कमान्डर कमान्डर

  • कमान्डर
  • कमान्डर
  • कमान्डर
  • कमान्डर
  • कमान्डर
  • कमान्डर

पूर्व ब्रिगेड कमाण्डरको जापान संघर्ष यात्रा

13 March, 2019 13:44 | बिचार | comments | 467100 Views

लक्ष्मण घर्ति मगर

जापानमा भेटिएका एक पूर्व लडाकु (बिग्रेड कमाण्डर)

जापानको जिन्दगी व्यस्तै व्यस्तको जिन्दगी । दिनमा जाग्राम हुने र राति सुत्नु पर्ने प्रकृतिको जो नियम छ त्योसँग कुनै मतलब छैन यहाँ, मतलब छ त केवल जागिरले निर्देश गरेको नियमसँग ।

adsads

को कतिबेला सुत्छ र उठ्छ कुनै टुंगो हुँदैन ।रात दिन उज्यालै उज्यालो, रफ्तारै रफ्तार… जापानको यहि अचम्मको संसारमा विगत ३ बर्ष देखी आफूलाई जबर्जस्त समाहित गर्दै जिन्दगीले दिएको हरप्रकारका हण्डर ठक्करहरूसँग मुकाविला गर्दै बाँकी जीवनको रथ धकेलिरहेका छन् तत्कालीन माओवादी जनयुद्दका एक कुशल ब्रिगेड कमाण्डर देवेन्द्र पुन मगर उर्फ कम्रेड “निरन्तर” । आज उनैको जीवनका तितामिठा सम्झनाहरू र अनुभव र विचारहरूलाई शब्दमा उन्ने प्रयास गरेको छु ।

तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० बर्षे जनयुद्दको उदगम स्थल मानिने रुकुमको मग्मामा २०३४ सालमा जन्मेका देवेन्द्र अत्यन्त गरिव किसान परीवारमा हुर्के । गरिवीकै कारण धेरै जसो विद्यालयमा उपस्थिति हुन नसक्ने उनी तेजिलो दिमाग र लगनशीलता हुनाले परीक्षामा भने सँधै प्रथम हुन्थे । पढ्ने धोको हुँदाहुँदै पनि एसएलसी भन्दा माथि पढ्न सकेनन उनी ।

२०४८ साल देखी विद्यार्थी संगठन, साँस्कृतिक अभियान हुँदै देवेन्द्र २०५२ सालको पौष महिनामा यौङ् कम्युनिष्ट लिग (वाईसिएल) सदस्य बने, त्यहीवेला पार्टीको छुट्टै नाम राख्नुपर्ने नियमानुसार उनि देवेन्द्र बाट क. ‘निरन्तर’ बने । विद्यार्थी संगठन, वाईसिएल लगायतका बैठक र भेलाहरुमा चिनियाँ जनयुद्ध र माओत्सेतुङ बारे प्रशिक्षणहरू सुन्ने गर्थे । र, नेपालमा पनि त्यस्तै न्यायको लागि युद्द हुन आवश्यक छ भन्ने सोंच कतै न कतै उनको मनमा आउँथ्यो। साथै गाउँमा हुनेखाने, मुखिया र जमिनदारहरूले गरिवहरू माथि गरेको शोषण, दमन र अत्तिवादको विरुद्दमा उठ्नै पर्छ ।

तिनका साम्राज्यलाई ध्वस्त पार्नैपर्छ र विद्यमान रुपमा समाजमा जरा गाडेको यो जातिय छुवाछुत र भेदभाव जस्ता विसंगति र बेथितिलाई हटाएर नयाँ व्यवस्थाको स्थापना गर्नै पर्छ । त्यसको लागि माओ विचारधारा अपरिहार्य छ भन्ने महान दृढ इच्छा र चाहानाले युद्दमा होमिएको कुरा बताउँछन ।

माओवादीको विभिन्न जनवर्गीय संगठनहरू सक्रिय रुपमा सशक्त हुँदै गएको थियो । ५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्दको घोषणा पनि भईसक्यो । त्यसकै भोलि पल्ट २ गते विहान ‘निरन्तर’को गाउँ भन्दा माथिको जङ्गलमा केही लडाकु दस्ताहरू लुकेर बसेको र उनीहरूलाई खाजा पुर्याईदिन जाने कुरा आयो। ‘निरन्तर’ गाउँका वाईसिएल साथीहरू लिएर खाजा बोकेर जंगलतिर उकालो लागे । त्यहाँ कमला रोका, गनेशमान पुन लगायतका १०/१२ जनाको दस्ता आएका रहेछन । तिनका साथमा भरुवा बन्दुक, खुकुरी र घंगारुको लौरो थियो । उनीहरू पार्टीको योजनानुसार हिजो फागुन १ गतेको साँझ रुकुमकै आठबिसकोट प्रहरी चौकी आक्रमण गरी नेपालमा जनयुद्द शुरु भएको संखघोष् गरेर फर्केका योद्दाहरू रहेछन । तसर्थ ‘निरन्तर’ले २०५२ फागुन २ गते विहान ति योद्दाहरूसँग पहिलो भेट गरे । उनीहरू पनि त्यही दिनबाट लडाकु दस्तामा सामेल हुने र पार्टी र क्रान्तिको लागी फरार हुने कबुल गरे ।

‘निरन्तर’को क्रान्तिकारी यात्रा निरन्तर अघि बढ्दै गयो । लडाकु दस्ताको सदस्य बाट शुरु भएको उनको सैन्य यात्रा स्क्वायट सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै जसरी जनमुक्ति सेनाको विकास हुँदै गयो त्यसरी नै निरन्तरको सैन्य पोजिसन पनि अपग्रेड हुँदै गयो अन्तत उनी ब्रिगेडर बने, अर्थात ब्रिगेड कमाण्डर बने । तेश्रो डिभिजन अन्तर्गत “प्रताप स्मृति ब्रिगेड” कमाण्डर, “बासु स्मृति ब्रिगेड” कमाण्डर, सातौं डिभिजनको “प्रहार स्मृति व्रिगेड” कमाण्डर लगायतका हैसियतमा रहेर नेतृत्व गरे । यहि क्रममा सेना समायोजनले अन्तिम रुप लियो र अवकास लिएर जनमुक्ति सेनाको प्रिय ब्यारेक सधैको लागि छाडे ।

उनले दश बर्षको महान जनयुद्दको समयान्तरमा साना-तिना झम्काभेट र फाईरीङ्हरू बाहेक प्रत्यक्ष २८-३० वटा फैँजी कार्वाही र लडाईँहरूमा भाग लिए । यसबिचमा कयौँ साथीहरू आँखै अगाडी ढलेर गए, वेपत्ता भए, घाइते भए । देश र जनताको लागी कि मुक्ति कि मृत्यु भन्ने कसम खाएका जनमुक्ति सेनाहरू अनगिन्ति रातहरू धर्ति बिछ्याएर र आकाश ओढेर बिताएको बताउँछन उनी । त्यो महान जनयुद्दको दौडानमा रोल्पाको घर्तिगाउँ, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीबेनी, डोल्पा डुनै, दांग घोराही, जुम्लाको खलंगा, लम्जुङको भिरपुस्ताङ् टावर लगायतका सबै सबै लडाईहरू बिर्सनै सक्दैनन् ।

तर ति मध्ये ‘निरन्तर’लाई जुम्लाको खलंगा आक्रमण र लम्जुङको भिरपुस्ताङ् टावर आक्रमणका मोर्चाहरू बढी सम्झनामा आउँछन । जुम्लामा शाहीसेनाले फालेको बमले उनलाई हुत्याएर पर्खालमा पछारेको थियो । शरीरभरि गोलीका छर्रा लागेर उनी बेहोस बने । केही समय पछि सहयोद्दा कमरेडहरूले उद्धार गरे, पानी खुवाए, तब अलि होसमा आए । म पक्कै मर्छु होला भन्ने सम्झे, र रगतले भिजेको शरीरसँगै अन्धाधुन्ध भिषण लड़ाई भित्रै पनि एक्लै नारा लगाए – महानजनयुद्द ज़िन्दावाद ! जनमुक्ति सेना नेपाल ज़िन्दावाद ! नेकपा माओवादी ज़िन्दावाद !

हजारौं जनमुक्ति सेनाहरू, लाखौँ जनताको समर्थन र माया, बिभिन्न जनवर्गीय भातृ संगठनहरू यि सबै सबैको सामूहिक संघर्षबाट तत्कालिन शाही सत्ता आछु आछु हुँदै गरेको अवस्थामा नेतृत्वले शान्तिको बाटो रोजेपछि क. निरन्तरहरूको क्रान्ति निरन्तर रहेन । जनयुद्दको जहाज विस्तारै अवतरण गरियो अर्थात राजनीतिले कोल्टे फेर्यो । र त्यो सँगै निरन्तरको सशस्त्र र संघर्षशील जिन्दगीले पनि कोल्टे फेर्यो ।

उनले शान्ति सम्झौता र सेना समायोजन पछी स्वईच्छिक अवकास रोजेर ब्यारेक छाडे । राज्यले दिएको ८ लाख रुपैया बोकेर फर्केका निरन्तरको क्रान्तिकारी जीवन र संघर्ष त रोकियो, तर निजि जिन्दगीको संघर्ष भने रोकिएन । उनलाई वाह्य समस्याहरूले निल्दै लग्यो । अनायसै जिन्दगी फकिर झैँ लाग्न थाल्यो, केही न केही हराए जस्तो गुमाए जस्तो । उनी केही बर्ष पार्टी र नेताहरूको सम्पर्कमा रहिरहे पनि पार्टी भित्रको चरम गुटबन्दी, अराजक, मपाईँत्व, पक्षपात प्रवृति र नेता देखी कार्यकर्तासम्ममा आएको विचलन र नसोँचिएको परिवर्तनले राजनिति प्रतिको मोह घट्दै गयो । भने यता पारिवारिक समस्याले पनि झन झन गाँज्दै गयो । खासमा भ्रमण बाहेक पैसा कमाउनका लागि विदेश जाने कुरो उनले सपनामा पनि चिताएका थिएनन तर भईदियो त्यस्तै ।

अन्य समस्याहरू त त्यसै पनि थिए नै तर सबैभन्दा त टिभी रोगले ग्रसित बुबाको दैनिक उपचार खर्च समेत जुटाउँन नसक्दा आफु बाचेको र मरेको एउटै जस्तो लाग्थ्यो । आफुले आफैलाई धिक्कार्थे । ऋण पनि विस्तारै उकालिदै गयो । बाबा सँगै बसेर २/४ सयको समेत औषधि उपचार गर्न नसकेर मरेतुल्य हुनु भन्दा कतै टाढा गएर पसिना बेचेर सकेको उपचार गर्छु भन्ने एउटा उद्देश्य र सपनाले ‘निरन्तर’लाई बेचैनी बनाईदियो ।

अन्तत: कमरेड निरन्तरले नचाहाँदा नचाहँदै पनि हजार बाध्यताहरूको गंगर्क्याईँले पेल्दै ल्याए पछि विदेश जाने निधो गरे । आमाले पनि छाडेर गएका र डुब्नै लागेको घाम जस्तै बनेका बुबाको अथाह माया लाग्दा लाग्दै पनि कठोर बनि झोला बोकेर विमानस्थल तिर लाग्दै गर्दा उनका परेलीहरू सल्बलाई रहेका थिए, मन गह्रौँ भएको थियो ।

संसार बदल्ने सपना बोकेर सर्वहारा वर्गहरूको राज्य स्थापना गरेर सुन्दर नेपाल निर्माण गर्ने महान लक्ष्यका साथ दीर्घकालीन जनयुद्दको महासमरमा लामबद्ध भएका एक अथक यात्री, एक ब्रिगेड कमाण्डर जस्ले हजारौं लालसेनाहरूको नेतृत्व गरे, त्यही एक असाधारण पात्र, आज फेरी उही गरिविकै कारण त्यही पैसाकै कारण अन्य विदेशिने लाखौँ युवाहरूलाईनै पछ्याउँदै मुग्लान पस्दै थिए । यो चानचुने दृश्य पक्कै थिएन । उनको यो पलायन्ताले नेपाली राजनीति र जनयुद्दका नाईकेहरूलाई कुरी कुरी गर्दै थियो । जब उनी एयरपोर्टमा पुगे, झोला बोकेका र उदास देखिएका नौ जवानहरूको लस्कर थियो । ति उदासीन युवाहरूको लस्करभित्र उभिईरहँदा उनी जनमुक्तिसेनाहरूको लस्करलाई सम्झे । तर ति निसस्त्र थिए । सपनाका भारीले थेचोरीएका थिए । यो भिडमा निरन्तर अत्यन्तै भावुक बने । उनको अन्तर्मनबाट एक गहिरो मनोभाव पैदा भयो – “जीवनको यात्रा पनि कति बुझ्नै नसकिने, माकुराको जाल भन्दा दोब्बर किरीङ्मिरीङ् पाराको ! साँच्चै, मलाई यो जिन्दगीले कहाँ पुर्यायो !”

झण्डै दुईदिनको हवाई यात्रा पछी ‘निरन्तर’ विश्व अर्थतन्त्र र समृद्धिको प्रतिस्पर्धामा उच्च दख्खल राख्ने एक विकसित मुलुक जापान आईपुगे ।राइफल, एलसएलआर, एम-सिक्स्टिन, एलएमजी , एट्टीवान लगायतका कयौँ बिधाका सानाठुला हतियारहरू पड्काउन र सफा गर्न मात्रै जानेका एक बिद्रोही सेनाका कमाण्डर टेक्नोलोजी र रिमोटबाट चल्ने दुनियाँमा भिज्न आफैमा बढो चुनौतीपूर्ण थियो । त्यसैमा झन अन्जान मानवसंस्कार, भाषा, निति-नियमहरूसँग जुध्नुपर्दा निरन्तरको लागी जापान बसाई फलामको चिउरा भन्दा कम लागेन । बर्षदिन सम्म राम्ररी कमाई गर्न नसक्दा बुबालाई उपचार गर्ने उनको ठुलो सपना जापानको बतासले उडाउँदै लगेको आभास हुन्थ्यो, थुप्रै कल्पनाका डोबहरू विरानो यो समुद्रको छालहरूमा छताछुल्ल भएको झैँ लाग्थ्यो ।

तर समय सँधै उस्तै त कहाँ रहन्छ र ! निरन्तरले हार नमानेर निरन्तर मिहेनत गर्दै गए, दिनहरू काट्दै गए । जसोतसो हातकै ईसारा गर्दै भएपनि काम गर्दै आए । त्यसै पनि जापान आउँदै गर्दा निरन्तरले ठुला ठुला करोड़पति हुने सपनाहरू बुनेका थिएनन । पारिवारिक सुखदुख टार्ने र बिशेष त बुबाको उपचारमा कुनै कमी हुन नदिने नै पहिलो उद्देश्य थियो उनको । जसअनुरुप बुबालाई राम्रै सँग उपचार गरे, टिभी मात्रै नभएर बुबालाई क्यान्सर पनि भएको खबर उनी जापान आएपछि मात्रै थाहा पाए ।

फोनमा कुरा गर्दा कहिले काही होस् उड्ने गरेको बुबा आफैले सुनाउँथे उनलाई ।यो सन्देशले निरन्तरको मन साह्रै धर्किन्थ्यो, बुबालाई सान्त्वना दिएर फोन राख्थे र उनी एकान्तमा आँशु बगाउँथे । तै पनि सकेको सबै उपचार गरे, अस्पताल देखी बाबाको इच्छानुसार देउ-पित्र, धामी-झाँक्री कुनै कसुर बाँकी राखेनन । तर यसो गर्दागर्दै पनि २०७४ सालको दशैंकै दिन बाबाले सदाको लागी यो संसार छोडेर जानुभयो । यसको पीडा उनी शब्दमा ब्यक्त गर्न सक्दैनन । जापान आउँदै गर्दा पनि मनमनै बाबासंग अब अन्तिम भेट यत्ति नै हुन सक्छ भन्ने सोँचेका थिए । तैपनि मनको कुनामा कतै न कतै म नेपाल फर्कंदा सम्म बाबा जीवित रहनुहोस् र तपाईको ८४ पुजा गर्न सकुँ भन्ने त्यान्द्रो अल्झेको थियो ।

तर उनको यो सपना अपुरो रह्यो, आशाको त्यान्द्रो चुडिएर गयो ।उनी बुबा मरेको दिन धेरै रोए, आँशु बगाए । तर परदेशको जिन्दगी त्यति मज्जाले आँशु बगाउँने फुर्सद पनि त कहाँ छ र उनलाई ! एक कुल्ली न हुन, उनलाई पर्व लागोस् या पीडा परोस् , जापानीजलाई त्यसको कुनै मतलब छैन । यहाँ न भावनामा बगेर हुन्छ न रिस राग पोखेर नै हुन्छ । जे हुन्छ केवल काम गरेर मात्रै हुन्छ । ज़िन्दगीका यस्तै चोटहरूलाई एक दिन एकान्तमा बसी आँशुले बगाएर कम गर्ने ‘निरन्तर’को ठुलो धोको छ । साथै उनले बाबाको उपचारको मामलामा कुनै कसुर बाँकी नराखेर भौतिक खटनपटनमा लाग्नुहुने जेठा दाई, भाउजु र आफ्नी श्रीमती इन्द्र रोका मगर लगायतका सबै परीवारहरूलाई विशेष सम्झेको पनि सुनाउँछन ।

यसै सन्दर्भमा मैले निरन्तर सँग प्रश्न गरेँ ।
‘पार्टी एकता भएर “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)” भएको छ । माओवाद त सकिसक्यो भन्ने छ । र यो एकतालाई कसरी हेर्नु भएको छ ? फर्केर फेरी राजनितिमा दोहोरीने मन छ ?

जवाफमा उनी भन्छन – “माओवाद सकियो भन्नेमा मेरो असहमत छ । यो अलि ठूलै बैचारीक विषय पनि हो । कसैले सक्यो भनेर सकिने पनि होईन । जो नेपाली क्रान्तिको इतिहाँसमा एक कडीको रुपमा स्थापित भईसकेको छ । कसरी सकिन्छ ? जहाँ सम्म एकताको कुरा छ, नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माणको जरुरी धेरै पहिला देखिकै हो । वास्तवमा कम्युनिष्ट हजार थरिका हुन सक्दैनन ।झन एउटै देशमा चिरै-चिरामा विभक्त भएर एकले अर्कोलाई जाने जतिका अरोप लगाएर, खुईल्याएर आफु मात्र खाँटी कम्युनिष्ट कहलाउँने रोगको अन्त्य गर्न जरुरी थियो र छ । एक बर्ष पनि टिक्न नसक्ने नेपालको सरकार र त्यसबाट हुने देशको संक्रमणलाई तोडेर स्थाई सरकार निर्माण गर्नैको लागी पनि दुईतिहाई बहुमत नाघेको पार्टीको नेतृत्वमा सरकार निर्माण र संचालन हुनुपर्ने अति अपरिहार्यता रहेको परिप्रेक्ष्यमा यी दुई पार्टी एमाले र माओवादी बिच पार्टी एकता भएर नेकपा भएकोमा म राम्रै मानेको छु यो बेठिक छैन । बरु नाम राख्दा अलि लामो छलफल र तलै सम्म वहस जरुरी थियो कि थिएन ? यो प्रश्न बाँकी छ ।”

उनी राजनितिमा भने सम्भवत अब नफर्किने सोँच राखेको बताउँछन । आफु खुलेर नलागे पनि समर्थकको रुपमा सँधै रहिरहने र आफ्नो ठाउँबाट खरबरदारी पनि गरीरहने कुरा गर्छन ।

जनयुद्द लडेकोमा कहिलेकही पछुतो लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन – “जनयुद्द कुनै आतंकवादी गतिविधि थिएन । ब्यक्तिगत स्वार्थको लागि पनि थिएन समग्र जाती क्षेत्र, भाषा, लिंग, संस्कार आदिमा थोपरिएको अन्यायको जालो जरै देखि फालेर नयाँ र मौलिक राज्य ब्यवस्था स्थापना गर्ने एक महान अभिभारा थियो, एक अस्त्र थियो । काम गर्ने क्रममा चोट लागे जस्तै या नचाहेर पनि भईपरि आउने कमिजोरीहरूबाट हुन पुगेका घटनाहरू बाहेक समग्रमा जनयुद्ध गलत थिएन । बरू इतिहासले मागेको एक अपरिहार्यता समय थियो । जुन के कति सार्थक भयो र कति भएन त्यो बहसकै बिषय छ । तर आफ्नो तर्फबाट त्यो भर्वराउँदो भोर जीवनकालमा रगत, पसिना र आँशु सबै लगानी गरियो त्यसमा कुनै पछुतो छैन ।बरु जन्मेदेखि जीवनमा सबैभन्दा महान र सन्तोष लाग्ने गरि गरेको काम भनेको त्यही महान जनयुद्दमा आफ्नो सक्रिय सहभागीता जनाउनु नै हो यसमा छाती फुलाएर गौरव महसुस गर्छु, पछुतो गर्ने कुनै करण छैन ।

ब्रिगेड कमाण्डर देवेन्द्र पुन मगरकिन कि जनयुद्दले नै सयौं वर्ष दबिएका भेरी-कर्णाली लगायत पूर्व पश्चिमका कुना कुनाका मान्छेलाई जगायो, नेता र नेतृत्व गर्ने ठाउँमा पुर्यायो । दलित, महिला, मधेशी, जनजाति लगायत सबै क्षेत्रका समुदायलाई अन्यायको विरोध र विद्रोह गर्ने निकै ठूलो चेतना जगायो यो सबैको मुख्य योगदान जनयुद्दकै हो । नेपालमा २४० वर्षे निरंकुश राजतन्त्र हटेर गणतन्त्र स्थापना हुनुको मुख्य आधार जनयुद्द नै हो । केहि मान्छेहरु सजिलै जसरी कल्पना र बहस गर्छन त्यति सजिलै आजको यो परिवर्तन भएको होइन, यि राजनितिक उपलब्धीहरू आएका होईनन ।

आज जति उपलब्धिहरु छन त्यसको मुख्य देन जनयुद्द र त्यसको लिडरसिपकै हो । यसकारण जनयुद्द मा सहभागीता हुनु जति गौरब अरु केहिमा छैन र सायद त्यस्तो गौरब गर्ने समय र अबसर फेरी यो चोलामा आउँदैन होला । यति भनिरहँदा जनयुद्दका उपलब्धी संस्थागत गर्ने क्रममा भएको कम्जोरी, जनयुद्दका शहिद ब्यपत्ता परिवार र घाईते योद्दाहरुको उचित सम्मान, उपचार आदीमा भएको हदै सम्मको लापर्बाही पार्टी पद्दति, अनुशासनमा आएको गिरावट जस्ता जति पनि त्रुटीहरू भईराखेका छन वा भए यो भने जनयुद्दमा र शान्तिप्रक्रियामा गरीएका मिहेनत र सम्झौताहरु प्रतिको ठुलो अपमान र मजाक भएको थानेको छु । यो असाध्यै बिडम्वनापुर्ण र व्यक्तै गर्न नसकिने नकरात्मक पाटो हो । तर अहिलेका यी नकरात्मक पाटोहरूले जनयुद्दमा सहभागी हुन पाएका विर योद्दाहरूको गौरब गर्ने अधिकारलाई रोक्दैन।”

निरन्तरसँगको यो लामो भलाकुसारी गर्दा गर्दै समय बितेको पत्तै भएन । यसै बिचमा उहाँले सुनाउँनु भयो – “साँच्चै जनयुद्द र शैन्य जीवन हुँदा अक्कलझुक्कलमा कसैले देवेन्द्र भनेर बोलाउँदा अप्ठेरो लाग्थ्यो ।अहिले फेरी निरन्तर भनेर बोलाउँदा नयाँ जस्तो, अनौठो जस्तो लागिरहेछ । यो सब समय रहेछ ” (हल्का मुस्कान थियो उनको) ।

उहाँलाई तरकारी किन्ने हतार थियो । मलाई पनि मौखिक अन्तरंगका कुराहरूलाई शब्दमा मुर्त रुप दिनु थियो । फेरि भेट्ने बाचा सहित हामी छुटियौँ !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कमान्डर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नोट

फेसबुक

नोट

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!