सङ्गीत श्रोता सङ्गीत श्रोता

  • सङ्गीत श्रोता
  • सङ्गीत श्रोता
  • सङ्गीत श्रोता
  • सङ्गीत श्रोता
  • सङ्गीत श्रोता
  • सङ्गीत श्रोता

बुद्ध कसरी ‘नेपाली’ भए ?

18 May, 2019 13:00 | पत्रपत्रिका , बिचार | comments | 38700 Views

सन् १८९६ मा जर्मन पुरातत्वविद् डा. एन्टोन फ्युहररको उत्खननमा फेला परेको मगधका राजा अशोकद्वारा स्थापित ढुंगे–खाँबोमा कुँदिएको पालि भाषाको अभिलेख नै बुद्ध–जन्मस्थलको प्रामाणिक चिनु हो

बुद्ध कहाँ जन्मेका हुन् ?
यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् ।

adsads

कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप-यो भने भन्छन्– यो बुद्धको देश हो !यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू आउलान्, आलोचनमा परिएला भनेर सत्य नबोल्नु ठीक होइन । र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् ।

मूल विषयमा प्रवेशार्थ दुई वाक्यबाट छलफल थालौँ– एक, सिद्धार्थ गौतम अर्थात् पछिका बुद्ध नेपालमा जन्मेका होइनन् । दुई, ती बुद्ध ‘नेपाली’ पनि थिएनन् । सिद्धार्थ गौतम जन्मेका थिए लुम्बिनीमा, जुन ठाउँ आधुनिककालमा पत्तो लागेको सवा सय वर्ष मात्रै भयो । अनि नेपाल नामको देश जन्मनुभन्दा २२–२३ सय वर्षअघि नै दार्शनिक गौतम बुद्ध संसारभरिका आफ्ना बनिसकेका थिए, कुनै एक देश, एक राज्य र एक राजखलकबाट मुक्त भइसकेका थिए ।

बुद्धको विलुप्त जन्मथलो : लुम्बिनी

बुद्धको जन्म २५ सय वर्षअघि लुम्बिनीमा भएको विभिन्न ऐतिहासिक अध्ययनहरूको निष्कर्ष छ । तर, बुद्धको जन्ममिति यकिनचाहिँ होइन । कथा–किंवदन्ती, शास्त्र र अभिलेखहरूका आधारमा उनको जन्मवर्ष निधो गरिएको हो । बुद्धको महापरिनिर्वाणको सय/सय वर्षमा श्रीलंकामा हुने गरेको बौद्ध सम्मेलनलाई आधार मानेर उनको जन्म मिति तय गरिएको ‘लुम्बिनीको मौन आह्वान’ पुस्तकका लेखक वसन्त बिडारी बताउँछन् ।

बौद्ध विद्वानहरूले अरू ऐतिहासिक र पुरातात्विक आधारहरू अघि सारेर उनको जन्म २४ सयदेखि २५ सय वर्षअघि भएको पुष्टि गरिसकेका छन् ।बुद्धको जन्मठाउँ लुम्बिनी हो भन्ने संस्कृत र पालि भाषामा लेखिएका प्राचीन ग्रन्थहरूले नै प्रमाणित गर्छन् ।

बौद्ध ग्रन्थहरू मात्रै होइन, फरक–फरक शताब्दीमा भारतीय उपमहाद्वीपमा यात्रामा निस्केका चिनियाँ यात्रीहरूले पनि लुम्बिनीको चर्चा गरेका छन् । तर, त्यो लुम्बिनी शताब्दीयौँसम्म गुमनाम थियो । चिनियाँ यात्रीहरूका वृत्तान्तमा लुम्बिनी मात्रै होइन, कपिलवस्तु, बोधगया, कुशीनगर, सारनाथ र यस क्षेत्रका अरू थुप्रै भू–खण्डबारे पनि उल्लेख छ । सयौँ वर्षको अन्तरालमा लुम्बिनी हरायो, जंगलमा परिणत भयो । १९औँ शताब्दीको उत्तराद्र्धसम्म बुद्धको जन्मस्थल (लुम्बिनी) फेला परेको थिएन ।

जतिवेलासम्म लुम्बिनी कहाँ पर्छ भन्ने टुंगो थिएन, त्यतिवेला नेपाल देशचाहिँ बनिसकेको थियो । लिच्छविकाल, मल्लकालजस्ता ऐतिहासिक चरण गुजारिसकेको नेपालमा अढाई सय वर्षअघि गोर्खा विजयपछिको शाहवंशीय शासन सुरु भइसकेको थियो । सन् १८९६ सम्मका नेपालका कुनै लिखत, दस्ताबेज, अभिलेख, साहित्य आदिमा न बुद्धस्थलको अपनत्व थियो, न बुद्ध जन्मस्थल नेपालमा पर्छ भन्ने गर्वबोध नै । किनभने त्यतिवेलासम्म बौद्ध दर्शन र बौद्ध धर्म संसार प्रसिद्ध भइसके पनि लुम्बिनी, कपिलवस्तु शास्त्रका किताबमा थिए, तर भू–क्षेत्रमा भने कतै विलुप्त भइसकेका थिए (बुद्धको दरबार रहेको कपिलवस्तुबारे अझै पनि विवाद कायमै छ) ।

चिनियाँ यात्रीहरूका वृत्तान्त र प्राचीन बौद्ध साहित्यले लुम्बिनीको स्थानीयता बयान गरेका थिए, छन् । ती ग्रन्थका अनुसार लुम्बिनी पश्चिममा कपिलवस्तु राज्य र पूर्वमा देवदह राज्यका बीचमा पथ्र्यो । कपिलवस्तु शाक्यमुनिहरूको राज्य हो भने देवदह कोलियहरूको राजधानी हो । बुद्ध स्थलहरूको पुनर्खोजी तत्कालीन ब्रिटिस–भारतले थालेको हो । ब्रिटिस भारतको पुरातत्व विभागले राजा अशोकले राखेका स्तम्भहरूको पनि खोजी गर्दै थियो । चिनियाँ यात्रीहरूका वृत्तान्तमा अशोकले ठाउँ–ठाउँमा राखेका ढुंगे खाँमाहरूको चर्चा गरेका थिए । त्यसैका आधारमा लुम्बिनी पनि खोज्न थालिएको थियो ।

बुद्ध यसरी नेपालका भए
डिसेम्बर १, १८९६ (अर्थात् आजभन्दा १२३ वर्षअघि) पाल्पाका बडाहाकिम खड्गशमशेर र ब्रिटिस इन्डिया प्रशासनको अनुमति लिएर जर्मन पुरातत्वविद् डा. एन्टोन फ्युहरर रुम्मिनदेई क्षेत्रमा उत्खनन्मा लागे । काठमाडौंमा रहेको ब्रिटिस दूतावास (?) मार्फत तत्कालीन श्री ३ वीरशमशेरसँग डा. फ्युहररले रुपन्देही क्षेत्रमा उत्खननको अनुमति लिएको विस्तृत कथा चाल्र्स एलेनले आफ्नो पुस्तक ‘द बुद्ध एन्ड डा. फ्युहरर’मा चर्चा गरेका छन् । राणा प्रधानमन्त्री वीरशमशेरले पाल्पामा बडाहाकिम बनाइएका आफ्नै भाइ खड्गशमशेरलाई त्यसको जिम्मा दिएर खबर पठाए । पाल्पा आसपास, बुटवललगायत क्षेत्र खड्गशमशेरकै प्रशासनिक क्षेत्र थियो ।

उत्खननका लागि चाहिने मजदुरको व्यवस्था गर्ने जिम्मा खड्गशमशेरकै थियो । तोकिएको दिनमा हात्तीमा चढेर डा. फ्युहरर आइपुगे । तर, त्यतिन्जेल खड्गशमशेरको टोलीले धमाधम खनिरहेको थियो । (सायद गाडधन भेटिने लोभ पो थियो कि !) र, उत्खननबाट गाडधन होइन, अशोकले राखेको स्तम्भ फेला प-यो । त्यो त्यही स्तम्भ थियो, जसबारे ७औँ शताब्दीमा घुम्न निस्केका चिनियाँ यात्री ह्वेन साङले आफ्नो वृत्तान्तमा बयान गरेका थिए । यो स्तम्भ ३० फुट साढे १० इन्च लामो र १३ फुट ८ इन्च भुइँमा गाडिएको छ । यो राजा अशोकले २३ सय वर्षअघि गाडेका थिए ।

उत्खननमा भेटिएको स्तम्भको सबैभन्दामहत्वपूर्ण पक्ष भनेको ढुंगामा अंकित अभिलेख हो । पालि भाषा र ब्राह्मी लिपिमा लेखिएको त्यस अभिलेख नै बुद्ध जन्मस्थलबारे बताउने अहिलेसम्मको सबैभन्दा प्रामाणिक तथ्य हो । त्यसमा पालि भाषा (अर्धमागधी) मा भनिएको छ–
देवान पियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन
अतन आगाच महीयिते हिदबुधेजाते सक्यमुनीति
सिलाविगडभीचा कलापित सिलाथभेच उसपापिते
हिदभगवंजातेति लुंमिनिगामे उवलिकेकटे
अठभागियेच
(अर्थात् : देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौँ वर्षमा आफैँ आउनुभयो । यहाँ शाक्यमुनि बुद्धको जन्म भएकाले (बुद्ध जन्म) संकेतक शिलामा पूजा गरी यो शिलास्तम्भ स्थापना गर्नुभयो । यहाँ भगवान्को जन्म भएकाले लुम्बिनी गाउँको कर घटाई आठौँ भाग मात्र कायम गर्नुभयो ।)

मौर्यवंशी राजा अशोकले आफ्नो साम्राज्यभित्र यसप्रकारका अनेक ढुंगे–खाँमोहरू गाडेका थिए । त्यसमध्ये माथिको विवरणसहितको अभिलेख भएको खाँमो राणा प्रधानमन्त्री वीरशमशेरका पालामा नेपाली भूक्षेत्रभित्र उत्खननमा भेटियो । यो बौद्ध इतिहासमा निकै ठूलो समाचार थियो । किनभने यही खाँमोले पहिलोपटक बुद्धजन्मस्थल पहिल्याएको थियो ।

उत्खननपछि बडाहाकिम खड्गशमशेर पश्चिमतिर सिकारयात्रामा निस्के भनिन्छ । तर, डा. फ्युहररलाई भने नयाँ खबर दुनियाँलाई सुनाउनु थियो । उनले त्यही वर्ष डिसेम्बर २० मा इलाहावादबाट प्रकाशित हुने ‘पायोनिर’ पत्रिकामा टेलिग्राम पठाए । २३ डिसेम्बरमा ‘पायोनिर’ पत्रिकाले एक्स्क्ल्युसिभ समाचार छाप्यो– ‘डा. फ्युहररले फेला पारे बुद्धको जन्मथलो !’ यस्तै मूल आशय भएका खबरहरू त्यतिवेलाका अरू थुप्रै पत्रिकाले पनि लेखे । लुम्बिनी भेटिएको रिपोर्टिङ लन्डनबाट प्रकाशित हुने विश्वप्रसिद्ध ‘द टाइम्स’ पत्रिकाले २८ डिसेम्बरमा छापेको इतिहासकार एलेनले (पृ. १४१) उल्लेख गरेका छन् ।

नेपाली इतिहासमा यो मिति साँच्चै एउटा मोड थियो । नेपालका तिनताकासम्मका लेखक–साहित्यकारहरू वैदिक एवं पौराणिक कथा, हिन्दू आदर्श र संस्कृत साहित्यका पात्र र विम्बहरू लिएर साहित्य लेख्थे । लुम्बिनी पत्तो लागेपछि नेपालको एउटा सांस्कृतिक विम्बका रूपमा धेरै लेखकले बुद्धलाई लिन थाले ।

भानुभक्त आचार्य र मोतीराम भट्टकालीन नेपाली साहित्यमा कि बुद्धको चर्चै छैन, छ कतै भने पनि उनलाई ‘नेपाली’ वा ‘नेपालको’ मान्ने कुरै भएन । सन् १८९६ पछि भने विश्वकै ध्यान लुम्बिनीतिर आकर्षित हुन थाल्यो । नेपालले पनि बुद्धलाई ‘नेपाली’ बनाउन सक्दो कोसिस जारी राख्यो । सरकारको तहबाट ‘नेपाली विभूति’ बनाइयो भने साहित्यकारहरूले लेख्न थाले– बुद्धले यहीँ पाएथे, ज्ञानको पहिलो मुहान !

अनि बुद्ध ‘नेपाली’ भइसके त ?
हामी आजभोलि यसरी कुरा गर्छौं, मानौँ आज जुन नेपाल भन्ने देश छ, त्यसैले बुद्ध जन्माएको हो । हामी त्यसरी सगर्व छाती फुलाएर बुद्धलाई ‘नेपाली’ भन्छौँ, मानौँ उनी पनि आजका हामीजस्तै ‘नेपाली’ थिए । सरल कुरा छ– बुद्ध जन्मेको २५ सय वर्ष अघि हो । जतिवेला संसारमा नेपाल नामको कुनै मुलुक, समाज, राज्य, टोल केही थिएन (थियो भन्ने प्रमाण फेला परेको छैन) । इतिहास र पुरातत्वका प्रमाणहरूले उनी जन्मेको ठाउँ अहिलेको नेपालभित्र पर्छ । सत्य यत्ति हो ।

अर्कोतिर ‘नेपाली’ पहिचान जुन छ, त्यसमा राष्ट्रवादको समस्याग्रस्त अवधारणा छ । त्यसले नेपालभित्रका अहिलेकै सबै पहिचानलाई त स्विकार्दैन, २५ सय वर्षअघिको शाक्यमुनि त कहाँ–कहाँ ? पहिलेको गोर्खाली राज्यले पछि आफ्नो नाम ‘नेपाल’ स्वीकारेको हो । पर्वते, खस वा गोर्खाली भनिने भाषाको नाम राणाकालमा ‘नेपाली’ बनाइएको हो । त्यसपछि पञ्चायतकालमा मिहिनेतपूर्वक ‘नेपाली’ भन्ने खास परिचय स्थापित गर्न कला, साहित्य, संस्कृति, विद्यालय–विश्वविद्यालय, प्राज्ञिक निकाय परिचालित भए ।

खास धर्म मान्ने, खास भू–क्षेत्रमा बस्ने, खास भाषा बोल्ने र खास संस्कृति अवलम्बन गर्नेहरूलाई मात्रै ‘नेपाली’ मान्ने राष्ट्रवादी अवधारणा बलियो छ । यस्तो अवधारणाले दौरासुरुवाल–टोपीमा नदेखिने व्यक्तिलाई ‘नेपाली’ नै मान्दैन । प्रचलित बुद्धशैलीमा भन्ने हो भने यस्तो समस्याको दुःखदायी कारणहरू छन् । ती कारण निराकरण हुन सम्भव छ । र, ती कारण निराकरणका उपाय छन् । यसरी सोच्ने हो भने बुद्धलाई ‘नेपाली’ भनिरहनु पर्दैन । बुद्ध जन्मेको लुम्बिनीमै हो । लुम्बिनीको प्रवद्र्धन गर्न बुद्धलाई ‘राष्ट्रवादी’ फ्रेमभित्र राखिरहनु पर्दैन ।

झट्ट सुन्दा नमीठो लाग्न सक्छ– तर गौतम बुद्धलाई नेपालको राज्यले ‘नेपालमा जन्मेका’ त भन्छ, तर आफ्नो ठान्नै सकेको छैन । बुद्धको नारा त चर्कै चल्छ, मानौँ नेपालले सोचीविचारी र योजना बनाएरै एकजना महान् दार्शनिक जन्माएको हो । तर, वास्तविकतामा न बुद्धथलो खोजीमा नेपालको अग्रसरता थियो, न अहिले बौद्ध दर्शन र बौद्ध पर्यटन सरकारको प्राथमिकतामा छ ।

‘नेपाली’ शब्दले अथ्र्याउने अवधारणाले अहिले जे–जस्तो सामाजिक–सांस्कृतिक परिचय बोक्छ, बुद्ध न त्यस परिभाषामा पर्छन्, न सिद्धार्थको जन्मकालमा संसारमा कतै नेपाल नामको देश नै थियो !

लुम्बिनीबारे यात्रावृत्तान्त लेखिदिएका थिए, चिनियाँ यात्रीले । लुम्बिनीको खोजीमा निस्केको थियो, ब्रिटिस भारत । बौद्ध दर्शनको महत्ता प्रवद्र्धन पनि अरूहरूले नै बढी गरिरहेका छन् । नेपालले त चार वर्षअघि संविधान बनाउँदा पनि धर्मनिरपेक्षतासम्म खुलेर स्विकार्न सकेन, बरु सनातन धर्म संरक्षण गर्ने भन्दै ‘हिन्दू परम्परा’ जोगाउन कम्मर कस्यो ।

इतिहास लेखन र इतिहास–मीमांशामा विदेशी विद्वान् भन्नासाथ परचक्री र फिरंगी देखिहाल्ने दृष्टिकोण यतिखेर पनि हाबी नै छ । विदेशीले गरेका सबै काम वा व्याख्या गलत हुन् भन्ने अन्धविश्वास जति खतरनाक छ, त्यत्ति नै डरलाग्दो छ शासकले गरेका सबै व्याख्यालाई इतिहास ठान्ने मान्यता । बौद्ध दर्शन र बौद्ध इतिहासबारे पनि यस्ता खतराहरूबाट बच्न र सम्यक धारणा बनाउनु जरुरी छ । र, भन्न हिच्किचाउनु पर्दैन– उनी लुम्बिनीमा जन्मेका हुन्, अहिले त्यो ठाउँ नेपालमा पर्छ ।

उनीजस्ता महान् दार्शनिकको विचार र शिक्षालाई आजको युगानुकूल आत्मसात् गर्ने र प्रवद्र्धन गर्ने काम नेपालको पनि दायित्व हो । अनि उनी जन्मँदैमा कुनै अलौकिक र मायावी व्यक्ति थिएनन्, रगतमासुकै ज्यान भएका तपाईं–हामीजस्तै साँच्चैका मान्छे थिए । उनी आफ्नो समयका एक प्रख्यात दार्शनिक थिए ।

दार्शनिक कुनै निश्चित भूगोलमा जन्मन्छ, तर निश्चित भूगोलको सीमाको भइरहँदैन । वैज्ञानिकहरू, दार्शनिकहरू, बौद्धिकहरू देशी–भूगोलका सीमामा थुन्न खोजेर पनि थुनिन्नन् । साँघुरो परिभाषाको घेराभित्र कोचिने चिज न दर्शन हो, न विज्ञान । तसर्थ भन्नैपर्छ– महान् दार्शनिकहरूको देश हुँदैन, राज्य हुँदैन, राष्ट्र हुँदैन । प्लेटो–सुकरात होऊन् या माक्र्स–एंगेल्स, सिमोन र सात्र्र होउन् वा रोजा र ग्राम्सी, बौद्धिक र दार्शनिकहरू कुनै देशका राष्ट्रवादी हतियार होइनन् । हुन सक्दैनन् ।

सातौँ शताब्दीमा आएका चिनियाँ यात्री ह्वेन साङले आफ्नो यात्रावृत्तान्तमा लुम्बिनी र बुद्ध–जन्मस्थलको चर्चा गरेका थिए, तर त्यो लुम्बिनी कहाँ पर्छ भन्ने शताब्दीयौँसम्म थाहै थिएन
ब्रिटिस भारतको अनुमतिमा अनुसन्धानमा निस्केका जर्मन विद्वान् डा. फ्युहरर र पाल्पाका बडाहाकिम जनरल खड्गशमशेरले १२३ वर्षअघि (सन् १८९६) हालको लुम्बिनीमा उत्खनन गरे
डा. फ्युहररको १ डिसेम्बर, सन् १८९६ को उत्खननमा अशोकले राखेको ढुंगे–खाँबो भेटियो, जुन खाँबो इसापूर्व २४९ मा राखिएको थियो
अशोकले राखेको २३ सय वर्ष पुरानो खाँबोमा पालि भाषा र ब्राह्मी लिपिमा लेखिएको अभिलेखले नै बुद्ध–जन्मस्थल लुम्बिनी अहिलेको नेपालमा पर्ने टुंगो दिएको हो

यो लेख नयाँ पत्रिकाकाका सङ्गीत श्रोताले लेखेका हुन् ।

बुद्धका उपदेश पालना गरेमा राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छः राष्ट्रपति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सङ्गीत श्रोता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!