पर्चाको चर्चामा टिकेको एनआरएनए ! (भिडियोसहित)

17 October, 2019 15:07 |बिचार | comments | 17250 Views

    – यादब देवकोटा-

    विश्वका अति विकसितदेखि मध्यम र कमजोर गरी ८० भन्दा बढी देशमा नेपालीहरुको उपस्थिति छ र उनीहरुको उपस्थितिले नेपाली भाषा, संस्कृति ती देशहरुमा फैलिएको छ भन्दै खुसी मनाइन्छ । अनि उनीहरुले ती देशहरुमा आर्जन गरेको ज्ञान, सीप र पूँजी स्वदेशमा लगानी गर्न आव्हान पनि गरिन्छ ।

    adsads

    यो स्वाभाविक पनि हो कि विदेशमा रहेका नागरिकहरुको लगानी कुनै पनि देशको आर्थिक विकासका लागि महत्वपूर्ण अंग बन्ने गरेको छ । भारत लगायतका देशहरुमा यस्तै देखिन्छ । विदेशमा रहेकाहरुको ज्ञान र सीप भारत सरकारले प्रचूर उपयोग गरिरहेको छ । यस्तै अपेक्षा नेपालको पनि हुनु अस्वाभाविक हैन । विदेशमा रहेका नेपाली (जन्मले नेपाली, कर्मले विदेशी बनेका)हरुबाट धेरै अपेक्षा गरिएको छ र उनीहरुबाट केही हदसम्म मातृभूमिका लागि लगानी गरिएको पनि नकार्न सकिन्न ।

    एनआरएनएको नवौं महाधिवेशनमा विश्वभरका २५ सयभन्दा बढी प्रतिनिधि राजधानी उत्रिएका छन् आफ्नो नयाँ नेतृत्व चयनका लागि । नयाँ नेतृत्व चयनका लागि राजधानी भित्रिएका एनआरएन प्रतिनिधिहरुबीच चर्को राजनीतिक प्रतिस्पर्धा छ । देशका कुनै पनि निकाय राजनीतिकरणबाट मुक्त नभएका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीतिकरणबाट मुक्त हुनुपर्छ भन्ने अपेक्षा भए पनि त्यस्तो पटक्कै देखिएन । नयाँ नेतृत्वका लागि सत्तारुढ दल नेकपा पक्षधर र विपक्षी दल नेपाली कांग्रेस पक्षधरबीच समूहगत रुपमै चुनावी प्रतिस्पर्धा हुनु र आफ्नो पक्षलाई जिताउन जालझेल भएका खबर आउनु दुःखलाग्दो सन्दर्भ हो ।

    नेपाली कांग्रेस निकटले नेकपा निकटकाको नाम काट्ने र नेकपा निकटले कांग्रेस निकटका प्रतिनिधिको नाम काट्ने गर्दा मंगलबार साँझ हायात होटलमा चर्को नाराबाजी भयो । बुधबार निर्धारित मतदान नै स्थगित भयो ।

    जापान, अमेरिका, बेलायत जस्ता बढी प्रतिनिधि भएका मुलुकबाट उम्मेदवारी दिएकाहरुबाट यस्तो झेल भएको भन्दै सहभागीहरुले नारावाजी गरे । त्यो नाराबाजी देख्दा लाग्थ्यो एनआरएनएको चुनाव नभएर कुनै राजनीतिक दलको भातृ संगठनको चुनाव भैरहेको छ ।

    के यो चरित्रले एनआरएनए स्थापनाका उद्देश्य, यसले साँचेको सपना पूरा होला ? दलीय आस्थाका आधारमा नेतृत्व हत्याउने होडबाजीले नेपालमा जस्को सत्ता छ उसलाई सहयोग गर्ने र नभए बिरोध गर्ने बाहेक केही नहुने स्पष्टै देखिएको छ । विदेशमा रहेर आफ्नो पेशा–व्यवसायमा अब्बल ठहरिएका, विदेशीलाई नै रोजगारी दिने हैसियत बनाएका नेपालीहरु दलीय कार्यकर्ता भएर विभाजित हुँदा उनीहरुले मुलुकका लागि स्वतन्त्र ढंगले काम गर्छन् भने कसरी पत्याउने ?

    अर्को कुरा, हायात होटलमा जे देखियो, विमानस्थलमा एनआरएनहरुले जे गरे त्योभन्दा लाजमर्दो कुरा अर्को केही नहोला ? विदेशमा बसेका, पढेका जानेका, देखेका, सुनेका अनि धन कमाएकाहरु विमानस्थलमा लाइन बस्नुपर्‍यो भनेर अध्यागमनको टेबल फुटाउँछन् । पाँचतारे होटलमा जथाभावी फोहर गर्छन्, महंगा मार्बल र दुबोमा चुरोटको ठूटो कुल्चन्छन् । अरु त अरु धुपीको बोटको छेको परेर तुक्र्याउँछन् । के विकसित र सभ्य भनिएका मुलुकमा व्यापार–व्यवसाय गरेर बसेका नेपालीहरुको संस्कार यस्तै हुन्छ ?

    “बर्मा गए कर्मसंगै” भनेजस्तै जता गए पनि राजनीतिकरणले शिथिल र जीर्ण भएको नेपालीको मस्तिष्कमा स्वतन्त्र विचार र मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना नै छैन । त छ केवल आफू आबद्ध राजनीतिक दल अझ दलभित्र पनि आफ्नो निकटको नेताका लागि केही गर्नुपर्छ भन्ने गलत सोच हावी देखिएको छ ।

    बुधबार नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान पदद्धिबाट चुनाव गर्ने तय गरिएको थियो तर खेल अर्कै भयो ! मेसिनले काम गरेन भन्दै मतदान रोकियो । त्यसअघि मतदानमा ढिलाई भएको भन्दै लाइनमा बसेकाहरुले नाराबाजी गरे, पानीका बोतल हानाहान गरे । एक पक्षले अर्को पक्षलाई देखिनसहने प्रवृत्ति एनआरएनएमा देखियो ।

    चर्चा र पर्चामा टिकेको एनआरएनएभित्र मडारिएको राजनीतिक ध्रुवीकरणले यो संस्थालाई कहाँ पु¥याउने हो र यसको स्थापनाको उद्देश्य, गरिमा र विश्वसनीयता कति कायम रहने हो यो नै अहिलेको चासोको विषय हो । मुलुकलाई समृद्ध बनाउन अहं भूमिका निर्वाह गर्नसक्ने हैसियत बनाएकाहरु राजनीतिक दलका वफादार कार्यकर्ता बनेर चुनावी मैदानमा उत्रँदा मुलुकले पाउँछ के ?

    राजनीतिक आस्था वा सिद्धान्तबाट कोही पनि अलग रहन सक्दैन । यसको मतलब आस्थाको नाममा संस्था डुबाउने गरी दलको कार्यकर्ता बन्नुपर्छ भन्ने हैन । सैद्धान्तिक आस्था र दलीय आस्थामा ठूलो अन्तर हुन्छ । हामीकहाँ आस्था भनेको दलीय मात्र भन्ने भ्रम परेकै कारण चारैतिर राजनीतिकरणको धुलो मडारिएको छ र यसबाट एनआरएनहरु पनि अछुतो रहेनछन् ।

    कम्तिमा विदेशमा बसेर लोकतान्त्रिक अभ्यास हेरेर त्यहाँको राजनीतिक संस्कार र पद्धति सिकेर आएका होलान् भन्ठानेको तर उनीहरुले देखाइहाले आफ्नाको मलद्वार पनि हरिद्वार र अरुले खडा गरेको हरिद्वार पनि मलद्वार ठान्ने चरित्र ।

    एनआरएनएको मतदान स्थगित- मतदातालाई झुक्याएको भन्दै चर्को नारावाजी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!