नेउवामहासंघमा वरिष्ठ उपाध्यक्षसहित ढकाल समूहको उम्मेदवारी घोषणा

15 July, 2020 00:56 | अर्थ | comments | 21150 Views

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले मंगलबार आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गर्नुभएको हो ।

समूहमा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उहाँ हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष हुनुहुन्छ । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ ।

  

त्यस्तै एसोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईलाई उम्मेदवार बनाइने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधानका कारण वरिष्ठ उपाध्यक्षको पद आकर्षक देखिएको छ ।

आगामी साउन २६ र २७ गते महासङ्घको अधिवेशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष ढकालले कोरोनाका सिर्जना भएका स्वास्थ्य र आर्थिक चुनौतीलाई सामान गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि सरकार र निजी क्षेत्रको बीचमा साझा प्रयास हुनुपर्ने बताउनुभयो । आर्थिक चुनौती संसारभरका सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत पहलले मात्रै कुनै पनि काम अगाडि नबढ्ने बताउनुभयो ।

महासङ्घमा आउने नयाँ नेतृत्वका रुपमा आउन आफ्नो समूहले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त नगरी मुलुकले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने ढकालले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो टिम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टिममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घराना सम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टिमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहुँच छ ।”

निर्वाचनका क्रममा स्वाभाविक रुपमा समूहगत प्रतिस्पर्धा भए पनि महासङ्घलाई अगाडि बढाउने सवालमा आफूहरु एकै स्थानमा रहने र कोही कसैले पनि प्रतिस्पर्धीका रुपमा व्यवहार नगर्ने उम्मेदवार ढकालको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More