‘निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन’ : ढुङ्गाना

16 September, 2020 14:25 | राजनीति | comments | 10950 Views

पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताउनुभएको छ । सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छाडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको उहाँको विश्लेषण थियो ।

अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उहाँले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो ।

  

सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले सन् १९९७ सेप्टेम्बर १५ मा शुरु भएको अन्तरव्यवस्थापिका परिषद्का १५३ सभामुखको भेलाले घोषणापत्र जारी गरी अन्तरराष्ट्रिय लोकतन्त्र दिवस मनाउन आह्वान गरेको स्मरण गर्नुभयो । महासङ्घका अर्का पूर्वसभापति धर्मेन्द्र झाले जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने अभ्यासमा जाने व्यवस्था गरिनुपर्ने विचार राख्नुभयो ।

राजनीतिक विश्लेषक विनोद सिंजापतिले लोकतन्त्रको हिमायती भनिने नेपाली काँग्रेसले आफ्नो आन्तरिक निर्वाचन पद्धतिमा सुधार गर्न नसक्दा दलमै समस्या देखिएको बताउँदै विकृत बन्दै गएको राष्ट्रिय निर्वाचन पद्धतिलाई सुधार गर्न आवश्यक भएको भनाइ राख्नुभयो ।

वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले लोकतन्त्रले सुशासन र कानूनको शासनलाई पालना गर्छ भन्ने विश्वासले यसप्रतिको आकर्षण विश्वमा बढे पनि पछिल्लो समय यसलाई सत्तामा पुग्ने भर्याङका रुपमा मात्र उपयोग गरिएको सुनाउनुभयो ।

पूर्वसांसद विन्दादेवी आले रानाले राजनीतिक दल मात्र बढेर दबाब समूह नहुँदा लोकतन्त्रका लागि चुनौती थपिएको बताउनुभयो । सङ्घीयताका अध्येता डा रुद्र शर्माले वर्तमान संविधानमा पनि सहभागितामूलक लोकतन्त्र भए पनि व्यवहारमा आउन नसकेकाले चुनौती देखिएको भनाइ राख्नुभयो ।

कार्यक्रममा विनोदकुमार भट्टराई, टीकाराम न्यौपाने, विष्णु पन्थी, नारायण भट्टराईलगायतले गोविन्द केसीले उठाइरहेका जनताको स्वास्थ्यका विषयमा काँग्रेस, कम्युनिष्टलगायत दल गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More