रासायनिक मलमा जोडिएको उर्बर राजनीतिक खेती

9 November, 2020 11:27 | बिचार | comments | 62850 Views

 -डा. आरजी

केहि महिना अगाडी नेपालको छापाहरुमा नेपालले बंगलादेशसंग रासायनिक मल पैंचो मागे भन्ने खवरले निकै चर्चा पाएको थियो । अहिले आएर फेरि रासायनिक मलको चर्चाले छापाहरुमा पुनः स्थान पाउन थालेको छ ।

  

पैचो मागेर भएपनि, स्वाभिमान गुमाएरै भए पनि नेपालीले रासायनिक मल पाउने भए, किसानको आवश्यकता टर्ने भयो भन्ने लागेको थियो । तर त्यो सम्भावना पनि अब क्षीण हुने जस्तो छ ।

यस्तो मगन्ते समाचार पढ्दा आम नेपालीहरुको मनमा कस्तो किसिमको प्रतिक्रिया उत्पन्न भयो होला मलाई थाह भएन, तर एउटा कुरा चाही के निश्चित छ भने, यस्तो किसिमको मगन्ते समाचारले नेपालीहरुको मनमा थोरै लाज, नेपाली भएकोमा ग्लानि, अहिलेको राजनीति प्रति बितृष्णा, भ्रष्ट नेताहरु प्रति रोषको भावना अवश्य प्रकट भएको हुनु पर्दछ । नहोस पनि किन, नेपालमा राजनीति वा भनौ प्रजातन्त्र “बाँदरको हातमा नरिवल” जस्तो भएको छ ।

नेपाली नेताहरुको असक्षम नेत्रित्व, देश विकासको लागि चाहिने भिजन शून्य, भएको कारणले गर्दा नै आज देशले रासायनिक मल समेत पैचो माग्नु पर्ने स्थिति आएको छ । स्मरण रहोस, हामीलाई रासायनिक मल पैंचोदिने भन्ने बंगलादेशमा रासायनिक मल कारखाना चिनको सहयोगमा सन् १९७८ को मार्चमा मात्रै स्थापना भएको हो ।

थोरै ईतिहासको पाना पल्टाएर हेरौ । नेपाल र बंगलादेशको तुलनात्मक अध्ययन गर्ने हो भने, बंगलादेश १९७१ साल मार्च २६ तारिखका दिन पाकिस्तानबाट स्वतन्त्र भएको नेपालको तुलनामा निकै नै कान्छो देश हो । बंगलादेश एउटा स्वतन्त्र राष्ट्रको रुपमा उदय भएको ५० बर्षपनि पुगेको छैन । बंगलादेशको तुलनामा नेपाल एउटा अति नै प्राचीन देश हो । जो कहिले कसैको गुलाम नभएको स्वतन्त्र सार्वभौम राष्ट्र हो । अहिलेको राजनेताहरुले उपनाम दिएको निरंकुश तानाशाही पंचायतकालमा नेपालले बिभिन्न छिमेकी राष्ट्रहरुमा अन्न निर्यात गर्ने कृषि प्रधान देश भएको कुरा सर्वविधित् नै छ ।

बंगलादेशको छेत्रफल लगभग नेपालको छेत्रफलसंग धेरै फरक छैन । नेपालको छेत्रफल १४७,१८१ बर्ग किलोमिटर छ भने, बंगलादेशको छेत्रफल १४८,४६० बर्ग किलोमिटर । तर २०१८ सालको जीडिपी (कुल ग्राह्यस्थ उत्पादन) हेर्ने हो भने बंगलादेशको जीडिपी २६९.६ बिलियन डलर जसको तुलनामा नेपालको जीडिपी मात्र २७.८ बिलियन डलर मात्र छ । सरसर्ती हेर्दा पनि बंगलादेशको जीडिपी नेपालको भन्दा १० गुणा बढी छ । यहाँ एउटा प्रश्न उठ्छ, बंगलादेशको जनसंख्या नेपालको भन्दा ५ गुणा बढी भएकोले जीडिपी बढी हुनु स्वाभाविक होईन र ? यस्ता प्रश्नहरु अल्छी, कामचोर र भ्रष्टचारीहरुले गर्ने प्रश्न हुन् । जो आफु केहि गर्दैन र अर्काको प्रगतिमा खोट लगाउन पछी पर्दैन । अहिलेपनि नेपाल भौगोलिक रुपले ठगिएको वा भनौ भौगोलिक कारणले विकास गर्न कठिन देश हो भन्नेहरुको कमि छैन ।

नेपाल यदि जापान जस्तै समुन्द्रले घेरिएको देश हुने थियो भने, शायद त्यस्तै किसिमको सुहाउँदो बहानाबाजी गर्ने थियो होला । तर जापानीहरु बहानाबाजीमा समय खेर फाल्नु भन्दा, कर्ममा बिश्वास गर्छन । जसको फलस्वरुप, भौगोलिक रुपमा सानो र प्राकृतिक प्रकोपले विकासमा भाँजो हाले तापनि जापान आर्थिक रुपमा विश्वको तेस्रो धनि देश हो । त्यसै गरी यदि क्षेत्रफल र जनसंख्या बढी भएर जीडिपी बढी हुने भए आज चिन, भारत, इन्डोनेसिया वा पाकिस्तानआर्थिक विकासमा अग्र स्थानमा हुने थियो ।

हाम्रै सार्क राष्ट्र मध्यको एउटा सानो देश श्रीलंका भौगोलिक रुपमा नेपाल भन्दा झन्डै साढे २ गुणा सानो छ तर जीडिपी नेपालको भन्दा झन्डै साढे ३ गुणा (८८.९ बिलियन डलर) छ । अझ रोचक कुरा त, केहि बर्ष अगाडी सम्म संसारको सबैभन्दा गरिब देश भनेर चिनिने इथोपियाले आर्थिक विकासमा अहिले नेपाललाई पछि छाडी सक्यो । इथोपियाको जीडिपी ८०.२ बिलियन डलर झन्डै नेपालको भन्दा तेब्बर भइ सक्यो । नेपाल भन्दा धेरै पछी स्वतन्त्र भएको मात्र नभई लामो समय गृहयुद्धले गाँजेको देशहरु, नेपाल भन्दा छेत्रफलमा साना देशहरु दिन प्रति दिन विकासको छलांग लगाउदै आर्थिक विकासको दौडमाकुदिरहेका छन् । तर प्राचीनकालबाट आफ्नो छुटै स्वतन्त्र पहिचान बोकेको नेपाल भने हिजो भन्दा आज, आज भन्दा भोलि आर्थिक रुपमा छियाछिया हुदै गएको छ । यहि गतिमा भ्रष्टचार र लुटमारतन्त्रले निरन्तरता पाउने हो भने, नेपाल आर्थिक रुपमा टाट पल्टन धेरै समय लाग्ने छैन ।

जब जब नेपालमा आर्थिक विकासको कुरा उठ्छ, तब तब शाही नेपाल वायुसेवा निगम र थाई एयरवेजको तुलनात्मक कुरा एकथरीको युवा जमातमा उठ्ने गर्छ । हुन पनि हो शाही नेपाल वायुसेवा निगम र थाई एयरवेजको शुरुवात लगभग एकै समयमा भएको थियो । अझ भन्ने हो भने, शाही नेपाल वायुसेवा निगम थाई एयरवेज भन्दा लगभग २ बर्ष अगाडी सन् १९५८ साल जुलाई १ स्थापना भई, सेवा सुरु भएको थियो । थाई एयरवेज सन् १९६० मे १ तारिखमा मात्र शुरु भएको । त्यसैगरी कोरियन एयर सन् १९६९ साल मार्च १ तारिख र ड्रयागन एयर सन् १९८५ मा शुरु भएको हो । आज थाई एयरवेज, त्यसैगरी कोरियन एयर, ड्रयागन एयर र शाही नेपाल वायुसेवा निगम (हाल नेपाल वायुसेवा निगम) को अवस्था तुलना गर्ने हो भने, कुन नेपालीको आँखाबाट आँसु नखसला ? शाही नेपाल वायुसेवा निगमको यो दर्दनाक अवस्था किन र कसरी भयो भन्ने कुरा यहाँ कोट्याई रहन नपर्ला । यो त एउटा सानो उदाहरण मात्र हो । खोज्दै लेख्दै जाने हो भने मातृभूमिलाई प्रेम गर्ने कुनैपनि नेपालीले सायदै सहन गर्न सक्लान् नेपाल आमा लुटिएको कथा सुन्न ।

आखिर किन नेपालले आर्थिक विकास गर्न सकीरहेको छैन त? एउटा लाटो मन्द बुद्दिले सोच्ने हो भने पनि नेपालको राज्य ब्यवस्था संचालनगर्ने ठेकेदारहरु ठिक न भएको कुरा पानी जस्तै छर्लङ्ग छ । मन्त्रीहरु भ्रष्टाचार र कमिसनमा यसरी लिप्त भएका छन् कि, भ्रष्टाचार र राजनीति भन्ने शब्द एक अर्काको पर्यायवाची भई सकेको छ हाम्रो देश नेपालमा ।अहिले नेपालको सर्वपरिचित नेताहरुको केहि बर्ष अगाडिको जीवनस्तर र अहिलेको जीवनस्तरसंग तुलना गर्ने हो भने यो भन्दा धेरै अरु केहि भनिरहन नपर्ला । यस्तो लाग्छ कि राजनीति, देश र जनताको सेवा गर्नको लागि नभएर, आलिसान जीवन व्यतित गर्ने, धन सम्पत्ति कुम्ल्याउने उच्च् कोटिको पेशा सिद्ध भएको छ । नेपालको राजनीतिक संयन्त्रमा परिवर्तन ल्याउनु नितान्त आवश्यक देखिन्छ । किनभने यो नै नेपालको आर्थिक विकासको मूल बाधकहो ।

आज नेताहरुको भ्रष्टाचार, बलात्कार, कमिसन, नाताबाद, सुबिधाबाद जस्ता क्रियाकलापले आम नेपाली जनतामा प्रजातन्त्र प्रति शंका पैदा भएको छ । कतै नेपाललाई प्रजातन्त्र अफाप भएको त होईन भनेर । तर सबैलाई बिधितै भए अनुसार प्रजातन्त्र राज्य सन्चालन गर्नको लागि यो धर्तीमा सबैभन्दा उत्कृष्ट राजनीति ब्यवस्था मानिन्छ । अमेरिकाको सोह्रो राष्ट्रपति अब्राहम लिंकनले प्रजातन्त्रको बारेमा भनेका थिए । जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन प्रजातन्त्र हो ।तर हाम्रो देशको विडम्बना हामी एक्कासौ शताब्दीमा पनि नेपालमा प्रजातन्त्रको परिभाषा, नेताको, नेताको लागि, नेता द्वारा गरिने शासन प्रजातन्त्र भएको छ । यहाँ जनताको मतको खिल्ली उडाईएको छ । जनतालेप्रजातन्त्र द्वारा प्राप्त गरेकोआफ्नो मताधिकार प्रयोग गरि देशको लागि अयोग्य ठहराएको व्यक्ति पुनः सांसद, सभासद र प्रधानमन्त्री जस्तो गरिमामय पदमालाजै नमानी पदासिन हुने गर्छन । अझ त्योभन्दा पनि लज्जास्पद कुरा, भ्रष्टाचार वा बलात्कार जस्ता अपराध गरेतापनि राजनीति शक्तिको आडमा सजाय माफी गरिन्छ । त्यति मात्र कहाँ हो र, केहिदिन बित्न नपाउदै फेरी राजनीतिमा कमब्याक हुन्छन् ।के अब्राहम लिंकनले भनेको प्रजातन्त्र यहिनै हो त?

नेपालमा बिशेषगरी २०४६ सालमा प्रजातन्त्रको आगमन पश्चात, नेपाली जनताहरुमा नयाँ जोश र उमंग थियो । जनतामा आश थियो, अब नेपालले आर्थिक विकासमा फड्को मार्नेछ र दुखको अन्धकारबाट छुटकारा पाउने छ भनेर । तर नेपालको नेताहरु देश विकास र जनताको जीवनस्तर उकास्नुको सट्टा, आफ्नो र परिवारको जीवनस्तर उकास्न मात्रहोईन, राष्ट्रिय ढुकुटी कुम्ल्याउन होडबाजी नै गरिरहेका छन । नेपालको राजनीति बागडोर आफ्नो हातमा लिएका नेताहरुको जीवनयापन हिजो भन्दा आज, आजभन्दा भोलि विलासीपूर्ण र शौकमय भईरहेको छ । बर्षौ देखि सरकारको नाममा रहेको सरकारी जग्गा जमिन, राजनीतिकर्मी वा राजनीतिसंग संबन्धित व्यक्तिको नाममा रातारात नामसारि गरिएको छ । एक पटक उच्च पद हासिल गरेकै भरमा जिन्दगीभर सेवा सुबिधा भोग गरि रहेका छन । रातो पासपोर्ट र भन्सार सुविधाको दुरुपयोग गरेका छन । भाषण ठुलो गर्ने तर जनताको लागि केहि नगर्ने असंख्य अनावश्यक नेताहरु पाल्दा पाल्दाजनताकोजीवनस्तर झन् भन्दा झन् खस्किदो अवस्थामा छ ।

नेपालले आर्थिक विकासको फड्को मार्न नसेकेको प्रमुख कारण मध्यको एक राजनीतिकर्मिहरुको भ्रष्टाचार हो भन्ने कुरामा दुई मत नै छैन । त्यस बाहेक, असक्षमता, अनुशासन हिनता, खाओबाद र परिवारबाद हाबी हुनु । र सांसद र मन्त्रीहरुको संख्या आवश्यकता भन्दा बढी हुनु । यति थोरै जनसंख्या भएको र भौगोलिक रुपमा यति सानो नेपालमा देशमा ६ सय एक सांसद, अनावश्यक जम्बो मन्त्रीमण्डल । त्यति मात्र कहाँ हो र, मुट्ठी जत्रो देशमा ७ वटा प्रदेश, ७ प्रदेशहरुमा ५५० सभासद, असंख्य मन्त्रीमण्डलजस्ता अति नै अस्वाभाविक राजनैतिक संरचना निर्माण गरिएको छ ।भारतको एउटा प्रदेश भन्दा सानो नेपालमा ७ वटा प्रदेश र सयौ सांसद र सभासद भएकोले नेपालको बजेट, विकासमा भन्दा नेताहरुको तलब, भत्ता, सुबिधामा नै खनिने गरेको छ । यसो भएपछी कहाँबाट हुन्छ देशको विकास? नेपाल जस्तो सानो देशमा ६ सय एक सांसद होइन बढीमा ७० देखि ८० जना सांसद र १०, १५ जना मन्त्री भए प्रशस्त हुनेछ । हामीलाई रासायनिक मल पैचो दिने बाचा गर्ने बंगलादेशको जनसंख्या १६ करोड ३० लाख (नेपालको भन्दा झन्डै ६ गुणाबढी) छ तर सांसदको संख्या मात्र ३५० जना छ ।

२०४६ साल पछि नेपालको नेताहरुको राजनैतिक चर्तिकलाबाट के कुरा स्पष्ट भयो भने, नेपालको राजनीतिकर्मीहरुले नेपालीको गरिबी र अशिक्षालाई सत्ताको खुड्किलो बनाएका छन । यिनीहरुले राम्रोसँग के बुझेका छन भने, जबसम्म नेपाली जनता अशिक्षित र गरिबीको रेखामुनि रहन्छ, त्यसबेला सम्म यिनीहरुको शासनले निरन्तरता पाईरहनेछ । अर्थात् अर्को अर्थमा भन्ने हो भने, जब सम्म यिनीहरुको शासन कायम रहिरहन्छ, त्यसबेलासम्म नेपाली जनताले अशिक्षित र गरिबीको भुमरीबाट कदापी निकास पाउने छैनन् । यो एउटा सत्ता र गरिबीको भुमरी हो । यो निरन्तर रुपमा घुमाई रहन्छ।

के नेपालमा आर्थिक विकास सम्भव नै छैन ? अवश्य नेपालमापनि आर्थिक विकास सम्भव छ । मात्र हामीलाई गतिलो राष्ट्रप्रेमले ओतपोत भएको नेतृत्वको खाचो छ । साथै, देश विकासको लागि जनतापनि जागरुकहुन जरुरी छ । प्रकृतिले नेपाललाई अन्याय गरेको छैन । विकासका स्रोतहरु प्रशस्त छन । अब युवाहरु झोले राजनीतिलाई बिदा गरेर अग्रपंक्तिमा आउनु जरुरी छ । २ करोड ८० लाख जनताको माझबाट शुरुमा एक जना मात्र मार्ग दर्शक बने पुग्छ । उदाहरणको लागि, केहि बर्ष अगाडी सम्म देशमा होस् वा बिदेशमा नेपालनेपाल भन्ने बित्तिकै लोडसेडिङ भन्ने इमेज मानसपटलमा झल्कन्थ्यो।

तर जब कुलमान घिसिंगले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद सम्हाल्यो, त्यसपछि नेपालले अन्धकारबाट मुक्ति पायो । नेपालमा एकले थुकी सुकी… भन्ने उखान नभएको होईन, तर एक जनाले मात्र गरेपनि धेरै कुरा हुने रहेछ भन्ने कुरा कुलमान जस्तो राष्ट्र सेवकलाई हेरे पुग्छ । मात्र एक जनाले देशलाई झलमल्ल बनाउन सक्दो रहेछ । यसको अर्थ के हो भने, एक जना मात्रै दुर दृष्टि भएको नेता हुने हो भने, नेपालले गरिबीको अन्धकारबाट अवश्य निकास पाउछ भन्ने कुराको प्रमाण हो । कुलमान घिसिंग एउटा बिद्युत प्राधिकरणको निर्देशक मात्र हुदा देशले अन्धकारबाट मुक्ति पाउछ भने, यदि कुलमानलाई देशको उर्जामंत्री बनाई दिने हो भने, उर्जाको क्षेत्रमा देशले कति बिकाश गर्लान भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

कुलमान जस्तो ईच्छाशक्ति भएको व्यक्तिलाई यो देश जिम्मा लगाउने हो भने, देशले गरिबीको अन्धकारबाट मुक्ति पाउने कुरामा दुईमत छैन । त्यसैगरी नेपाल सरकारले कुनै महत्व नदिएको महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालीहरुलाई कोरोना संग जुध्न पिपिई  जस्ता सामग्री उपलब्ध मात्र गराएको छैन, थुप्रै उपयोगी सामानहरु बनाएर नेपालमा पनि विभिन्न सामग्रीको उत्पादन सम्भव छ भनेर प्रमाणित गरेर देखाएको छ । महाबिर पुनको नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्र, अहिले सम्पूर्ण नेपालीहरुको आशाको केन्द्र बनेको छ । कुलमान घिसिङले उज्यालो प्रदान गरे जस्तै, महाबिर पुनले उत्पादन र आविष्कारको क्षेत्रमा पथ प्रदर्शकको काम गरेका छन । अबको युग आईटी  को युग हो । महाबिर पुन र वहाँको टीमले नेपाललाई आईटीको क्षेत्रमा क्रान्ति गरि नेपालको आर्थिक बिकासमा योगदान गर्नेछ भन्ने आशा नेपाली जनताले लिएका छन । नेपालमा कुलमान घिसिङ र महाबिर पुन जस्ता राष्ट्रसेवक र अभियन्ताको कमि छैन, कमि छ त मात्र चेतनाको, नेतृत्वको, बिद्रोहको ।

अहिले देश र जनता कोरोनको कहरले आक्रान्त छ । सरकार चलाउने जिम्मेवारी पाएकाहरु जनताको दुखमा मलहमपट्टी गर्नुको सट्टा, जनभावनालाई बेवास्ता गर्दै कुर्सीको लागी तिगडम गरिरहेकका छन् । सरकारले वा भनौ जो नेताले देश र जनताको मर्म नबुझी, जनताको भावनालाई बेवास्ता गर्छ, त्यस्तो सरकार वा नेताबाट जनताले के आशा गर्नु ? त्यसैले अब युवाहरुलेदलीय र झोलीय राजनीति त्यागी, देशको विकास र जनताको सुखको लागि राजनीति बागडोर आफ्नो हातमा लिन अग्र पंक्तिमा उभिएर सक्रिय भूमिका खेल्नु पर्छ । अनिमात्र नेपाल, अब्राहम लिंकनले भनको जस्तो वास्तविक प्रजान्त्रिक देश, जनताद्वारा शासन गरिने, जनताको देश हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More