– मोहनविक्रम सिंह– मोहनविक्रम सिंह

  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह

पार्टी अनुशासन र एकतालाई सुदृढ पारौँ

5 September, 2019 15:20 |बिचार | comments | 3600 Views

    – मोहनविक्रम सिंह

    – मोहनविक्रम सिंहनेपाल कम्यूनिष्ट पार्टी (मसाल)को विधानमा सङ्गठनात्मक सिद्धान्तको चर्चा गर्दै लेखिएको छ : “पार्टी सङ्गठनात्मका सिद्धान्त जनवादी केन्द्रीयता हो ।” त्यस सिलसिललामा अगाडि लेखिएको छ : “पार्टीले छलफलको स्वतन्त्रता र कार्यमा एकताको पद्धति लागू गर्नेछ ।

    adsads

    यी दुवै पार्टी सङ्गठनका आधारभूत सिद्धान्तहरू हुन् । पार्टीको अनुशासन र एकता कायम राख्नका लागि ती दुवै सिद्धान्तहरूले निर्णयात्मक महत्व हुन्छ । ती सिद्धान्तहरूको उपेक्षा वा उल्लङ्घन गरियो भने पार्टीमा अराजकता वा अनुशासनविहीनताको स्थिति उत्पन्न हुन्छ । त्यो प्रकारको अवस्थामा पार्टीको एकता कमजोर हुन्छ र त्यसले कुनै महत्वपूर्ण भूमिका खेल्न सक्दैन ।

    पार्टीको इतिहासमा त्यस प्रकारको स्थिति बारम्बार देखापर्ने गरेको छ । कुनै–कुनै बेला त्यो स्थिति अत्यन्त गम्भीर पनि हुने गरेको छ । त्यस प्रकारको स्थितिमा जनवादी केन्द्रीयता तथा छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तका आधारमा पार्टी अनुशासन र एकतालाई कायम राख्न वा मजबुत पार्न हामीले बारम्बार प्रयत्न तथा कतिपय अवस्थामा कडा सङ्घर्ष पनि गर्दै आउनु परेको छ । त्यो एउटा निरन्तर चल्ने प्रक्रिया हो ।

    जब जब पनि अनुशासनविहस्न वा अराजकतावादी प्रवृत्तिहरूका कारणले पार्टीको अनुशासन गम्भिर हुन्छ, लेनिनवादी सगठनात्मक सिद्धान्तहरूका आधारमा, जनवादी केन्द्रीयता तथा छलफलको स्वतन्त्रता वा कामको एकताको सिद्धान्तहरूका आधारमा, पार्टी अनुशासनलाई सुदृढ पार्न प्रयत्न गर्नु पर्ने आवश्यकता हुन्छ ।

    गतकालमा पार्टीमा अनुशासन विहिनता र अराजकता सिलसिलेवार रूपमा नै देखापर्ने गरेका छन् । त्यो कुराको चर्चा गर्दै हाम्रो पार्टीको आठौँ महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावमा भनिएको छ : “नेपालको कम्युनिस्ट आन्दोलनमा जनवादी केन्द्रीयता वा छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तहरूको बारम्बार उल्लङ्घन गर्ने गरिएको छ । त्यसले गर्दा पार्टीमा बारम्बार अनुशासनविहीनता र अराजकताको स्थिति देखापर्ने गरेको छ ।

    एकतामा कैयौँपल्ट खलल पुग्ने र कतिपय अवस्थामा पार्टीमा फुट पनि हुने गरेका छन् । द्वितीय, तृतीय, चतुर्थ, पाँचौ महाधिवेशन र छैठौँ महाधिवेशनपछि एकताकेन्द्रसित पार्टी एकता गरेपछि अराजकता र अनुशासनविहीनताको गम्भीर स्थिति देखापर्ने गरेको थियो । त्यस प्रकारको अराजकता र अनुशासनविहीनताको स्थितिका कारणले द्वितीय, तृतीय, चतुर्थ, पाँचौँ महाधिवेशन र छैठौँ महाधिवेशनपछि पार्टीमा फुट हुने गरेका उदाहरणहरू हाम्रा अगाडि छन् ।”

    निश्चय नै पार्टीमा सँधै अनुशासन र अराजकताको त्यस प्रकारको गम्भीर स्थिति उत्पन्न हुने गर्दैन, तैपनि कतिपय अवस्थामा “व्यक्तिगत रूपमा पार्टीमा त्यस प्रकारका प्रवृत्तिहरू देखापर्ने” गर्दछन् । त्यस प्रकारका समस्याहरू व्यक्तिगत रूपमा देखा परे पनि तिनीहरूलाई समाधान गर्न पार्टीले सँधै ध्यान दिनु पर्दछ । पार्टीले अपनाउँदै आएका त्यस प्रकारका कार्यहरूको चर्चा गर्दै सङ्गठनात्मक प्रस्तावमा लेखिएको छ ; “अराजकता र अनुशासनविहीनताको स्थितिलाई समाधान गर्न पार्टीले बारम्बार प्रयत्न गर्ने गरेको छ । कतिपय अवस्थामा गम्भीर प्रकारका गुटबन्दी गर्ने र पार्टी फुटाउने प्रयत्न पनि हुने गरेका छन् । हामीले त्यस प्रकारका प्रवृत्तिहरूका विरुद्ध प्रशिक्षण वा आवश्यकतानुसार अनुशासनको कारवाही गरेर त्यस प्रकारको अराजकता र अनुशासनविहीनतामाथि नियन्त्रण गर्ने प्रयत्न गर्दै आएका छौँ ।” (राजनीति प्रतिवेदन तथा सङगठनात्मक प्रस्ताव पृष्ठ ७३)

    पार्टीको सङगठनात्मक प्रस्तावमा अनुशासनविहीनता र अराजकताबारे जुन चर्चा गरिएको छ, त्यो खाली विगतसित मात्र सम्बन्धित कुरा होइन । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी हुँदै जानुका साथै माक्र्सवादी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तहरूमाथि आधारित सङ्गठन प्रणालीको अभ्यास उपेक्षित हुँदै गएको र, अर्कातिर स्वयं हाम्रो देशमा पनि दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरूमा माक्र्सवादी लेनिनवादी सिद्धान्तहरूको उपेक्षा गरेर अनुशासनको प्रश्नमा अपनाउने गरिएको उदारवादी प्रवृत्ति हावी हुँदै गएको तथा हाम्रो पार्टीमा पनि निम्न पूँजीवादी चरित्र वा न्यून सैद्धान्तिक स्तरका कारणले पार्टीभित्र अनुशासनविहीनता र अराजकताका प्रवृत्तिहरू लगातार देखापर्ने गर्दछन् ।

    यो अवस्थामा एकातिर पार्टी सदस्यहरूको सैद्धान्तिक स्तर उठाएर, अर्कातिर, आवश्यकताअनुसार अनुशासनको कारवाही गरेर पार्टीभित्रको अनुशासन र एकतालाई सुदृढ राख्न हामीले लगातार प्रयत्न गरिरहनु पर्दछ ।आठौँ महाधिवेशनको वेलामा र त्यो महाधिवेशन सम्पन्न भएपछि पनि पार्टी भित्रका मतभेदहरूलाई बाहिर लैजाने वा पार्टीका विरुद्ध सार्वजनिक रूपले नै आलोचना गर्ने प्रवृत्तीहरू पनि देखापर्ने गरेका छन् । बताइरहनु पर्ने आवश्यकता छैन कि, त्यस प्रकारको कार्यविधि माक्र्सवादी लेनिनवादी सङ्गठनात्मक प्रणाली र स्वयं हाम्रो पार्टीले स्वीकार गरेको विधान समेतका विरुद्ध छ ।

    यो कुरालाई अस्वीकार गर्न सकिन्न कि कतिपय कामरेडहरूद्वारा सङ्गठनसम्बन्धी लेनिनवादी सिद्धान्त र पार्टीको विधानमा गरिएको व्यवस्था समेतबारे जानकारी नभएर वा आकस्मिक प्रकारका भूलचुकहरूका कारणले पनि त्यस्ता कमजोरीहरू गरिएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर सायद कुरा त्यहींसम्म मात्र सिमित छैन । कतिपय पक्ष वा तत्वहरूले योजनावद्ध प्रकारले नै पार्टीका नीति वा पार्टीमाथि हमला गर्ने प्रयत्न गरेको देखिन्छ । विभिन्न अनलाइनहरूमा क्रमवद्ध रूपले वा बेग्लाबेग्लै छद्म नामहरूबाट आएका लेखहरूबाट त्यो कुरा बुझ्न गाह्रो पर्दैन ।

    जहाँसम्म पार्टी विरोधीहरूको प्रश्न छ, उनीहरूले पूरा नामबाट नै पार्टीमाथि हमला गर्ने गर्दछन् र त्यसो गर्दा उनीहरूले आफ्नो वास्तविक परिचय लुकाउनुपर्ने वा छद्म नाम प्रयोग गर्नुपर्ने आवश्यकता हुँदैन । तर जसले छद्म नामबाट पार्टीमाथि हमला गर्ने काम गरेका छन्, उनीहरू पार्टीभित्रकै व्यक्तिहरू हुन् भन्ने अनुमान गर्न मुस्किल पर्दैन । खुला नामबाट पार्टीमाथि आक्रमण गर्दा पार्टीको विधानका विपरित हुने भएको हुनाले र त्यसो गर्दा अनुशासनको कारवाहीमा पर्ने भएको हुनाले उनीहरूले वास्तविक नाम प्रयोग नगरेर छद्म नामबाट पार्टीको नीति वा पार्टीमाथि आक्रमण गर्ने पद्धति अपनाएको कुरामा कुनै शङ्का छैन ।

    त्यस प्रकारका तत्वहरू पार्टीका इमान्दार सदस्यहरू नभएर घुसपैठिया, एक वा अर्को प्रकारका पार्टीविरोधी वा दुश्मन शक्तिका एजेन्टहरू हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । उनीहरूको वास्तविक उदेश्य चौतर्फी रूपले पार्टीमाथि आक्रमण गरेर पार्टीलाई गर्नु नै हो भन्ने कुरा सजिलैसित अनुमान गर्न सकिन्छ ।

    यहाँ हामीले यो पनि प्रष्ट गर्न चाहन्छौँ कि बीचबीचमा सामान्य प्रकारले अनुशासनसम्बन्धी गल्ती वा कमजोरी गर्ने पार्टी सदस्यहरूलाई हामीले त्यो श्रेणीमा राख्दैनौँ । किनभने सामान्य अवस्थामा बिभिन्न इमान्दार पार्टी सदस्यहरूबाट पनि अनुशासन सम्बन्धस् कमजोरी हुने गर्दछन् ।

    त्यस प्रकारका कमजोरीहरूलाई आवश्यक प्रशिक्षण, चेतावनी वा कार्यवाहीद्वारा सुधार्न सकिन्छ । तर योजनावद्ध वा सिलसिलेवार प्रकारले पार्टीका नीति वा पार्टीमाथि आक्रमण गर्ने व्यक्तिहरू निश्चित रूपले नै पार्टीविरोधी, घुषपैठिया वा दुश्मनहरूको प्रभावमा परेर काम गर्ने तत्वहरू हुन् । एकातिर विभिन्न प्रकारका अनुशासनसम्बन्धी कमजोरी गर्ने पार्टी इमान्दार सदस्यहरू र अर्कातिर पार्टीमाथि योजनावद्ध प्रकारले तथा सिलसिलेवार प्रकारले हमला गर्ने तत्वहरूका बीचमा मौलिक अन्तर छ र हामीले त्यो अन्तरमाथि सँधै ध्यान दिनुपर्दछ ।

    आठौँ महाधिवेशनपछि विभिन्न अनलाइन वा छद्म नामधारीहरूबाट पार्टीमाथि जसरी चौतर्फी रूपमा आक्रमण भइरहेको छ, त्यसबाट पार्टीमाथि पार्टीविरोधी वा दुश्मन शक्तिहरूले आक्रमण बढाएको कुरा बुझ्न गाह्रो पर्दैन । यो कुरामा पनि कुनै शङ्का छैन कि आठौँ महाधिवेशनले राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिस्थितिहरूमा क्रान्तिकारी नीतिहरू अपनाएकाले वा सबै देशी वा विदेशी शक्तिहरूका विरुद्ध सम्झौताहीन प्रकारको सङ्घर्षमा जोड दिने नीति अपनाएकोले नै हाम्रा विरुद्ध त्यस प्रकारको आक्रमणमा तीव्रता आएको छ ।

    त्यस प्रकारका सबै पार्टीविरोधी तत्वहरूको बीचमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारको गठबन्धन बढ्दै जाने र हाम्रो पार्टीमाथिको आक्रमण अरू तीव्र र व्यापक भएर जाने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । विश्वको र नेपालको पनि कम्युनिस्ट आन्दोलनको इतिहासले बारम्बार यो कुरा प्रमाणित गर्दै आएको छ कि पार्टी विरोधी वा दुश्मनहरूको त्यस प्रकारको आक्रमणबाट पार्टी कमजोर वा धराशयी हुँदैन, तर अरू खारिंदै, मजबुत हुँदै र अरू उच्च स्तरको सङ्घर्षका लागि तयार हुँदै जान्छ ।

    सङ्गठनात्मक प्रस्तावमा सातौ महाधिवेशनमा पारित विधानको चौथो अध्यायमा उल्लेखित धारा ७ को उल्लेख गर्दै लेखिएको छ : “(ज) पार्टी विधान र अनुशासनअन्तर्गत रहेर प्रत्येक पार्टी सदस्य वा मातहतका पार्टी समितिहरूले केन्द्रीय समितिको आलोचना वा विरोध गर्न पाउने छन् । त्यस प्रकारको आलोचना वा विरोध गर्दा तल्ला समितिहरू वा सदस्यहरूले आफ्नो समितिभन्दा बाहिर, तल वा सार्वजनिक रूपमा गर्न पाइँदैन । उनीहरूले या त आफ्नो समितिभित्र वा माथिल्लो समितिमा सोझै आफ्नो विरोध वा आलोचना गर्न सक्नेछन् ।

    (झ) बहुमतकोभन्दा अलग मत राख्ने जुनसुकै पार्टी सदस्यहरूलाई पनि अनुशासनमा रही पार्टीभित्र आफ्नो राय प्रकट गर्ने, समितिमा नै पुनः विचारार्थ त्यस कुरालाई उठाउन सक्ने, केन्द्रीय समितिसम्म आफ्नो आलोचना वा रिपोर्ट पठाउन सक्ने अधिकार हुनेछ । तर उसले बहुमतको निर्णयलाई पार्टी निर्णय मानेर काम गर्नुपर्दछ ।” (उही, पृ. ७२)

    सातौँ महाधिवेशनमा पारित विधानको त्यो व्यवस्थालाई आठौँ महाधिवेशनले पनि जस्ताको तस्तै पारित गरेको छ । (हेर्नुहोस्, न्यूनतम कार्यक्रम तथा विधान पृ. ३०–३१) विधानमा उल्लेख गरिएको त्यो व्यवस्थाले “प्रत्येक पार्टी सदस्य वा मातहतका पार्टी समितिहरू”लाई “केन्द्रीय समितिको विरोध वा आलोचना गर्न पाउने” स्वतन्त्रता दिएको छ । तर त्यस सिलसिलामा विधानमा यो स्पष्ट गरिएको छ कि त्यस प्रकारको स्वतन्त्रता “पार्टी विधान र अनुशासनअन्तर्गत” नै हुनेछ र त्यस प्रकारको अधिकारलाई स्वेच्छाचारी वा अराजकतावादी प्रकारले गर्नु अनुशासनविहीनता हुनेछ ।

    पार्टी विधान र अनुशानअन्तर्गत रहेर त्यस प्रकारको आलोचना वा विरोध गर्न पाइने भन्नुको अर्थ के हो ? त्यो कुरा स्पष्ट गर्दै विधानमा लेखिएको छ : त्यस प्रकारको आलोचना वा विरोध गर्दा “तल्ला समितिहरू वा सदस्यहरूले आफ्नो समितिभन्दा बाहिर, तल वा सार्वजनिक रूपमा गर्न पाइँदैन ।” कसैले विरोध वा आलोचनाको नाममा तल्ला समितिहरू, सदस्यहरूले आफ्नो समितिभन्दा बाहिर, तल वा सार्वजनिक रूपमा आफ्ना विरोध वा आलोचनाहरू लैजान्छन् भने त्यो पार्टी विधानको विरुद्धको कुरा वा अनुशासनविहीनता नै हुन्छ । गतकालमा, महाधिवेशनभन्दा पहिले, महाधिवेशनका बेलामा र त्यसपछि पनि आफ्ना आलोचना वा विरोधहरूलाई आफ्ना समितिभन्दा तल, बाहिर वा सार्वजनिक रूपले लैजाने कार्यहरू केही न केही हुने गरेका छन् । त्यस प्रकारको कार्य पार्टी विधान वा अनुशासनका विरुद्ध भएको हुनाले स्तर र गल्तीको प्रकृति हेरी पार्टी केन्द्रले कतिपय कारवाहीहरू पनि गर्नु परेको छ ।

    पार्टी विधानमा अनुशासनको उल्लङ्घन भएपछि बेग्लाबेग्लै प्रकारका कारवाहीहरूको व्यवस्था गरिएको छ । त्यस प्रकारका कारवाहीहरूको उल्लेख गर्दै पार्टीको विधानको अध्याय ३ मा लेखिएको छ : “पार्टी अनुशासन उल्लङ्घन गर्ने पार्टी सदस्यलाई गल्तीको प्रकृतिअनुसार समितिले आलोचना गर्ने, चेतावनी दिने, गम्भीर चेतावनी दिने, सम्बन्धित नेतृत्व वा समितिबाट हटाउने, पार्टी सदस्यबाट निलम्बन गर्ने वा पार्टीबाट निष्काशन गर्ने जस्ता कुनै पनि अनुशासनको कार्वाही गर्न सक्ने छ ।” (न्यूनतम कार्यक्रम तथा विधान पृ. २९)

    गतकालमा पार्टी सदस्यबाट आफ्ना आलोचना वा विरोधहरूलाई तल्ला समिति, समिति बाहिर वा सार्वजनिक रूपमा पनि लैजाने कैयौँ गल्ती वा कमजोरी हुने गरेका छन् ।

    त्यस प्रकारका गल्ती वा कमजोरी भएको अवस्थामा सम्बन्धित पार्टी सदस्यबाट स्पष्टिकरण लिएर तथा गल्तीको प्रकृति र सम्बन्धित कामरेडको स्तर समेत हेरेर कारवाही गर्ने गरिएको छ । त्यस प्रकारको कारवाही पार्टीको विधान र अनुशासनको रक्षाको लागि आवश्यक हुन्छ । कतिपय अवस्थामा पार्टीका नीतिसम्बन्धी गम्भीर प्रकारका गल्तीहरूका कारणले र कतिपय अवस्थामा विभिन्न सङ्गठनात्मका कम्जोरीहरूका कारणले पनि त्यस प्रकारका कारवाहीहरू गर्ने गरिएको छ ।

    पार्टीको इतिहासमा त्यस प्रकारका कारवाहीहरूको लामो सुची छ । कतिपय अवस्थामा एकदम इमान्दार पार्टी सदस्यहरूमाथि पनि त्यस प्रकारको कारवाही गर्नुपर्ने आवश्यकता हुन्छ । त्यो कुराको उल्लेख गर्दै पार्टीको विधानमा लेखिएको छ : “कुनै पार्टी सदस्यको पार्टीप्रतिको आस्था र इमान्दारीतामा शङ्का छैन, तर निजले कुनै समितिअन्तर्गत सक्रिय भएर काम गर्ने, नियमित रूपले लेभी तिर्ने, अनुशासन मान्ने, सङ्घर्षमा भाग लिने र जिम्मेवारी पालना गर्नेबारे शिथिलता वा उदासीनता देखाउँछ र वारम्बरको आलोचना र चेतावनीपछि पनि सुधार हुँदैन भने साधारण समर्थक मात्र भएर काम गर्न सल्लाह दिइनेछ र सदस्यताबाट हटाइने छ । पार्टी सदस्यताबाट हटाउने अधिकार जिल्ला समिति र केन्द्रलाई मात्र हुनेछ । तर कुनै जिल्ला समितिले कुनै पार्टी सदस्यलाई सदस्यताबाट हटाएमा त्यस्ता सदस्यले केन्द्रमा अपील गर्न सक्ने छन् ।” (उही, पृ. २९)

    त्यसरी माथिको भनाइबाट स्पष्ट हुन्छ कि अनुशासन पालना गर्ने जिम्मेवारी इमान्दार पार्टी सदस्यहरूको पनि हुन्छ । अर्को शब्दमा, कुनै पार्टी सदस्य इमान्दार भएको वा पार्टीमा उसको लामो त्याग वलिदान वा इतिहास भएको हुनाले उसलाई पार्टी अनुशासनमा बस्नु नपर्ने छुट हुन्छ भन्ने होइन । विधानमा यो स्पष्ट व्यवस्था गरिएको छ कि कसैको आस्था वा इमान्दारीतामा शङ्का नभए पनि उसले पार्टी अनुशासन वा जिम्मेवारी पूरा गर्दैन भने, बारम्बारको आलोचना वा चेतावनीपछि पनि उसको कार्यविधिमा सुधार आउँदैन भने उसलाई समर्थकमा झार्नु पर्ने वा पार्टी सदस्यबाट पनि हटाउनु पर्ने आवश्यकता हुन्छ ।

    त्यसको अर्थ यो हुन्छ कि पार्टीमा रहँदासम्म कुनै पनि पार्टी सदस्यले अनुशासन पालना गर्नु पर्दछ वा जिम्मेवारी पुरा गर्नु पर्दछ । अन्यथा उ पार्टी सदस्य रहँदैन, यद्यपि पार्टीप्रतिको उसको आस्था र इमान्दारिता उच्च प्रकारको हुन सक्दछ ।

    कतिपय अवस्थामा व्यक्तिगत रूपमा पार्टी सदस्यहरूलाई आवश्यक अनुशासनको कारवाही गर्नु मात्र पर्याप्त हुँदैन । पार्टीलाई अनुशासित र एकतावद्ध राख्नका लागि खासखास अवस्थामा पार्टीमा शुद्धिकरण अभियान पनि चलाउनु पर्ने आवश्यकता हुन्छ । त्यसको अर्थ हुन्छ पार्टीका सबै सदस्यहरूको जाँच गर्नु पर्ने आवश्यकता हुन्छ । पार्टी सदस्यहरूको अनुशासन जिम्मेवारी वा सक्रियताको जाँच गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसमाथि प्रकाश हाल्दै पार्टीको विधानमा लेखिएको छ : “कुनै खास अवस्थामा पार्टीमा शुद्धीकरणको अभियान चलाइने छ । तर त्यो कार्यक्रमबारे कुनै निर्णय गर्ने अधिकार राष्ट्रिय सम्मेलन वा पार्टीका भेलाहरूलाई मात्र हुनेछ ।” (उही पृ. ३०)

    हाम्रो पार्टीको सबैभन्दा उच्च अङ्ग आठौँ महाधिवेशनले शुद्धिकरण अभियानबारे स्पष्ट निर्देशन दिएको छ । त्यस शिलसिलामा आठौँ महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावमा लेखिएको छ : “पार्टीका न्यूनतम शर्तहरू पूरा गर्न नसक्ने व्यक्तिहरूलाई पार्टीमा माथिल्ला समितिहरूबाट तल्ला समितिहरूमा लैजानुपर्ने, पार्टी सदस्यता खारेज गरेर समर्थकमा लैजानुपर्ने वा खास अवस्थामा निष्काशन गर्नुपर्ने पनि आवश्यकता हुन्छ । तर हाम्रो पार्टीले लामो समयदेखि शुद्धिकरणको कार्य गर्न सकेको छैन । त्यसकारण महाधिवेशनपछि त्यसबारे हामीले योजना बनाएर शुद्धिकरणको काम गर्नु आवश्यक हुनेछ । तर शुद्धिकरणभन्दा पहिले पार्टीका सदस्यहरूलाई पार्टी सदस्यका न्यूनतम शर्तहरू के हुन् ? त्यसबारे प्रशिक्षण दिनुपर्नेछ ।

    शुद्धिकरणको मुख्य पक्ष कुनै कार्यकर्तामाथि कारवाही नभएर पार्टीको सङ्गठनात्मक अवस्था र कार्यशैलीमा सुधार गर्नु नै हो, हुनुपर्दछ र हुनेछ पनि । हामी यो कुरामा स्पष्ट हुनुपर्दछ कि पार्टी सदस्यहरू माथिदेखि तलसम्म अनुशासित, सक्रिय वा जिम्मेवार भएनन् भने पार्टीले आफ्नो दायित्व पूरा गर्न र क्रान्तिकारी भूमिका खेल्न सक्दैन । पार्टीमा त्यस प्रकारको सुधार गर्नका लागि नै शुद्धिकरण आवश्यक हुन्छ र पहिले पनि कतिपयपल्ट हामीले शुद्धिकरणको कार्यक्रम सञ्चालन गर्ने गरेका थियौँ र महाधिवेशनपछि पनि हामीले त्यसबारे ध्यान दिनुपर्नेछ ।” (राजनीतिक प्रतिवेदन तथा सङ्गठनात्मक प्रस्ताव, पृ. ८१–८२)

    आठौँ महाधिवेशनको त्यो निर्देशनअनुसार हाम्रो पार्टीले छिटै शुद्धिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । निश्चय नै शुद्धिकरण अभियानभन्दा पहिले पार्टी सदस्यहरूलाई प्रशिक्षण दिने प्रयत्न गरिनेछ । कुन बेलादेखि प्रशिक्षण दिने वा शुद्धिकरण अभियान सञ्चालन गर्ने ? हामी त्यो कुराको चर्चा गर्नेतर्फ लाग्दैनौँ । पार्टीले आफ्नो निर्धारित प्रकृयाअनुसार त्यो कार्यक्रमलाई सञ्चालन गर्नेछ ।

    माथिको संक्षिप्त विवरणबाट हाम्रो पार्टीले माक्र्सवादी—लेनिनवादी सिद्धान्तअनुसार पार्टीमा अनुशासन र एकता कायम गर्ने कार्यलाई कति उच्च र गम्भीर महत्व दिन्छ त्यो कुरामा कुनै शङ्का रहन्न । तर त्यस प्रकारको कार्य पुरा गर्ने वेलामा हामीले सँधै कैयौँ प्रकारका समस्या, जटिलता वा प्रतिरोधको पनि सामना गर्नुपरेको हुन्छ । लेनिनका समयदेखि नै पार्टीले अनुशासनमाथि जोड दिने विचार वा प्रयत्नका विरुद्ध लगातार हमला हुँदै आएको छ । हाम्रो पार्टीमा पनि त्यस प्रकारको विरोधको लामो इतिहास छ । अहिले पनि पार्टी अनुशासनमा बस्न नसक्ने व्यक्तिहरूले पार्टीमा अनुशासन कायम गर्ने प्रयत्नलाई एक वा अर्को प्रकारले विरोध वा प्रतिरोध गर्ने गरेका छन् ।

    कतिपय अवस्थामा त्यस प्रकारको अनुशासनविहीन कार्यविधिका विरुद्ध अनुशासनको कारवाही गर्दा बदला वा कुण्ठाका भावनाहरू पनि देखापर्ने गर्दछन् र त्यो अवस्थामा उनीहरूद्वारा पार्टीमाथिको हमला झन् तीव्र वा न्यूनस्तरमा पनि देखापर्ने गर्दछ । त्यो बाहेक पार्टीविरोधी बुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी तत्वहरूले लेनिनवादी सिद्धान्तको आधारमा पार्टी अनुशासन कायम राख्ने प्रयत्नलाई जनवादको हनन् वा तानाशाही प्रणाली भनेर विरोध गर्ने गर्दछन् । उनीहरूले लेनिनवादी सिद्धान्तका आधारमा पार्टी अनुशासनलाई सुदृढ पार्ने प्रयत्नलाई अहिलेको जमानासित मेल नखाने पिछडिएको सोचाइ पनि बताउँछन् ।

    उनीहरूको जोड यो कुरामा हुन्छ कि पार्टीमा सबै सदस्यहरूलाई अनियन्त्रित प्रकारले आफ्ना मतभेद, आलोचना र विरोधहरू प्रकट गर्ने अधिकार हुनुपर्दछ । त्यसरी बुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरूमा प्रचलित पद्धतिलाई कम्युनिस्ट पार्टीले पनि अपनाउनुपर्दछ भन्ने कुरामा जोड दिन्छन् । त्यसको असर हाम्रो पार्टीका कैयौँ सदस्यहरूमाथि पर्दछ र उनीहरूले आफ्ना सम्बन्धित कमिटीभन्दा तल, बाहिर वा सार्वजनिक रूपले पनि आफ्ना मतभेद, आलोचना वा विरोधहरू प्रकट गर्न थाल्दछन् । त्यस प्रकारका विचारहरूलाई पार्टीको विधान र अनुशासनअन्तर्गत राख्ने हाम्रो प्रयत्नलाई उनीहरूले जनवादको हनन् ठान्दछन् ।

    त्यही कारणले पार्टीमा कैयौँपल्ट गम्भीर प्रकारका समस्याहरू पैदा हुन्छन् । तर त्यो कुरा जे भएपनि पार्टीका लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार नै पार्टी अनुशासन र ऐक्यवद्धतालाई सुदृढ पार्ने हाम्रो प्रयत्न हुनुपर्दछ र भइरहने छ । हामीले पार्टी सदस्यहरूको चेतनालाई त्यही स्तरमामाथि उठाउने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै हामीले सबै प्रकारका अराजकतावादी वा अनुशासनविहीन विचार वा प्रयत्नहरूमाथि नियन्त्रण गर्नुपर्दछ र गर्न पनि सक्नेछौँ ।

    अहिले आठौँ महाधिवेशनले पारित गरेको राजनीतिक लाइन दक्षिणपन्थी भएको भन्ने कुरा निकै उठाउने गरिएको छ । पार्टी बाहिरका पार्टीविरोधी तत्वहरूलाई पार्टीमाथि सबै प्रकारले आक्रमण गर्ने छुट हुन्छ । त्यसको सामना हामीले उनीहरूका विरुद्ध सैद्धान्तिक सङ्घर्षद्वारा नै गर्दै आएका छौँ र गर्ने पनि छौँ । तर पार्टीका कुनै पनि सदस्यले जनवादी केन्द्रीयता वा छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तहरू तथा पार्टी विधानका नियमहरूअनुसार पार्टीले पारित गरेको कुनै पनि नीति वा निर्णयलाई सार्वजनिक रूपले मात्र होइन, पार्टीभित्र पनि आफू भएको कमिटी, उच्च कमिटीभन्दा बाहिर असम्बन्धित कमिटी वा सदस्यहरूसित गर्न मिल्दैन ।

    त्यस प्रकारको कुनै कार्य गरिन्छ भने त्यो पार्टी अनुशासन विरुद्धको कुरा हुन्छ । हामीले आशा गर्दछौँ, पार्टीका सबै सदस्यहरूले यो कुरामा ध्यान दिनेछन् र त्यसरी पार्टीको अनुशासन र एकता सुदृढ पार्न योगदान दिनेछन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    – मोहनविक्रम सिंह

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!