लिच्छवीकालदेखि मनाइन्थ्यो नेपालमा पानी दिवस (सिथी नखः)

28 May, 2020 18:38 | जल/वातावरण/स्वास्थ्य | comments | 31050 Views

यादब देवकोटा

विश्वमा जलवायु परिवर्तनका कारण वातावरणमा पर्न गएको दुष्प्रभावले खानेपानीको अभाव हुँदै गएपछि यसको संरक्षणका लागि विश्वव्यापी अभियानको सुरुवात भयो सन १९९३ बाट । संयुक्त राष्ट्रसंघले सोही वर्षको मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ ।

यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका गगनभेदी नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वस्च्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसंगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हराजौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको छ । विशेष गरी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता पानीका मुहान र स्रोत सरसफाई गर्नु हो ।

  

आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमाा धारा र जारमा भरएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । आज त्यही पानी दिवस (सिथी नखः) परेको छ र यो पर्व देशभरिका नेवार समुदायले मनाइरहेका छन् । नेपालमा लिच्छवीकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविदहरु बताउँछन ।

उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारहरुको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने अनगिन्ती पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वह नेवारहरूको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । अति यही दिन कुलदेवताको पूजा पनि गरिन्छ ।

केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षा याम सुरु हुने बेला पर्ने सिथि नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुँदा यसलाई ऋतुहरुको चयन समेत अत्यन्त वैज्ञानिक मानिएको छ ।

किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथि नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।

पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान पकाएर खाने चलन छ ।

कुमार षष्ठी व्रत

आजको दिन देवताहरुका सेनापति शिवपुत्र कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत पनि गरी मनाइन्छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजा आराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वास समेत छ ।

षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ । मार्कण्डेय लगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा पूजा गर्नुपर्ने विषय उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

पुराणको कथनअनुसार नै यो पर्व मनाउने परम्परा शुरु भएको हो । शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो वाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरे पनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती हो भनेर परिक्रमा गरेपछि पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराण उल्लेख गरिएको छ । गणेशपछि भने कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो ।

यस दिन छ थरिका पूजा सामग्रीले सिठी नखको पूजा आराधना गरिन्छ । छ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, छथरि व्यञ्जनका साथ सिठी नखको पूजा आराधना हुन्छ । कुनै कारणवश कूल पूजा गर्न रोकिएकाले आजैका दिन गर्ने चलन छ ।

पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।

जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणका कारण यो पर्व घरघरमै बसेर मनाउनुपर्ने बाध्यता छ ।

नेपालको हरेक चाड पर्व प्रकृतिसंरक्षण र मानव हितमा समर्पित छ । यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सधैं सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेरपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौं ।

अरुले भनिदिएको सबै ठीक मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौं । नेपालमा रहेका हरेका जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छौ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More