बडा दशैं– नारी शक्तिको आराधना र अहिलेको वास्तविकता ?

7 October, 2019 15:03 |बिचार | comments | 12900 Views

    आज महानवमी– नेपालीहरुको राष्ट्रिय पर्व बडा दशैंको महत्वपूर्ण दिन । घटस्थापनादेखि सुरु भएको दुर्गा आराधनाको अन्तिम दिन भएकाले आजको विशेष रहेको छ र यही दिन मातृशक्तिको आराधनाको फल प्राप्त गर्ने दिनका रुपमा शास्त्रहरुमा वर्णन मात्र गरेको छैन कि पुरुषको तुलनामा महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि ।

    adsads

    पौराणिक मान्यताको यो वास्तविकता संस्कृत साहित्यमा लिपिबद्ध भएको छ र व्यवहारतः हरेक चाडपर्वमा नारीलाई उच्च स्थान दिने गरेकै छ । विडम्बना यो मान्यता, सम्मान र स्थान चाडपर्वमा नै सीमित भएको पाइन्छ । राज्यदेखि घरसम्म नै यस्तै व्यवहार छ । तर, अर्को वास्तविकता के हो भने महिलाले आफ्नो शक्ति आफैंले चिन्न नसकेर आजभोलि हेपिएको, दबिएको, दासत्व स्वीकार्न बाध्य भएको अनेक फुर्कावाला आरोप र टिप्पणी गर्ने पश्चिमाहरुको नाराको पछि कुदेर सांस्कृतिक अतिक्रमणलाई निम्ता दिइरहेका छौं ।

    पूर्वीय सभ्यता मातृसत्तात्मक थियो र धार्मिक–सामाजिक अनुष्ठानहरुमा यो परम्परा अझै कायम छ भने महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन । यस्तै महिलाको उच्च गुणवत्ता, शक्ति र सामथ्र्यको महिमा गाउँदै पुरुषले नतमस्तक भएर नारी शक्तिको उपासना गर्ने पर्व हो दशैं ।

    दशैंमा आद्यशक्तिका रूपमा दुर्गा भवानी, महाकाली, महालक्ष्मी, महासरस्वतीको अनुष्ठान, पठनपाठन, होमादि कार्य उल्लासमय वातावरणमा सम्पन्न हुन्छन् । विजयाको शुभकामनाको यो परम्परामा मान्यजनबाट आशीर्वाद लिने र स्नेह दिने गरिन्छ । साथै नौ दिनसम्म जीवनको सुरक्षार्थ कवचका रूपमा ‘दुर्गाकवच’ पाठ गरिन्छ । यसैबाट स्पष्ट छ, यो भूखण्डका पुरूषवर्ग मातृशक्तिप्रति समर्पित र मातृशक्तिमै निर्भर रहेर जीवन यापन गर्न अभ्यस्त थिए र छन् पनि ।

    प्रश्न के त ?
    जबसम्म मानिसले आफ्नो क्षमता चिन्न सक्दैन तबसम्म उ अरुको दयाको पत्र बनिरहन्छ । विश्वमै महिलाका कुरा यस्तै पाइन्छ । धनी हुन् वा गरीब देश आधुनिक कालमा महिलाका समस्या एउटै छन् । यसको कारण महिलाले आफ्नो शक्ति र सामथ्र्य नबुझ्नु हो । पश्चिमा मुलुकले घोकाइदिएको स्वतन्त्रताको पाठ पढेर नेपाली महिला कहिल्यै माथी पुग्दैन् । यसका लागि आफूले आफूलाई चिन्नुपर्छ । “लक्ष्मी, सरस्वती र दुर्गाको एउटै रुप मै हुँ र ममा नै सबै शक्ति र अधिकार निहीत छ” भन्ने चेतना जागृत हुनु आवश्यक छ ।

    यी भए पौराणिक कुरा र यिनै कुराहरुलाई मनन गर्ने हो भने महिले चर्चामाा ल्याउने गरिएका महिल अधिकारका समस्या स्वतः समाप्त भएर जान्छ । महिलामा शक्ति छ, ज्ञानन छ र धन पनि छ भने उनीहरु किन कमजोर र कसरी कमजोर ? दशैंमा शक्तिको रुपमा देवीको पूजा गर्ने, तिहारमा धनकी देवीका रुपमा लक्ष्मीको पूजा गर्ने र विद्याका लागि सरस्वतीको पूजा गर्ने हामी नेपालीहरुले यिनै त्रिरुप एक नारीलाई किन भेदभाव गर्ने भन्ने प्रश्नको उत्तर सबैले आआफ्नै किसिमले खोज्ने हो भने घोकाइदिएको नाराको पछि लाग्नै पर्दैन ।

    हेर्नुहोस् यो भिडियो पनि

    माथिका सन्दर्भहरु नेपाली समाजको पौराणिककालीन वास्तविकता हो । अब कुरा गरौं आधुनिक कालको र आजभोलि उठेका महिला अधिकारको विषयमा । के अधिकारका नाममा पुरुषलाई गाली गर्ने अनि राज्य सत्ताले समान अधिकार दिएन भनेर प्रायोजित नारा लगाएकै भरमा महिला सशक्तिकरण हुन्छ ? नेपाली महिलाका लागि अहिलेको आवश्यकता के हो ? के गर्दा उनीहरुको परिवार र समाजमा स्थापित हुन मद्दत पुग्छ भन्नेतिर कसैको चासो गएको छैन । यसमा महिला कति दोषी, पुरुष कति दोषी अनि शासनसत्तामा बसेकाहरु कति भन्ने प्रश्न त छँदैछ ।

    आज संविधानले महिलाा सहभागिता सुनिश्चित गरेको छ । कुनै पनि निकायमा ३३ प्रतिशत महिला हुनैपर्छ । के त्यसका लागि महिलालाई तयार गरिएको छ त ? निजामतीदेखि राजनीतिक तहसम्म महिला सहभागिताको सवालमा अहिले यस्तै प्रश्न उठ्ने गरेको छ । संविधानले निर्दिष्ट गरेका प्रावधान पूरा गर्न राज्यले के कस्तो भूमिका खेलिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न टाढा जानु पदैन ! संसदलाई हेरे पुग्छ । महिला सहभागिता अनिवार्य गरिएपछि दलहरुले मनोनित गरेका महिला सांसदहरुको अवस्थालाई हेर्दा पुग्छ ।

    महिलालाई आर्थिक–सामाजिक रुपमा सशक्त नबनाएसम्म संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि त्यसले वाञ्छित उपलब्धि दिंदैन । सर्वप्रथम महिलामा शिक्षा र आर्थिक स्रोतमा पहुँच पु¥याउनुपर्दछ । उनीहरुको श्रमको गार्हस्थ उत्पादनमा कदर हुनुपर्छ । यी सामान्य कुराहरुको कदर गर्ने हो भने महिला अधिकार स्वतः स्थापित हुन्छ कानुनी र व्यवहारिक रुपमा ।

    मानिसको सबैभन्दा ठूलो शक्ति भनेको धर्म हो र जब धर्मले, शास्त्रले महिलालाई उच्च सम्मान गर्दै पुरुषले पनि स्तुति गर्नुपर्ने शक्तिको स्रोत मानेको छ भने महिला किन पछि हट्ने वा पर्ने ? सनातन वैदिक धर्मले मातृशक्तिको महिमाको गुणगानका साथै यो शक्तिलाई विशेष महत्व दिएको छ । शारदीय नवरात्रमा नवदुर्गाको साथै सचल कन्याको पनि पूजा गरिन्छ । यसरी पूजा गर्नेहरुले घरकी साक्षात लक्ष्मी, दुर्गा र सरस्वतीलाई किन अधिकारविहीन बनाउने ? के हामीले यतातर्फ सोचेका छौं अनि आम महिलाले किन आफ्नो महिमा र सामथ्र्य नबुझ्ने ? अस्तु !

    बडा दशैंको सबैमा मंगलमय शुभकामना !

    (लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!