प्रेम प्रदर्शनको वस्तु होइन “भ्यालेन्टाइन डे” पाखण्डवादी मानसिकता

14 February, 2020 13:36 | बिचार | comments | 70500 Views

डिकेन्द्रलाल ढकाल

फेब्रवरी १४ तारिख फेसबुकभरि हल्लिखल्ली छ “भ्यालेन्टाइन डे”को । हाम्रो समाज पाखण्डवादबाट ग्रसित हुँदै गइरहेको छ- सिद्धान्त र व्यवहारमा ठूलो खाडल हुनु पाखण्डिपना हो ।

अर्थात् आफू जे हो र आफूले जे गर्छ त्यसमा विरोधाभास । जस्तो, कसैले आफू देशलाई कुनै योगदान गर्दैन तर देशकै मायाको चिन्ताले गर्दा खाना नै खान छोडेकोले गर्दा आफू दुब्लाएको जस्तो फेसबुकमा स्टाटस लेख्छ ! छोडिदिऊँ, यो अल्लि ठूलै कुरो भयो, देशबारे ।

  

अर्काले आफ्नी श्रीमतीलाई “ह्याप्पी भ्यालेन्टाइन डे” भनेर उनको फोटो राखेर फेसबुकको भित्ताद्बाट ग्रसितवारा संसारभरि प्रचार गर्छ, असली जीवनमा घरभित्र श्रीमतीले माया गरेर खाना खान बोलाउँदा समेत झर्केर जवाफ दिन्छ ! श्रीमतीप्रति प्रिति, प्रणय, अनुराग त उस्का टाढाका कुरा भए । छोराको कुरा गरूँ, घरमै भएकी आमालाई वहाँको जन्मदिनमा ढोग्दैन, भेट्दैन तर ती अनपढ आमालाई फेसबुकमा फोटो राखेर लेख्छ, “ह्याप्पी बर्थडे मोम् ! लप यु ।”

अब आजकै “पर्वदिन” र हाम्रो समाजको पाखण्डताको चर्चा गरूँ ।

खासमा पश्चिमी मुलुकमा क्रिस्चियन समुदायका एंग्लिकन कम्यूनियन चर्च र लूथरन चर्चका अनुयायीहरुले फेब्रवरी १४लाई “सेन्ट भ्यालेन्टाइन्स डे” वा “फिस्ट् अफ सेन्ट भ्यालेन्टाइन” भनेर मनाउँदछन् । अहिले यो उत्सव संसारका अरु मुलुकका एंग्लिकन र लूथरन चर्चका अनुयायीहरुले पनि मनाउँदछन् ।

मौलिक रुपमा यो क्रिस्चियन उत्सव हो । क्रिश्चियन पात्रो अनुसार वर्षका हरेक दिनलाई कुनै न कुनै सन्त (सेन्ट)को भोज दिन (फीस्ट डे) भनेर नामाकरण गरिएको हुन्छ र फेब्रुवरी १४ लाई सेन्ट भ्यालेन्टाइनसँग जोडिएको हो । भ्यालेन्टाइन नामका संतले प्रेमको लागि त्याग गरेका थिए । तेसैले क्रिस्चियन समाजमा यस दिनलाई उनकै सम्झनामा मनाउने गर्छन् । तर हिजो आज भूमण्डलीकरणको प्रभावले उपभोगतावादी समाजमा यो उत्सव व्यापारिक हिसाबले पनि गुलाब, कार्ड र रेस्टुँराका मोमो, कफी र मार्टका चकलेटको व्यापार गर्न गराउन पनि चलिरहेको छ ।

पूर्वीय समाज र दर्शन अनुसार प्रेम आत्मीय छ । प्रेम आध्यात्मिक विषय हो । यो तथ्यभन्दा अनुभूतिको विषय हो । यो सूचनाभन्दा भावनाको विषय हो । यस कारण पूर्वीय समाजमा प्रेम भित्री हृदयको कुरो हो, यो पवित्रतम् छ । तर पश्चिमा समाज भौतिकवादी छ, उपभोगतावादी छ । त्यसैले उनीहरुको दृष्टिकोणमा प्रेम उपभोगको वस्तु हो । उनीहरुको लागि प्रेम गरेको प्रमाण देखाइ राख्न आवश्यक छ । जस्तै गुलाफका फूल दिएर, ग्रीटिंग कार्ड पठाएर र महँगो रेस्टुराँमा डेटिंग गरेर । उनीहरुलाई हिँड्दा बाटोमै च्वाप्प च्वाप्प म्वाइ खाई राख्नु पर्ने यही कारणले हो ! हेर न म तिमीलाई माया गर्छु भनेर प्रदर्शन गर्नु जो छ ।

पूर्वीय समाजमा यस्तो हुँदै हुँदैन भनिएको होइन । यहाँ प्रेम प्रदर्शनको विषय, वस्तु (object) होइन भनेको हुँ । तर पश्चिमा भौतिकवादी/उपभोगतावादी समाजमा प्रेम गरेको “देखाउनु” “सुनाउनु” पर्दछ ।यसैकारण भ्यालेन्टाइन्ज् डेमा प्रेम दर्साउन उनीहरु ग्रिटिंग कार्ड, महँगा गिफ्ट, राता फूल उपहार दिने, डेटिंग गर्ने आदि गर्दछन् ।

यसको प्रभाव नेपाली समाजमा हिजोआज ह्वात्तै परेको छ । फेसबुकको वालमा श्रीमान/श्रीमतीका जन्मदिन, विवाहको वार्षिकदिन आदिमा रोमान्टिक तस्विर राखेर जुन शब्द लेखेर आफ्नो मायाको प्रचार गरेका हुन्छन् वास्तविक जीवन पनि त्यतिकै रोमान्टिक र भावनात्मक छ त ?

जे सुकै होस्, सेन्ट भ्यालेन्टाइन्ज् डे मनाउने समाजलाई फ़ेब्रवरी १४को सेरोफेरोमा शुभकामना । सिद्धान्त र व्यवहारमा एकरुपता होस् । घर र पर दुबै ठाउँ उही व्यवहार होस् । फेसबुकका भित्ता मात्रै नरंगियून् । राम्रा कुराको अनुकरण आजको भुमण्डलिकरणमा भैरहन्छ । तर बुझेर गरौँ । नबुझिकन व्यापारमा योगदान पु-याउन मनाउनेलाई त के भनूँ र खै ! हाम्रो विशेष खाले डिमक्रसीको हिपक्रसी जो छँदै छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More