‘जापानमा अध्ययनरत छोरोको आमा-बुबालाई चिठी’

16 April, 2016 10:10 | जापान , बिचार | comments | 2884200 Views

Satish Bhattraiआदरणीय बुबा साष्टाङ्ग डण्डवत् !

हजुरको जापानमा अध्ययनरत छोरोको तर्फबाट ढोग । नेपालमा हुँदा पनि कुनै दिन पनि म तपाईसंग ठाडो शिर बनाएर बोल्न सकिन, अनि आमालाई आड बनाएर आफ्नो कुरा राख्ने गर्थे।

adsads
त्यसैले होला आजसम्म पनि म तपाईसंग फोनमा १ मिनेटभन्दा बढी बोल्न सक्दिन ।

जापानको नियम अनुसार विद्यार्थीले हप्ताको २८ घण्टा मात्र काम गर्न पाउँछ, तर बस्न, खान, अनि स्कूल ‘फी’ तिर्न नपुग्ने भएकाले २ ओटा  काम गर्न बाध्य भएको छु ।

बुबा, तपाईले गर्नु भएको हरेक प्रश्नको जबाफ दिन आज यो चिठी लेख्न बाध्य भएको छु । हो म जापान आएको लगभग २ बर्ष जति भयो । काम भनेको त्यही हो कनिकुथी हप्ताको ३६ घण्टा जति गर्छु । हुन त जापानको नियम अनुसार विद्यार्थीले हप्ता को २८ घण्टा मात्र काम गर्न पाउँछ, तर बस्न, खान, अनि स्कूल फी तिर्न नपुग्ने भएकाले २ ओटा ठाउँमा काम गर्न बाध्य भएको छु । एक ठाउमा २० घण्टा अनि अर्को ठाउमा १६ घण्टा काम गर्ने गरेको छु । टोक्यो भएकाले घन्टाको नर्मल हजार येन छ । ३६ घण्टाको हजार येनका दरले हप्तामा ४०हजार येन कमाउँछु । महिनाको १ लाख ६०हजार येन हुन् जान्छ । अब कोही भाग्यमानी भएर अलिक बढी कमाउँलान् त्यो छुट्टै कुरो हो । प्रायः विद्यार्थीले कमाउने रकम भनेको यही नै हो मोटा मोटी रुपमा भन्नु पर्दा ।

तपाई सोच्नु हुन्छ होला जहिले मासु खान्छ तर

कहिल्यै सोध्नुभयो किन? सँधै कुखुराको मासु मात्र खान्छस् भनेर ?

त्यत्रो पैसा त कमाउँदो रहेछ । तर कहाँ खर्च गर्छस् त भन्नेन प्रश्न पनि तपाईंको हुनसक्छ । म त्यसको पनि बेलिबिस्तार लगाउँछु ।

एक्लै बस्न धेरै मर्का पर्ने भएकोले एउटा साथीसँग बस्छु । कोठाको भाडा ६५ हजार येन तिर्छु, ग्याँस, पानी, बत्ती र ईन्टनेट गरेर लगभग २०हजार येन पर्न जान्छ । अनि चलेको चलन बुबा एउटा आईफोन लिएको छु १० हजार येन जति बिल आउछ । तर कोठा भाडा चाहिं चाहिं ठाउँ र घर अनुसारको हुन्छ । यत्ति बुझ्नु कि विद्यार्थीको मोटामोटी बस्ने खर्च यस्तै पर्न जान्छ । घरमा मलाई पनि एउटा आईफोन पठाइदिन मन थियो तर तपाईहरुले अंग्रेजी पढन सक्नु हुँदैन त्यसैले कहिले काही २ हजार येन पर्ने कार्ड किनेर फोनमा कुरा हुँदा के पकाईस् भन्नुहुन्छ । अनि म जहिले नि कुखुराको मासु भन्छु । तपाई सोच्नु हुन्छ होला जहिले मासु खान्छ तर कहिल्यै सोध्नुभयो किन सँधै कुखुराको मासु मात्र खान्छस् भनेर ?

तपाईलाई लग्दो हो छोरोले सधै मासु खान्छ! किनकी तरकारीको हिसाबमा कुखुराको मासु सस्तो पर्न जान्छ । फेरि दाल, तरकारी, अचार बनाउने झन्झट पनि भएन । मुख्य कुरा कामबाट एकदम् थाकेर आइएको हुन्छु त्यति धेरै समय पनि हुन्न पकाएर बस्नलाई थाकेर कतिखेर ढलौँ जस्तो भएको हुन्छ । हजार येनमा ३ वटा डीप फ्रीजको कहिले, कुन देशमा कसरी काटेको हो बरफको ढिक्का जस्तो कुखुरा ल्यायो, बिहान स्कूल जानुअघि बरफको ढिक्कालाई बाहिर झिक्यो, फर्केर आउँदा बरफ पग्लेर कुखुरा मात्र बाँकी हुन्छ अनि झोल हाल्यो टन्न भात खायो । तीन छाक मस्तसँग पुग्छ । त्यस्तै ३० हजार देखि ४० हजार येनले रासनमा खर्च हुन्छ त्यो पनि साधारण खाना र खाजा गरेर ।

अँ, आमा सन्चै हुन्नुहुन्छ होला हैन । खर्चको हिसाब हेर्नुभयो । अनि, पल्लो गाउँको रमा दिदीको छोराले महिनाको लाख लाख पठाउँछ भन्दै फूई लाउँदै हिड्छिन रे, तपाइलाई लाग्दो हो अरुको छोरोले त्यत्रो पठाउँदा आफ्नोले किन नपठाएको होला ? आमा रमा दिदीको छोरा जापानमा शरणार्थीको रुपमा बसेको छ । बुबा मैले कक्षा ८ को परीक्षामा राम्रो नम्बर ल्याएको भनेर काठमाडौं घुमाउन लग्दा भुटानी शरणार्थीलाई पुलिसले सडकबाट पिट्दै गाडीमा हाल्दै लैजादा बाबु, बरु हलो जोतेर आफ्नो देशमा बस्नु तर शरणार्थी भएर आफ्नो अनि देशको स्वाभिमान कहिलै नबेच्नु भनेर भन्नुभएको शब्द आज पनि वाण सरी यो मनमा गढेकोले आफ्नो इमान, अनि देशको स्वाभिमान बेच्दै शरणार्थी बन्न सकिनँ ।

बुबा शरणार्थी भएपछि पढ्न जानु पर्दैन । दिनभरि काम गर्न पाइन्छ । त्यसैले दिदीको छोराले महिनाको लाख लाख पठाउन सकेको होला । अनि आमा पल्लो डाँडागाउँकी माहिली काकीकी छोरी जापानमा दिनहुँ रेल चढेर ठूल्ठूला घरको अगाढी रंगीचंगी फोटो राख्छे भन्नुभएको थियो नि, आमा विकसित अनि जापान जस्तो देशमा रेल चढ्नु सामान्य कुरा हो । बुज्नुस नेपालमा मिनीबस चढेको जस्तै हो । ठूल्ठूला घर पनि सरल रुपमा पाउन सक्छौ । अनि मेरो आँउजाँउ (यातायात) खर्च १० हजार देखि १५ हजार येन पर्न जान्छ । मैले पनि खिचेको भए एल्वम नै वन्थ्यो होला ।

जापानमा इन्सुरेन्स गर्नुपर्छ त्यसको पैसा, बसेको बापत कर तिर्नुपर्यो त्यसको पैसा गरेर ५ हजार येन जति हुन जान्छ । अब मैले कमाएको पैसा कता गयो खै के भन्नु ।

पैसै-पैसाको देश जापान ?

मुख्य कुरो त स्कूल फि जोहो गर्नपर्यो । वर्षमा २ चोटि फि तिर्नुपर्छ , भनेको ६-६ महिनामा एकएक चोटी । ६ महिना यति छिटो बित्छ कि पत्तै पाइन्न । ६-६ महिनामा ५-५ लाख गरी तिर्नुपर्छ, तर त्यो स्कूल हेरेर हुन्छ । यता म एकएक येन जम्मा गर्छु त्यता गाउँमा लाख लाखको कुरो गर्छन् रे । खै त तिम्रो छोराले गएको दुर्इ बर्षमा पनि पैसा पठाएन । बरु मलेसीया गएको त्यो केटोले महिनैपिच्छे पैसा पठाउँछ भनेको पो सुनेको थिए ।

ए बुबा, मलेसिया जस्तो होइन नि त जापान । अनि फेरि हामी काम गर्न पनि त आएका होइनौ ताकि कसैले काम तयारी अवस्थामा राखेको होस । आएको ५ महिनापछि काम पाएको थिए कसैले चाँडो पाउनु अर्कै कुरा हो । गाउँभरि जो जोले जेजे कुरा गरे पनि तपाईहरुले मेरो कुरा बुझ्ने कोसिस गर्दिनु है ।

कमाएर स्कूल, कोठा, रासन, यातायातको पैसा तिर्न त धाउधाउ हुन्छ।

अनि कसरी पैसा पठाउनु ?

फेरि फोन पनि गर्दैन रे भन्नुहुन्छ । कसरी फोन गरुँ?

जबकि पाँच दिन त स्कूल बाँकी दिन काममा जोतिन पर्छ

अनि मध्यरातमा लखतरान् परेर कतिखेर ढलौं जस्तो हुन्छ ।

हर्के काकासंग अस्ती स्काईपमा गफ भएको थियो रामे कतार गएको गोडा दुईबर्ष जति भयो, बर्षेनी आउँछ ,चाडबाड पारेर भन्दै हुनुहुनुथ्यो । उहाँलाई नि सम्झाइदिनु कि कामदार भिषामा कतार गएको जस्तो होइन विद्यार्थी भिषामा जापान जानु भनेको । स्कूलको पढाइदेखि कामको व्यबस्थापन अनि ईमिग्रेसनको नियम पालना नगरी आफैजे मन लाग्यो त्यही गर्न पाइन्न । फेरि स्कूल गए नगएको सबै इमिग्रेसनले हेरिरहेको हुन्छ केही गडबढ गर्यो भने सिधै नेपाल पठाइदिन्छ ।

यहाँ यही देशको कानुनको दायरामा रहेर हरेक काम गर्नुपर्छ भन्दिनु । कतारमा पो बर्षको एक चोटी बिदा दिन्छ अनि कम्पनिले टिकट काटिन्छि र पो बर्षेनी जान्छन् । तर यो बिरानो देशमा त सवै कुरा आफैले गर्नुपर्छ भन्दिनु होला । गाउँभरि फेरि फलानोले जग्गा किन्यो, घर बनायो, खै तिम्रो छोरोले केही गरेनन् भन्दै किच्किच गर्दै तपाईहरुलाई दुःख देलान । फेरि मेरो त आएको ऋण पनि बाँकी नै छ । त्यो चाँडै तिर्ने कोसिस गर्दै दिनरात नभनी त्यसको लागि पसिना बगाउँदैछु ।

विदेश गएर पैसा कमाउन त्यति सजिलो छैन रहेछ । त्यसमाथि पनि विद्यार्थीलाई आफ्नो पढाई नसकुन्जेल आकाशको फल आँखातरि मर भने जस्तै हो । पैसा कमाएर स्कूल, कोठा, रासन, यातायातको पैसा तिर्न त धाउधाउ हुन्छ। अनि कसरी पैसा कमाउनु र पठाउनु । फेरि फोन पनि गर्दैन रे भन्नुहुन्छ । कसरी फोन गरुँ जबकि पाँच दिन त स्कूल जानु पर्छ। बाँकी दिन काममा जोतिन पर्छ अनि मध्यरातमा लखतरान् परेर कतिखेर ढलौं जस्तो हुन्छ ।

फेरि त्यहाँको समय र यहाँको समय नि ३ घण्टाको फरक छ । यस्ता विविध समस्याहरु छन् जुन विदेश आएका विद्यार्थीले भोग्नुपर्छ । बुबा विदेशमा पैसाको रुख फल्दैन रहेछ ता कि टिपेर पठाउन सकियोस् । म मेरो लक्ष्य अनि भविष्यको चित्र कोर्न लागि चाहिं पक्का लागिपरेको छु। तपाईहरुलाई यो कर्मभूमिमा ल्याउने वाचाका साथ तपाईहरुको हरेक सपना पुरा गर्ने कसम खाँदै कलम रोक्न अनुमति चाहन्छु ।

-सतिस भट्टराई

उही प्यारो ‘परदेशी’ छोरो !
………

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!