जब दुर्योधनको “रथयात्रा” देख्नुपर्यो !

15 September, 2020 15:33 | बिचार | comments | 18600 Views

तारा सुवेदी

“मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको” महाकवि देवकोटाले शकुन्तला महाकाव्यको पहिलो सर्ग (अध्याय) को प्रारम्भतिर “आफूले महाभारतकालीन भारत वर्षको कथामा आधारित भरतकी आमा शकुन्तला (मेनका अप्सराकी छोरी)को इतिहास वा पृष्ठभूमिलाई आधार मानेर किन शकुन्तला महाकाव्य लेख्न थालेको” भन्ने सन्दर्भमा उक्त कविता लेखेका थिए । मैले छात्र जीवनदेखि नै उक्त कविताको एक पंक्ति कण्ठस्थ गरेको हुँ । त्यतिमात्र होइन । मैले महाभारतको संस्कृतमूलको हिन्दी अनुवाद सहितको ६ वटा भाग (खण्ड) किनेर एकसरो पूरा पढेको थिएँ । मलाई साह्रै राम्रो लागेको थियो । मेरी कान्छी छोरी अभिज्ञा पनि त्यस्ता प्राचीन कथाका पुस्तक पढ्न निकै अभिरूची राख्दथिन् ।

त्यसैले उनलाई “एउटा भाग (खण्ड) पढुञ्जेलको लागि एकपौण्ड आइसक्रिम खानदिने” शर्तमा उनको एस.एल.सी. दिएर नतीजा ननिस्कदासम्मको ३–४ महिनाको फुर्सदको समयको सदूपयोग गर्न भनेको थिएँ । किनकि, उनलाई आइसक्रिम खूब मन पर्दथ्यो । तर आफ्नो हैसियतले उनलाई सधै खुवाउन सक्दैनथें ।

  

शुरूमा त शायद आइसक्रिमले उनलाई पढ्न लगायो । तर पछि उनलाई निकै रस बसेछ, दिनभर पढेर पनि बसिन् । ती ६ वटै भाग (खण्ड) तीन महिना चानचुनको अवधिमा पूरा गरिन् । मैले ६ पाउण्ड आइसक्रिम पनि पटक पटक गरी खुवाएँ । पछि “राही मासूम रजा” को पटकथामा “चोपडा कम्पनी”ले महाभारत टेलिश्रृङ्खला नै बनाएर प्रदर्शन गर्न थाले । निकै लोकप्रिय सिरियल बन्यो । छोरी अभिज्ञाले त्यो सिरियल हेर्दै गर्दा “मूल ग्रन्थमा कहाँ–कहाँ कति फरक देखाइयो र यो यो ठाउँमा, मूलमा यस्तो भए पनि सिरियलमा यति यति फरक देखाइयो ? भनेर टिप्पणी गर्ने गर्दथिन् । अहिले उनी अमेरिकामा” जोन हप्किन्स विश्वविद्यालयबाट “पी.एच.डी. र पोष्ट डक”कै पूरा गरेर एन.आई. एच. (नेशनल इन्स्टीच्यूट अफ हेल्थ) मा कार्यरत छन् । अहिले महाभारतका कथाको कति कुरा उनको मन मथिङ्गलमा शायद अमिट होलान्, थाहा भएन ?

हिजोको रूची र प्रसंगतिरको मात्र कुरा होइन । भाषा पाठशालामा पढ्दादेखि नै मलाई पौराणिक कथा— (अझ खास गरी महाभारतका कथावस्तु)— र तिनका पृष्ठभूमि बडो प्रेरणाप्रद र रमाइलो लाग्दथ्यो । यद्यपि समय, सन्दर्भ र मेरो विश्लेषणात्मक भनौं वा “समीक्षात्मक रूपबाट हेर्ने, केलाउने” क्षमताको विकाससँगै ती घट्नावली, पात्र र चरित्रलाई हेर्ने र बुभ्mने तरिका फरक परेको हुनसक्छ । तथापि जसरी महाभारतमा शकुनीको सम्पूर्ण षडयन्त्र र स्वभाव दर्शाइएको थियो त्यसरी नै “दुःशासन” जस्तो मर्यादा विरूद्धको उच्छृङ्खल स्वभावका व्यक्तिको निरीह छायाँको रुपमा मूर्धन्य महारथीहरू द्रोणाचार्य, भीष्म, कृपाचार्यहरू मात्र नभई आँखाका अन्धा भए पनि राज्यका सर्वोच्च व्यक्ति महाराजा धृतराष्ट्रहरू पनि देखिए । त्यससँगै आदर्श राजमाताहरू कुन्ती, गान्धारीहरू समुपस्थित सम्मानित राजसभामा जसरी एउटी कुलीन राजकुमारी एवं कुरूवंशकी कूलबधु द्रौपदीको चीरहरण गर्ने गराउनेमा दुर्योधन, दुःशासन, शकुनीहरू एक भएर देखापरे । मेरो वाल्यकालीन मनमस्तिष्कमा नै त्यसबाट पूर्णतः उनीहरुप्रति विचित्रको नकारात्मक अमीट छाप परेको थियो ।

तथापि, उद्धृत कविताको खण्डमा देवकोटाले भन्नु भएजस्तो गरी मलाई अहिले मात्र होइन जहिले पनि फुर्सद पायो कि जीवन र जगत अगाडि देखा परेका घट्नावलीहरूमा कुनै न कुनै रूपमा महाभारतका ती सहस्र घट्नावलीहरु सधैं चलचित्रका दृश्यहरू जस्तै स्मृतिपटलमा दोहोरिरहेको पाउने गरेको छु । यही सब कारणले होला, मैले महाभारतको मूल (टेक्स) मात्र नभई विभिन्न विद्वानहरूले लेखेका महाभारतसम्बन्धी कथामा आधारित पुस्तकहरूको सङ्ग्रहित नै गरेको छु । त्यसरी सङ्ग्रहित पुस्तकमध्येको एक “चत्रवर्ती राजगोपालाचारी जस्ता सबै विधाका मूर्धन्य व्यक्तिहरूले लेखेका “महाभारत कथा” प्रायः पढ्छु । त्यसमा महाभारतका कुनै न कुनै रूप र प्रसङ्गमा चर्चित पात्रहरूको चरित्रसहितको सामान्य परिचय पढ्न पाइन्छ । जेहोस्

विचित्रको सपना 

छात्र जीवनदेखि आजको निवृत्त र निष्क्रिय प्रायः वय र समयमा पनि म दिनमा सुतेको, निदाएको थिइन । यदाकदा विरामी अवस्थामा समेत दिउँसो सुत्न सकेको जस्तो लाग्दैन । तर विश्वव्यापी कोरोनाको महामारी नियन्त्रण गर्ने नाममा सरकारले वन्दावन्दी र अन्धाधुन्ध निषेधाज्ञा (कफ्र्यू) लगाएर आम नागरिकलाई आ–आफ्नै घरभित्र नजर वन्द गरेपछि गएको भदौ २५–२६ गतेतिर हो क्यार ! १२–१ बजेतिर राजगोपालाचारीको “महाभारत कथा” पढ्दै थिएँ, अघिल्लो रात गर्मी र अति उच्च आदर्शका उदाहरणीय व्यक्ति एवं मेरो घनिष्ठतम् मित्रको पूरा परिवार कोभिड–१९ बाट सङ्क्रमित भएको खबर पाएर पटक्कै निदाउन नसकेको कारणले हो कि? झपक्कै निदले छोपेछ । २–३ घण्टा” गोरु बेचेर सुतेको” जस्तो गरी निदाएछु ।

त्यसरी निदाएको वेला अनौठो र अपत्यारिलो सपना देख्न पुगेछु । सायद प्रायः सबैको नियमित र स्वाभाविक कुरा भए पनि त्यसदिन भने विचित्रको सपना देख्न पुगें । त्यसलाई जस्ताको त्यस्तै शब्दमा रुपान्तरित गरेर अभिलेख गर्ने मनसुवा जाग्यो । जुन सपना यस्तो थियो —

“म कता कता महाभारतकालीन हस्तिानापुरतिरबाट एकाएक कान्तिपुरको सिंहदरबारको पश्चिमपट्टी भद्रकाली छेउको पर्खालतिर उभिएको रहेछु । अचानक सिंहदरबारतिरबाट हो कि महाराजगञ्जको अस्पतालतिरबाट हो ? हातमा गदा, बगलमा खड्ग धारण गरेका कुनै महाभारतको युद्ध जितेर शोभायात्रा र विजय परेडका लागि निस्के जस्तो– वाजा, गाजा, लावा लस्करसहितको रथमा त्रिमूर्ति बसेको देख्न पुगें । कुनै महानिर्वाचनमा विजयीहरू भनौं भने यस बेला कुनै निर्वाचन भएजस्तो लाग्दैन । यस्तै द्विविधाले त्यो “सिन्दूर जात्रा होकि शोभायात्रा” ठम्याउन सकिरहेको थिइन । त्यसै रथको पछाडि निकै प्रसन्न मुद्रामा हिंडिरहेका एकजना पुरानो परिचित मित्र देखें । पर्खालबाट ओर्लिएर उनलाई छेउपट्टी तानेर “रथारूढ त्रिमूर्ति को को हुन्, यो जुलुस सिन्दूर जात्रा हो कि समरविजयी भएको उपलक्ष्यमा निकालिएको शोभायात्रा हो ?, यसको गन्तव्य कहाँ हो ? एकमुष्ट प्रश्नावली तेस्र्याएँ ।

उनले सबै जिज्ञासा मेट्दै गए “त्यो रथको बीचमा” महाराज दुर्योधन” विराजित हुनुभएको छ भने दाहिनेतिर उहाँका ‘मामाश्री’ गन्दर्भ देशका राजकुमार “शकुनी” बस्नु भएको छ । देबे्रपट्टी महाराजका भाइ दुःशासन हुनुहुन्छ । मलाई पनि त्यति धेरै त थाहा छैन । तर यो जुलुश भनौं शोभायात्रा भनौं, विना रक्तपात र शस्त्रास्त्रको प्रयोग, झण्डै वर्षौदेखि शीतयुद्धको रुपमा चलेको बुद्धिचाल खेलमा विजयी होइबक्सेका महाराज दुर्योधनको सिन्दूरजात्रा भने पनि हुन्छ, शोभायात्रा भने पनि हुन्छ । यो नगर परिक्रमापछि “जन” (नागरिक) सम्मान मैदानमा पुगेर टुंगिन्छ भन्ने सुनेको छु” । त्यति भनेर उनी निकै पूmर्तिसाथ “महाराजा”को रथ भेट्ने गतिमा अगाडि बढे ।

म एकछिन त तिल्मिलाएँ ! उहिलेको हस्तिनापुरको कुख्यात खलनायकको कान्तिपुरमा यस्तो भव्य रथयात्रा ? त्यस्तो दुर्योधनलाई नेपालका मूर्धन्य व्यङग्य चित्रकार “वात्सायन”ले कहिले कहाँ देखेका होलान् र मेरो अगाडिबाट भव्य रथको मध्यभागमा बसेको मान्छेसँग काट्टिकुट्टी मिल्दो चित्र (कार्टून) उहिलेदेखि कोर्दै आएका होलान् । अचम्म लाग्यो ।

जे होस् ? यसपछि त्यो जुलुसमा उनको दरवारका सेवकएवं अन्धा महाराजा धृतराष्ट्रप्रति जीवनभर वफादारीपूर्वक सेवा गरिरहने शपथ खाएका महारथी कर्ण, द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा मात्र नभइ भीष्मपितामह लगायतको समूह अगाडि बढ्यो । तर उनीहरूको शीर निहुरिएको र मुख पूरा रंगरोगन (कान्ति) विहिन थियो । भलै, शब्द कठोर र अशुभ पनि लाग्न सक्छ । सही रूपमा र ठेट शब्दमा भन्ने हो भने “उनीहरू आ–आफ्ना निकटस्थहरूको सामूहिक शवयात्रामा हिंडेका जस्ता” देखिन्थे ।

द्रौपदी चीरहरणको सीमान्त अशोभनीय दृश्य र उनको कारुणिक क्रन्दन सुन्न–देख्न असह्य भएपछि प्रतिवाद गर्ने जमर्को गर्दा “मेरै दरबारबाट पालित पोषित तिमी (भतुवा ?) हरू चूप लागेर बस” भनेर भनेको वाग्वाण गडेको मन मुटु लिएर ती “सर्वश्रेष्ठ शस्त्र शास्त्र शिरोरत्नहरू” कसरी स्वाभिमान, आत्म सम्मानलाई तिलाञ्जली दिएर तिनै दुर्योधन, शकुनी र दुःशासनको पछाडि पछाडि हिँड्ने साहस गरिरहेका होलान् ? मलाई उदेक लागिरहेको थियो । यस्ता महावीर, महारथि महान योद्धाहरूलाई पनि कतै दुर्योधनले आफ्नो दरबारबाट निष्कासित र वहिस्कृत हुने गरिने हो कि भन्न डरले सताएको लाग्यो । नत्र सीमान्त अपमानित भएर, अन्तिमसम्म उनकै भजन गाएर उनकै दरबारमा भोजन गरिरहने सोच कसरी आयो होला ?

त्यति मात्र होइन । “दुर्योधनको जाँघ तोड्ने र दुःशासनको छातीबाट रगत निकाली द्रौपदीको पिंmजारिइरहेको कपालमा लगाएर चुल्ठो बाटिदिने” हटवादी संकल्प गरेका भीम, अर्जुनहरू जन्मजात वैर, विद्वेष बिर्सेर र दुर्योधन–दुःशासनका पछाडि लागेर प्रतिस्पर्धाको बार भत्काई तिनैको जयगान गर्दै छत्र चामर बोकेर हिँडेको समेत देख्नुप¥यो । त्यस्तो अपत्यारिलो मात्र नभइ “असंभवम्” घटना परिघट्ना देखेपछि “अझ थप के के उदेकलाग्दा कुरा देख्न पाइन्छ” भनेर म पनि लम्किंदै सिंगारिएको रथ भेट्ने लक्ष्यले दौडिदैं अगाडि बढें । नयाँ सडकको पिपलबोट अगाडि पुगेको रथयात्राको आडमा पुगें ।

जब ती “त्रिमूर्ति” जुद्धमशेरको सालिक अगाडि पुगे, सारथीलाई रथ रोक्न लगाए । रथबाट ओर्लिएर जुद्ध शमशेरको सालिमा पुष्पार्पण गरे । “दुर्योधन पनि जुद्ध शमशेरलाई आफ्ना आदर्श पुरुष मान्दा रहेछन्– अनौठो लाग्यो । ती महाभारतको कुनै कालखण्डका कौरवका सन्तानहरू पनि जुद्ध शमशेर जस्तो त्रूmरतम नरपिशाचलाई किन आफ्ना आदर्श पुरुष ठान्दै मान्दै होलान् ? यस प्रश्नको उत्तर मैले एक जना राजनीति शास्त्रका वरिष्ठ प्राध्यापक— जो त्यसै जुलुसको तमासा हेर्न आएका थिए— लाई सोधे उनले “दुर्योधन जसरी राजनीतिको धर्म, मर्ममाथि नै वेसर्मी भएर निःशंकोच बलात्कार गरिरह्यो, लोकमतलाई लत्याएर अघि बढ्यो” पाण्डवहरूलाई पाँच गाउँ त के सियोको टुप्पोको अग्रभाग गाड्दा पर्ने खाल्टो बराबर पनि (उनीहरूलाई) भूमि दिन्न भन्ने जुन सर्वसत्तावादी हठमा अडिग थियो जुद्ध शमशेरले पनि आफ्ना रैती प्रजालाई त्यसरी नै अधिकारविहीन अर्धदास जीवन बाँच्न बाध्य पार्नेमा प्रतिबद्ध थियो । त्यही सैद्धान्तिक साम्यताको कारण हरेक जनमत विरोधी सर्वसत्तावादीलाई दुर्योधन सम्मान गथ्र्यो” । सायद त्यसैले दुर्योधनले पनि त्यही भएर पुष्पार्पण गर्यो होला ?”

त्यो सबै सुने, देखेपछि त्यहाबाट म हनुमानढोका गद्दी बैठकतिर लागे । (दुर्योधनको) सवारी भेट्न अगाडि लम्कें । जुलुस “हनुमानढोकाभित्रको गद्दी बैठकको राजगद्दी देखाउनुपर्छ” भनेर बस्ने बसाउने दुर्योधन, शकुनी र दुःशासन एकोहोरा जिद्धी गर्दै थिए । सायद उनीहरू उनलाई (दुर्योधनलाई) भित्र गद्दी बैठक देखाउने वहानामा राज–ताज पहि¥याएर यो मुलुकको गद्दीमा समेत दुर्योधन बसेर राज गरेको इतिहास लेखाउने मनसुवाले गोर्खालीहरूसँग जिद्दी गर्दैरहेछन् । तर गोर्खाली सुरक्षाकर्मीले रोकेपछि उनको रथ फर्काइदै थियो । सडकछाप म हतार हतार जन (नागरिक) परेड गराउने ठाउँको छेउतिर गएर बसें ।

जब जुलुस भनौं वा शोभायात्राको अगाडिको रथ आयो । उनी रथबाट ओर्लिएर मञ्चतिर उक्लिए । शीर्षस्थानमा शुभ्रवस्त्र परिधानां जगन्माता सरस्वतीको मानव कदको मूर्तिलाई झुकैभैंm गरी मल्यार्पण गरेर प्रणाम गरे । त्यो दृश्य (उनले हात जोडेर मुसुमसुु हाँस्दै विनम्रतापूर्वक नमस्कार गरेको) देखेको आम जन समुदायले गलल्ल हाँसेको देखें । तर त्यो आम हाँसो अलि अर्थपूर्ण लागे पनि सोध्ने कसलाई ? मलाई त्यो हाँसो क्षणिक र व्यंग्यात्मक जे लागेको भए पनि चासो देखाइन ।

यहाँनिर मैले इमान्दारीपूर्वक भन्नैपर्छ– मेरो सोच्ने, विश्लेषण गर्ने र बुभ्mने क्षमता पुरानोखाले ट्युब लाइटजस्तो धेरै पछि बल्ने रहेछ । जबदेखि दुर्योधनको रथयात्रा भन्ने सुनें हस्तिनापुर दरबार छोडेर अन्धा बृद्ध राजा आफ्नो कुकुर, बुहारी कुन्ती, विदूर लगायतलाई साथमा लिएर उत्तरको कैलाशतिर लागे । उनीहरुलाई बद्रिनाथधामपछिको नन्दादेवीदेखिको हिम श्रृङ्खलाले रोकेको र त्यही उनहिरु स्वर्गबासी भएको सुनेर होला दुर्योधन हिमालयपारबाट रेल झिकाएर कैलाशतिर जान यतातिरको बाटो लागेको हो कि ? अथवा आपैmले रेलको बाटो (लीक) बिछ्याएर चिनिया रेल ल्याएर, त्यसैमा चढेर उसपारको कैलाश मानसरोवरमा— जसलाई कट्टर पुरातनवादी हिन्दु “स्वर्ग” भन्छन्–ठान्नछन्— आफ्नो जीवनभरका नरहत्या, ब्रह्महत्या, गोत्रहत्या मात्र होइन राजकूलबधू द्रौपदीको चीरहरणको पाप र उनको श्रापमुक्तिको लागि उनीहरुको (दुर्योधनहरु)को यो उत्तरापन्थी यात्रा हो ? बुभ्mन सकिएन

त्यतिमात्र नभएर, मेरो मनमथिङ्गलमा “दुर्योधन जस्तो महापापी, बन्धु पुत्र (अभिमन्युलगायत) बालघाती, महाउद्दण्ड, महाबेकुफ, महालण्ठ, महाबेसोमति, का बाबुको दरबारका महारथी, महावीरको पूरा (राजसभाका नवरत्नको) भीड किन आज पनि त्यही शठको पछिलागेर कहाँ पुग्ने लक्ष्य लिई आएका होलान् ? त्यो सबैभन्दा उदेक वा आश्चर्य लागेको त तीे भीम र अर्जुन किन जीवभर दुर्योधनसँग मल्लयुद्ध लडेर अखडामा (आफैंले) पछारिदिएका दुर्योधनकै पछाडि उसलाई चमर डोल्टाउँदै हिँडेका होलान् ?

त्यही ती सबै अनुत्तरित प्रश्नको उत्तर खोज्दै झोंक्राएछु । त्यहीबीच सम्मान परेडमा तोप पड्किएछ । म झस्किएर जाग्दा घाम डाँडापारि पो पुगेको रहेछ । त्यस दिनदेखि मैले त्यस्तो पनि सपना हुन्छ ? कल्पनै गर्न सकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More