बुधबारदेखि सुर्खेतको व्यापारीहरुले लकडाउन उल्लंघन गर्ने

3 June, 2020 00:47 | कर्णाली प्रदेश , प्रदेश | comments | 61050 Views

कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या बढिरहेका बेला सुर्खेतमा व्यापारी, व्यवसायीले बुधबारदेखि लकडाउन नमान्ने घोषणा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि लकडाउन नमान्ने निर्णय गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी लकडाउनका कारण निजी क्षेत्र धराशायी भएको र राहत दिन सरकारले कुनै पहल नगरेकाले यस्तो निर्णयमा पुग्नुपरेको बताएको छ । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा जेठ २१ गते (बुधबार)देखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसल खोल्ने उल्लेख छ ।

  

त्यस्तै फलफूल, तरकारी, डेरी, ग्यास पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने र शनिबारको दिन भने सम्पूर्ण पसल बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।

जनमत लकडाउनविरुद्ध जान थाले पनि पछिल्लो समय कर्णालीमा कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म कर्णालीमा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १२ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् । उनीहरु सुर्खेतमै आइसोलेसनमा रहेका छन् । दैलेखमा एक जनाको मृत्यु भएको छ ।

संक्रमितहरु दुई जना जुम्लाका प्रहरीबाहेक अन्य सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति छन् । भारतबाट आउनेको संख्या पनि रोकिएको छैन । मुख्यमन्त्री कार्यालयका अनुसार जेठ सुरुदेखि आइतबारसम्म मात्र २० हजार ९ सय १ जना व्यक्ति भारतबाट फर्किएका छन् । २७ हजार ३ सय ४७ जना व्यक्ति अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् ।

उता प्रदेश सरकारले समेत विद्यालय र यार्चा संकलन खोल्ने निर्णयको लागि संघीय सरकारलाई अनुरोध गरेको छ । आइतबारमात्र कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमार्फत यस्तो सिफारिस गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More