जहाँ चिकित्सक नै जान मान्दैनथे अब त्यही उत्पादन हुने भए विशेषज्ञ चिकित्सक

21 June, 2019 22:41 | जल/वातावरण/स्वास्थ्य | comments | 9300 Views

दुर्गम क्षेत्रमा चिकित्सक खटिन समेत नमान्ने गरेको दृष्टान्तकाबीच अब दुर्गम क्षेत्रबाट विशेषज्ञ चिकित्सक तयार हुने भएका छन् । लामो समयदेखि संचालनको तयारीमा रहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनुमति/स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो ।

adsads

यसले कर्णाली समग्र प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढोका खुलासमेत भएको छ ।

नेपाल मेडिकल काउन्सिलको बिहिबार बसेकोे बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृति दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भन्नुभयो, “जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्नेछ ।”

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले जानकारी दिनुभयो ।

दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो अस्पतालमा तीन श्यया आइसियु रहेका छन् । “हामी यहाँ सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका छौँ । सिटीस्क्यान उपकरण सेवा शुरु हुँदैछ । नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ”, उहाँले भन्नुभयो ।

एमडिजिपी तथा एमबिबिएस दुवै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य पूरा गरेपछि काउन्सिलका विज्ञ टोलीले पटकपटकको स्थलगत अध्ययन गरेको थियो । पछिल्लो समय काउन्सिलको अध्ययन टोलीमा जुम्ला जानुभएका एक विशेषज्ञ चिकित्सक भन्नुहुन्छ, “एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार तथा जनशक्ति सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षाा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए । विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौं सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो ।

चिकित्सक शिक्षा अध्ययन अध्यापनका लागि शैक्षिक कार्यक्रम सञ्चलन गर्न काउन्सिलको स्वीकृति/अनुमति अनिवार्य आवश्यक पर्छ । प्राडा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागमा प्रतिष्ठानमा एमडिजिपी, एमबिबिएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नुपर्नेसमेत रहेको थियो ।

प्रा डा रेग्मी विभागीय प्रमुख
प्रतिष्ठानमा कार्यरत विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा अनवरत सेवा गर्नुभएका चिकित्सक हुनुहुन्छ । प्रतिष्ठानले विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक पद आह्वान गर्दा १५० भन्दा बढी चिकित्सकले दर्खास्त दिनुभएको थियो ।

प्रतिष्ठानको डीनमा प्रा डा रेशमबहादुर राना कार्यरत हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी सेवा प्रदान गर्नुभएका प्रा डा रानाले पछिल्लो समय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आउनुभएको थियो ।

स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मी कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुनुुहुन्छ । विश्व स्वास्थ्य सङ्गठनको आकर्षक परामर्श पद त्याग गरी उहाँ जुम्ला उक्लिनुभएको थियो । अधिकांश समय ग्रामीण स्वास्थ्य सेवामा नै व्यतित गर्नुभएको प्रा डा रेग्मीले भन्नुभयो, “जुम्लामा चिकित्सा उत्पादन गर्र्ने सपननालाई मूर्त रुप दिन म आएको हुँ ।”

प्रा डा सुनिल बुढाथोकी र प्रा डा कमल शर्मा प्रतिष्ठानको बालरोग विभागमा कार्यरत हुनुहुन्छ । प्रा डा शर्मा स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजिनामा दिइ जुम्ला गएका हुन् । एमडिजिपी कार्यक्रमको संयोजकमा डा तरुण पौडेल नियुक्ति हुनुभएको थियो । उहाँ स्वास्थ्य सेवातर्फ १२औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुनुहुन्छ । सोही कार्यक्रममा डा भोलाराम श्रेष्ठ कार्यरत हुनुहन्छ । उहाँ पनि स्वास्थ्य सेवाको १२औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुनुहुन्छ । सोही कार्यक्रममा डा निरेश थापा कार्यरत हुनुहुन्छ । उहाँहरु तीनै जना एमडिजिपी तथा एमडी हुनुुहुन्छ । नेपालमा एमडिजिपी शिक्षाका सर्वेत्कृष्ट चिकित्सक मानिनुहुन्छ ।

नयाँ उदाहरण
प्रतिष्ठान पछिल्लो समय जुम्ला अस्पतालमा कार्यरत आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको थियो ।

सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई गत मङ्सिरमा जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ । “सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न पठाएको हो । आगामी दिनमा प्रतिष्ठान र अस्पतालसित सहकार्य गरी अगाडि बढ्ने छ”, प्रतिष्ठानका उपकुलपति प्रा डा वाग्लेले भन्नुभयो ।

हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत छन् । ती चिकित्सकले कर्णाली प्रदेशका दुर्गम गाउँमा गई घुम्ती शिविरमार्फत हालसम्म १५ हजारको उपचार गरिसक्नुभएको छ ।

रजिष्टार काफ्ले भन्नुहुन्छ, “अब एमडिजिपी तह अध्ययनका लागि भर्ना प्रक्रिया अगाडि बढ्छ । पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा रहेको छ । दुर्गम क्षेत्रमा चिकित्सक जनशक्ति पुर्याउन एमडिजिपी तहको अध्ययन अध्यापनले कोशेढुङ्गाको काम गर्छ ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!