नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया

20 January, 2021 15:01 | जल/वातावरण/स्वास्थ्य | comments | 15600 Views

छिमेकी मुलुक भारतमा कोरोना (कोभिड–१९) बिरुद्धको खोप लगाउन सुरु भैसकेपछि नेपालमा पनि सो खोप ल्याउने सरकारले बताइरहँदा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले नेपाललमा खोप पठाउने प्रक्रियाको थालनी गरेको जानकारी दिनुभएको छ । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।

अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुक भारत सरकार सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको खोप आउने सुनिश्चित भएको राजदूत आचार्यले जानकारी दिनुभयो ।

  

उहाँले अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउने र नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उहाँले स्पष्ट पार्नुभयो ।

राजदूत आचार्यका अनुसार भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ । नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ ।

राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको बताउनुभयो । सुरुवातमा आउने तीन प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिनेछ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको छ ।

केही दिनअघि भारतमा भएको संयुक्त आयोगको बैठकमा भारतले खोप दिने प्रतिबद्धता जनाएको थियो । बैठकमा भाग लिन जानुभएका परराष्ट्रमन्त्रीसहितको प्रतिनिधिमण्डलसामु भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करले खोप नेपाललाई आवश्यकताअनुसार दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यसो त नेपाल सरकारले सबै जनसङ्ख्यालाई पुग्ने कुल ७२ प्रतिशत खोपको आवश्यकता पूर्तिका लागि भारतसहित विभिन्न छिमेकी मुलुकमा कूटनीतिक प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये ४० प्रतिशतसम्म खोप भारतबाट ल्याउन अनुदान र खरिद दुवै प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो ।

खोप ल्याउनुअघि र ल्याएपछि के कसरी काम अगाडि बढाउने भन्ने रिहर्सलसम्मको अन्तिम प्रक्रिया नेपालले पूरा गरिसकेको छ । भारतबाट आउने भनिएको ४० प्रतिशतमध्ये पहिले तीन, त्यसपछि १७ र अन्तिममा २० प्रतिशत खोपको मात्रा भारतबाट ल्याइने योजना छ ।

भारतबाट आउनेमध्ये विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अनुदानमा दिने भनेको कोभ्याक्स अनुदानअन्तर्गत पनि केही मात्रा पर्नेछ । जसअनुसार २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप अनुदानअन्तर्गत नेपालले पाउनेछ । भारतबाट खोप नेपाल ल्याउँदा ढुवानी खर्चसमेत कम पर्ने र खोपको मात्राको मूल्य पनि कम पर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More