नक्कली कागजपत्र बनाएर अर्काको जग्गा बेच्ने ७ जनालाई कैद, डेढ करोड जरिवाना

25 April, 2015 12:19 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 73650 Views

कास्की मालपोत र पोखरा उपमहानगर पालिकाका १४ कर्मचारीलाई सफाइ

timthumbपोखरामा केही समय यता नक्कली कागजात बनाई अर्काको जग्गा विक्री गर्ने गिरोह सक्रिय बनेको छ। प्रहरीले त्यस्ता गिरोहलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्दै आएको छ । गत बिहीबार मात्रै कास्की जिल्ला अदालतले नक्कली कागजात बनाई अर्काको जग्गा विक्री गर्ने गरेको अभियोगमा सात जनालाई कैदको फैसला सुनाएको छ ।

उनीहरुबाट डेढकरोड जरिवानाको समेत फैसला गरेको छ।

  

केही महिना अघि अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा—६ लेकसाइडको जग्गा उनैलाई पत्तो नदिई बेची ठगेको आरोप लागेका ७ जनालाई ठगीको प्रकृतिअनुसार कम्तीमा २ महिनादेखि ६ वर्षसम्म कैदको फैसला अदालतले बिहीबार गरेको हो ।

आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका श्रेस्तेदार दीनबन्धु बरालले दिएका छन् ।

फैसला अनुसार सबै ठगहरुले तिर्नुपर्ने जरिवाना झन्डै १ करोड ६० लाख रुपैयाँ छ । आशामायाकी छोरी सुष्मालाई भने २ महिनाको कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको छ । अदालतले रामचन्द्र भण्डारीलाई ३ वर्ष कैद र ३५ लाख ६६ हजार जरिवानाको फैसला सुनाएको छ । फैसला अनुसार ईश्वर कार्की र पीताम्बर भण्डारीले १र१ वर्ष कैदसहित रामचन्द्रकै जत्तिकै जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ ।

त्यस्तै भोजराज भण्डारी र डिल्लीराम पौडेललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले त्यसरी अरुको नाममा पुगेको जग्गा फेरि शान्ता राणाकै नामको ठहर्ने फैसला पनि गरेको छ । ठगीमा संलग्न भएको आरोप लागेका कास्की मालपोत र पोखरा उपमहानगरपालिकाका १४ कर्मचारीले भने सफाइ पाएका छन् ।

नगरपालिकाका कानुनी अधिकृत नारायण शर्मा र पोखरा—६ का तत्कालीन वडा सचिव भीमदेव शर्मासहितले सफाइ पाएका हुन् । सफाइ पाउनेमा राष्ट्रिय वाणिज्य वाणिज्य बैंकका कर्मचारी अनील खनालसहित जग्गा किनेका पोखरा—१२ की वविता कार्की, कास्की दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमले पनि सफाइ पाएका छन् । सफाइ पाउने अन्यमा शालिकराम ढकाल, तीर्थराम अर्याल, बुद्धिबहादुर कार्की, कर्णबहादुर थापा, केशवराज सुवेदी, लक्ष्मी पौडेल, लालुप्रसाद सुवेदी र लोकनाथ गिरी छन् ।

ठगीमा संलग्न रहेकी आशामाया र उनकी छोरी २ वर्षदेखि नै पुर्पक्षका लागि थुनामा छन् । काठमाडौंको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामाया लामालाई ५ लाख रुपैयाँ दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो। उनले आफूलाई प्रयोग गर्नेहरुको नाम र फोन नम्बरसमेत बयानका क्रममा प्रहरीलाई दिएकी थिइन् । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेन् ।

गिरोहको योजनाअनुसार शान्ता राणाको जग्गा आशामायाबाट २०६८ असोज ५ गते वविता कार्कीका नाममा पास भएको थियो। उनको १४ आना जग्गा उनीहरुले कित्ताकाट गरी वविताबाट दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई बिक्री गरेका थिए । ३ करोड रुपैयाँ पर्ने अनुमान गरिएको उक्त जग्गा किनबेचमा उनीहरुले डेढ करोड रुपैयाँको कारोबार गरेका थिए।

२१ वर्षदेखि अमेरिका बस्दै आएका भरतपुर चितवनकी शान्ता राणा आफ्नो जग्गा सँधियारले मिचेको खबर सुनेर आउँदा जग्गै अर्काले बेचिसकेको थाहा पाएकी थिइन् । उनले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा उक्त जग्गा बकस पाएकी थिइन् । सोही वर्ष जग्गा बाबुबाट छोरीको नाममा आएको थियो ।

चितवन प्रशासनबाट ०४२ फागुन ५ गते शान्ता राणाले लिएको नागरिकताकै नम्बर ९१९१७० मा नक्कली तयार गरेर ठगहरुले आशामाया लामालाई यो कारोबारमा संलग्न गराएका थिए । २०४६ सालअघिको लालपुर्जामा तस्बिर नहुने हुँदा जग्गा किनबेच गर्दा नगरपालिकाको सिफारिस चाहिन्छ । वडाको सर्जिमनसहित सिफारिसका लागि पनि गिरोहले नगरपालिकाका वडा सचिव र कानुनी अधिकृतलाई पनि झुक्याउन सफल भएको थियो । सबै कागजात दुरुस्तै देखेपछि लेखापढी व्यवसायी र मालपोत कर्मचारीसमेत फसेका थिए । उनीहरुको नियत खराब भएर उक्त कार्यमा संलग्न भएको पुष्टि हुन नसकेको अदालतको ठहर छ ।

शान्ता राणाको जग्गा अर्कैले बेचेको घटना भएको २ वर्षपछि पोखरामा फेरि त्यस्तै अर्का घटनासमेत भएको थियो । स्याङ्जा जगत भन्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा—८ जाल्पारोडको ११ आना जग्गा अर्कैले बेचिदिएका थिए । उक्त ठगी काण्डमा पनि रंगप्रसाद बनाइएका कृष्णबहादुर श्रेष्ठ पुर्पक्षका लागि थुनामा छन् । मुख्य अभियुक्तहरुलाई पक्रन कास्की प्रहरीले चासो दिएको छैन । दुई महिनामात्रै पनि पोखरा —१७ मा रहेको अर्कैको जग्गालाई आफ्नो बनाउने प्रयास गरेको आरोपमा रामेछापका गंगा कार्की र उनका छोरा टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

-धन बस्नेत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More