झोले विद्यालय, गुरुकुल र मदरसा खारेजीको तयारी

13 April, 2015 12:18 | पत्रपत्रिका , मध्य पश्चिमाञ्चल | comments | 213450 Views

Madrasa in Nepalgunj.

जिल्ला शिक्षा कार्यालय बाँकेले झोले विद्यालय र केही गुरुकुलको सन्चालन अनुमति खारेजी गर्ने भएको छ । विद्यालय सन्चालनका लागि स्वीकृति लिएर लामो समयदेखि सञ्चालनमा नरहेका यस्ता विद्यालय, गुरुकुल र मदरसाहरु खारेज गर्ने तयारी भैरहेको कार्यालयले जनाएको छ ।

यस्ता विद्यालय खारेज हुन नसक्दा ‘शैक्षिक माफिया’को मनोबल बढेको सम्बन्धित क्षेत्रका सरोकारवालाको गुनासो आएपछि कार्यालयले खारेजीको तयारी गरेको हो । शिक्षालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहीकरण गर्ने नाममा कागजी प्रकृया पुरा गरी सञ्चालन अनुमति दिएका ‘झोले’ विद्यालय, मदरसा र गुरुकुलको कारण परम्परगत सञ्चालनमा आएका बाँकेका विद्यालय, मदरसा र गुरुकुलहरु प्रभावित भएका छन् ।

  

राज्यको सेवा सुविधा लिनको लागि कर्मचारीलाई ‘प्रभाव’मा परेर कागजी प्रकृया पु¥याएर जिल्ला शिक्षा कार्यालयकोे मिलेमतोमा झोले मदरसा र गुरुकुललाई रकम विनियोजित गर्दा विद्यार्थीको अधिक चाप भएका तर, भौतिक संरचना नभएका विद्यालय, मदरसा र गुरुकुलहरु सञ्चालनमा प्रभावित भएका हुन । जिल्ला शिक्षा कार्यालय बाँकेले जिल्लाका मदरसा र गुरुकुलको अनुगमन गरी १० मदरसा र ६ गुरुकुलको खाता रोक्का गर्नको लागि यस अघि नै सिफारिस गरेको थियो । मदरसाहरुको अनुगमन समितिले जिल्ला शिक्षा कार्यालयलाई मिति ०६८ जेठ २२ गते जिल्लाका विभिन्न ठाँउमा सञ्चलन अनुमति लिएको भए पनि अनुगमनका बखत मदरसा सञ्चालन मै नदेखिएकोले कार्यालयले निकासा रोक्का गर्ने र खाता समेत रोक्ने गर्ने गरी दिएको सुझावको आधारमा खाता रोक्का भएको थियो ।

बाँकेमा मदरसा अल्फा नेपालगन्ज–१६, दारुल उलुम गुल्शने नैका बेतहनी–५, मदरसा सहदतुल उलुम बनकट्टी–१ छोटी हलवलडाली, मदरसा अगदेया उसमानिया जियाउल उलुम टेक्निकल स्कुल नरैनापुर–६ पण्डितपुर, मदरसा ईस्लामिया गुल्शने रजा ईन्द्रपुर–३ कर्मोना, मदरसा रजनिया तालेमुल कुरान बालाफाँटा–५ कालाफाँटाको खाता झोले मदरसा भएकै कारण रोक्का भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यी मदरसासंगै खाता रोक्कामा परेका मदरसा ईस्लामिया अदले सुन्नत गुल्सने गाजि, खजुराखुर्द, मदरसा कलसुनिया लक्ष्मणपुर–९ नुरपुर, मदरसा वरसिया नसिरुल उलुम बेतहनी–४ बाबागाउ र मदरसा जामिया अरविया मिसबाहुल उलुम उढारापुर–५ मर्दनापुरको खाता भने प्राविधिक रुपले प्रकृया पु¥याई पुनः सञ्चालनमा ल्याईएको छ । यसैगरी ४ वटा झोले गुरुकुल र एक विद्यालय सञ्चालन गरेको अभियोगमा बाँके बसुदेवपुर–१ का विरेन्द्र गुप्ताले केही समय थुनामा समेत परे । उनले पुष्पाञ्जली प्रावि आलानगर, महाभारत गुरुकुल संस्कृत पाठसाला आलानगर, महाभारत गुरुकुल संस्कृत पाठसाला मुन्निपुर, महाभारत गुरुकुल संस्कृत पाठसाला साईगाउ–२ बरैया, महाभारत गुरुकुल संस्कृत विद्याफिठ सितापुर–२ शान्तिटोल र रामजानकी नेराप्रावि मनिकापुर–६ सञ्चालन गरेका थिए ।

गुरुकुल मध्य रामजानकी नेराप्रावि मात्र सञ्चालनमा रहेको छ । बाँकी ५ गुरुकुल झोलामा मात्रै सिमित भएको आरोपमा उनी समातिएर कारागारमा छन् उनी माथिको मुद्दा अदालतमा विचाराधिन छ । तर, उनले जत्तिकै अपराध गरेका झोले मदरसाका मौलाना तथा सञ्चालक र झोले मदरसाको कागजी प्रकृया मिलाउने जिल्ला शिक्षाका कर्मचारीहरुमाथि कुनै कारवाही हुन सकेको छैन ।

यसैबीच राज्यले मदरसा शिक्षालाई व्यवस्थित गर्नको लागि गठन गरेको मदरसा व्यवस्थापन बोर्डका उपाध्यक्ष तथा मदरसा ईस्लामिया संघका अध्यक्ष मौलाना मन्सुर आरफिले मदरसामा भएका त्रुटीहरुको पहिचान गरी कुनै पनि हालतमा सञ्चालनमा आउन नसक्ने मदरसालाई मर्ज गर्नसक्ने नियमावली बनाएकोले त्यस्ता मदरसाहरु नजिकैको विद्यालयमा मर्ज गर्नसकिने बताउ“छन ।

गुप्ताले पेश गरेको ‘झुटा’ विवरणलाई प्रमाणित नगर्ने बाँकेका विद्यालय स्रोतकेन्द्रका स्रोतव्यक्ति माथि लगातार ८ मुद्दा दिइएको छ । ‘झोले’ विद्यालय, गुरुकुल र मदरसाका विरुद्ध लामो समयदेखि जिल्लामा एक्लै लडि रहेका बाँकेको राँझा स्रोतकेन्द्रका विद्यालय स्रोतव्यक्ति सुनिल शाहले आठौं मुद्दा खेप्दै आएका छन् । उनीमाथि झण्डै चार वर्षको अन्तरमा सात मुद्दा परेका हुन । शाह माथि झोले विद्यालय र गुरुकुलका विरुद्ध अडान लिएकै कारण झोले विद्यालय र गुरुकुल सञ्चालक भएको आरोप लागेका बाँके बसुदेवपुर–१ आलानगरका गुप्ताले विभिन्न मिति र शिर्षकमा दायर गरेका हुन ।

स्रोतव्यक्ति शाहले जिल्ला शिक्षा कार्यालय बाँकेका केही कर्मचारीको मिलेमतोमा गुप्ताद्वारा सञ्चालन गरिएका भनिएको विद्यालय र गुरुकुलको तथ्याङ्क प्रमाणित गर्न स्रोतकेन्द्रमा दवाव दिएपछि उनले सञ्चालनको अनुमति लिएका विद्यालयको स्थलगत अनुगमन गर्दा विद्यालयको अस्तित्व नै फेला नपरेकोले आफुले सिफरिस नगरेपछि गुप्ताले आफु विरुद्ध एकोहोरो खनिएको आरोप लगाए । उनले भने,‘ भनिएको ठाँउमा विद्यालय र गुरुकुल नै छैन ।

श्रीमति, नावालक छोराछोरी र भाईलगायतका नातागोतालाई सञ्चालक, प्रधानाध्यापक बनाएर स्वीकृत लिएको छ । विद्यालय नै नभएपछि खारेजीको प्रकृयामा जानु पर्नेमा किन हो कार्यालयले त्यतापट्टी सोच्न सकेको छैन ।’ उनले झोले विद्यालय र गुरुकुल हो भन्ने शिक्षा कार्यालयलाई प्रयाप्त आधार हुँदाहुँदै पनि कारवाहीको प्रकृयामा जानुको साटो यथावत राखेकोले आफु अचम्मित भएको बताए । उनले भने,‘कार्यालयले म दोषि हो भने मलाई कारवाही गर्नु परयो होइन भने झोले विद्यालय र गुरुकुललाई कागजी प्रकृया मिलाई स्वीकृत गर्ने व्यक्ति उपर पनि कारवाहीको प्रकृया अघिबढाउनु परयो ।’

‘कागजी प्रक्रिया मिलाएर झोले विद्यालय र गुरुकुलको अनुमति दिनेमाथि कुनै कारवाही त के अनुसन्धान पनि नगरी एकोहोरो राज्यको लागि हितमा रहेको कर्मचारीमाथि विभिन्न अपराधमा संलग्न भएको व्यक्तिले राज्यको कोष दुरुपयोग गर्दा मौन हुनु अचम्म मानिएको छ’, स्रोत व्यक्ति शाहले भने,‘जति मुद्दा चले, धम्की आए पनि झोले विद्यालय विरुद्ध आफु यस्ता कुराबाट विचलित हुन्न,।’ तीन वर्षदेखि निरन्तर एक्लै मुद्दाको सामना गरिरहेका स्रोत व्यक्ति शाह आफुविरुद्ध जिल्ला शिक्षा कार्यालयभित्रैबाट षढ्यन्त्र भइ रहेको आशंका समेत रहेको गुनासो छ ।

यसैबीच बाँकेका जिल्ला शिक्षा अधिकारी देवन्द्रराज खनालले जिल्ला शिक्षा समितिले बाँकेमा एक विद्यालय र ४ गुरुकुल खारेजी गर्ने तयारी गरेको जानकारी दिए । उनले चाँडै नै स्वीकृति लिएर सञ्चालनमा नभएका मदरसाहरुको समेत अनुगमन गरेर झोले मदरसाहरु समेत खारेजी गर्ने तयारी भएको बताए ।

बाँकेमा बर्षेनी शिक्षामा बजेट कटौती
सरकारले शिक्षाको गुणस्तरता देखि पुर्वाधार निमार्ण लगायतका शिर्षकमा बर्षेनी करोडौको लगानी गरेको छ । तर उक्त लगानी लक्ष्य र उद्देश्य अनुसार सदुपयोग हुन नसक्दा समस्या बर्षेनी बजेट कटौती भैरहेको छ । बाँके जिल्लामा यस वर्ष पनि बालविकास केन्द्रका नाममा मात्रै २१ करोड बढी रकम विनियोजन भएको छ ।

बाँकेमा अहिले ५ सय ६२ बालविकास केन्द्रहरु रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सरकारले यी केन्द्रको भौतिक संरचना निमार्णका साथै गुणस्तरिय शिक्षामा उक्त रकम खर्च गर्न लागेको हो । विद्यालयको शैक्षिक क्षेत्र सुधार, भौतिक पूर्वाधार, वातावरणिय सुधार, साक्षरता अभियान, छात्रवृत्ति, शैक्षिक गुणस्तर लगायतका कार्यहरुमा सरकारले उक्त रकम बाँकेमा पठाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा शिक्षाका क्षेत्रमा झण्डै ४ करोड बढी रकम कटौती भएको छ । गत वर्ष बाँकेमा २५ करोड २१ लाख रुपैंया बजेट आएको थियो । भुकम्पीय सुरक्षातर्फ जिल्लाका ५ वटा विद्यालयमा कक्षाकोठा थप गरिने योजना भए पनि उक्त योजना प्रभावकारी रपमा अघि बढ्न नसकेको पाइएको छ । पुनस्र्थापना कार्यक्रम अन्तर्गत १२ वटा विद्यालयमा कक्षाकोठा थप गर्ने कार्यक्रम पनि अलपत्रै परेको छ । २० वटा नयाँ बालविकास केन्द्र निर्माणका लागि बजेट विनियोजन भएपनि काम हुन सकेको छैन् ।

सरकारले कुल बजेटको सबैभन्दा बढी हिस्सा शिक्षा क्षेत्रमा विनियोजन गर्दै आए पनि शैक्षिक अबस्थामा सुधार अझै आउन नसकेको शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन् । यो समस्या बाँकेमा मात्रै नभई देशभरकै रहेको उनको बुझाइछ । जिल्ला शिक्षा कार्यालय बाँकेले शैक्षिक क्षेत्रको सुधारका लागि बर्षेनी रणनीति बनाएपनि उक्त रणनीति कार्यान्वयनमा आउन नस्क्दा कागतमै सिमित रहेको छ ।

-नेपालगंज न्यूज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More