घलेगाउँवासीको दैनिकी पर्यटक सत्कारमा- त्यसैमा छ उनीहरुको खुसी

3 May, 2019 23:36 | कर्पोरेट/पर्यटन | comments | 21150 Views

नेपालको प्रमुख पर्यटकीय गन्तब्य हो लमजुङको घलेगाउँ । घलेगाउँको चर्चा र प्रचार विश्वव्यापी छ होमस्टेका लागि किनभने शीरमा सेतो हिमाल, मध्य माग जङ्गल, अनि फेदमा घलेहरुको बाहुल्यता रहेको ऐतिहासिक घलेगाउँ ।

adsads

विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ क्होलासोथर गाउँपालिका ३ नम्बरमा पर्दछ ।

जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् यस गाउँमा । नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढ्दै गरेको यस गाउँ दक्षिण एशियाकै नमूना गाउँको रुपमा समेत परिचित छ । जनआन्दोलनपछि आन्तरिक पर्यटकको वृद्वि हुन थालेपछि घलेगाउँका स्थानीय बासिन्दा खुशीले गद्गद् छन् । उनीहरु पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् । उनीहरुको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकहरुलाई खुशी बनाउनु हो । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन् ।

यी मध्ये घलेगाउँ फरक शैली भएको गाउँ हो । धेरै पर्यटकीय गाउँठाउँहरुमा युवा पुस्ताले आफ्नो गाउँमा आएका पर्यटकलाई स्वागत तथा सत्कार गर्ने गरेको पाइन्छ । यहाँका बालबालिका र वृद्धवृद्धा पर्यटकको सत्कारमा जागरुक रहेको भेटिन्छ । उनीहरुले नै गाउँ धानेका छन् भन्दा फरक पर्दैन ।

गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गरेका छन् । अनि गुन्द्रुक, मकै भटामास, कोदोको सेलरोटी, चिया लगायतका परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कार संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।

“पाहुना तथा पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्ण चरित्र नाच, घाटु, घ्याबे्र, लामा, सोरठी लगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो, यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकहरुले यसबारे जानकारी सँगै मनोरञ्जन गर्न पाउँछन्,” पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथोर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने – “पर्यटक सत्कारका लागि हामी घलेगाउँवासी सधैं उत्साहित छौँ ।”

प्रकृतिले सिङ्गारिदिएको घलेगाउँ आफैंमा पनि सुन्दर छ । यहाँबाट छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, सात हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), छ हजार ९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार ८९३ मिटर उचाइको हिमालचुली, सात हजार ८३५ मिटर उचाइको ङादीचुली (डा हर्क हिमाल) र छ हजार ६७२ मिटर उचाइको बुद्व हिमालहरु देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोईवो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भिर मौरी, वनझाङ्ग्री छहरा लगायतका स्थान समेत घलेगाउँको विशेषताको रुपमा रहेका छन् । तीे स्थानहरुको अवलोकन तथा अध्ययन गर्न तथा देख्न सकिन्छ ।

घलेगाउँका बासिन्दाहरुको अर्को विषेशता हो हस्तकला । उनीहरुले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तुहरु आफंै तयार गर्दछन् । भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट झाङ्ग्रा झोला, थैलो, नियालोको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता अति आवश्यक वस्तुहरु तयार गर्दछन् । धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुङ्गा, जस्तापाता र खरले छाएको घरको छाना, भ¥याङ, ढोकाहरुमा कँुदिएका कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय शीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ । यी र यस्ता कयौँ परम्परागत कलाहरुले धनी छ घलेगाउँ । पुराना शैलीका घुमाउरा घरहरु, बाक्लो घले (गुरुङ) बस्ती अनि, चौबीसै घण्टा पानी, बिजुली, वाइफाइको व्यवस्था र गाउँलेहरुबीचको एकता घलेगाउँका विशेषता हुन् ।

त्यसो त गुरुङसेनीहरुको आत्मीयता, सहयोगी भावना, निष्कपट स्वभाव बोकेका स–साना बालबालिकाहरु तथा बूढी आमाहरुको पर्यटकप्रतिको मायालु व्यवहारले घलेगाउँ पुगेका पाहुनाहरु तुरुन्तै फर्कन मान्दैनन् । त्यस्तै, लोपोन्मुख चराचुरुङ्गीहरुको मिठासपूर्ण आवाजले आल्हादित बनाउँछ । सुन्दर वनपाखा, एकनाशको स्वच्छ र शीतल हावापानीले समेत पर्यटकहरु घलेगाउँमा बस्न लालायित बनाउँछन् । पहिलाको घलेगाउँ र अहिलेको घलेगाउँमा धेरै भिन्नता छ ।

दश वर्ष लामो द्वन्द्वकालमा अस्ताएको पर्यटन क्षेत्र अहिले फस्टाएको स्थानीयवासीहरु बताउँछन् । समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको गुरुङहरुको उद्गम थलो तथा घले राजाले अन्तिम पटक राज्य सञ्चालन गरेको यस घलेगाउँमा १२५ घरधुरी छन् । यहाँका ९५ घर गुरुङ समुदायका र बाँकी दलित समुदायका छन् । यहाँ ३४ घरमा होमस्टे समेत सञ्चालनमा रहेको छ । बा¥ह वटाबाट शुरु होमस्टे भएको यो गाउँ अहिले नेपालकै दोस्रो रहेको घलेगाउँ होमस्टे व्यवस्थापनका संयोजक दीर्घराज घले बताउँछन् ।

उहाँका अनुसार यहाँ एकै रात डेढ सय जना पर्यटक सुत्न मिल्छ । यहाँ समिति नै गठन गरेर प्रत्येक हप्ता एकचोटि गाउँ सरसफाइ गर्ने अभियान शुरु गरिएको छ । यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय जातका कुखुरा, खसीबोका, भेंडाको मासु लगायतको परिकार घलेगाउँको आकर्षण हुन् ।

गाउँमा बास बस्न पुगेका पाहुनाको सत्कार सँगसँगै लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गा लगायतका लोपोन्मुख संस्कृतिमा देख्दा फरकपन महशुस भएको पर्यटक सुस्मिता अधिकारी बताउँछिन् । बेंसीशहर बजारबाट ३२ किलोमिटरको कच्ची सडक पार गर्दै मोटरबाट साढे दुई घण्टामा यो गाउँ पुगिन्छ । पैदल यात्रा गरेमा करीब ५ घण्टा लाग्छ ।

विसं २०५६ सालदेखि शुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने अभियानकै प्रतिफलका रुपमा घलेगाउँ अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा चिनारी दिन सफल छ । यस गाउँका सबै घरमा रातो टिन हाल्न गण्डकी प्रदेश सरकार केही दिन अघि २९ लाख ४६ हजार रुपैयाँ र क्होलासोथर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । स्मार्ट भिलेजको अभियानअन्तर्गत गाउँका १२५ घरधुरीमध्ये ८० प्रतिशत घरमा पुराना छाना हटाएर नयाँ रातो रङ्गको टिन लगाइएको समितिका सचिव उमल बहादुर विकले बताए । आगामी वर्ष घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा घोषणा गर्ने तयारीका साथ अघि बढेको घलेगाउँका स्थानीय बासिन्दा बताउँछन् ।

हिमालयको काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको लमजुङमा बाक्लो बसोबास छ । एकै ठाउँमा गुचमुच्च भएर बस्न रुचाउने यस समुदायभित्र एकता छ । रोधीं सँगसँगै यहाँका बासिन्दा पछिल्लो समय आमा समूह, बाबा समूह र युवा क्लबमा आबद्ध भएर गाउँको विकासमा लागिपरेका छन् ।

यस्तो रहेछ तस्बीरमा घलेगाउँ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!