बागमती बागमती

  • बागमती
  • बागमती
  • बागमती
  • बागमती
  • बागमती
  • बागमती

बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

29 March, 2019 00:30 | जन सरोकार | comments | 15000 Views

बागमती

माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् ।

adsads
कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो ।

बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो देखिन्छ हो, त्यस्तै भयो बागमती ।” उनले लाक्षणिक रुपमा कुरा प्रष्ट पार्ने चेष्टा गरे । निक्कै नै साहित्यिक भाषा प्रयोग गरेर बोल्ने त्यस व्यापारीले आफ्नो परिचय दिन मानेनन् । “तिर्खा लागेको भए खोलातिर जानुहोस्,” उनले माछाको खानी मानिने राई गाउँतिरै जान सुझाउँदै थपे पनि ।

मकवानपुरको राई गाउँ करौंजेका प्रायःजसो घरमा माछा मार्ने जाल, ढडिया, खोंगा, तीर, बल्छी भेटिन्छन् । तर, ती सामान हेर्दा लाग्छ लामो समयदेखि तिनले आफ्नो काम गर्न पाएका छैनन् । यस भेगमा विगतमा व्यावसायिक रुपमा माछा मार्ने र बेच्ने चलन थियो । यहाँको माछा सुकाएर काठमाडाँैं तथा हेटौँडा लगायत देशका थुप्रै शहरहरुमा पुग्थे । माछा बाहेकको तरकारी नै नहुने चलन करौंजेमा थियो । एकल तथा समूहमा पनि माछा मार्ने चलन थियो । तराईबाट मलाहहरु महिनौं बस्ने गरी आउँथे र महाजाल तथा ठूल्ठूला झुलहरुको प्रयोग गरेर माछा मार्थे । महिनौं राई गाउँमा बसेर सिद्रा लिएर जान्थे । हेटौँडातिरका माछा व्यापारीहरुको आउजाउ पनि बाक्लै हुन्थ्यो ।

सयौं किलो माछा थुपारेर आकारअनुसार सिल उन्ने, टाटीमा सेकाउने तथा सिद्रा बनाउने काम करौंजे, माझगाउँ, बोडगाउँ एवं पूरै राई गाउँ तथा फापरबारीमा कयौं परिवारले गर्दै गरेको भेटिन्थ्यो, देखिन्थ्यो । जाल खेल्ने, दुवाली थुन्ने, ढडिया थाप्ने, खोंगा थाप्ने लगायत ठूला दहहरुमा डुँड थाप्ने चलन थियो । बालबालिकाहरु डबुका पनि थाप्थे । विशेष शिकारीहरु गहिरो दहमा गएर भालाको माध्यमबाट गोंज माछाको शिकार गर्थे । कहिलेकाहीँ त ७० किलो भन्दा ठूला गोंज माछा भेटिन्थ्यो ।

घरभन्दा फराकिलो खाडल खनेर मुनि कोइला बालिन्थ्यो र माथि बाँसको टाटीमा माछा फिँजाएर सुकाइन्थ्यो । अहिले त तीे सबै सपना जस्तै लाग्ने विगतको अनुभूति सुनाउँछन् स्थानीयवासी बुद्ध राई । “बाबु, हामी त अहिले रानो हराएको मौरी जस्तै भा’छौं,” निराशा मिश्रित स्वरमा राईले भने । उनका अनुसार यहाँका कतिपयको दैनिकी माछामै निहीत थियो । माछा बेचेरै थुप्रै परिवारले आफ्नो गर्जो टारेका थिए तर, केही वर्षदेखि बागमतीमा माछा पाइन छाडिएको छ । बागमतीमा माछा पाउन छाडेपछि कतिपयले वैकल्पिक पेशा अङ्गालिसके । “पेशा त परिवर्तन गरौंला तर, खाने चाहीँ के नि ? हामीलाई गहिरो चिन्ता छ,” उनले चिन्ता पोखे ।

बागमतीमा माछा पाउन छाडेपछि केही स्थानीय बासिन्दाले पोखरीमा माछा पाल्न थालेका छन् । कसै कसैले तराईबाट ल्याइएका पोखरीका माछा खान थालेका छन् । स्थानीयवासी ७५ वर्षीय रामबहादुर राई भन्छन् – “तर स्वाद नै हुँदैन । कहाँ लोकल माछा ? कहाँ विकासे ?”

बागमतीको माछा भनेपछि देशैभरका माछा पारखीको मुख रसाउँथ्यो । “हामी कार्टुनमा हालेर काठमाडौँ लान्थ्यौं, टाटीमा राखेर आगोमा सेकाइएका माछा काँचै खाँदा पनि खुब मिठो हुन्थ्यो, माछा बिनाको छाक हुन्नथ्यो,” उनले थपे । राई गाउँकै ७० वर्षका अर्का वृद्ध जगतसिंह राई गाउँमा विगतमा गिठ्ठा खाने दिन, थाकलको गुभा खाने दिन, दुवाली थुन्ने दिन रमाइलो गरी मनाएका क्षणहरु सम्झन्छन् । “दुवाली थुन्ने दिन गाउँ नै उर्लेर खोलामा जाने, उतै माछा मार्ने, भात पकाउने, खाने, अनि, साँझ बोरामा माछा लिएर फर्कने, ती दिनहरु अब सम्झनामा मात्रै रह्यो,” उनले भने ।

राई गाउँमा २० वर्ष बसेका ९८ वर्षीय उमाकान्त आचार्य आफू शाकाहारी भए पनि राई गाउँले माछा खान सिकाएको बताउँछन् । आलु, प्याज, सागसब्जी केही पनि नलगाउने करौंजेमा दुई बाली अन्न बाहेक केही हुन्नथ्यो । एकपटक मकै अनि, धान वा कोदो, त्यो बाहेक कसैले केही पनि नलगाउने चलन थियो । कसै कसैले तोरी र गहुँ पनि लगाउँथे तर, थोरै । तेल र बेसारको समेत प्रयोग नगरी माछाको स्वादिष्ट परिकार बनाउने कला थियो त्यहाँ । आचार्यले भने – “गाई पाल्ने तर, मल र गोरुका लागि । दूध दुहुने र खाने चलन थिएन । हामी सिन्धुपाल्चोक र सिन्धुलीबाट बसाइँ सरेर आएका दुई तीन घरले दूध दुहुन र दूध दही खान शुरु गर्या हौं ।”

यही प्रसङ्गमा बुद्ध राई भन्छन् – “यहाँ अझै पनि तरकारी, फलफूल लगाउने चलन छैन । गाई दुहुने र दही दूध खाने चलन पनि एकदम कम छ । परिवर्तित समयमा माछा बिना बाँच्न त बाँचिएला तर, बागमतीमा माछा नदेख्दा र नपाउँदा हाम्रो पहिचान, चालचलन र रहनसहनमा असर परेको छ ।”

तीन–चार वर्ष अगाडिसम्म पनि प्रशस्त माछा पाइने बागमती नदीमा किन माछा पाइन छाड्यो त ? वन विज्ञान अध्ययन संस्थान हेटौँंडाका क्याम्पस प्रमुख प्रा कृष्णप्रसाद दाहाल प्रदूषण नै प्रमुख कारण हुनसक्ने बताउँछन् । खेतबारीमा प्रयोग गर्ने विषादीहरु बगेर नदीमा पुग्छ । अस्पताल, कलकारखानाका रसायनजन्य फोहरमैला बगेर नदीमै जान्छ, ती पनि कारण हुन सक्छन् । माछा मार्न विषादीको प्रयोग अर्को कारण हुन सक्छ । वर्षात् तथा डढेलोको खरानीको भेल नदीमा पसे पनि जलचरलाई असर गर्ने उनको तर्क छ । हेटौँडामै पनि हिउँदे भेलका कारण माछा मरेको पाइएको उनले बताए तर, बागमती नदीको सवालमा किसानले बालीमा प्रयोग गर्ने विषादी नै प्रमुख कारण हुनसक्ने उनको ठम्याइ छ ।

उनले भने – “मकवानपुर, ललितपुर र सिन्धुलीका किसानले प्रयोग गरेको विषादी स्थानीय खहरे खोल्सा हँुदै नदीमा पुगेर जलचरलाई प्रभावित पारेको हुन सक्छ ।” यो पूरै देशको समस्या हो । समयमै नसोचे जैविक सन्तुलनमै समस्या उत्पन्न हुने र त्यसले विकराल समस्या निम्त्याउन सक्ने वातावरणविद्हरु औँल्याउँछन् । – रिपेश दाहाल, रासस

जुनी फेर्दैछ बागमती

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बागमती

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!