नेपाली र जापानी कला संस्कृति प्रदर्शन(फोटो फिचरसहित)

6 April, 2013 00:19 | जन सरोकार , जापान | comments | 299100 Views

नेपाल र जापानबीचको कला-सांस्कृतिक आदान प्रदान कार्यक्रम अन्तर्गत शुक्रबार पाटन म्युजियममा कला प्रदश र सांगीतिक कार्यक्रम आयोजना गरियो । हार्मनी नेपाल-जापान नामक संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा चित्र, मूर्ति, बादन, नृत्य विधाका कलाकारहरूले आफ्ना कला प्रस्तुत गरेका थिए ।

नेपाली र विदेशी दर्शक सामु कला र संगीतको सामूहिक प्रदर्शनले दुइ देशीय कलाकर्मीको आपसी सद्भाव र मित्रतालाई अझ प्रगाढ बनाउन मद्दत गरेको विश्वास गर्न सकिन्थ्यो । सोही समारोहमा नेपालका लागि जापानी राजदूत ताकाहाशी कुनियोले दिनुभएको संक्षिप्त मन्तव्यमा समेत यी कुराको आशय अभिव्यक्त थिए । वास्तवमा यही उद्देश्यका साथ नेपाली र जापानी कलाकारहरू निकै लामो समयको योजनालाई पूरा गर्ने काममा जुटेका थिए । उनीहरूको यो सामूहिक कार्यक्रम पवित्र मित्रताको सिलसिलालाई लक्ष्यमा पुर्याउन प्रतिबद्ध थियो ।

  

सो कार्यक्रमको प्रारम्भमा सासा यासुकोले आफ्नै परम्परागत जापानी पोशाकमा सजिएर जापानी बाजा सानमिसेनको प्रस्तुत गरेकी थिइन् । उक्त बाजा नेपाली स्रोताका अनौठो त थियो नै, त्यसमा लगभग वृद्ध उमेरमा आफ्नै किमोनोमा सजिएर उत्साहपूवक जापानी बाजा प्रस्तुत गर्नु अर्को आकर्षणको कुरा थियो । त्यस्तै मोरिता मिनाकोले उडिशी शास्त्रीय नृत्य गरेकी थिइन् । लामो समयसम्म भारतमा उनले उक्त शास्त्रीय नृत्य सिकेकी हुन् । उनले आफ्नो प्रस्तुतिमा अत्यन्त रोमाञ्चक शिव ताण्डव नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् । उनलाई ‘मीना’ उपनामले पनि चिन्ने गरिन्छ ।

कार्यक्रममा नेपालको शास्त्रीय संगीतमा कलाकार सवन जोशीको सितार बादन तथा सुरेशराज बज्राचार्यको सरोद बादनको मुख्य प्रस्तुतिले दर्शकलाई बेग्लै आनन्द प्रदान गरेको थियो । उहाँहरूलाई साथ दिन तबलामा मिलेश तन्डुकार, गितारमा फिरोज बज्राचार्य र किबोर्ड ताजावा योसिताका रहेका थिए । उक्त सांगीतिक प्रस्तुतिले वातावरण स्तब्ध बनेको थियो । सो शास्त्रीय संगीतको आनन्दमा दर्शक लट्ठ परेर झुमेका थिए । सितारको सुमधुर स्वरमा उत्पन्न आरोह-अवरोहका ध्वनि तरङ्गमा प्रस्फुटित आवाजले भिन्न आनन्दको सञ्चार गरिरहेको महसुस हुन्थ्यो । त्यस्तै तबलाको ताल र सरोदको झञ्कार मिश्रति शास्त्रीय स्वरमा सुन्दर मिठास पाउन सकिन्थ्यो । अन्ततः अनेक किसिमका तनावहरूबीच यस प्रकारको सांगीतिक गुञ्जनले अर्कै संसारमा पुर्या एर सबैको मन छुने चेष्टा गरेको थियो ।

त्यसै गरी सुगिमोतो ज्युनइचिरोको मूर्ति र रेखाचित्रकला तथा इमामुरा केइकोको परम्परागत जापानी चित्रकला पदर्शनीले दर्शकलाई थप आनन्द दिएको थियो । सुगिमोतोले रेखाचित्रका माध्यमबाट विभिन्न व्यक्तिका अनुहारको आकृतिलाई आधुनिक स्वरूपमा उतोरका थिए । त्यस्तै सोही कार्यक्रममा नेपालका शारदा चित्रकारको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको कलात्मक क्यानभास चित्र तथा डी। राम पाल्पालीको जीवित देवीका रूपमा पुजित श्रीकुमारीको चित्रले नेपाली चित्रकलाको ताजा झलक र्सार्वजनिक गरेको थियो ।

त्यस्तै ओम खत्रीको मूर्तिकला प्रतीकका माध्यमबाट प्रस्तुत गरिएको सिर्जनात्मक नवीनता स्पष्ट देख्न सकिन्थ्यो । लक्ष्मण भुजेल र ज्ञानेन्द्र विवशका चित्रकलामा संस्कृति र प्रकृतिका मूत अनि अर्धमूत भाव अभिव्यक्त भएका थिए । प्रदर्शित यी कलाकृतिले समय, समाज र राष्ट्रकै प्रतिनिधित्व गरेका थिए । यसरी ती कलाकृतिहरूले नेपालको संस्कृति र प्रकृतिको जीवन्त चित्रण गरेको अनुभव सहभागी दर्शकहरूले समेत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा दुइ देशका कलाकारहरूको संयुक्त बाद्यबादनले मल्लकालीन पाटन दरवारसमेत बिउँझिएको महसुस गर्न सकिन्थ्यो । कुशलतापूण् सांगीतिक प्रस्तुतिले अन्नतः सम्पूण् संगीतप्रेमी स्रोतालाई यथेष्ठ मनोरञ्जनले लठ्याएको थियो । तालीको गडगडाहटबीच सांगीतिक सुर्साईको अविच्छिन्न भेल यति मनोरम भयो कि त्यसमा आनन्दको अनुभूति नगर्ने मानिस त्यहाँ सायदै थिए होलान् ।

सो कार्यक्रमका मुख्य संयोजक सवन जोशी रहनुभएको थियो । उहाँ हाल टोकियो युनिभर्सिटी अफ आर्टस्मा म्युजिकोलोजी डिपार्टमेन्टमा संगीत अनुसन्धानकर्ताको रूपमा पनि संलग्न हुनुका साथै त्यहाँ जापानी विद्यार्थीहरुलाई सितारको प्रशिक्षण पनि दिदै हुनुहुन्छ। उहाँले सोही युनिभर्सिटीबाट सन् २०१० मा संगीतशास्त्रमा विद्यावारिधि गरी नेपाली शास्त्रीय संगीतलाई विभिन्न माध्यमबाट चिनाउँदै आउनुभएको छ ।

कार्यक्रममा दर्शकहरूलाई कलामार्फत दुइ देशको कला-संस्कृतिको बारेमा अनुभूति गराई  त्यसको महत्वको बारेमा बुझने प्रयास गराउनुका साथै यस किसिमको कला, संगीत आदान प्रदान कार्यक्रमबाट दुइ मित्रराष्ट्र बीचको सम्बन्ध पनि अझ बलियो बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More