पर्यटक बढे पनि व्यापार नबढेपछि व्यवसायी चिन्तित

17 January, 2014 19:57 | जन सरोकार | comments | 18150 Views

भक्तपुर अवलोकनका लागि आउने पर्यटक हरेक वर्ष बढे पनि पर्यटन व्यवसायीको व्यापार भने नबढेपछि यहाँका पर्यटन व्यवसायी चिन्तित भएका छन् । भक्तपुर अवलोकनका लागि दैनिक विभिन्न मुलुकका पर्यटकको ओइरो लाग्ने गरे पनि व्यापार नभएका कारण व्यवसायी चिन्तित भएका हुन् ।

adsads

भक्तपुर दत्तात्रयस्थित हस्तकला सामग्रीको व्यापार गर्दै आएका ओमप्रकाश श्रेष्ठले भक्तपुर नगरक्षेत्रमा आउने पर्यटकको सङ्ख्या अधिक रहेपनि पर्यटकले सामान भने नकिन्ने गरेकाले व्यवसाय जोखिममा परेको बताउनुभयो । विगतका तुलनामा पर्यटक अहिले धेरै बाठा भएका र सामान हेर्नेले पनि नकिन्ने गरेका उहाँले बताउनुभयो ।

 

भक्तपुर दरबार स्क्वायर खौमामा क्युरियो पसल सञ्चालन गर्दै आएका शिवशरण ताल्चाभडेलले दरबार स्क्वायर अवलोकन गर्न दैनिक सयौँ पर्यटक आए पनि व्यापारमा कुनै वृद्धि नभएको बताउनुभयो । गत वर्ष भक्तपुर आउने पर्यटकलाई दैनिक रु दुईदेखि १० हजारसम्मको क्युरियो सामग्री बेच्दै आएकोमा यसपालि पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि दैनिक रु ५०० देखि तीन हजारको व्यापार पनि मुस्किलले हुने गरेको उहाँले गुनासो गर्नुभयो । क्युरियोको व्यापारले कुनै महिना त कोठाको भाडा तिर्न पनि नपुग्ने गरेको उहाँले बताउनुभयो ।

 

अहिले आउने पर्यटकले त सामान किन्नु त परैजाओस् पसलमा हेर्नेसम्म पनि नगरेको तौमढीका व्यापारी अंशुम रायले बताउनुभयो ।
पर्यटक बसबाट ओर्ले लगत्तै हातहातमा सामान बोकेर पुग्ने हकरका कारण पर्यटक सामान किन्न आकर्षित नभएको ट्राभल एजेन्सीका गाइड शेखर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “पर्यटक बसबाट झर्न नपाई हकरले दुःख दिन पुग्छन्, जबरजस्ती सामान भिडाउन खोज्छन्, त्यति मै पर्यटक आजित भइसक्छन्, पर्यटकलाई करले जबरजस्ती सामान भिडाउने नभई आकर्षक सामान देखेर पर्यटकले सोधेरै किन्ने सहज वातावरण नभएसम्म यस्तै हुन्छ ।”
पर्यटन व्यवसायीहरू भने हकर र गाइड दुवैको समस्याका कारणले पर्यटन व्यवसाय नफस्टाएको बताउँछन् । सुरुमै हकरले दुःख दिने र पर्यटकका लागि गाइडका रूपमा आएकाले कमिसन पाउने पसल र होटलमा मात्र लैजाने गर्नाले पनि व्यवसाय नफस्टाएको उनीहरूको आरोप छ ।

 

तौमढीका एक व्यवसायीले भन्छन्, “अस्वस्थ्य प्रतिस्पर्धा छ, पर्यटकसँग निश्चित मूल्यभन्दा दोब्बर बढी पैसा लिएर सामान बिक्री गर्ने केही व्यवसायीले पर्यटक ल्याउने गाइडलाई कमिसन दिने गर्छन, त्यसैले गाइडले पनि त्यस्तै पसलमा सिधै लैजान्छन्, जसले गर्दा व्यवसायमा थप सङ्कट पर्दै आएको छ ।”

 

जिल्लाको पर्यटन विकास समिति नाममा मात्र सीमित बन्दै गएको र पर्यटनको विकास र व्यवसायीको समस्याको समाधान खोज्न कुनै पहल नगरेका कारणले पनि समस्या आएको उनीहरूको गुनासो छ ।

 

भक्तपुर नगरपालिकाले व्यवसाय विस्तारका लागि कुनै पनि पहल नगरेको आरोप लगाउँदै व्यवसायीहरूले नगरपालिकाले व्यवसाय बढाउन र पर्यटकलाई भक्तपुरको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउनुपर्नेमा केही पनि नगरेको बताए ।

 

भक्तपुर आउने पर्यटकमध्ये १० प्रतिशत पर्यटक पनि भक्तपुरमा रात नबसी फर्कने गर्नाले होटल व्यवसायमा समेत समस्या आएको व्यवसायीको भनाइ छ ।

 

भक्तपुरमा काष्ठकलाका सामग्री र हाते बुनाई सामान बेच्दै आएका सुनिल भैलले पर्यटक वृद्धि भएअनुरूप दैनिक ४० प्रतिशतमात्र पर्यटकले पर्यटकीय सामग्री खरिद गरिदिएमा पनि व्यवसाय राम्रो हुने बताउनुभयो ।

 

सन् २०१२ मा दुई लाख ५२ हजार २६१ जना पर्यटकले भक्तपुर भ्रमण गरेकोमा सन् २०१३ मा यो सङ्ख्या बढेर दुई लाख ६४ हजार ५४२ पुगेको थियो । भक्तपुर नगरपालिका सूचना शाखाका अनुसार गत वर्ष सार्क राष्ट्रबाट एक लाख १८ हजार ८१ जना र गैरसार्कबाट एक लाख ४६ हजार ४६१ जना पर्यटक भित्रिएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टनेल

फेसबुक

टनेल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!