थोपरिएको किताबी अध्यापनले अक्षर चिन्छन् संस्कार र गुण सिक्दैनन्

18 February, 2020 15:26 | बिचार | comments | 52200 Views

– गीता श्रेष्ठ

जान्ने भनेको सुनेर, देखेर, भोगेर र पढेर अनि परेर हो, अझ सबैभन्दा बढी जान्ने परेर होइन्छ त्यसैले किताबी ज्ञान भएकाहरुभन्दा व्यवहारिक ज्ञान भएकाहरु सफल देखिएका छन् समाजमा । व्यवहारिक ज्ञान भएकाहरुलाई पाठ्यक्रममा आधारित शिक्षा उचित ढंगले दिन सकियो भने उनीहरु उच्चशिक्षित र सीपवान भएर निस्कन्छन् ।

यस्ता दृष्टान्त हाम्रो समाजमा अनेक छन् । त्यसैले शिक्षित हुनु भनेको सिक्नु हो भन्ने मान्यताका साथ हाम्रो समाजमा विगत केही दशक अघिसम्म विद्यालय तहदेखि नै त्यस्तै शिक्षा दिइन्थ्यो । शिक्षा समाज विकासको आधार भएकाले शिक्षा भनेको पढाउने मात्र हैन सिकाउने पनि हुनुपर्छ । किनभने पुस्तकको आलुको तरकारी बन्दैन, तरकारी पकाउन आलु खेती गर्नुपर्छ र आलु फलाउने शिक्षा देशका लागि आवश्यक छ ।

  

यो यस्तै सीपवान, संस्कारी, गुणकारी, नैतिकवान र देशभक्त बनाउने शिक्षा पूर्वीय शिक्षा पद्धतिको थियो र त्यस्तो शिक्षाको जग नेपाल नै थियो । तर आज पूर्वीय मान्यताहरु सबै भत्काएर आयातित शिक्षा, संस्कृति थोपरिएको छ । नेपाल शैक्षिक क्षेत्रमा गर्वलायक समय थियो केही दशक अघिसम्म र विद्यालय तहकै पाठ्यक्रममा नैतिकता, सामाजिक मूल्य–मान्यता र व्यावसायिक सीपहरुको विकास गर्ने गरी पठनपाठन गरिन्थ्यो । तर आजभोलि अंग्रेजीले खाएको छ सबै शिक्षा र व्यवहारलाई( अझै पनि अंग्रेजीकै भूत सवार छ सबैमा । दाताको स्वार्थ अनुसारको शिक्षा नीति बन्दा कुनै समय एसियाकै १० उत्कृष्ट मध्येमा पर्ने त्रिभुवन विश्वविद्यालय धराशायी भयो ।

यो देशमा शिक्षकहरू नै शिक्षामन्त्री भए तर शिक्षा क्षेत्रमा यिनीहरूले कुनै योगदान दिएनन् । उल्टै पटकपटक शिक्षामन्त्री बनेकाहरूले शिक्षा निजीकरणका नाममा प्रयोग गरेका नीतिगत सन्दर्भले शिक्षा कोरा व्यापारिक वस्तु बन्यो । सामुदायिक शिक्षण संस्थाको अवमूल्यन र गिर्दो स्तरका साथै प्राज्ञिक स्वतन्त्रताको महिमा र मूल्य मान्यता समेत धराशायी भयो । विद्यालयका शिक्षकदेखि विश्वविद्यालका प्राध्यापकहरु समेत नेताका झोले बने, पार्टीका कार्यकर्ता बने । अनि विद्यार्थीले के सिक्छन् ? के पढ्छन् ?

शिक्षालाई व्यापारको क्षेत्र बनाइयो, करको दायरामा ल्याइयो, परिणाम शिक्षा नाफामूलक व्यवसाय भयो । विद्यालयदेखि उच्च शिक्षासम्म भएको निजीकरणले २०१६ सालमा स्थापना भएको कुनै बखतको एसियाकै दशौं उत्कृष्ट विश्वविद्यालय बन्न पुगेको त्रिभुवन विश्वविद्यालय आज कहाँ पुग्यो । विश्वका दुई दर्जन बढी मुलुकका ७० भन्दा बढी विश्वविद्यालयसंग सम्बन्धन स्थापना गरेर कीर्तिमान कायम गरेको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति बन्न राजनीतिक दलका कार्यकर्ता बन्नुपर्ने थीति बस्यो जसको परिणाम आज मुलुकको उच्च शिक्षाले भोगिरहेको छ ।

एउटा व्यक्तिलाई तब मात्र शिक्षित वा पढेखेखेको मानिन्छ जब उसले आफै गरिखाने बन्न सक्छ र उसमा राम्रो संस्कार बस्छ, आफ्नो धर्म, संस्कृति, मूल्य–मान्यतामा आस्था राख्ने हुन्छ । किनभने शिक्षाले त्यही सिकाएको हुन्छ । तर यहाँ त मात्र पढाइन्छ । हाम्रो जीवनशैलीको पूर्वाधार नै संस्कार हो । शुभकर्म गर्नु, आत्मबोध गर्नु, साक्षी भावले जगतमा विचरण गर्नु सवै संस्कारजन्य काम हुन् । शुभकर्म गर्न जसरी संस्कारले प्रेरित गर्छ त्यसरी नै सुसभ्य, सुसंस्कृत हुन, सुशिक्षित बन्न, सुख, शान्ति प्राप्त गर्न पनि सुसंस्कारकै बलियो जग चाहिन्छ । यस्तो शिक्षा पिता–पिर्खाबाट हस्तान्तरण हुँदैआएको थियो । तर आजभोलि हराएको छ । आज आधुनिक शिक्षाका ज्ञाता र नीति निर्माण तहमा पुगेकाहरुले पनि आफ्ना बुबा–हजुरबुबाबाट त्यस्तो शिक्षा नपाएका हैनन्, तर उनीहरुमा द्रव्यमोहले यति ग्रस्त पारेको छ कि केही रुपैयाँका लागि आफ्नो संस्कार बन्धकी राख्न पछि हट्दैनन् ।

बालबालिकालाई पढाउने मात्र हैन कि सिकाउने काम नगर्ने हो भने नेपाल अक्षर चिन्नेहरुले त भरिनेछ तर गरिखान सक्ने कोही हुँदैनन् । सबै परतन्त्रमा आश्रित भएर जीवन गुजार्न बाध्य हुनेछन् । अहिले हरेकको मनमा गढेको “म यहाँ बस्ने हैन क्यारे किन सिक्नुपर्यो, किन जान्नु पर्यो, यहाँ सिकेको कुरा त्यहाँ के काम ?” जस्ता प्रश्न गर्दछन् । यही हो पैसामा किनिएको संस्कारविहीन पढाई । अब यसको अन्त्य हुनुपर्दछ ।

असल संस्कारका निमित्त प्रतिदिन प्रार्थना गर्न सानै उमेरदेखि प्रेरित गर्ने पद्धति थियो । बुढापाकाहरूको दिनचर्या त्यही थियो । यसलाई पीढी शिक्षा भनिन्थ्यो । आज त्यस्तो वातावरण पनि छैन । सिक्ने कला बदलिएको छ । झलुङ्गोमै सुतेको शिशु र आगनमा खेल्दै उफ्रिदै गरेको बालक वा जिज्ञासु किशोरवयका सवैले आफ्नै प्रकारको अन्तरंग घरेलु वातावरणमा देखेर, सुनेर सिक्ने वा शिक्षित हुने गर्दथे । आजभोलि यन्त्रको सहाराले आयातित जीवनशैली र शिक्षाको बढावा छ ।

विद्यालय तहको शिक्षाबाटै भविष्यको निर्धारण गर्दछ । हामीले हाम्रा बालबालिकालाई विद्यालय तहबाटै घोक्ने हैन कि सिक्ने अभ्यास गराउन सक्यौं भने त्यो नै उसको शिक्षा हुन्छ । किताब पढेर त्यसको अभ्यास हुन पाएन भने त्यो शिक्षाको कुनै मूल्य हुँदैन । आजको शिक्षा विदेश पलायनको ‘लाइसेन्स’ भएको छ ।

सकी नसकी बोर्डिङ पढायो, एसईई परीक्षापछि विदेश पठाउने तारतम्य मिलायो । अहिलेको शिक्षा यही हो । यस्तै मान्यताले गर्दा बालबालिकामा पनि सिकाईभन्दा नम्बर कसरी धेरै ल्याउने भन्ने चिन्ता बढी हुन्छ जसको परिणाम उसले पढछ मात्र केही सिक्दैन । अब मुलुकमा सिकाई आवश्यक छ पढाई हैन । पढ्नु र सिक्नुमा धेरै फरक छ भन्ने कुरा नीति निर्माता, कार्यान्वयनकर्ताहरुले बुझ्न जरुरी छ ।

(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More