पहिरो पीडित भन्छन्- ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

12 July, 2020 15:54 | जन सरोकार | comments | 24450 Views

म्याग्दीको धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो, जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भन्नुभयो, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।”

पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिनुभयो । जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाउनुभयो । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उहाँले भन्नुभयो, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

  

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहनुभएकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिनुभयो । घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर जानुभएको थियो ।

“मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ”, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भन्नुभयो, “पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।”

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताउनुभयो ।

कटान नियन्त्रणका लागि श्रमदान अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको छ । गाउँपालिकाको अगुवाइमा शनिबार बेनी, पिप्ले र भगवतीका युवाले श्रमदान गरेर ग्याबियन पर्खाल लगाएका हुन् । जोखिमयुक्त ठाउँमा १० थान जाली भरिएको छ । पचास देखि ६० युवाले श्रमदान गरेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

रघुगङ्गा नदीले कटान गरेको ठाउँमा थप क्षति हुन नदिनका लागि ग्याबियन पर्खालका साथै बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा ठूला ढुङ्गा थुपारिएको छ । अध्यक्ष भण्डारी आफैँ पनि युवाहरुसँग श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउने ठाउँसम्म पु¥याउने काममा खटिनुभएको थियो । रघुगङ्गा नदीमा शनिबार आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको छ ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर कटानको जोखिमका कारण विस्थापित भएका छन् । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ । ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको स्थानीयवासीले बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ ।

– सन्तोष गौतम म्याग्दी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More