पानी वग्ने ठाउँमा घर बनेपछि पानी घरभित्र नछिरे कता छिरोस् त ?

13 July, 2019 15:03 |जल/वातावरण/स्वास्थ्य | comments | 30900 Views

    – यादब देवकोटा –

    यस वर्ष मनसुन सुरु भए पनि समयमा पानी नपर्दा असारे रोपाई उति राम्रो भएन, तर असार सकिनै लाग्दा मनसुन यसरी सक्रिय भयो कि तबाही नै मच्चियो । पानी पर्न थालेको २४ घण्टाको बीचमा दुई दर्जनको ज्यान गयो भने भौतिक क्षतिको विवरण आउनै बाँकी छ ।

    adsads

    भन्ने बेलामा पानीले विपत निम्त्यायो भन्छन् खासमा पानी त जीवन हो, पानबिनाको जीवन कल्पना पनि हुँदैन । तर समस्या के हो भने पानीलाई उसको आफ्नै सुर र तालमा वहन दिनुपर्छ । काठमाडौं किन सानोतिनो पानीपर्दा डुबानमा पर्न थाल्यो । कारण स्पष्ट छ, हिजो पानी बग्ने ठाउँमा आज घर बने । खहरेहरु ह्युम पाइपभित्र हुलियो अनि पानीको वहाव साँघुरियो । यो गर्ने हामी नै हौ । हामीले पानीको वहाव रोकेपछि पानी हाम्रै घरभित्र नछिरे कता छिरोस् त ?

    यस्तो विनासका कारणहरु खोतल्ने हो भने यहाँ मानिसकै बढी दोष छ । मानिसमा उत्पन्न अहंकार र शक्तिको उन्मादले प्रकृतिमाथि विजयी पाएको दम्भ प्रदर्शन गर्दा मानव समाज यस्ता समस्यामा परेको हो । मानवले प्रकृतिलाई आफ्नो अवस्थामा रहन नदिएको र यसको अत्यधिक दोहन नगरेको भए न पहिरोको समस्या, न बाढी वा डुबानकै । अत्यधिक वर्षा, बाढी, पहिरो, डुबान, सामुद्रीक आँधी, समुद्रको सतह बढ्नु कारण मान्छेकै कुकृत्य हो ।

    नदी किनारमा घर बंगला बनाउने, ढुंगा, बालुवा बेच्ने, वन जंगल मास्ने, भूधरातलको अवस्थौ नहेरी घर बनाउने जस्ता कारणले मानव समाज जोखिममा परेको हो । सबैले यसलाई प्रकृतिको दोष मानिरहेका छन् । तर दोष मानिसकै हो । यदि मानिसले सचेत भएर प्रकृतिलाई चुनौति नदिएको र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने जागरुकता देखाएको भए घटना वा दुर्घटनाबाट यति धेरै क्षति हुने थिएन ।

    केही दिनयता बाढी, पहिरो र डुबानको ताण्डव चलिरहेको छ । २–४ घण्टा पानी पर्यो कि पहिरोले बस्ती पुर्ने गरेको छ । एक त भूकम्पपछि कमजोर भएका डाँडाकाँडा, त्यसमाथि वन विनाश अनि अव्यवस्थित बस्ती । यसले गर्दा क्षति बढी भैरहेको छ । अझ कतिसम्म भने अहिले त सडकहरू नै व्यापक असुरक्षित हुन थालेका छन् । एक हप्ताकाबीचमा पाँच दर्जनभन्दा बढीको राजमार्गमा भएका दुर्घटनाले ज्यान लियो ।

    मानिसले जतिसुकै उन्नति गरेको र जतिसुकै प्रविधिको विकास गरेको भने पनि प्रकृतिलाई चुनौति सक्दैन, प्रकृतिको नियम बदल्न सक्दैन । अहिले हिमाली क्षेत्रमा लामखुट्टे देखापर्न थालेको छ । तराईमा भन्दा हिमालमा तापक्रम बढ्दैछ । यसले नयाँ नयाँ विपत्तिको सिर्जना गरिरहेको छ । अनि एकथरिलाई यही विपत्ति कमाउने धन्दा बन्नेगरेको छ । राहत, उद्धार सामग्रीमा भ्रष्टाचार गर्नेहरूको लर्को लाग्दछ । भूकम्प पीडितका लागि आएको चामल वितरण नगरेर कुहाएर फाले । जनता भोकभोकै पर्दा विदेशीले दिएको चामल समेत वितरणा नगरी भ्रष्टाचार गर्ने मौका ढुकेर बस्नेहरूको यहाँ कुनै कमी छैन । किनभने विपत्ति पर्यो भने त्यो एकथरिका लागि दशैं सावित हुने गरेको छ । त्यसैले त आमजनताले भन्ने गरेका छन्– नेपाल विग्रेको भ्रष्टाचारले हो । यहाँ कुनै निकायका कसैमाथि पनि विश्वास गर्न नसकिने स्थिति छ । विपत्तिमा कमाउन चाहनेहरू सरकारी उच्च निकायमै रहेकाहरू छन् भन्ने कुरा भूकम्पपछि आएको राहत सामग्री गायब पारिएका घटनाबाटै स्पष्ट हुन्छ ।

    विपत्तिपछि सही समयमा सही व्यवस्थापन हुन सकेन भने त्यसले अर्को विपत्ति सिर्जना गर्दछ । जुन, नितान्त मानव सिर्जित हुन्छ । भूकम्प, बाढी, पहिरोको बेलैमा व्यवस्थापन नहुँदा महामारी फैलिएको र त्यसले विपत्तिलेभन्दा बढी क्षति गरेकको दृष्टान्त विश्वका कतिवय मुलुकको छ । त्यसैले विपत्ति प्राकृतिक वा दैवी हैन मानवीय हो भन्ने तथ्य मनन् गरेर अघि बढ्नु पर्दछ । सोही अनुसारको योजना, नीति, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्दछ ।

    पानी पर्न थालेपछि तराईका धेरै जिल्लामा डुबान सुरु हुन्छ । यसको एउटा कारण भारतले बनाएका अनधिकृत बाँधहरु हुन् । दशकौंदेखि भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत सीमावर्ती क्षेत्रमा सडकको नाममा बाँध निर्माण गर्दैआएको छ । भारतले यसअघि बाँकेको लक्ष्मणपुर, कपिलवस्तुको महलीसागर र रुपन्देहीको रसियावाल–खुर्दलोटन बाँध निर्माण गरेर बाढीका समयमा आफ्नो भूभाग सुरक्षित गर्ने, नेपालतर्फ पानी जम्मा गरी सुख्खायाममा सिंचाई सुविधा मिलाउने र सीमाक्षेत्रमा खटाइएका अर्धसैनिक सुरक्षा बलका लागि नेपालतर्फको निगरानी गर्ने उद्देश्यले सो संरचना निर्माण गरेको हो ।

    सीमाक्षेत्रमा निर्माणाधीन सो बाँधका कारण वर्षातका समयमा नेपालका हजारौं विघा जमिन डुबानमा पर्ने गरेको छ । भारतले सीमाक्षेत्रमा पर्ने नेपालका विभिन्न भूभागहरू अतिक्रमण गर्दै आएको छ । अन्तर्राष्ट्रिय कानुन र सन्धि अनुसार सीमावर्ती क्षेत्रनजिक दुवैतर्फ ८ किलोमिटरसम्म कुनै संरचना निर्माण गर्न नपाइने भए तापनि भारतले त्यो कानुन र सन्धिको ठाडै उल्लंघन गर्दै आएको छ । नेपाली भूमि डुबानमा पर्ने गरी दर्जनौं ठूला संरचना र बाँधहरू निर्माण गर्दै आएको छ । भारतीय अतिक्रमणको विरुद्धमा जनस्तरबाट व्यापकरुपमा दवाव र आक्रोशहरू प्रकट भए पनि नेपालको राजनीतिक, प्रशासनिक तहबाट कुनै किसिमको उल्लेखनीय प्रयत्न हुन सकेको छैन ।

    बाढी, पहिरो र डुबान दैवी वा प्राकृतिक हैन, मानव सिर्जित विपत्ति हो रोक्न सकिन्छ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!