भरतपुर महानगरले दियो करको आठ प्रतिशत निजी क्षेत्रलाई

17 July, 2019 19:29 | अर्थ | comments | 7800 Views

व्यवसायीहरु कर छल्ने कार्यमा बढी सक्रिय रहेका अनेक घटना सार्वजनिक भैरहेका बेला चितवनका व्यवसायीले भने महानगरको कर उठाउन सहयोग गरे वापत उठेको करको ८ प्रतिशत बोनस स्वरुप पाएका छन् ।

भरतपुर महानगरपालिकाले व्यवसाय कर सङ्कलनमा सहयोग पुर्याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई उठेको करको हिस्सा प्रदान गरेको हो ।

adsads

महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट उद्योग वाणिज्य सङ्घलाई रु २३ लाख ८३ हजार ९७० र उद्योग सङ्घलाई रु १४ लाख ३० हजार ३८२ प्रदान गरिएको हो ।

असार २२ गतेसम्मको सङ्कलित रकमबाट भुक्तानी गरिएको महानगरले जनाएको छ । गत आर्थिक वर्ष भरमा रु पाँच करोड १९ लाख ५० हजार ९७६ सङ्कलन भएको महानगरले जनाएको छ । बाँकी रकम चालू आर्थिक वर्षमा थप गरेर भुक्तानी पाउने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो ।

भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य सङ्घ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग सङ्घलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताउनुभयो । महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पौडेलले सो रकम कर सङ्कलनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!