जोखिममा पोखराका बस्ती, पूरै जोखिमयुक्त होईन–भुगोलविद्

13 July, 2015 19:09 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 253050 Views

chorepatan-basti-599x250धन वस्नेत/पोखरा
पोखराका केही बस्तीहरु अहिले उच्च जोखिममा छन् । छोरेपाटन र सेती किनारमा रहेका बस्तीहरु बढी जोखिममा परेका हुन् । यसअघि नै जोखिम भनेर पहिचान गरिएका दर्जनभन्दा बढी बस्तीहरु पछिल्लो समय नेपालमा आएको महाविनाशकारी भूकम्पका कारण झनै खतरामा छन् ।

पोखरा उपहानगरपालिका वडा नं १७ छोरेपाटनस्थित गुप्तेश्वर गुफा माथि पनि बस्ती विस्तार भएको छ । त्यहाँ बर्षेनी घरहरु थपिने क्रम बढ्दो छ । बिज्ञहरुले गुफामाथि बनाइएका घरहरु निकै जोखिममा रहेको बताउदै आएपनि पोखरा उपमहानगरपालिका लगाएत सरकारी निकायले उचित ब्यवस्थापन गर्न नसक्नु र स्थानीय जग्गाधनीहरु जोखिमलाई ख्यालै नगरि ठुलाठुला घरहरु निमार्ण गर्दै जानुले यहाँको बसाइ जोखिमपूर्ण बन्दै गएको हो । छोरेपाटन क्षेत्र पोखराको सबैभन्दा बढी जोखिमयुक्त छ, भुगर्भविद् डा. कृष्ण केसीले भने–तर यही क्षेत्रमा अब्यवस्थित रुपमा घरहरु बनिरहेका छन्। यहाँ गुफा रहेको करिब ३ किलोमिटर क्षेत्र बढी जोखिममा छ ।

सन् १९९८ को प्रतिवेदनले पोखरामा सेती नदीको डिल (नदीपुरदेखि रातो पैह्रोसम्म), फिर्के खोला छेउछाउ, गुप्तेश्वर गुफा, अर्मला क्षेत्र उच्च जोखिमको क्षेत्र भनि किटान गरेको छ । यस्तै नदीपुर, महेन्द्रपुल, तेर्सापट्टी, चिप्लेढुङ्गा, न्यूरोड, पुरानो बसपार्क, हरियो खर्क, पार्दी, लामाचौरका केही भाग, दीप लगाएतका क्षेत्रलाई जोखिम क्षेत्रको रुपमा उल्लेख गरेको थियो। तर अहिलेसम्म पनि यस क्षेत्रमा संरचना निर्माणको काम रोकिएको छैन । उच्च जोखिमका क्षेत्रमा बढी भार हुने खालका संरचना निर्माण नगर्न प्रतिबेदनले सुझाएको छ । पोखराको सबै क्षेत्र जोखिममा परेको होईन, भुगर्भविद केसी भन्छन्–केही ठाउँ उच्च जोखिममा छ, यसतर्फ सचेत हुन सके कुनै क्षेति बेहोर्नुपर्दैन ।

  

तर पछिल्लो समय अर्मलामा देखा परेको संकट पोखराका अन्य क्षेत्रमा पनि पर्न सक्ने उनको अनुमान छ । अध्ययनले पनि पोखरा उपत्यकामा केही क्षेत्रलाई संकटको क्षेत्र पहिचान गरेको छ, उनले भने– पोखरा उपत्यका १०-१५ हजार वर्ष पहिले सेती नदीले बगाएर ल्याएको ढुंगा, माटोबाट बनेको हो, जमीन चुनयुक्त ग्राभेलले बनेको छ, बेलैमा सचेत बन्नुको बिकल्प छैन । पोखरा उपत्यकाका विभिन्न भागमा जुनसुकै वेला जमीन भासिन सक्ने खतरा रहेको भुगर्भविद्हरु बताउँछन् । जमीनको माथिल्लो भाग राम्रोसँग जमिनसकेकाले पानी सोसेर भित्री भागमा घुल्ने चुनयुक्त माटो भएकाले भासिन वा भ्वाङ पर्ने संभावना भएको उनीहरुको भनाई छ ।

सेती नदीको दायाँ–बायाँ १०० मीटर र फिर्के खोलाको दुवैतर्फ ४० मीटरसम्म भौतिक संरचना निर्माण गर्न नहुने विज्ञहरूको सुझव छ, तर यो नियमलाई पोखरा उपत्यका नगर विकास समितिले घटाएर पाँच मीटरमा झारेको छ । यही मापदण्ड पनि कार्यान्वयन नभएर अहिले खोला माथी नै धमाधम संरचना बनेका छन् । ३५ फीटभन्दा अग्लो घर बनाउन नपाइने नगरपालिकाको नियम छ । तर यो नियम पनि कसैले पालना गरेका छैनन् । ४ तला भन्दा होचा घरहरु पोखरामा सायदै कम छन् । नगरपालिकाले निश्चित मापदण्ड भन्दा माथीको संरचना निर्माण गर्दा नक्सापास दिँदैन, तर नक्सापास सम्म प्रक्रियागत ढंगले निर्माण गर्छन् भने त्यसपछि आँफुखुशी तला थप्ने क्रम बढ्दो छ । सेती नदीको किनार वरपर, गुप्तेश्वर गुफा, पातालेछाँगो भएको क्षेत्रमा निर्माण विस्तार प्रक्रिया तत्काल रोक्नुपर्ने र यसलाई नियमन गर्न सकेको खण्डमा धेरै हदसम्म जोखिम कम हुने डा. केसीको सुझाव छ ।

भौगोलिक दृष्टिकोणबाट हेर्दा पोखरा उच्च जोखिमको क्षेत्र मानिन्छ । पोखराको भौतिक संरचनालाई सेती नदीको गहिरो गल्छी र फेवा ताल, बेगनासताल, रुपाताल, डेभिस फल्स फल, महेन्द्र गुफा, चमेरी गुफा जस्ता संरचनाले पोखरा खोक्रो छ । जसका कारणले बाहिरी संरचना मात्रै भुकम्प प्रतिरोधात्मक भएपनि कुनै विपत्ति आएमा जोगिने सम्भावना हुँदैन । त्यसैले उपत्यकाका सबै ठाउँमा गहिरो अध्ययन हुनुपर्ने सहरी विकास तथा डिभिजन कार्यालय पोखराका प्रमुख तपेन्द्र खड्काको भनाई छ । हामी सतहमा गरिएको अध्ययनका भरमा ब्याख्या गरिरहेका छौं, खड्काले भने–भित्रि अध्ययन कसैले गरेको छैन, सरकारको ध्यान यसमा जानु जरुरी छ ।

पोखरा उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय बार्षिक ४ हजारसम्म नयाँ घरहरु थपिने गरेको तथ्याकं छ । जुन सबैजसो मापदण्ड विपरित छन् । पोखरामा अहिलेसम्म करिब ७० हजार घर निर्माण भैसकेको छ । हामीले मापदण्ड विपरित बनेका संरचनालाई निरुत्साहित गर्ने काम गरेका छौं, नगरपालिकाका ईन्जिनियर पूर्ण गुरुङ्गले भने–घरधनीहरुको अटेरपनाले यस्तो अवस्था आएको हो । यसलाई नियमन गर्न जनप्रतिनिधि नआएसम्म नसकिने नगरपालिकाका कर्मचारीहरु बताउँछन् । सबैले सहयोग गरे नियमन हुने हो, बरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले भने–हामीलाई न हाकिम सावको दह्रो निर्देशन छ, न कसैको सहयोग छ ।

यस्तै पोखराको बिजयपुर खोला नजिक रहेको लुमन्ती आवास अन्तर्गतको समाबेशी टोल पनि असुरक्षित मानिन्छ । यहाँ पनि बस्ती माथि जोखिमयुक्त ढिस्को छ भने नजिकैबाट खोला बगेको छ । पोखरामा सामुहिक बस्ती विस्तार भएका ठाउँमा मापदण्ड खासै पालना भएको पाईँदैन । यी वस्तीहरु उत्तिकै जोखिमयुक्त पनि छन् । समाबेशी टोल नजिकै रहेको राजमार्ग छेउका २५ भन्दा बढी घरहरु पनि उच्च जोखिममा छन् । यसको पनि घरमाथी नै माटोको ढिस्को छ भने घरको छेउमा भिर छ । पोखरामा मापदण्ड विपरित बनेका संरचनाका कारण पनि जोखिम बढाएको छ । अहिले नगर क्षेत्रमा ७ हजार भन्दा बढी घरहरु मापदण्ड विपरितका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More