प्रकृतिमाथि विजय पाउने असम्भव प्रयत्नले मासिंदैछ सृष्टि संरचना

22 January, 2020 19:04 | बिचार | comments | 30300 Views

– यादब देवकोटा

प्रकृतिले निर्धारण गरेको भन्दा पर कुनै कुरा सम्भव र हुँदैन र कथं भैहाले त्यो दीगो हुँदैन भन्ने जान्दा जान्दै मानिस अहिले प्रकृतिसंग सिगौरी खेलिरहेको छ र सृष्टि संरचनालाई चुनौति दिने आविष्कार गरेको दावी गर्दैैछ । मानिसले यस्तो दावी गरे पनि र प्रविधिले सृष्टि संरचना र प्रकृतिलाई चुनौति दिन खोजे पनि अन्ततः त्यो असफल हुँदैआएको छ ।

यस्तैमा पर्दछ अन्न उत्पादनको विषय र अहिले थोरै जमीनमा धेरै फलाउने, कम समयमा फलाउने नाममा वर्णशंकर जातका बीउहरु प्रयोगमा ल्याइँदा एकातिर माटोको उर्बराशक्ति कमजोर हुँदै गएको छ भने अर्कातिर मानिसको सम्पूर्ण स्वास्थ्य कमजोर बन्दै गएको छ ।

एउटा ज्वलन्त प्रश्न के हो भने अमेरिकाको कुनै कम्पनीले उसको माटो अनुसार उत्पादन गरेको बीउ नेपालमा ल्याएर रोप्दा वा छर्दा त्यसले कस्तो फल देला ? यो त बाख्रामा गाईको विज सेचन गरेजस्तै भयो । अनि नेपाली माटोले अस्वीकार गर्ने यस्तो बीउलाई स्वीकार्य बनाउन उनीहरुकै औषधि र मल पनि प्रयोग गरिन्छ, परिणाम नेपालको प्राकृतिक रुपमा उर्बर रहेको माटो ध्वस्त भएर मरुभूमिमा परिणत हुनेछ । हालै मात्रै चितवनका किसानहरुले लगाएको गरिमा धानले फल नदिएपछि ठूलो मुद्दा बनेको छ । उनीहरुले धेरै फल्ने भन्दै सिफारिश गरिएको सो धान लगाए तर सबै खेर गयो । अहिले क्षतिपूर्तिका लागि मुद्दा–मामिलाको तयारी हुँदैछ ।

  

खासमा अन्न र उसको बीउ प्रकृतिले स्थान, मौसम अनुसार निर्धारण गरिदिएको छ । यस लाई रैथाने बीउ भनिन्छ तर आज-भोलि रैथाने बीउ मासिएर आधुनिक बीउको प्रयोग गर्दा किसानहरु मार्कामा परेका छन् । वास्तविकता के हो भने प्राणी, वनस्पति सबैको उत्पत्तिको स्रोत बीउ–विजन नै हो । रसादि, काष्ठादि, भस्मादि सबै प्रकारका ‘औषधिको स्रोत पनि बीउ–विजन नै हो । सृष्टि संरचनाको स्रोत नै बीउ–विजनमा आधारित छ । त्यसैले कृषिको पर्याय मानवीय सृष्टिको खेतीपातीमात्र होइन, कृषितन्त्र जीव–जगतसंग अनादिकालदेखि नै आबद्ध छ । प्रकृतिकीय सृष्टि संरचनाको मुख्य आधार कृषि हो । कृषितन्त्र यति व्यापक र विशाल भए पनि यो बीउ–विजनका अनेकौं रहस्यमय सम्पुटभित्र कुतुहलताले युक्त छ ।

“अनिकालमा बीउ जोगाउने, हुलमुलमा बीउ जोगाउनु” भन्ने कहावत अहिले विस्मृतिको गर्तमा पुरिएको छ । बहुराष्ट्रिय कम्पनीको उपभोक्तावादी सोचले अन्न–पानीलाई पनि व्यापारिक बस्तु सरह किनबेचको जिन्सी सामानकै कोटीमा राखेकाले अन्नलाई ब्रह्मको रुमा बोध गर्ने जीवनशैली मास्सिदै गयो । हुँदाहुँदा सबै प्रकारका बीउ–विजनको सृष्टि सुरक्षित गर्ने गुणवत्ता नै क्षय भएर अणुवांशिक विशेषता नै संकटग्रस्त हुँदैछ । वंशाणुगत उच्चकोटीका विशेषताले युक्त बीउ–विजनको विकल्पका रुपमा उमारशक्ति नै नष्ट पारिएका वर्णशंकर बीउ–विजनलेसृष्टि संरचनालाई चुनौति दिन थालेका छन् । यस्तो अन्न खाएका मानिस कसरी शारीरिक–मानसिक रुपमा स्वस्थ होलान् अनि कसरी पृथ्वी शान्त होला ?

अन्न नै प्राण भएकाले पूर्वीय समाजमा अन्नको उपयोग गर्दा अन्न दोषबाट बच्न प्रार्थना गरिन्थ्यो । यस्ता अन्न रैथाने जातकै हुनुपथ्र्यो । जतिबेला यस्तो थिति बनाइयो त्यतिबेला बहुराष्ट्रिय कम्पनीका वर्णशंकर बीउ विजन थिएन । बीउ जोगाउनकै लागि अन्नबाली भित्र्याउने क्रममा सबभन्दा सप्रिएको ठाउँबाट बीउ छुट्याइन्थ्यो । अहिले हरेक वर्ष पोकामा बीउ किन्नुपर्ने बाध्यता सिर्जना गरिएको छ ।

अहिले यस्तो अन्नको बीउ–विजन यथारुपमा छैन । वंशाणुगत उच्च गुणवक्ताका कैयौं बीउ–विजन लोप भैसकेका छन् । जैविक विविधताको क्षय र वर्णशंकर बीउ–विजनको बाहुल्यले पृथ्वी मरुभूमिकरणतिर उन्मुख हुँदैछ । त्यस्तै उच्च गुणवक्ताका विशेष चेतनालेयुक्त प्राणी र वनस्पतिको गुणवक्ता पनि ह्रासोन्मुख छ ।

बहुराष्ट्रिय कम्पनीले मौलिक बीउ–विजनको वंशाणुगत उच्च गुणवक्तालाई वर्णशंकरमा परिवर्तन गरेर स्वर्णीम सपनाका साथ विश्वव्यापी बनाइरहेका छन् । परम्परागत कृषि प्रणाली नै समाप्त पारेर बीउको उमारशक्ति नै नष्ट गरेर पुनः कुनै पनि बीउ उम्रेर फल दिन असमर्थ पारी जघन्य अपराध गरेर त्यै अपराधद्वारा निरन्तर वैभव र समृद्ध बन्न जेजस्तो भूमिका बहुराष्ट्रिय कम्पनीले सम्पन्न गर्दैछ त्यसको विश्वभर नकारात्मक चर्चा छ । यसबाट कृषि र जनस्वास्थ्य मात्रै प्रभावित छैन सृष्टि संरचनामा नकारात्मक प्रभाव परेको छ । वर्णशंकर बहुराष्ट्रिय कम्पनीको बीउमा उमारशक्ति क्षय गरिए जस्तै यस्तो बीउले पुनः फल नदिने, बीउ थारै बस्ने र आखिर त्यो अन्न नै मासिने हुन्छ । प्रतिवर्ष बहुराष्ट्रिय कम्पनीले नै उत्पादन गरेका बीउले मात्र उत्पादन दिने भएपछि सधैं उही कम्पनीकै मुख ताक्नुपर्ने अवस्था आइसकेको छ ।

अहिले बहुराष्ट्रिय कम्पनीका बीउ–विजन र विषादी भित्र्याउन नेपालका तथाकथित उद्योगी–व्यापारी घरानाहरू सक्रिय छन् । बीउ–विजन र कृषितन्त्रलाई नै तहसनहस पार्ने आयातित बीउ र विषादीले रहेपहेका अरु अन्नबाली र स्थावरजंगमका जैविक विविधता नष्ट गर्दैछ । नेपाल मरुभूमिकरण हुने यो कुलक्षण हो । कालान्तरमा आयातीत यस्तो सबै क्षेत्रमा घुसेको बीउ–विजन र विषादीले नेपाल मात्रै मरुभूमिकरणमा परिवर्तन नभएर नेपाली जातिको गुणवक्ता, रोग प्रतिरोधक शक्ति, साहस–शौर्य समेत क्षय भएर अपांगहरूको बस्तीमा यो देश परिणत हुने खतरा छ ।

गरिमा धानको सन्दर्भ यही हो । सरकारी तहबाट रैथाने बीउ संरक्षण गर्ने नारा घन्काइए पनि आयातित बहुराष्ट्रिय कम्पनीका बीउ भित्र्याएर माटोको उर्बराशक्ति नष्ट गर्ने र त्यसमा पुनः अन्न उत्पादन गर्न तिनीहरुकै मल र औषधि प्रयोग गर्नैपर्ने बाध्यतामा किसानहरु पुग्दै गएका छन् । स्थानीय र रैथाने बीउलाई लोप गराएर धेरै फल्ने प्रलोभन दिएर कमिशनको लोभमा वर्णशंकर बीउ भित्र्याउने कथित कृषिविद्हरुको बुद्धिमा लागेको बिर्को नखुलेसम्म सयौं रैथाने बीउ मासिने मात्र हैन यसको बौद्धिक सम्पत्ति अधिकार पनि विदेशीकै हातमा पुग्नेछ ।

कृषिप्रधान मुलुक नेपालको भौगोलिक विविधता अनुसार अन्न, फलफूलको उमारशक्ति थियो । जहाँ जे हुनुपर्ने हो त्यही हुन्थ्यो स्थानीय जातका धान, मकैं, गहुँ फल्थे र अहिले पनि यसको अस्तित्व मेटिइसकेको छैन । आजभोलि रैथाने उत्पादनको माग उच्च छ । जुम्लाको मार्सीधानको चर्चा राजनीतिक रुपमा समेत निकै विवादित रह्यो । कारण स्पष्ट छ वर्णशंकर जातका धानका भात खाएकाहरुले स्थानीय रैथाने जातको स्वादिष्ट र पौष्टिक धानको भात खाएको फोटो सार्वजनिक भयो । यो चामल बजारका चिल्ला, लाम्चा चामलको तुलनामा पौष्टिक, स्वस्थकर र स्वादिष्ट छ । अनि बजारका अरु चामलभन्दा महंगो पनि छ । यो नेपालको रैथाने बीउ हो । तर यसमा पनि बहुराष्ट्रिय बीउ उत्पादकहरुको आँखा परिसकेको छ भनिन्छ ।

यसैबाट पुष्टि हुन्छ रैथाने बीउबाट उत्पादित अन्नको बजार माग उच्च छ, यसलाई जोगाउन माटो जोगाउनु आवश्यक छ, जुन प्राकृतिक रुपमा फल्छ अनि फूल्छ । यसले एकातिर जैविक विविधताको रक्षा हुन्छ भने अर्कातिर किसानलाई आर्थिक लाभ हुनेछ । खै यतातिर ध्यान दिएको ? आज हामीले सानोमा सुन्ने गरेका धानका बीउ कता हराए ?

सबैमा चेतना भया !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More