नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश : क्वारेन्टाइन बसिसकेकाहरु पुनः बस्नुपर्ने

4 April, 2020 20:07 | जल/वातावरण/स्वास्थ्य | comments | 37200 Views

सरकारले १४ दिन क्वारेन्टाइनमा बसेकालाई पुनः राख्ने भएको छ । पछिल्लो समय १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएपछि लकडाउन र क्वारेन्टाइनको अवधि लम्ब्याउने बताएको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म विदेशबाट आएकाहरुमा संक्रमण देखिए पनि नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सरकारले १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ ।

  

शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो ।

डा. देवकोटाले भन्नुभयो ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताउनुभयो ।

शनिबार सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More