बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु गरिँदै- लागत १४ करोड रुपैयाँ

9 July, 2019 22:37 | कर्पोरेट/पर्यटन | comments | 12000 Views

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक रानीपोखरी अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण छिट्टै शुरु हुने भएको छ । रानीपोखरीको पुनःनिर्माण पटकपटक निर्माण शुरु भएर पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएपछि अहिले पुरानै शैलीमा पुनःनिर्माण हुन लागेको छ ।

adsads

बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनी सिए/तुलसी कन्सट्रक्सन जेभीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो । पुनःनिर्माणका लागि सम्झौता रकम रु १४ करोड २७ हजार ५५७ छ ।

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न निर्देशन

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि सम्झौता हुनुलाई सुखद पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा बनाइने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो । उहाँले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनःनिर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि द्रुत गतिमा अघि बढ्ने जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनःनिर्माण गर्दा मन्दिरलाई र मन्दिरको पुनःनिर्माण गर्दा रानीपोखरीलाई असर नपार्ने गरी समन्वयात्मक ढङ्गले काम गर्न सुझाव दिनुभयो ।

प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाप्रमुख शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायी श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र वरिपरिको क्षेत्रमा पुनःनिर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र स्थानीयवासीबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनःनिर्माणको काम गर्ने सहमति भएको बताउनुभयो ।

रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको छ । मन्दिर र रानीपोखरी क्षेत्रको संरचनामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!