बजेटमा पुरानै कुरा दोहोरियो : पूर्वप्रधानमन्त्री डा भट्टराई

29 May, 2020 18:30 | अर्थ | comments | 26850 Views

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको श्रव्य दृश्य छलफलका क्रममा उहाँले कोरोनाले पारेको प्रभावलाई कम गर्नेतर्फ बजेट केन्द्रित नभएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा राज्यले नै ध्यान दिनुपर्ने भए पनि त्यसतर्फ ठोस र प्रभावकारी कार्यक्रम आउन नसकेको गुनासो गर्नुभयो ।

  

आगामी आर्थिक वर्षको बजेट परम्परावादी तवरले आएको आरोप लगाउँदै उहाँले गुणात्मक परिवर्तन र क्रमभङ्गको अपेक्षालाई त्यसले सम्बोधन गर्न नसक्ने आरोप लगाउनुभयो । बजेट समाजवादोन्मुख पनि नभएको र बजारवादतर्फ पनि जान नसकेर दोबाटोमा उभिएको जस्तो देखिएको र विगतदेखि नै त्यस्तै अवस्था रहेको भन्दै उहाँले दोबोटोमा उभिएर कहीँ पनि नपुगिने धारणा राख्नुभयो ।

सामाजिक सुरक्षामा खर्च भएको रु ७० अर्बलाई विशेष व्यवस्था गरेर गरिब, श्रमजीवी वर्गको हितमा लगाउनुपर्ने सङ्घीय समाजवादी पार्टीका नेता समेत रहनुभएका डा भट्टराईको भनाइ छ ।

विदेशबाट फर्किएका युवालाई विशेष कार्यक्रमका साथ अगाडि बढाउनुपर्नेमा त्यसो नभएको र कृषि क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने अवस्था भए पनि त्यसतर्फ ध्यान नदिइएको उहाँको गुनासो छ । रेल, पानीजहाजजस्ता विषय यस वर्षका लागि अनावश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस वर्ष ती विषयलाई थाँती राख्दा फरक पर्ने थिएन । यस वर्ष स्वास्थ्य, शिक्षा, रोजगारीमा ध्यान दिनुपर्ने थियो त्यो भने हुन सकेन ।”

सरकारले साना, मझौला तथा ठूला उद्योगको विकासलाई प्रमुख प्राथमिकता दिएर वैदेशिक लगानी भित्र्याउनेतर्फ सहज वातावरण बनाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिइएकामा आपत्ति जनाउनुभयो । यो वर्ष रेल र पानीजहाज थाँती राख्दा फरक नपर्ने बरु, शिक्षा, स्वास्थ्य, रोजगारी र राहत यस वर्षको प्रमुख आवश्यकता हुनुपर्ने उहाँको भनाइ छ । नेपालमा आएको ऋणको दुरुपयोग भएकामा गुनासो गर्दै उहाँले ठूला भौतिक पूर्वाधारको विकासका लागि ऋण लिन डराउनु नहुने बरु त्यसको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

बूढीगण्डकी तानातानमा पर्‍यो

उहाँले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी ‘आसेपासे पूँजीवाद’को तानातानमा परेको आरोप लगाउनुभएको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत तयार भएको र निर्माणमा लैजान सकिने अवस्थामा भए पनि कुनै प्रक्रिया अगाडि नबढाइएकामा आपत्ति प्रकट गर्नुभयो ।

आफू प्रधानमन्त्री रहेको समयमा सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको दुई नम्बरमा राखेर पेट्रोलियम पदार्थमा समेत कर लगाएको र मुआब्जा वितरणको कामसमेत भइरहेको अवस्थामा काम शुरु नहुनु दुःखद् रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वार्थको तानातानमा परेका कारण आयोजना बन्दै नबन्ने हो कि भन्ने चिन्ता बढेको छ ।” ऊर्जा सुरक्षाका लागि समेत बहुउद्देश्यीय आयोजना जरुरी रहेको भए पनि केही व्यक्तिको स्वार्थमा आयोजना बन्दी भएको उहाँको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More