“भारतका कारण नेपालको राष्ट्रियता खतरामा”

4 December, 2019 12:29 | राजनीति | comments | 24300 Views

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा गरिएको समापन कार्यक्रममा उहाँले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताका लागि सरकारले कूटनीतिक पहलको थालनी गर्नुपर्ने बताउनुभयो ।

  

उहाँले राजनीतिक दलहरू राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कूटनीतिक पहल चाल्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । “भारतको विरोध गरे के नै पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता होला”, उहाँले भन्नुभयो, “भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ ।”

सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरू भारतको इसारामा चल्ने गरेको उहाँको भनाइ थियो । दक्ष युवाहरू स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उहाँले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नुपर्ने बताउनुभयो ।

यही मङ्सिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, दार्चुला हुँदै भीमदत्तनगरमा पुगेर समापन भएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More