पानीजहाज पछि चलाउला अहिले पानी व्यापार गरौं

11 December, 2019 15:30 | बिचार | comments | 57150 Views

विश्वमा जलवायु परिवर्तनका कारण जल र अन्नको अभाव बढ्दो छ र न्यूनतम खाद्य सुरक्षाको मापदण्ड समेत पूरा हुन नसकेको अहिलेको अवस्थामा पानी सबभन्दा विकराल समस्या बनेर आउँदैछ । पानीको अभाव छ भनौं भने बाढी र डुबानले व्यापक क्षति गरिरहेको छ, छैन भनौं भने जीवनदायिनी स्वच्छ पिउने पानी अभाव हुँदैछ ।

यस्तो स्थितिमा नेपाल जस्तो हिमालीमुलुक जहाँ अथाह पानीको स्रोत छ पानी व्यापारबाटै मुलुकलाई समृद्ध बनाउनसक्छ भन्नेतिर कसैको ध्यान गएको छैन । आज खाडी मुलुकहरु जसरी पेट्रोलियम पदार्थ बचेर समृद्ध भएका छन् नेपाल पानी बेचेरै समृद्ध हुन्छ । समृद्धिका लागि विदेशीले घोकाइदिएको सूत्र कण्ठ गर्नैपर्दैन ।

नेपालका राजनीतिक नेता, योजनाविद् र विज्ञहरूमध्ये धेरैले बाँडेको एउटा सपना र कागजमा बनाएको एउटा योजना हो दक्षिण एसियामा विजुली बेचेर धनी बन्ने । अनि दक्षिण एसियाको सबभन्दा ठूलो मुलुक भारतका शासक, प्रशासक र योजनावालाहरू पनि यसै भन्छन् । नेपालको पानीबाट विजुली निकालेर नेपाल समृद्ध हुन्छ यसका लागि भारत लगानी गर्न तयार छ । तर, वास्तविकता अब अर्कै बनिसकेको छ । नेपालले अब विजुलीको साथमा पानीको व्यापार गर्नुपर्छ । यसका लागि सोही अनुसारको बहुउद्देश्यीय योजना बन्नुपर्छ ।

  

पानी नेपालको मूल स्रोत हो र त्यही पानीले नेपाललाई धनी बनाउँछ भन्नेमा कुनै शंका छैन । त्यसकारण अब पानीकै व्यापार विश्वव्यापी हुनेछ । हामीले गर्ने व्यापार पनि पानीकै हो । किनभने विजुलीको अन्य स्रोत छ तर पानीको छैन । तर, नेपालमा पानीबाट बिजुली मात्रै निकाल्ने कुरा, त्यो बिजुली पनि भारतीयबाटै निकाल्नुपर्छ, नेपाल र नेपालीले लगानी गर्न सक्दैनन् भन्दै पानीको अधिकार गुमाउने खेल चलिरहेको छ ।

नेपालको जलस्रोतको विकासमा राजनीतिक स्वार्थ नघुसेको हुन्थ्यो भने स्थिति अर्कै भैसकेको हुने थियो । बहुउद्देश्यीय रुपमा उपयोग गर्नुपर्ने र कम्तिमा ४ हजार मेगावाट विद्युत उत्पादन हुने भनिएको माथिल्लो कर्णालीको हालत के छ ? पञ्चेश्वर कता पुग्यो ? हरेकपटकको नेपाल भारत उच्चस्तरीय भ्रमणमा यी विषयहरू समेटिन्छन्, तर काम अघि बढ्दैन । किन ? किनभने भारत नेपालको नदी ओगट्न मात्र चाहन्छ । उसको स्वार्थ विद्युत हैन, जलमात्र हो ।

अब विजुलीको सपना बुढो भैसक्यो । पानी जोगाउने हो । हिमालयदेखि निरन्तर प्रवाहित नेपालका प्रमुख नदीहरूमाथि भारतको वा अरु कुनै विदेशी कम्पनीको स्वामित्व भए पनि पानी उनीहरूले बेच्ने भारतलाई नै हो । पश्चिम सेतीको सुरुको लगानीकर्ता ‘स्मेक’ले आयोजना बनाउन नसकेको त्यसको पानीको मूल्यमा विवाद भएर हो । भारतमा विजुली बेच्ने तयारी उसको भए पनि नदीको पानीको उपयोगितामा भारतले पानीमा समेत आफ्नो स्वामित्व खोजेको थियो । यसैबाट प्रस्ट हुन्छ पानीको महत्व अनि नेपालमा विजुली उत्पादन गरेर भारत निर्यात गर्ने अनि धनी हुने भन्ने भारतीयहरूको कथनमा ठूलो रणनीतिक षड्यन्त्र लुकेको छ भन्नेमा विवाद छैन ।

जल नै जीवन हो र जल नै समृद्धिको आधार हो । हामीले यसैलाई मूल मन्त्र मानेर योजना बनाउनुपर्छ । जलविद्युत आयोजना पनि बनाउने अनि त्यहाँ बहुउद्देश्यीय थप परियोजना चलाउनु अत्यावश्यक छ । विद्युत आयोजनासंगै सिंचाई र खानेपानीलाई समेट्न सकिन्छ । हामीले अहिलेसम्म यस्तो किसिमले योजना बनाउन सकेका छैनौं । अब पानीको व्यापार सुरु गर्नुपर्छ । त्यो व्यापार बोतलमा बन्द गरेर होस् वा सिंचाई गरेर कृषि उपज बढाएर, माछापालन, नौकाविहार आदिबाट अतिरिक्त आम्दानी गर्ने । यो नै नेपालका लागि अनिवार्य पक्ष हो ।

एक चिनीया विज्ञले भनेका थिए नेपाल सुनको कचौरा बोकेर भिख मागिरहेको छ । यसको अर्थ नेपाल गरीब हो कि गरीब बनाइएको हो । नेपाल सम्पन्न हुनसक्ने मुलुक हो कि हैन रु यो प्रश्न यो पुस्ताले हजुरबा पुस्तादेखिका राजनीतिक नेताहरुलाई सोध्ने गर्दछन् । चार दशकअघि नेपाल धानचामल निर्यात गर्ने मुलुक थियो । विकासक्षेत्रपिच्छे राइस मिल खुलेका थिए । अहिले नेपाल चामल आयात गर्ने र अनुदानमा खाने मुलुक बनेको छ । एसियामी जलविद्युत उत्पादन गर्ने अग्रणी मुलुक हो तर एक शताब्दी पूरा भैसक्दा दुई हजार मेघावाट पनि विद्युत उत्पादन छैन । भएका उद्योगधन्दा निजीकरण र उदारीकरणको नाममा बेचिए, भारतको एकलौटी बजार बन्यो । व्यापार घाटा चौपट छ युवा निर्यात गरेर बस्तु आयात भैरहेको छ । नेपालको अहिलेको दुरावस्थामा पुग्नको कारण स्रोत नभएर हैन, सोच नभएर हो ।

यो अवस्थाको अन्त्य नहुँदासम्म नेपालको आर्थिक समृद्धि हुँदैन । यसको कारण भनेको नेताहरुको स्वार्थ नै हो । नेपाली राजनीतिक दलका नेताहरुले आन्दोलनन गरे, सफलता प्राप्त गरे तर त्यसपछि उनीहरु स्वार्थी बने । २००७ सालदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिलाई हेर्ने हो भने थोरै मात्र नेता व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लागेका देखिए । नेताहरुले आफूले आन्दोलन गरेको, जेलनेल खाएको समयको ब्याजसमेत असुल गरे । व्यक्तिगत स्वार्थ र मोह देखाए– जसको परिणाम मुलुक दिन प्रतिदिन कमजोर र दरिद्र बन्दै गयो ।

देशको उन्नति नै चाहने हो भने दुई पार्टीका अध्यक्षले व्यक्तिस्वार्थ र आफन्तको मोह त्याग्नैपर्छ । राजनीतिमा त्याग गर्न सकिएन भने मुलुक बन्दैन र त्यस्तो त्याग गर्ननसक्ने नेता मुलुकका लागि बोझ मात्र हुनेछन् । अहिले पनि मन्त्री बन्न चाहनेहरुको लाइन लागेको छ नेताका घरमा । पार्टी एक हुने भैसकेपछि अब यो पक्ष र त्यो पक्ष हैन, जनपक्षीय सांसदलाई मन्त्री बनाउनु आवश्यक छ । हिजो केही राम्रा काम गरेर गएका व्यक्तिहरुको निरन्तरता आवश्यक छ । पटकपटक मन्त्री बनेर ‘माखो’ मार्न नसकेकाहरु पार्टीको शीर्ष तहमै भए पनि उनीहरुलाई मन्त्री बनाउनु आवश्यक छैन । अब पार्टीका गुटगत नेताको खुसीका लागि हैन पौने तीन करोड जनताको खुसीका लागि निर्णय गर्नुपर्छ । यसमा ओली–प्रचण्ड चुके भने यो कालखण्डले उनीहरुलाई माफ गर्ने छैन ।

यो देशमा योग्यहरुको कमी छैन, कमी छ त योग्य नदेख्ने आँखाको । आफ्नो नजिकको भए जो पनि योग्य र अर्कोको भए योग्य पनि अयोग्य देख्ने परिपाटीले गर्दा देशको समृद्धिमा योगदान दिने निकायमा विज्ञ हैन पार्टीका कार्यकर्ता लगिए । कार्यकर्ता पनि कस्ता लगिए भने देश र जनताको कामभन्दा नेताको निर्देशन बढी पालना गर्ने लगिए । यसको परिणाम विकास निर्माणको काम शुन्य ।

आज रोजगारीका लागि नेपाली युवाहरु खाडीको मरुभूमिमा पसिना बगाइरहेका छन् । हामीले खेर गैरहेको पानी त्यो ठाउँमा बेच्न किन सक्दैनौं ? यसका लागि ठूलो पूँजी र बाह्य लगानीको डंका पिट्नुपर्दैन । सानो कुटनीतिक र व्यावसायिक प्रयास गर्ने हो भने सम्भव छ । अहिले पनि खाडी मुलुकहरुमा नेपाली तरकारी निर्यात भैरहेको छ भने अब त्यही खाडीमा युवा निर्यातको साटो पिउने पानी निर्यात गर्ने नीति बनाए कसो होला ?

अब ठूला सपनाबाट हैन साना योजनाबाट देश विकासको अभियान थाल्नुपर्दछ । कमसेकम खाद्यान्नमा आत्मनिर्भर र पिउने पानी निर्यात गर्ने योजना अघि बढाउने हो भने नेपालको व्यापारघाटा यसैबाट पूर्ति हुन्छ । पानी जीवनसंगै समृद्धिको आधार हो भन्ने बुझेर जलस्रोतको विकास भनेको विजुली निकाल्ने मात्रै भन्ने भ्रमबाट माथी उठेर पिउनेपानी निर्यातको अभियान थालौं । यत्ति गरे पुग्छ अहिलेलाई ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More