पोखरा र म्याग्दीमा पहिरो चारजनाको मृत्यु, नौ घाइते, सातजना वेपत्ता

10 July, 2020 13:11 | जल/वातावरण/स्वास्थ्य | comments | 18000 Views

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शुक्रबार बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

  

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभए पनि तीन बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमती शान्ति र छोरा सुशान सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

यसै गरी लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताउनुभयो । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उहाँले बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । “गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ”, वडासदस्य पुनले भन्नुभयो, “पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।”

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।

गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More