डुबान डुबान

  • डुबान
  • डुबान
  • डुबान
  • डुबान
  • डुबान

देशैभरि बाढी र पहिरोको उधुम, तराईका अधिकांश स्थान जलमग्न

12 July, 2020 16:45 | जन सरोकार | comments | 24750 Views

डुबान

केही दिनयता देशका पहाडी क्षेत्र पहिरो र तराई डुबानले आक्रान्त छ । बाढी र पहिरोका कारण दर्जनौंले ज्यान गुमाइसकेका छन् भने अझै कतिपय वेपत्ता छन् ।

महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

  

महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो । पानी नरोकिए बाढी बढ्दै जाँदा जिल्लाका मुख्य सडकहरु जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिवास, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवासमा यातायात चल्ने अवस्था छैन । लकडाउनमा यात्रुवाहक सवारी साधन ठप्प भए पनि साना सवारी साधन (जिप, मोटरसाइकल र साइकलसहित) चल्दै आएका यी सडकमा अब पैदल हिँड्न पनि नसकिने अवस्था छ ।

जिल्लाका नदीहरूमा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान शुरु भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा डुबानले प्रभावित बनाएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताउनुभयो । जिल्लाका ४० भन्दा बढी बस्ती बाढीको उच्च जोखिममा रहेका सिंहको भनाइ छ ।

पछिल्लोपटक यसपालि मध्यअसारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन । खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला (तीव्रगतिको बगाइ) चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो । भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्बारे सचेत बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । लोहारपट्टी, बलवा र जलेश्वर नगरपालिका क्षेत्रका केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको कटुवालको भनाइ छ ।

गत वर्षको बाढीले पनि यी तीन नगरपालिका क्षेत्रमा निकै क्षति गरेको थियो । गत वर्ष बाढीको चपेटामा परी आठ जनाको ज्यान गएको थियो भने २० हजारभन्दा बढी विस्थापित भएका थिए । नदी नियन्त्रण र वैज्ञानिक व्यवस्थापनको काम प्रभावकारी नहुँदा बर्सेनि तटबन्धका नाममा करोडौँ रकम स्वाहा हुने गरेको र जनता भने सधैँ त्राहिमामकै अवस्थामा रहेको बलवा नगरपालिकाको भगवतीपुर बस्तीका उत्तिम माझीले गुनासो गर्नुभयो ।

पहाडी जिल्ला सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताउनु भयो । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ ।

त्यस्तै बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।

बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डुबान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More