीकाबीच विधेयक फिर्ता भएपछि एउटा अध्याय सकियो । तापनि गुठीको सारतत्व भने बुझ्नैपर्ने हुन्छ ।

गुठीलाई एकथरिले राजनीतिक, आर्थिक हिसाबले बुझेको पाइयो । वास्तवमा यो नै सबैभन्दा ठूलो भूल हो । वास्तवमा यति बेला यसको वर्णन, व्याख्या र प्रकार्यका बारेमा संस्कृतिविद, समाजशास्त्री र मानवशास्त्रीहरुबाट गरिनु पर्ने हो । गुठीको मूल पक्ष अर्थात् सामाजिक र साँस्कृतिक महत्वलाई किनारा लगाएर राजनीतिक वा आर्थिक चस्माले मात्र गुठीलाई बुझ्न खोज्नु महाभुल हो ।

संस्कृत शब्द “गोष्ठी”ले छलफलका लागि जुटेका व्यक्तिहरुको समुह भन्ने अर्थ दिन्छ । यही शब्दबाट अपभ्रंस हुँदै गुठी शब्द बनेको हो । यसरी गुठी भनेकै साझा उद्येश्य प्राप्त गर्न जुटेका व्यक्तिहरुको समुह हो ।

समाजशास्त्रीय हिसाबमा भन्ने हो भने मानिस सामाजिक प्राणी हो र समुदायमा रहेका हरेक मानिसलाई सुख दुखमा सँगसँगै संघर्ष गर्न, रमाउन, संस्कार र संस्कृतिको प्रवर्द्धन गर्न र परम्परालाई निरन्तरता दिन सिकाउने बृहत्तर नेपाली मौलिकताको प्राचिन ‘पाठशाला’ हो गुठी । गुठीको सुरुआतको कुरा गर्दा यसको अभुदय धर्म र संस्कृतिको संरक्षणको लागि नै भएको देखिन्छ । यसको संस्थागत विकास सँगसँगै कतिपय समुदायमा गुठी जन्मदेखि मृत्युसम्मका संस्कारका लागि पारस्परिक सरसहयोगको बलियो आधार र अनिवार्य संस्था नै बनेको छ ।

लिच्छबी कालका शिलालेखमा समेत गुठी शब्दको उल्लेख भएकोले गुठी निकै पुरानो लगभग १५०० -१६०० बर्ष पूरानो संस्था भएको स्पष्ट हुन्छ ।

प्राचीनकालका सरकारहरुले (राजाहरुले) निश्चित धार्मिक/सामाजिक/सांस्कृतिक प्रयोजनका लागि गुठी स्थापना गरेको पाइन्छ । जस्तै मठ मन्दिरको रेखदेख गर्नु, पूजाआजा गर्नु, जात्रा चलाउनु आदि । यस्ता सरकार वा राजाले स्थापना गरेका गुठीलाई राजगुठी भनियो । यस्ता गुठीहरु चलाउन आर्थिक बन्दोबस्तीको लागि सरकारले गुठीको नाममा जग्गा प्रदान गरेको पाइन्छ ।

पछि सर्वसाधारण व्यक्तिहरु मिलेर पनि सामुहिक/सामाजिक कार्यको लागि गुठी चलाउन सुरु गरे जसलाई निजी गुठी भनियो । यस्ता निजी गुठी संचालनका लागि कुनै मनकारी, दानी व्यक्तिले जग्गा प्रदान गरेका पाइन्छ र अन्य अवस्थामा गुठी सदस्य अर्थात् गुठियारबाट पनि आर्थिक संकलन गरी आर्थिक बन्दोबस्तीगर्ने चलन छ । प्युठान स्थित स्वर्गद्वारी मन्दिर संचालन गर्न स्थापित गुठी/जग्गा निजी प्रकारको हो ।

अहिले भएको खास त्रुटी भनेको ‘गुठी भनेकै जग्गा हो’ मतलब गुठीको मुल कुरो आर्थिक हो र समाजमा सबै कुरो अर्थले गर्दछ अर्थात् सामाजिक, सांस्कृतिक पक्ष अर्थको अगाडि गौण पक्ष हुन् भन्ने बुझाइ हो । गुठी संस्था वास्तवमा विश्वमै मौलिक र प्राचिन संस्था हो जसले सांस्कृतिक पुँजीलाई बचाई राख्न अहम् भूमिका खेल्दछ । परम्परा, पुस्ता हस्तान्तरण र समुदायमा आधारित यस्ता संस्थालाई राज्य नियन्त्रित प्रशासनिक संरचनामा बदलेर यसका मौलिक ध्येयलाई निरन्तरता दिने तवरले जोगाई राख्न सम्भव हुँदैन ।

उदाहरणका लागि नेपालका कतिपय समुदायका मौलिक अमुल्य संस्कृति र परम्परा लोप भएर गैसकेका छन् भने आधुनिकीकरण, भूमण्डलीकरण र पश्चिमीकरणको पहिलो सङ्क्रमणमा परेको नेपालको राजधानी र सबैभन्दा ‘विकसित’ सहर काठमाडौँ ले अझै पनि प्राचिनतम् संस्कृति, पर्व, जात्रा, मन्दिर, कला, वास्तुकला, भेषभुषा आदि कसरी जोगाइराख्न सकेको छ त भनेर खोजी गर्दा गुठी संस्थाकै कारणले सम्भव भएको देखिन्छ । बरु आधुनिकीकरण, भूमण्डलीकरण र पश्चिमीकरणको आक्रमणको बाबजुद पनि बचाउन सकिएको संस्कृतिलाई भूमिसुधार र गुठी संस्थानको स्थापनाका नाममा आएका सरकारी अपरिपक्व हस्तक्षेपले हाम्रा थुप्रै संस्कृति मेटिएको जगजाहेर छ ।

नेवारी समुदायमा परिवारको जेष्ठ पुरुष परिवारको तर्फबाट गुठीको सदस्य (गुठियार) बन्दछ र यसरी बनेका गुठीयारमध्येबाट सबैभन्दा जेष्ठ सदस्यलाई गुठीको थकाली बनाइन्छ । नेवारवासीको टोलमा वा सम्प्रदायमा पाइने गुठीको संरचना जैविक संगठन (organismic organization) हो र यसलाई कुनै प्रशासन सिर्जित यान्त्रिक संगठन (mechanistic organization)ले प्रतिस्थापन गर्न कदापि सक्दैन । नेवारी समुदायमा गुठीको भूमिका जन्मदेखि मृत्युसम्म छ। मृतकको काजक्रिया गरिदिने व्यक्ति नभएमा गुठियार मध्यबाट एकजनाले गर्नुपर्ने थिति भएको दृष्टान्त गुठीको भूमिका राज्यले बुझेजस्तो ‘आर्थिक’ मात्र होइन भन्ने बुझाउन यथेष्ट हुन्छ ।

अन्त्यमा, गुठी जस्तो सामाजिक-सांस्कृतिक संस्थाबारे नीति एवम् कानुन तर्जुमा गर्दा सम्वन्धित विषयविद् (संस्कृतिविद, समाजशास्त्री र मानवशास्त्री) एवम् सरोकारवाला समेतको वृहत्तर र गहन छलफल आवश्यक हुन्छ । नागरिक पक्षीय राज्यको पहल नागरिक सँगै जुटेर संस्कृति प्रवर्द्धनमा हुनु पर्दछ ।

आन्दोलनकारीको एउटै माग गुठी विधेयक खारेज नै गर्नुपर्छ (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजकिशोर यादव

फेसबुक

राजकिशोर यादव

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!