झाडीमा फलिएकी बच्चाको आमा भेटियो, बालगृहको मिलेमतोमाथि अनुसन्धान हुँदै

4 August, 2020 16:04 | जन सरोकार | comments | 55200 Views

साउन १२ गते सोमबार साँझ काठमाडौंको बुढानिलकण्ठ नगरपालिका कपनस्थित आकाशेधारामा रहेको केयर बाल गृह नजिकैको चौरमा भेटिएकी बच्चीको आमा पत्ता लागेको छ ।

प्रहरीले भने बच्चा कसको हो र किन झाडीमा फालियो भन्ने अनुसन्धान थाल्यो । अनुसन्धानबाट थाहा भयो, विदेशबाट आएकी एक जना महिलाले जन्माएकी ती शिशु उनैले बक्सामा हालेर झाडीमा राखेकी थिइन् ।

  

यतिबेला ती शिशु आमाकै जिम्मा लगाइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले भन्नुभयो, आमा केही समयअघि विदेशबाट आएकी हुन् । विदेशबाट आएकी आमाले बच्चा लुकाउन खोज्दा यस्तो भएको देखिन्छ ।

प्रहरीले ती आमाको पहिचान र कुन देशबाट कहिले आएको हो भन्ने खुलाएको छैन । कागजको बाकसमा निकै सुरक्षित तवरले राखिएको बच्चामा कुनै समस्या थिएन र ऊ ओछ्यानमै पल्टिए जसरी हाई हाई गरिरहेको थियो । यसो हेर्दा नियोजित रुपमा बच्चा राखिएको जस्तो देखिन्थ्यो ।

कागजको कार्टुनमा अलपत्र छाडिएकी भनिएकी ती बच्चीलाई बाल गृह सञ्चालक पुष्पा अधिकारीले संरक्षण दिने भन्दै आफैंसँग राखिन् । ती शिशुको नाम नै प्राप्तिका अधिकारी राखिन् ।

सामाजिक सञ्जालमा भिडिओ देखेकाहरूले ती नवजात शिशुको पालनपोषणका लागि उनको बाल गृहलाई सहयोग दिए । अरू १६ जना बालबालिकालाई बाल गृहमा राखेकी अधिकारीमाथि कसैले शंका गरेन।

ती बच्चालाई झाडीमा राख्न बालगृहकै संचालकको मिलोमतो रहेको भन्दै समाचारहरु बाहिरिएपछि इमेज च्यानल टेलिभिजनसँगको कुराकानीमा क्रममा भने अधिकारीले आमालाई बचाउन ती बालिकालाई आफ्नो संरक्षणमा राखेको बताउनुभयो ।

स्मरणीय के छ भने केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।

जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ ।

जब शिशु बेवारिसे अवस्थामा भेटिएको खबर सार्वजनिक भयो, सहयोगी हातहरु अगाडि आएका थिए । अहिलेसम्म झण्डै ६ लाख रकम बालगृह सञ्चालिकाको हातमा परिसकेको थियो भने रकम उठ्ने क्रम पनि चलिरहेको थियो ।

निकै व्यवस्थित र सुरक्षित तरिकाले शिशुलाई चौरमा लगेर भेट्टाएको भन्दै प्रचार गरी सहयोग उठाउने खेल रहेको भन्दै यो घटनाको निकै आलोचना समेत भैरहेको छ ।

बच्चालाई झाडीमा फाल्न उनीहरूको मिलेमतो थियो कि थिएन भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले बाहिर विभिन्न कुराहरू आए पनि अनुसन्धान सकिएपछि मात्रै के हो भन्न सकिने डिएसपी केसीले बताउनुभयो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More