“देश रहे सत्ता पटकपटक प्राप्त हुन्छ- अहिले चुके सदाका लागि चुक्नुपर्छ”

6 November, 2019 15:23 |बिचार | comments | 9000 Views

    नेपालसंग ‘रोटी–बेटी’को सम्बन्ध रहेको भन्ने भारतले मुखले जे बोल्छ कामले त्यसको ठीक विपरीत गर्छ भन्ने तथ्य उसले जारी गरेको पछिल्लो नक्साले प्रष्ट्याएको छ । नेपालको सीमा क्षेत्रमा अवैध संरचना बनाएर डुबान समस्या, सीमा अतिक्रमण गर्दैआएको भारतले अहिले ती नेपाली भूमि नै आफ्नो नक्साभित्र हालेर दुनियाँ हँसाएको छ ।

    adsads

    भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालको भूमि आफ्नो बनाई नयाँ नक्सा जारी गरेपछि अहिले नेपाली समाज रन्थनिएको छ । साना राजनीतिक दलहरु चिच्याइरहेका छन् तर सरकारी निकाय भने अध्ययनमै रहेको बताएर झारा टारिरहेका छन् । आफ्नो भूमि अतिक्रमण हुँदा र अरुले आफ्नो नक्सामा हाल्दा अध्ययन गर्नुपर्ने कुरा के हो ? कि सो क्षेत्रको कुनै दस्तावेज छैन ?

    नेपालले आफ्नो अविछिन्न स्वतन्त्र अस्तित्वको रक्षाका लागि भारतसंग डटेर कूटनीतिक तहमा पहल गरी उसको गल्ती सच्याउन लागि नपर्ने हो भने नेपालले अरु धेरै भूमि यसै गरी गुमाउनुपर्नेछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा त गुम्छ नै निकट भविष्यमै सुस्ता पनि गुम्नेछ ।

    जम्मु–कश्मिरलाई भारतले केन्द्र शासित गरेपछि जारी गरेको नयाँ नक्सामा दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले राजनीतिक नक्सामा समेटेको छ । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ । दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । भारतले नेपालको अतिक्रमित भूमिलाई वैधानिकता दिन यसअघि उसैले तयार पारेको दुई देशको सीमा नक्सालाई प्रमाणित गराउन निकै जोड गेको थियो । २०६२।०६३ को जनआन्दोलनपछि ९८ प्रतिशत सीमा विवाद मिलेको भन्दै भारतले पटकपटक नक्सामा सही गराउन दवाव दिएको थियो ।

    त्यसो त केही वर्षअघि भारत र चीनबीच त्रिदेशीय भूमि लिपुलेकलाई दुई देशको व्यापारिक नाका बनाउने सम्झौता गरेर नेपालको सार्वभौम अस्तित्वको खिल्ली उडाएका थिए । तर भारतले त नक्सामै सो क्षेत्रलाई आफ्नो बनाएर नक्सा जारी गरेपछि उसको नेपालप्रतिको नियत पनि प्रष्ट भएको छ र यसलाई समयमै सच्याउन दवाव दिन नसके नेपालको कालापानी क्षेत्रपछि भारतबाट अतिक्रमित सुस्ता पनि गुम्ने खतरा औंल्याउन थालिएको छ ।

    नेपाल र भारतबीचको झण्डै १८ सय किलोमिटर सीमा क्षेत्रमा ६ सय किलोमिटर नदी सीमा र १२ सय भूमि सीमा रहेका छन् । कालापानी र सुस्ता नदी सीमा हुन् । जुन समयमा नदीलाई सीमा मानियो अहिले नदी सो स्थानभन्दा धेरै वरबाट बग्न थालेको छ । सुस्तामा भारतले भूमि अतिक्रमण गर्नुको कारण पनि यही हो । तर सीमा कायम गर्दा नदी कहाँ थियो भन्ने अभिलेख प्रस्तुतै नगरी भारतको कालापानी हडप्यो– डर अब सुस्ताको छ ।

    चर्चा गरौं सुस्ताको– नवलपरासीको सुस्तामा भारतले अतिक्रमण गर्न थालेको २०३० सालदेखि नै हो । यो क्षेत्रलाई भारतले विवादको विषय बनाउँदै आएको छ । यद्यपि सुस्ताको पूरै क्षेत्र नेपाली भूमि नै हो । २०२२ सालमा राजा महेन्द्रबाट भूपू सैनिकहरुको निम्ति बसोबासको व्यवस्था मिलाउन सुस्ता क्षेत्र तोकिएको थियो । त्यस अनुरुप २०२४ सालदेखि किशोर गुरुङ्गको नेतृत्वमा सुस्तामा बसोबास सुरु भयो र एउटा पञ्चायतकै मान्यता पायो । २०२४, २०२५ र २०२६ सालसम्म यस पञ्चायतको प्रधानपञ्च पनि किशोर गुरुङ्ग नै थिए । त्यसपछि २०२८ सालमा चुनाव भयो र भक्तबहादुर प्रधानले प्रधानपञ्चमा जिते । उनको पहलमा २०२८ सालदेखि ०२९ सालसम्म यहाँका सम्पूर्ण जग्गाहरुको कित्ताकाट र नापी भयो र यहाँ बसोबास गर्नेलाई जग्गाधनी पूर्जा पनि वितरण गरियो । त्यतिबेला लगभग सात सय घरधुरीले लालपूर्जा पाएका थिए ।

    २०३४ सालमा नारायणी नदीमा ठूलो बाढी आयो । सुस्ताको धेरै भूमि डुबानमा प¥यो र नदीले साविकको धार बदल्यो । त्यस्तो स्थितिमा त्रिवेणीमा ल्याएर राखियो र २०३८ सालमा सुस्तालाई त्रिवेणीमा गाभेर एउटै पञ्चायत बनाउने काम भयो । त्यसपछि २०३९ सालको निर्वाचनमा उक्त गाउँ पञ्चायतमा टेकनारायण उपाध्याय प्रधानपञ्च भए । त्यतिबेला सुस्ताबासीलाई जनसंख्याको आधारमा त्रिवेणीमा जग्गा दिने काम भयो । तीनजनाको परिवारलाई दश कठ्ठा, पाँचजनाको परिवारलाई एक विघा र छदेखि बढीको परिवारलाई डेढ विघाको हिसाबले जग्गा दिइयो । सुस्तामा नापी हुँदा जग्गा लिन बाँकी रहेका अर्थात् तत्कालमा पूर्जा नभएकाहरुलाई झाडी रहेको भूभाग दिइयो ।

    यसरी सुस्ताका केही मानिसहरु जग्गा पाउनबाट बन्चित भए । जग्गा पाउनबाट वञ्चित भएका मानिसहरुले तत्कालीन बडाहाकिमकहाँ गएर उजुरी गरेपछि उनले सुस्ता नेपालकै भूमि हो त्यही गएर बस्ने निर्देशन दिए । तत्पश्चात् मुन्ना खाँको नेतृत्वमा सुस्तामा पुनर्वास भयो । सुरुमा ३६ घरधुरी सुस्ता गएको थियो र पछि एक सय ५० पुग्यो । त्यतिबेला त्रिशुली, धादिङ लगायतका जिल्लाबाट पनि मानिसहरु आएका थिए । त्यही बेलादेखि सुस्तामा बसोबास गरेका नेपालीहरुलाई भारतीयहरुले भारतीय बन्न दबाब दिएका थिए । नेपाली भूमिमा आफ्नै जग्गामा गएर बस्दा पनि भारतीयहरुबाट यस किसिमको दबाब आएपछि झगडाको बीउ सुरु भयो ।

    २०३८ सालमा सुस्ताका केही मान्छेलाई भारतीय प्रहरीले थुने । भारतले २०३९ सालमा सुस्ताबासीमाथि फेरि आक्रमण ग¥यो । २०४० साल भदौ महिनामा भारतीयहरुले सुस्तामा एकदमै ठूलो आक्रमण भयो । उक्त आक्रमणमा सर्नाली मियाँ र महमद रफी खान गरी दुईजना नेपालीको मृत्यु भयो । त्यसपछि सुस्तामा नेपाल प्रहरीको एउटा चौकी राख्ने काम भयो । भारतीय पक्षले २०४२–०४३ सालमा पनि आक्रमण गरे । त्यतिबेलासम्म पनि सुस्ता पूरै नेपालीकै कब्जामा थियो तर पछि भारतले सीमा सुरक्षा बल (एसएसबी फोर्स) राख्यो र त्यसको माध्यमबाट अतिक्रमणको शृङ्खला विस्तार ग¥यो । अहिले ६० प्रतिशत भूभाग भारतले कब्जा गरिसकेको छ ।

    ऐतिहासिक दस्तावेज अनुसार सुस्ताको जम्मा क्षेत्रफल २१ हजार हेक्टर हो । त्यसमध्ये १४ हजार हेक्टर भूमि भारतले कब्जा गरिसकेको छ । अहिले नेपालको भागमा ७ हजार हेक्टर जमिन मात्र बाँकी छ । ऐतिहासिक नक्सा, अभिलेख, दस्तावेज, सुगौली सन्धि र विशेषज्ञहरुको भनाइ अनुसार सुस्ताको भूमि पूर्वमा भेडियारीदेखि धनैया, ढोङसोता र रहुवाघोलासम्म छ ।

    यी अत्यन्त ठूला घटना बाहेक इतिहासको कालखण्डमा नेपाल र भारतबीचको सीमा छुट्याउन गाडिएका सीमास्तम्भहरू– जसलाई जंगे पिलरका नामले पनि चिनिन्छ– धेरै ठाउँमा सुनियोजित रुपमै गायव पारिएका छन् भने कतिपय ठाउँमा सीमारक्षा र व्यवस्थापनमा समुचित ध्यान नपुगेका कारण भत्के–बिग्रेर वा बाढीले बगाएर हराएका छन् । यसमा नेपालको कमजोरी प्रशस्तै रहेको छ । सीमा जोगाउन शासन प्रशासन सदा उदासिन रहँदैआएको छ । यसको लाभ भारतले लिइरहेको छ । कहिले नदी–खोलाहरूको बहाव परिवर्तन बहानाबाजीमा नेपालभूमि आफ्नो बनाउने त कहिले सडकका नाममा, कहिले के नाममा, नेपाली भूमि अतिक्रमण गर्ने क्रम जारी नै राखेको छ ।

    नेपालको सीमा व्यवस्थापन गर्ने, अभिलेख राख्ने र निरीक्षण गर्ने कामको जिम्मेवारी लिएको नापी विभागले सन् १९७०, सन् १९९० र सन् २०१० मा भूउपग्रहबाट तस्वीर खिचेको र नेपाल र भारतका सर्भेयरहरूले सुस्ता र लिम्पियाधुरा–लिपुलेकको विवादास्पद क्षेत्र बाहेकको सीमा नक्सा तयार पारेको भनिरहँदा कालापानी, लिपुलेक भञ्ज्याङ् र लिम्पियाधुराबीचको ३७२ वर्ग किलोमिटर क्षेत्र भारतले नक्सामा हालेर वैधानिक रुपमा अतिक्रमण गरेको छ । यसअघि सो क्षेत्रमा भारतले सैनिक शिविर नै राखिरहेको जगजाहेर छ ।

    भारतले नेपालको २३ जिल्लाका ७१ स्थानमा ६५ हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेको छ । यसमध्ये कालापानीमा ३७ हजार त आफ्नै नक्सामा पारिसक्यो भने अब सुस्ताको १४ हजार हेक्टर भूमि पनि कुनदिन अर्को नक्सामा हाल्ने हो पत्तो छैन । यस विषयमा सरकार, राजनीतिक दल, नागरिक समाज एक ठाउँमा उभिएर जनतालाई सचेत पार्दै भारतको अतिक्रमणबिरुद्ध आवाज उठाउन ढिला गर्नुहुन्न । देशको भूगोल रहे सत्ता पटकपटक प्राप्त हुन्छ । अहिले हामी चुक्यौं भने सदाका लागि चुक्नेछौं ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!