नेपालको मौलिक धर्म-संस्कृतिमा पश्चिमा प्रहार : अब मन्दिरको साटो चर्च- दशैंको साटो क्रिसमस !

12 June, 2019 16:04 | बिचार | comments | 47700 Views

– यादब देवकोटा –

कुनै पनि मुलुकलाई तहसनहस पार्नुपर्यो भने त्यहाँ धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाइदिए पुग्छ र त्यसमा जातीय रङ्ग लोपरिदिए ‘सुनमा सुगन्ध’ । विगत एक दशकयता नेपालमा यस्तै षड्यन्त्र मच्चिइरहेको छ र यसबीचमा नेपालमा धर्म परिवर्तनको बाढी पसेको छ ।

adsads

धर्म–संस्कृति नै मानिसको प्राण हो । जब मानिसको धर्म–संस्कृति मासिन्छ तब ऊ जिउँदो लाश समान हुन्छ । अझ नेपाल जस्तो पौराणिक मुलुकको धर्म–संस्कृतिलाई तहसनहस पार्ने गरी सरकार नै कानुन बनाउन थाल्छ भने त्यो सहन सकिने विषय हुनै सक्दैन । यो कुनै जात विशेषको मात्र चासो र सरोकार होइन, सिंगो देशको चासो हो । कुनै पनि जात, धर्म, सम्प्रदाय देशको सम्पत्ति र रक्षक हो । त्यसैले यसमा अन्यथा रुपरंग दिएर व्याख्या गर्नु आवश्यक छैन ।

सत्ता संचालकहरु एउटा धर्म प्रचारकहरुको कार्यक्रमको आयोजक बनेर ‘होली वाइन’ सेवन गरेको खबर पनि आएकै हो । यसको आलोचना र चर्चा सेलाउन नपाउँदै सरकारले गुठीलाई अरु व्यवस्थित गर्ने भनेर गुठी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि काठमाडौंका सडक तातेका छन्, सदन चर्किएको छ अनि बौद्धिक क्षेत्र आक्रोशित छ । उनीहरु सबै भन्दैछन्– यो विधेयक मार्फत नेपालको १५ सय वर्ष पुरानो परम्परा र संस्कृति मास्न खोजियो । राष्ट्रिय धर्म, संस्कृति र परम्परामाथि धावा बोलियो ।

सरकार भन्छ गुठीलाई आधुनिक बनाउन विधेयक ल्याइयो । गुठीलाई आधुनिक भनेको मन्दिर भत्कार चर्च बनाउने अनि इन्द्रजात्रा, मच्छेन्द्रनाथको जात्रा, बिस्केटको जात्राको ठाउँमा क्रिसमस मनाउने हो ? अहिले राजधानीका गल्लीगल्लीमा यस्ता प्रश्न उठेका छन् । सरकारले जे काम गरेको छ यसले देशमा जातीय विद्वेषको भावना विकसित हुन थालेको छ । उपत्यकाका रैथाने नेवारहरु ‘बाहुनले हेप्यो’ भन्न थालेका छन् । यो मुलुकका लागि दर्भाग्यको सूचक हो । फुटेकालाई जुटाउनुपर्ने सरकार जुटिरहेकालाई फुटाउने जमर्को किन गर्दैछ ? उत्तर धेरैको एउटै छ– ‘होली वाइनको प्रभाव’ ! के यही हो वास्तविकता ?

यदि हो भने यो नेपाल सिध्याउने खेल हो । “संसारमा त्यस्तो कुनै असत्य छैन जसलाई पटकपटक दोहोर्याएपछि सत्य सावित नहोस्” भन्ने हिटलरको महान वाणी अहिले नेपालको सरकार, सरकारा चलाउने दल, तिनका सांसद अनि त्यो दलमा आबद्ध संचारकर्मीहरुबाट भैरहेको स्पष्टै देखिन्छ । गुठी विधेयक पनि त्यस्तै त हैन ? विधेयकका अक्षर अक्षरको व्याख्या गर्दा अनेकथरि अर्थ निस्केला ! तर सारमा त्यसको भावना एउटै हुन्छ । अहिले सरकारी पक्षधरले जति बचाउ गरे पनि जनताले पत्याउनेवाला छैनन् । यो धर्म–संस्कृतिसंग जोडिएको विषय हो ।

के हो मौलिक संस्कृति ?

मौलिक संस्कृतिको पछाडि दर्शनका सूत्रहरू गाँसिएका हुन्छन । अर्थात् कुन दर्शनको प्रभाव कुन कुन संस्कृतिमा परेको छ, त्यो स्पष्ट नै देखिन्छ । नेपालको मौलिक संस्कृति, वैदिक दर्शनबाट पृथक हुन सक्दैन । इन्द्रजात्रा होस् वा राष्ट्रियगान, राष्ट्रिय झण्डा होस् वा कुमारीको पूजा अर्चना र दर्शनका परम्परा, रथयात्राका साथै पशुपतिनाथको पूजा विधि र पुजारी– सवै वैदिक संस्कृतिको स्रोतसम्म पुग्छन् । गौरीशंकर हिमालदेखि शिवपुरीका डाँडोसम्म, चन्द्रागिरी र नागार्जुनका नामदेखि नदीनालासम्म सवैका नामले वैदिक संस्कृतिकै प्रतिनिधित्व गर्छन् ।

नेपालको परिचयवोधक चिन्ह नै वैदिक संस्कृतिको प्रतीक छ । डाँडाकाँडाको नाम होस् वा नदीनालाको । व्यक्ति विशेषका नाम समेतमा यो प्रतीक चिन्ह पाइन्छ । ॐ यो अक्षर मात्र होइन यो वैदिक संस्कृतिको विशेष ध्वनि प्रसारक शब्द हो । ‘ॐकारमात्रम् स चराचरंजगत्’ वैदिक संस्कृतिले यसै भन्छ । यही ॐलाई व्यक्ति विशेषका नाममा समेत सम्बद्ध गर्ने संस्कृतिले नेपालीको नामाकरण गरिएको छ । परापूर्वकालदेखि यही शब्दलाई आधार मानेर नाम राख्ने गरिएको छ । यो वैदिक सभ्यताको प्रतीक पर्यायवाचक परिचय हो ।

तर अहिले यही संस्कृति छिन्नभिन्न पार्ने होडवाजी नै चलेको छ । केही समयअघि नेपालको राष्ट्रिय झण्डा समेत बदल्ने चर्चा चल्यो । राजनीतिकरणको मार नेपालको परिचयबोधक चिन्हहरूले खेपिरहेका छन् । राष्ट्रिय गानमा, राष्ट्रिय झण्डामा, राष्ट्रिय भेषभुषामा वा राष्ट्रका परम्परागत मूल्य र मान्यतामा झल्याकझुलुक गर्ने मौलिक सांस्कृतिक पक्षमै वादविवाद खडा गरिनु, दवाव दिनु त्यस्तो विवादलाई राजनीति गरेर दलीय स्वार्थ साधनामा रङ्गाउनु वा परचक्रीको सभ्यता र संस्कृतिको गुनगान गाएर आफ्नो सभ्यता र संस्कृतिविरुद्ध हुने गरी कुनै गतिविधि गर्नु, वाकयुद्ध सुरु गरेर संस्कृतिविरुद्ध तथानाम गाली वर्षा गर्दै सांस्कृतिक धक्का दिन उद्यत हुनु मौलिक संस्कृतिका पक्षधरहरूका निमित्त चिन्ताकै विषय हो । अहिले काठमाडौंमा गुठी विधेयक बिरुद्ध उर्लिएको जनसागर यसैको प्रतीक हो ।

नेपालको मौलिक संस्कृतिका परिचयबोधक चिन्ह वा राष्ट्रियता र त्यसलाई टेवा दिने जनजीवीकाका चाडपर्व वा जात्रा लगायत मठमन्दिर, गुम्वा, चैत्य तीर्थ र गुफा एवं गिरिकन्दराका अनुपम प्राकृतिक र मानव निर्मित सौन्दर्य चित्ताकर्षक प्राकृतिक मानचित्रका स्थल विशेष लगायतमा झल्कने मौलिकता नष्ट गर्न अहिले पश्चिमा राष्ट्रको दवाव छ भनिन्छ । उनीहरुलाई थाहा छ– नेपालको धर्म–संस्कृति नमासेसम्म आफ्नो प्रभाव विस्तार गर्न सकिंदैन । उनीहरु किन यसरी लागिपरेका छन् त ? कुरा गरौं इन्द्रजात्राको । इन्द्रजात्रा राष्ट्रको जीवनको प्रथम अंग बन्यो । यो महोत्सवका रुपमा मनाइने पर्व ऋग्वेदका सर्वश्रेष्ठ देवेन्द्रसंग सम्बद्ध हुनपुग्छ ।

गुठी विधेयक फिर्ता नभए दुई तिहाईको सरकार ढल्नसक्छ- चेतना भया

नेपाल अध्यात्मीकरण भएको देश हो । सांस्कृतिक नगरीका रुपमा काष्ठमण्डपको चर्चा गरिन्छ । मुलुकभरका मन्दिरको प्राङ्गणमा पित्तल र तामाका चन्द्र सूर्य अंकित नेपाली झण्डाका आकृति खडा देखिन्छ । यो झण्डा अर्थात् ध्वजोत्सव इन्द्रजात्राका रुपमा ऋग्देवकालदेखि नै प्रचलित हुँदै आएको छ । यो नै नेपालको मौलिक संस्कृति हो । यो संस्कृतिले कुन कुन कालखण्ड कसरी पार गर्दै आयो ? यो खोजीको विषय हो ।

पूर्वीय जीवनशैलीका समस्त रोचक पक्ष चाडवाड, धर्म, संस्कृति, आचरण र विधि व्यवहारमा परिलक्षित छन् । तर यो संस्कृति विरुद्ध भैरहेका नियोजित प्रयासमा यिनै चाडवाड, धर्म, संस्कृति, आचरण तथा विधि व्यवहारमै चोट पर्ने गरी निरन्तर प्रहार पनि हुँदै आएको छ । विश्वको सर्वाधिक पुरानो सभ्यता र संस्कृति तथा धर्म र आचरण लगायतको अभिलेखको रुपमा मानिएको ऋग्वेदले नै ८ हजार वर्षको अति नै प्राचीन ग्रन्थको रुपमा मान्यता पाएको छ । वैदिक सभ्यता, धर्म र संस्कृति तथा आचरण र विधि व्यवहार विरुद्ध वितेका २ हजार वर्षभित्रै निरन्तर सांघातिक प्रहार भएका मात्र छैनन्, यो धर्म, सभ्यता, संस्कृति तथा जीवनशैलीलाई मेटाई नै दिने विधर्मीहरूको प्रयास र प्रयत्न पनि बारम्बार दोहोरिएको छ । अहिले पनि यस्तै गर्न लागिएको आशंका आम जनमानसको छ ।

(प्रस्तुत लेखका केही सन्दर्भहरु वेदराज पन्तको ‘स्फोटवाद’ पुस्तकबाट उद्धरण गरिएको हो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!