नारी दिवस, जलवायु परिवर्तन र गरिब मुलुकका ग्रामीण महिला

8 March, 2020 12:07 | बिचार | comments | 34800 Views

– यादब देवकोटा –

आज विश्व नारी दिवस, यो दिवसमा महिला अधिकारका विषयमा गगनभेदी नारा घन्किन्छन्, पुरुषलाई गाली गरिन्छ अनि महिलाले अधिकार पाउनुपर्नेमा एकमत जाहेर हुन्छ । तर, महिला अधिकार स्थापनाको अटुट सम्बन्ध प्रकृतिसंग छ भन्ने कुरा बिर्सेर विकासे र डलरवादी चिन्तनको पछि लाग्दा वास्तविक समस्यातिर कसैको पनि ध्यान गएको छैन ।

  

सन्दर्भ महिला र प्रकृति अनि विग्रदो पृथ्वीका वातावरण हो- अहिले पृथ्वीको तापक्रममा उत्पन्न गडबडीका कारण भैरहेको जलवायु परिवर्तनबाट विश्वको कुनै पनि अछुतो रहन नसके पनि सबैभन्दा बढी नकारात्मक प्रभावबाट गरिब देश, जसको जलवायु परिवर्तनमा कुनै योगदान नै छैन, त्यस्ता मुलुकका ग्रामीण भेगका महिला बढी पीडित हुनुपर्ने अवस्था सिर्जित छ ।

जलवायु परिवर्तनले विकासशील देशका महिलाहरूलाई बढी असर गर्ने संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले नै खुलासा गरिसकेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र कृषिमा निर्भर रहेकाले त्यहाँका जनता भोक मेटाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्था आउनेछ । घरधन्दा संचालन गर्ने महिलाहरूमा जलवायु परिवर्तनले पार्ने प्रत्यक्ष प्रभाव भनेको खाद्यान्नको अभाव, पानीको स्रोतको कमी तथा इन्धनको जोहोका लागि अत्यधिक समय खर्च गर्नुपर्ने अवस्था आउनु हो ।

यसको सबभन्दा ठूलो मारा दक्षिण तथा दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका ग्रामीण क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनले उनीहरूको जीवनस्तर अझै गिर्दो अवस्थामा पुर्‍याउने छ । ती देशहरूमा अत्यधिक जनसंख्या वृद्धिले उत्पन्न गरेको आवादीको चर्को समस्याका कारण कृषियोग्य जमिनमा पनि बस्ती बसाउनुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर यसकै लागि प्राकृतिक स्रोत साधनहरूको अत्यधिक दुरुपयोग गर्नुपर्ने अवस्था छ । वनजंगल विनाश र नदी अतिक्रमणले जलवायु परिवर्तनलाई सघाइरहेको हुन्छ । जलवायु परिवर्तनमा कार्बन डाई अक्साइड ग्यास उत्सर्जनको जुन भूमिका छ वनजंगल विनाश, नदी प्रदूषण जस्ता विषयहरू पनि कम महत्वका हैनन् । प्रदूषित वातावरणलाई शुद्ध पार्ने प्राकृतिक स्रोतहरू नासिंदै जानु पनि जलवायु परिवर्तनको प्रभाव एकाएक बढ्दै जानुको मुख्य कारणको रुपमा लिइन्छ ।

नेपालमा अहिले यस्तै स्थिति छ । एकातिर कृषियोग्यभूमिको ३३ प्रतिशत बाँझै छ भने अर्कोतिर सरकार कौसी खेतीका लागि अनुदान दिने घोषणा गर्दछ । भएको भूमिमा कृषिकर्म गर्ने युवाशक्ति विदेश पलायन भएका छन् । घर व्यवहारको जिम्मा लिने महिलाहरुलाई खानपानी र इन्धनकै लागि निकै संघर्ष गर्नुपर्ने स्थिति आउनेछ ।

जलवायु परिर्वतबाट सर्वाधिक पीडित हुने महिलावर्ग हुन् भन्ने तथ्यसंग कसैले पनि विमती राख्नुपर्ने कारण र आधार छैन । किनभने अहिलेसम्म प्राकृतिक विपत्तिमा मर्नेहरूमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहने गरेको छ । यो एउटा पक्ष हो भने अर्कोतिर जलवायु परिवर्तनका कारण गरिब देशका महिलाहरू, जो अधिक श्रम गरिहेका छन् उनीहरू श्रम गर्न समेत नपाउने अवस्था सिर्जना हुनसक्छ । कृषि श्रमिकका रुपमा रहेर आफू र आफ्नो परिवारको पेट पालिरहेका महिलाहरूमा बढ्दो सुख्खा र अधिक वर्षाका कारण श्रम गर्नसक्ने अवस्था पनि रहँदैन । उनीहरूलाई भोजन र पानीको व्यवस्था गर्नकै लागि पनि सामान्यभन्दा अधिक श्रम गर्नुपर्ने अवस्था आउँछ । यसले उनीहरूको स्वास्थ्य कमजोर गर्ने र अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउनेछ ।

नेपालको दुर्गम ग्रामीण क्षेत्रहरूमा पुरुषहरू जुवा–तास र रक्सीमा मस्त रहेका हुन्छन् भने महिलाहरू गोरुसरह खेतबारीमा जोतिइरहेका देखिन्छन् । मानवअधिकारका रुपमा प्राप्त गर्नुपर्ने मौलिक हकबाट समेत उनीहरू वञ्चित हुनुपरेको छ । शिक्षा, स्वास्थ्य, सरसफाई तथा आराम र मनोरञ्जनको कुरा त्यस्ता महिलाहरूका लागि धेरै टाढाको विषय हुन पुग्छ । त्यस्ता महिलाहरूको जीवनस्तर अझै कष्टप्रद हुने भविष्यवाणीले जो कोहीको मन कुँडिनु सामान्य हो ।

जलवायु परिवर्तनको पहिलो असर कृषि प्रणालीमा परेको छ । मौसम अनुकुलको खेतीबाली लगाउन सकिने स्थिति अब रहेन । त केही दशक अघिसम्म धान–चामल निर्यात गर्ने मुलुकमा दरिएको नेपाल अहिले आफैं खाद्यान्न संकटमा परिरहेको छ । सरकारले कृषिको विकासका लागि अनेक कार्यक्रम बनाए पनि सफल हुन सकिरहेको छैन । जलवायु परिवर्तनसंग जुध्दै सोही अनुकूलको बाली लगाउने नीति, महिलालाई कृषिमा उच्च प्राथमिकता अनि जमिनको वैज्ञानिक सुधार तथा सिंचाई, मल–बीउ र कृषि उत्पादनको बजार र मूल्य व्यवस्थापन गर्ने काम सरकारले गर्ने हो भने जलवायु परिवर्तनबाट नेपालको कृषि क्षेत्रले त्यति धेरै क्षति भोग्नु पर्दैन र जनताको खाद्य अधिकारको पनि रक्षा हुन्छ ।

विश्वमा जहिले पनि महिला र बालबालिका जुनसुकै अवस्थामा पनि उच्च जोखिममा रहेका हुन्छन् । झन् यतिबेला त जलवायु परिवर्तनका कारण पनि महिलावर्ग नै उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भैसकेका छ । एसिया तथा अफ्रिकाका गरिब ग्रामीण महिलाहरूको जीवन जति कष्टकर बन्छ उनीहरूसंगै आश्रित बालबालिकाको भविष्य समेत जोखिमपूर्ण बन्ने निश्चित छ । खाद्यान्नको प्राप्ति, औषधि उपचारको सुलभ व्यवस्था, सरसफाई र आराम तथा मनोरञ्जन कुन चरीको नाम हो थाहा नपाउने महिलाहरूको हकमा उनीहरूको नैसर्गिक अधिकारको तुलनामा श्रम गर्न पाउने कि नपाउने भन्ने महत्वपूर्ण पक्ष हुनेछ । जलवायु परिवर्तनले जेजस्तो परिस्थितिको सिर्जना गर्ने भविष्यवाणी भैरहेको छ– यसको एकमात्र कारण भनेको प्रकृतिमाथि गरिएको मानवीय खेलवाड नै हो । मानवले आफ्नो स्वार्थका लागि अरुको जीवनको पर्वाह नगरेकै कारण अनेक विपत्तिको सामना गर्नु परिरहेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसकै सन्र्दमा भन्नैपर्ने कुरा के हो भने– शास्त्रले नारीलाई प्रकृति मानेको छ तर यही प्रकृतिमा विकृति भित्रिदा नारी नै सबैभन्दा बढी पीडित बन्नुपर्ने स्थिति उत्पन्न भैरहेको छ । अहिलेलाई यतिमात्र भन्न सकिन्छ कि– धनी मुलुकका कारण गरिब मुलुकका गरिब जनताले अकालमा भोकभोकै मर्न नपरोस् । जलवायु परिवर्तनसंग महिला अधिकारको विषय पनि जोडेर प्रकृति संरक्षण एउटा अभियानकै रुपमा संचालन गर्नुको विकल्प छैन ।

विश्वभरका महिलाहरुमा चेतना भया !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More