छ महिना अवधिमा ३० खर्ब विदेशी लगानी हुने प्रतिबद्धता

15 February, 2020 00:01 | अर्थ | comments | 22500 Views

अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३० खर्बबराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा फागुन २ गतेदेखि १० गतेसम्म आयोजित ‘विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी)को उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

ads ads

मन्त्री खतिवडाले सरकारले लिएको उदार आर्थिक नीति र विश्वासिलो वातावरणका कारण मुलुकमा विदेशी लगानी भित्रिने क्रम वृद्धि भई जनताको समृद्धिको चाहना पूरा हुने बताउँदै प्रदेश नं १ को अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी दिँदै त्यसबाट यस क्षेत्रका उद्योग प्रतिष्ठानले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रका जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्व–पश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरु भएको छ भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारले स्रोतको सुनिश्चिताको आधारमा मुलुकको विभिन्न क्षेत्रमा आठ र छ लेन सडक निर्माणको प्रक्रियाको ठेक्का लगाइसकेको जानकारी दिँदै अब चार लेनभन्दा कमको सडक नबनाउने सरकारको नीति छ भन्नुभयो । उहाँले उद्यमी व्यवसायीलाई सरकारले हतोत्साही गर्ने कुनै उद्देश्य नहरेको बताउँदै कानूनको पालना सबैले गर्नुपर्छ र सरकार सम्पत्ति सुदृढीकरणको दुरुपयोग नगर्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले यस क्षेत्रमा निर्माण गरिने विशेष औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सडक, पानी, सुरक्षालगायत कार्यमा सरकार प्रतिबद्ध रहेको धारणा राख्दै उद्योगीले नयाँ बजार, अन्तरराष्ट्रिय क्षेत्रको मागलाई ध्यानमा राखी नयाँ उत्पादनमा उद्योगीलाई जान सरकारलाई सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पाम आयल भारत निकास खुलाउन सरकार सफल भएको जानकारी दिँदै वर्तमान सरकार निजी क्षेत्रलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई विकास गर्ने रणनीति रहेको छ भन्नुभयो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउँदै विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार मिटर तथा वाइडवडी जहाज अवतरण र उडानमा सहज बनाउनका लागि सङ्घीय सरकारसंँग आग्रह गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सुनसरीको अमडुवामा विशेष आर्थिक क्षेत्र निर्माणको गृहकार्य भइरहेको जानकारी दिँदै प्रदेश सरकारले सदनमा पेश गरेको वातावरण संरक्षण विधेयकबाट औद्योगिक क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, सांसद अमनलाल मोदी, प्रदेश सदस्य जयराम यादव, नेपाली काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, उद्योगीहरु शेखर गोल्छा, प्रकाश मुन्दडा, सुयेश प्याकुरेल र मेला संयोजक भोलेश्वर दुलालले सरकारले निजी क्षेत्रलाई साथ लिएर हिंडेमा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने धारणा व्यक्त गर्नु भयो ।

विराटनगर–२ स्थित शङ्करपुर मार्गमा आयोजना गरिएको प्रदर्शनीस्थलमा ३४० कक्षमा नेपाल, भारत, भूटान, बङ्गलादेशका विभिन्न कृषि, औद्योगिक, अटोमोवायल्स, कृषि यान्त्रिकीकरण, घरेलु उत्पादन राखिएका छन् । प्रदर्शनीमा मोरङ, झापा, सुनसरी, धनकुटा, सिरहा, सप्तरी, उदयपुरका गरी तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु एक अर्ब बराबरको कारोवार हुने विश्वास आयोजकले गरेको छ । मन्त्री खतिवडाले उद्योगपति भोलेश्वर दुलाल बिपिन कावरालाई आफ्ना उत्पादन घरघरमा पु¥याउन सफल भएको सम्मान गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More