दैवले पनि गरीबलाई नै हेप्दो रहेछ- विपत्तिको सामना यिनले मात्रै गर्नुपर्ने

2 April, 2019 19:51 | बिचार | comments | 38250 Views

– यादब देवकोटा –

कुनै पनि विपत्तिबाट बढी पीडित हुने गरीबहरु नै हुन् किनभने उनीहरुको बसोबास सुरक्षित हुँदैन । यस्तैको अवस्थाको शिकार भए आइतबार साँझ बारा र पर्साका ग्रामीणदेखि राजमार्ग छेउछाउका मानिसहरुले ।

adsads

बारा र पर्सामा आएको हावाहुरीले जेजस्तो क्षति पुग्यो त्यसमा दुःख मनाउनुको विकल्प छैन तर अब यस्तो स्थिति दोहोरिन नदिने उपाय अपनाउने कि नअपनाउने भन्ने महत्वपूर्ण सवाल भने उठिरहने छ । खासमा जनतालाई सुरक्षित आवास उपलब्ध गराउनेतिर सरकारहरु लागिपर्ने कि नपर्ने भन्ने प्रश्न अहिलेको मात्र हैन २०७२ सालको भूकम्पपछि नै उठेको हो । तर, काम ठोसरुपमा हुन सकेको छैन ।

तराईका अधिकांश जिल्लाको ग्रामीण बस्ती अत्यन्त कष्टपूर्ण छ । २१ औं शताब्दीको यो युगमा पनि सुरक्षित आवासको अभावमा बसिरहेका उनीहरु अनेक विपत्तिको शिकार भैरहेका छन् । बाढी, हावाहुरी, आगलागी जस्ता नियतिको सामना उनीहरुले जनधन गुमाएर गरिरहेका छन् ।

प्रविधि असफल भएको हो ?

केही दिन मौसम बदली रहने र वर्षा हुने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको भए पनि यस्तो वितण्डा मच्चिने गरी हावाहुरी आउने अनुमान थिएन । आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो । तर यति ठूलो क्षति पुर्याउन सक्ने गरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका विज्ञहरु बताउँछन् ।

जल तथा मौसम विभागका मौसमविद्का अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउने गरी कुनै संकेत देखिको थिएन । उता भारतको मौसम पूर्वानुमान निकायले चाहिँ नेपाली सीमा जोडिएका बिहार तथा पश्चिम बङ्गाल राज्यमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने बताएको थियो ।

विज्ञहरु स्थानीय वायुको प्रभाव र भारतको मध्यप्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुँदा हावाहुरीले शक्तिशाली स्वरूप लिएको बताउँछन् । स्थानीय वायुकै प्रभावले बादल धेरै बनेर एकैचोटि तल खनिँदा हावाहुरी सिर्जना भएको बताउँछन् । तर नेपालमा उपलब्ध प्रविधिले त्यो सूचना प्रवाह गर्न सकेन । यो एउटा प्राविधिक कमजोरी हो । यसलाई धेरै उचाल्नु आवश्यक छैन । तर यहाँ महत्वपूर्ण कुरा के हो भने विपत्ति बाजा बजाएर आउँदैन । त्यसैले यसबाट जोगिने उपायहरु अपनाउनुपर्दछ ।

हावाहुरीको कारण ?

मौसम पूर्वानूमान शाखाले सामान्य र मध्यमखालको वर्षा हुने अनुमान गरेको थियो । तर भयो विपरीत । ३० जनाको ज्यान जाने गरी हावाहुरी आयो र भौतिक क्षतिको अहिलेसम्म यक्किन विवरण आइसकेको छैन । एकाएक मौसममा हुने बदली र मच्चिने विचण्डाको कारण जलवायु परिवर्तनकै असर हो । अहिले विश्व यसैको त्रासमा छ ।

जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न वाध्य पार्दछ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड भन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेका छन् । यिनीहरू सामुद्रीक तटीय क्षेत्र र होचा भू–भागमा बसोबास गर्दछन् । यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रीक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्न सक्ने गरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति दक्षता, सीप र पहुँच पुग्नै सक्दैन ।

विश्वमा जलवायु परिवर्तनले सबैभन्दा बढी असर गर्ने देशमध्येमा पर्दछ नेपाल । नेपालमा अनेक समस्याहरू देखा परिरहेका छन् । बेमौसममा नदीमा बढी आउनु, हिमपहिरो जानु, हिमपात हुनु, सुख्खा पहिरो खस्नु प्राकृतिक विपत्ति हो भने शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक विकासमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यसका प्रारम्भिक संकेतका रुपमा खाद्यान्न उत्पादनमा कमी र पर्यटकीय आकर्षणका केन्द्रका रुपमा रहेका हिमालहरूमा हिउँ पग्लने क्रमबाट सुरु भएको छ ।

हिमालदेखि तराईसम्म भौगोलिक विविधता भएको नेपालमा हिमालमा देखिने गडबडीले तराईलाई गाँज्न थालेको छ । यसैको एउटा कडी हो आइतबार साँझको हावाहुरी । डुबानको समस्या उत्तिकै छ । प्राकृतिक र मानव सिर्जित संरचनाका कारण तराईको उर्बर भूमि हरेक वर्ष डुब्दै उजाड बन्दैछ । व्यवसायका नाममा तराईको रक्षाकवच मानिएको चुरेको विनाश जारी छ । राजनीतिक पहुँच र शक्तिको आडमा चुरेदोहनले तराई असुरक्षित बन्दैछ । त्यहााँ पानीको अभाव सिर्जना भएको छ । खेतबारी सुख्खा हुँदैछन् । अनि बेलाबेलाको यस्तो विपत्तिको सामना गर्ने हैसियत उनीहरुमा छैन । यसको मारमा पर्ने गरीब नै हुन् ।

क्षति कम गर्ने उपाय

प्राकृतिक विपत्ति रोक्ने सामथ्र्य मानिसमा छैन । तर यसबाट हुने जनधनको क्षति भने कम गर्न सकिन्छ । यसका लागि सुरक्षित आवास नै महत्वपूर्ण हो । नेपालको सबैभन्दा ठूलो समस्या भनेको अव्यवस्थित र असुरक्षित बस्ती हो । अझ तराइमा असुरक्षित बस्तीमा बाढी, आगलागी र हावाहुरीका कारण हरेक वर्ष ठूलो क्षति हुने गर्दछ । हावाहुरीले माटोबाट बनेका कच्ची घरहरुमा बढी क्षति पुर्याएको थियो । त्यस्तै विजुली र टेलिफोनका पालेहरु लडेर, टिनका छाना उडाएर र पर्खाल भत्किएर मानिसहरु हताहत भएका थिए ।

अब भौतिक पूर्वाधार निर्माण र विकासको नाममा झाराटार्ने शैलीलाई परित्याग गर्नैपर्छ । यस्ता विपत्तिबाट जनधनको क्षति कम गर्न व्यवस्थित बस्ती विकास एउटा प्रमुख कडी हो भने अन्य विकास निर्माणका कामहरुलाई वैज्ञानिक र व्यवस्थित गर्नु नै हो । जवसम्म व्यवस्थित र सुरक्षित बस्ती विकास हुँदैन तबसम्म यस्ता प्राकृतिक विपत्तिबाट अकल्पनीय क्षति भोगिरहनुपर्दछ । अब संघीय र प्रदेश सरकार तथा स्थानीय निकाय एकजुट भएर काम गर्नुपर्दछ ।

विश्वभर नै यस्ता विपत्तिबाट बढी पीडित हुने गरीबी र अभावले पिल्सिएका ग्रामीण क्षेत्रमा बासिन्दा नै हुन् । उनीहरुको सुरक्षाका लागि एकीकृत बस्ती निर्माण एकमात्र विकल्प हो । हावाहरीबाट मृत्यु हुने अधिकांश फुसका छाप्रामा बस्नेहरु थिए । तसर्थ त्यस्ता झुपडी विस्थापन गरी बलियो घर निर्माणमा अब सबैको ध्यान जानुपर्छ ।

कुनै पनि क्षति नयाँ सिर्जनाको लागि एउटा आधार बन्छ भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने बारा र पर्सामा भएको यो क्षतिपछि गरीबका लागि तीनवटै तहले ध्यान दिनुपर्छ । यो तराईका ती दुई जिल्लाको मात्र समस्या नभएर सबैतिरको समस्या हो र सबैतिर सुरक्षित एकीकृत बस्ती निर्माणलाई उच्च प्राथमिकता दिनुपर्छ । संगसंगै जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनिकरण गर्न विश्वव्यापी आवाज बुलन्द गर्नुपर्छ ।

मानव अस्तित्व रक्षाका लागि

नेपाल प्राकृतिक हिसाबबाट विश्वका धेरै मुलुकको एकल प्रतिनिधित्व गर्दछ । जैविक विविधतामा धनी नेपालको हिमालय पर्वतमालाको संरक्षण हुन सकेन र यहाँको हिउँ अहिलेकै गतिमा पग्लन थाल्यो भने दक्षिण एसियाका लगभग सवा अर्ब मानिस पानीको संकटमा पर्ने भविष्यवाणी भैसकेको छ । यस्तो अवस्थामा पानीसंग जोडिएको खाद्यान्न उत्पादनमा आउने व्यापक कमीले यो क्षेत्र भोकमरीको शिकार हुनु पर्नेछ । बढ्दो जनसंख्या र वातावरण विनाशले एसियाका कैयौं मुलुकहरूमा चर्को खाद्य संकट गर्ने चेनावती वैज्ञानिकहरूले दिएका छन् ।

यस्तो स्थितिमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेदेखि लिएर मानव अस्तित्व सुरक्षित राख्न समेत वातावरण जोगाउनुको विकल्प छैन । मानिसले सबै कुरा आविष्कार गरे पनि प्रकृति आविष्कार हुन सक्दैन र प्रकृतिसंग जोरी खोजेर मानिसले कहिल्यै विजय पाउँदैन । कृतिमताको रमझमले मानिसलाई धेरै समयसम्म बचाइराख्न सक्दैन ।

आगामी ५० वर्षपछि एसियाका लागि अहिलेको दोब्बर खाद्यान्नको आवश्यकता पर्दछ । त्यतिबेला जनसंख्या वृद्धिका कारण कृषियोग्य भूमिको व्यापक कमी हुनेछ । पृथ्वीको क्षेत्रफल बढेको छैन तर मानिसको संख्या भने बढेको बढ्यै छ । यसले गर्दा बढ्दो जनसंख्याको भार थाम्नकै लागि वन विनाश, नदी अतिक्रमण जस्ता वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने कार्यहरू भैरहेका छन् ।

बढ्दो खाद्यान्नको मागलाई पूर्ति गर्नका लागि नयाँ नयाँ कृषिभूमिको निर्माण गर्र्नु आवश्यक छ तर त्यो कसरी ? प्रश्न जति जम्भीर छ यसको उत्तर पनि उत्तिकै जटिल छ । जताबाट जोेडे पनि विषय वनतावरणसंगै आएर जोडिन्छ । खेतीयोग्य जमिनका लागि वन विनाश गर्नुको विकल्प छैन । यसबाट जलवायु परिवर्तनमा अरु मद्दत गर्नेछ । फलस्वरुप खाद्यान्न उत्पादनमा वृद्धि गर्ने लक्ष्य त्यसै तुहिने मात्र होइन कल्पनै नगरिएका समस्याहरूको पनि सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

योजना बनाउन ढिला भैसक्यो

मुलुकमा दुई तिहाई बहुमतको सरकार छ र यो सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली रहेको छ । पाँच वर्षभित्र नेपालीको आथिृक अवस्था सुधार्ने योजना पनि अघि सारिएको छ । तर असुरक्षित र अव्यवस्थित बस्तीको साटो व्यवस्थित बस्ती नबन्दासम्म मुलुकमा समृद्धिको खाका कोरिंदैन । जवसम्म श्रमजीवी अति विपन्न परिवारका लागि बसोबासको उचित प्रबन्ध हुँदैन तबसम्म यस्ता विपत्तिहरुले मानवीयका साथै अर्बौं अर्बको भौतिक क्षति पुर्याइरहेको छ । हुन्छ त्यसदिशातिर पाइला चाल्न ढिला भैसकेको छ ।

जलवायु परिवर्तन: वैज्ञानिकहरूले दिए कडा चेतावनी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!