निजी विद्यालयका आधारभूत तहमा शिक्षकभन्दा शिक्षिका बढी

9 July, 2017 13:42 | जन सरोकार | comments | 179400 Views

एउटी महिला शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ भन्ने मान्यता स्थापित छ नेपाली समाजमा । त्यसैले महिला शिक्षाका बारेमा बहस र अभियान जारी छ ।
adsads

यसैका लागि शिक्षण पेशामा महिलाको सहभागितालाई उच्च मान्यता दिइएको छ तर, यसमा सहभागिता भने हुन सकेको छैन ।

शिक्षण पेशामा सरकारी लगानीका विद्यालयहरुमा समान पहुँच छैन । यसको विपरीत निजी क्षेत्रमा भने महिला शिक्षकको संख्या बढी पाइएको छ । यद्यपि यो संख्या आधारभूत तहमा मात्र बढी छ ।

यसले के देखाउँछ भने निजी क्षेत्रमा समानुपातिक प्रतिनिधित्व वा योग्यताको केही हदसम्म कदर भएको पाइन्छ । पछिल्लो आर्थिक सर्वेक्षणले सो तथ्यांक देखाएको हो ।

सर्वेक्षण अनुसार संस्थागत विद्यालयको आधारभूत तह (कक्षा १–८ सम्म)मा ६६ हजार ३ सय ९५ शिक्षक छन् । यीमध्ये शिक्षिका ३४ हजार ६ सय २५ छन् । पुरुष ३१ हजार ७ सय ७० मात्रै छन् । निजी विद्यालयमा महिला शिक्षक ५२ प्रतिशतभन्दा बढी छन् । तर, १ देखि १० सम्म पढाउने शिक्षकको संख्यामा भने पुरुष नै बढी छन् ।

यसको विपरित सामुदायिकमा १ देखि कक्षा ८ सम्म ६८ हजार १ सय २६ महिला र १ लाख १७ हजार पुरुष शिक्षक छन् । आर्थिक सर्वेक्षण अनुसार विद्यालय तह १ देखि १२ सम्म पढाउने ३ लाख १२ हजार ६ सय ८७ शिक्षक छन् । त्यसमा १ लाख १३ हजार ४ सय ११ महिला र १ लाख ९९ हजार पुरुष छन् ।

यसमा ३० हजार ४ सय ४८ प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत ३० हजार सहजकर्ताको संख्या जोडिएको छैन । कक्षा १ देखि १० सम्मको सामुदायिकमा ३२.८ प्रतिशत मात्र महिला शिक्षक छन् भने संस्थागत विद्यालयमा ४५.१ प्रतिशत । महिला शिक्षकको अवस्था अझै सुधार गर्नुपर्ने सर्वेक्षणमा सुझाव दिइएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत सबै किसिमका शिक्षक संख्यामा लैंगिक समता सूचकांक आधारभूत तह १ देखि ५ तहमा ०.६८ रहेको छ । आधारभूत तह १ देखि ८ मा ०.५८ प्रतिशत मात्रै छ ।

सामुदायिक विद्यालय र निजी तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तरको भिन्नताको सुरुवात यहीबाट भएको पाइन्छ । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाका अनुसार महिला शिक्षकमा विद्यार्थीको सिकाइ सुधार गर्न लगाव बढी हुने भएकाले विद्यालयको रोजाइमा पुरुषभन्दा महिलालाई अवसर दिने गरिएको हो ।

संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पनि महिला शिक्षकको भूमिका रहेको बताउँदै उहाँले महिला शिक्षकमा कामप्रति लगाव बढी हुन्छ । विद्यार्थीलाई गाइड गर्ने र माया गर्न पनि महिला शिक्षक सक्षम हुने र बालबालिकाको मनोविज्ञान बुझ्ने पनि उहाँको दावी छ ।

उता सरकारले पनि सामुदायिक विद्यालयमा महिला शिक्षकको संख्या बढाउन आरक्षण कोटासमेत व्यवस्था गरेको छ । तर उपस्थिति भने त्यस्तो हुन सकेको छैन । यसका अनेक कारण छन् ।

यसैका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना घट्दैछन । शैक्षिक सत्र ०७३ मा आधारभूत तह (कक्षा १ देखि ८) मा ५९ लाख ९४ हजार ६ सय १२ र माध्यमिक तह (९ र १० कक्षा) मा ९ लाख ५८ हजार ५ सय २ विद्यार्थी छन् ।

०६९ मा विद्यालय तहमा ७२ लाख ७७ हजार विद्यार्थी रहेकामा ०७३ मा घटेर ६९ लाख ५३ हजारमा आइपुगेको छ । ०७० मा ७१ लाख, ०७० र ७१ मा ७० लाखमा झरेको थियो । त्यस्तै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी पनि घटदै गएका छन् । ०७०।७१ मा ४ लाख ५ हजार विद्यार्थी भर्ना भएकोमा ०७१।७२ मा २ लाख ९० हजार र ०७२।७३ मा ३ लाख ६० मा झरेको छ । अन्य विश्वविद्यालयमा १८ प्रतिशत अध्ययन गर्छन् भने त्रिविमा मात्रै ८२ प्रतिशत अध्ययन गर्छन् ।

सरकारले विद्यालय शिक्षामा लगानी बढाएको छ । शिक्षकलाई तालिम दिइरहेको छ । तर, कक्षामा विद्यार्थी संख्या घटदै गएको छ ।

– यादब देवकोटा

यो पनि हेर्नुहोस्

नारीलाई शिक्षा– ज्ञान, धन र शक्तिको स्रोत– गीता श्रेष्ठ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!